आमोस ५:१-२७

  • “कुमारी इस्राएल ढलेकी छे” (१-३)

  • परमेश्‍वरलाई खोज र तिमीहरू बाँच्नेछौ (४-१७)

    • “खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर” (१५)

  • यहोवाको दिन—अन्धकारको दिन (१८-२७)

    • इस्राएलले चढाएको भेटी अस्वीकार गरिन्छ (२२)

 “ए इस्राएलको घराना, सुन; यो शोकगीत म तिमीहरूविरुद्ध सुनाउँदै छु:  २  ‘कुमारी इस्राएल ढलेकी छे; ऊ फेरि उठ्‌न सक्दिन। ऊ आफ्नै भूमिमा त्यागिएकी छे; उसलाई उठाउने कोही छैन।’ ३  “किनकि ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘जुन सहर हजार सिपाही लिएर निस्कन्छ, त्यससित सय जना बाँकी हुनेछ अनि जुन सहर सय जना लिएर निस्कन्छ, त्यससित दस जना बाँकी हुनेछ; इस्राएलको घरानालाई यस्तै हुनेछ।’+ ४  “किनकि यहोवा इस्राएलको घरानालाई यसो भन्‍नुहुन्छ: ‘मलाई खोज र तिमीहरू बाँच्नेछौ।+  ५  बेथेलको खोजी नगर,+ गिलगाल नजाओ;+ बेर्सेबा पनि नजाओ+ किनकि गिलगाल अवश्‍य निर्वासनमा जानेछ+ र बेथेलचाहिँ नाश हुनेछ।*  ६  यहोवाको खोजी गर र तिमीहरू बाँच्नेछौ।+ नत्र युसुफको घरानामाथि उहाँ आगोजस्तै दन्किनुहुनेछ; बेथेललाई भस्म गरिदिनुहुनेछ अनि आगो निभाउने कोही हुनेछैन।  ७  तिमीहरूले न्यायलाई तीतेपातीबराबर* तुल्याएका छौ र धार्मिकतालाई* माटोमा मिलाएका छौ।+  ८  जसले किमाह तारामण्डल* र केसिल तारामण्डल* बनाउनुभयो,+ जसले घोर अन्धकारलाई बिहानीको उज्यालोमा परिणत गर्नुहुन्छ अनि दिनलाई रातको निस्पट्ट अँध्यारोजस्तो बनाउनुहुन्छ+ अनि जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र पृथ्वीको सतहमा खन्याउनुहुन्छ+ —उहाँको नाम यहोवा हो।  ९  उहाँले बलियाहरूविरुद्ध अचानक विनाश ल्याउनुहुनेछ। तिनीहरूका किल्लाहरू तहसनहस पारिदिनुहुनेछ। १०  सहरको मूलढोकामा बसेर सुधार्ने व्यक्‍तिहरूलाई तिनीहरू हेला गर्छन्‌ अनि सत्य बोल्नेहरूलाई तिनीहरू घृणा गर्छन्‌।+ ११  तिमीहरू गरिबहरूबाट खेतबारीको चर्को कुत* उठाउँछौ; तिनीहरूको बाली तिमीहरू तिरोको रूपमा लिन्छौ।+ त्यसैले तिमीहरू आफ्नो ढुङ्‌गाको घरमा बास गर्न पाउनेछैनौ+ अनि आफूले लगाएको असल अङ्‌गुर बगानको मद्य पनि तिमीहरूले पिउन पाउनेछैनौ।+ १२  मलाई थाह छ, तिमीहरूले कतिसम्म अपराध गरेका छौ अनि तिमीहरूले कतिसम्म घोर पाप गरेका छौ —तिमीहरू धर्मीहरूलाई सताउँछौ, घुस लिन्छौ अनि सहरको मूलढोकामा गरिबहरूको अधिकार खोस्छौ।+ १३  यसकारण अन्तर्दृष्टि* भएकाहरू त्यस बेला चुप लागेर बस्नेछन्‌ किनकि त्यो विपत्तिको समय हुनेछ।+ १४  जे असल छ, त्यसको खोजी गर; जे खराब छ, त्यसको होइन;+ तब तिमीहरू बाँच्नेछौ।+ अनि तिमीहरूले भनेझैँ+ सेनाहरूका परमेश्‍वर यहोवा तिमीहरूको साथमा हुनुहुनेछ। १५  खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर,+ सहरको मूलढोकामा न्याय कायम रहोस्‌।+ तब सायद सेनाहरूका परमेश्‍वर यहोवाले युसुफका बाँकी रहेकाहरूलाई कृपा देखाउनुहुनेछ।’+ १६  “त्यसैले यहोवा, सेनाहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘सहरका चोकहरूमा तिनीहरू डाँको छोडेर रुनेछन्‌ अनि सडक-सडकमा तिनीहरूले यसो भन्‍नेछन्‌, “हाय! हाय!” शोक गर्न तिनीहरूले किसानहरूलाई बोलाउनेछन्‌ अनि रोइकराइ गर्नको लागि शोक गर्नेहरू भाडामा ल्याउनेछन्‌।’ १७  ‘प्रत्येक अङ्‌गुर बगानमा रुवाबासी हुनेछ+ किनकि म तिमीहरूको बीचबाट जानेछु,’ यहोवा भन्‍नुहुन्छ। १८  ‘यहोवाको दिनको तिर्सना गर्नेहरूलाई धिक्कार छ!+ यहोवाको दिनमा के होला भन्‍ने आशा गर्छौ?+ त्यो अन्धकारको दिन हुनेछ, उज्यालोको होइन।+ १९  त्यो दिन यस्तो हुनेछ, मानौँ एक जना मानिस सिंहदेखि भाग्छ तर भालुसित उसको जम्काभेट हुन्छ अनि आफ्नो घरभित्र पसेपछि भित्ता समातेर अडेस लगाउँदा सर्पले उसलाई डस्छ। २०  यहोवाको दिनमा उज्यालोको सट्टा अन्धकार छाउनेछैन र? उज्यालो नभई निस्पट्ट अँध्यारो हुनेछैन र? २१  म तिमीहरूका चाडहरूलाई घृणा गर्छु,+ तुच्छ ठान्छु अनि तिमीहरूको पवित्र सभाको सुगन्धबाट खुसी हुन्‍नँ। २२  तिमीहरूले मलाई अग्निभेटी* र भेटीहरू चढाए पनि म ती ग्रहण गर्दिनँ;+ मोटाघाटा पशुहरूको मेलबलि* चढाए पनि म प्रसन्‍न हुन्‍नँ।+ २३  तिमीहरूको गीतको हल्लाखल्ला बन्द गर अनि तिमीहरूका तारे बाजाहरूको झङ्‌कार मलाई नसुनाओ।+ २४  न्याय पानीजस्तै कलकल बगोस्‌+ अनि धार्मिकताचाहिँ कहिल्यै नसुक्ने खोलाजस्तै बगोस्‌। २५  ए इस्राएलको घराना, तिमीहरूले निर्जनभूमिमा ४० वर्षसम्म मेरो लागि बलि र भेटीहरू ल्यायौ र?+ २६  अब तिमीहरूले आफ्नो लागि बनाएको मूर्ति, तिमीहरूका तारा देव —तिमीहरूका राजा सक्कुथ र कियुनलाई* बोकेर लैजानुपर्नेछ। २७  यसकारण म तिमीहरूलाई दमिसकबाट टाढा निर्वासनमा पठाउनेछु,’+ सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ, जसको नाम यहोवा हो।”+

फुटनोटहरू

वा सम्भवतः “टुनामुनाको ठाउँ हुनेछ।”
वा “तीतोपनाबराबर।”
शब्दावली हेर्नुहोस्‌।
यसले सिकारी अर्थात मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।
यसले वृष तारामण्डलको प्लिएड्‌स ताराहरूलाई जनाएको हुन सक्छ।
वा “जग्गा कर।”
वा “आन्तरिक चेतना।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
यी दुवै देवताले शनि ग्रहलाई जनाएको हुन सक्छ, जसको पूजा गरिन्थ्यो।