लुकाका अनुसार १८:१-४३

  • हार नमान्‍ने विधवाको उदाहरण (१-८)

  • फरिसी र कर उठाउने मानिस (९-१४)

  • येसु र साना केटाकेटी (१५-१७)

  • धनी मानिसको प्रश्‍न (१८-३०)

  • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३१-३४)

  • अन्धो माग्नेले दृष्टि पाउँछ (३५-४३)

१८  सधैँ प्रार्थना गर्नुपर्छ र कहिल्यै हरेस खानु हुँदैन+ भनेर बुझाउन उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: २  “एउटा सहरमा एक जना न्यायाधीश थियो, जसलाई परमेश्‍वरको डर थिएन र ऊ मानिसको आदर पनि गर्दैनथ्यो। ३  त्यही सहरमा एक जना विधवा पनि थिई र ऊ त्यस न्यायाधीशकहाँ घरीघरी गएर यसो भन्थी: ‘मलाई मुद्दा हाल्ने व्यक्‍ति र मबीच सही न्याय गरिदिनुहोस्‌।’ ४  निकै समयसम्म त उसले वास्तै गरेन तर पछि उसले मनमनै यसो भन्यो: ‘हुनत मलाई परमेश्‍वरको डर छैन र म कुनै मानिसको आदर पनि गर्दिनँ। ५  तैपनि यस विधवाले मलाई घरीघरी दुःख दिइरहेकीले म त्यसको न्याय गरिदिनेछु, नत्र त मकहाँ धाएको धायै गरेर त्यसले मलाई बसीखान दिनेछैन।’”+ ६  त्यसपछि प्रभुले भन्‍नुभयो: “बेइमान भएर पनि त्यो न्यायाधीशले के भन्यो, सुन्यौ? ७  त्यसोभए के परमेश्‍वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्‍न र?+ उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्‍य न्याय गर्नुहुनेछ।+ ८  म तिमीहरूलाई भन्छु, उहाँले तिनीहरूको न्याय तुरुन्तै गरिदिनुहुनेछ। तैपनि मानिसको छोरा आउँदा के उसले यस्तो विश्‍वास हुने मानिस पृथ्वीमा साँच्चै पाउनेछ?” ९  आफूलाई धर्मी ठान्‍ने तर अरूलाई चाहिँ तुच्छ ठान्‍ने कोही-कोही मानिसलाई उहाँले यो उदाहरण पनि सुनाउनुभयो: १०  “दुई जना मानिस प्रार्थना गर्न मन्दिर गए, एक जना फरिसी* र अर्कोचाहिँ कर उठाउने मानिस। ११  फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्‍वर, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसजस्तो लुटाहा, बेइमान अनि व्यभिचारी* होइनँ र म यो कर उठाउने मानिसजस्तो पनि छैनँ। १२  म हप्ताको दुई चोटि उपवास बस्छु अनि आफ्नो सबै आम्दानीको दशांश दिन्छु।’+ १३  तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजर स्वर्गतिर उचाल्ने आँटसमेत गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्‍वर, म पापीमाथि कृपा गर्नुहोस्‌।’+ १४  म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो।+ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+ १५  तब उहाँले छोइदेऊन्‌ भनेर मानिसहरूले आफ्ना शिशुहरूलाई उहाँकहाँ ल्याउन थाले तर यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काउन थाले।+ १६  तथापि येसुले ती शिशुहरूलाई आफूकहाँ बोलाउँदै भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+ १७  म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+ १८  अनि सभाघरको एक जना मुख्य व्यक्‍तिले उहाँलाई यस्तो प्रश्‍न सोध्यो: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+ १९  येसुले उसलाई भन्‍नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।+ २०  तिमीलाई यी आज्ञाहरू त थाहै होला नि: ‘व्यभिचार* नगर्नू,+ हत्या नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+ २१  तब उसले भन्यो: “यी सब त मैले सानैदेखि पालन गर्दै आएको छु।” २२  यो सुनेपछि येसुले उसलाई भन्‍नुभयो: “तिमीमा अझै एउटा कुराको कमी छ: आफूसित भएका सबै चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ। तब तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+ २३  यो सुनेर ऊ अत्यन्तै दुःखी भयो किनकि ऊ असाध्यै धनी थियो।+ २४  येसुले उसलाई हेर्नुभयो र भन्‍नुभयो: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!+ २५  वास्तवमा धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ २६  यो कुरा सुन्‍नेहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७  उहाँले भन्‍नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्‍वरको लागि सम्भव छ।”+ २८  तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी आफ्नो सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+ २९  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्‍वरको राज्यको खातिर जसले घर वा पत्नी वा दाजुभाइ वा आमाबुबा वा छोराछोरी छोड्‌छ,+ ३०  उसले अहिल्यै यी कुरा धेरै गुणा पाउनुका साथै आउने युगमा* अनन्त जीवन पाउनेछ।”+ ३१  तब ती १२ जना चेलालाई अलग्गै लगेर उहाँले भन्‍नुभयो: “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ। अनि मानिसको छोराको विषयमा भविष्यवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन्‌।+ ३२  जस्तै: ऊ अन्यजातिका मानिसहरूको हातमा सुम्पिइनेछ,+ उसको गिल्ला गरिनेछ,+ बेइज्जत गरिनेछ र उसलाई थुकिनेछ।+ ३३  अनि कोर्रा लगाएपछि तिनीहरूले उसलाई मार्नेछन्‌+ तर तेस्रो दिनमा ऊ ब्युँतनेछ।”+ ३४  तर तिनीहरूले यी कुराहरू बुझेनन्‌ किनकि यसको अर्थ तिनीहरूबाट लुकाइएको थियो र जे भनियो, त्यो तिनीहरूले बुझेनन्‌। ३५  येसु यरिहोनजिकै पुग्नुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो।+ ३६  त्यही बाटो भएर गइरहेको भीडको आवाज सुनेपछि उसले के हुँदै छ भनी सोध्यो। ३७  मानिसहरूले उसलाई भने: “नासरी येसु यो बाटो भएर जाँदै हुनुहुन्छ!” ३८  यो सुनेपछि उसले यसो भन्दै पुकाऱ्‍यो: “हे दाउदका छोरा येसु, ममाथि कृपा गर्नुहोस्‌!” ३९  अघिअघि गइरहेकाहरूले उसलाई “चुप लाग्‌” भनी हप्काउन थाले तर ऊ यसो भन्दै झन्‌ चिच्याइरह्‍यो: “हे दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌!” ४०  तब येसु रोकिनुभयो र त्यस माग्नेलाई आफूकहाँ ल्याउन मानिसहरूलाई आज्ञा दिनुभयो। ऊ नजिकै आइपुगेपछि येसुले उसलाई सोध्नुभयो: ४१  “मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौ?” उसले भन्यो: “हे प्रभु, मैले फेरि दृष्टि पाऊँ।” ४२  त्यसैले येसुले उसलाई भन्‍नुभयो: “तिम्रो दृष्टि फर्कोस्‌; तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ ४३  उत्तिखेरै उसले देख्न थाल्यो र परमेश्‍वरको महिमा गर्दै येसुको पछिपछि लाग्न थाल्यो।+ यो देखेर सबै मानिसले परमेश्‍वरको प्रशंसा गरे।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावलीमा “व्यभिचार” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।