सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ७

के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?

के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?

“जीवनको मूल तपाईँसित छ।”—भजन ३६:९.

१, २. (क) यहोवाले हामीलाई कस्तो अनमोल उपहार दिनुभएको छ? (ख) सही निर्णय गर्न सकौँ भनेर उहाँले हामीलाई के दिनुभएको छ?

यहोवाले हामीलाई एउटा अनमोल उपहार दिनुभएको छ। त्यो हो—जीवन। (उत्पत्ति १:२७) उहाँ हामी सबैले उत्तम जीवन बिताएको चाहनुहुन्छ। त्यसैले उहाँले सिद्धान्तहरू दिनुभएको छ, जसले सही निर्णय गर्न मदत गर्छ। हामीले “सही र गलत छुट्ट्याउन” यी सिद्धान्तहरू प्रयोग गर्नुपर्छ। (हिब्रू ५:१४) यसो गर्दा हामीले यहोवाबाट सही तरिकामा सोच्ने तालिम पाइरहेका हुन्छौँ। परमेश्‍वरले दिनुभएका सिद्धान्तहरूअनुसार जीवन बिताउँदा र त्यसले जीवनमा पारेको राम्रो प्रभाव अनुभव गर्दा ती सिद्धान्तहरू कत्ति अनमोल रहेछन्‌ भनेर बुझ्छौँ।

हामीले जीवनमा थुप्रै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। धेरैजसो परिस्थितिमा बाइबलले तोकेरै नियम दिएको छैन। जस्तै: रगतको प्रयोग हुने उपचारविधि छान्‍ने सन्दर्भमा। त्यसोभए यहोवालाई खुसी बनाउने तरिकामा कसरी निर्णय गर्न सक्छौँ? बाइबलका सिद्धान्तहरूले जीवन र रगतलाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ भनेर बुझ्न मदत गर्छ। यी सिद्धान्तहरू राम्ररी बुझ्यौँ भने सही निर्णय गर्न र आफ्नो अन्तस्करण सफा राख्न सक्नेछौँ। (हितोपदेश २:६-११) आउनुहोस्‌, तीमध्ये केही सिद्धान्त विचार गरौँ।

परमेश्‍वरले जीवन र रगतलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

३, ४. (क) परमेश्‍वर रगतलाई कस्तो ठान्‍नुहुन्छ? (ख) रगतले केको प्रतिनिधित्व गर्छ?

रगतले जीवनको प्रतिनिधित्व गर्ने भएकोले यो पवित्र छ भनी बाइबल सिकाउँछ। यहोवाको नजरमा जीवन अनमोल छ। कयिनले आफ्नो भाइको हत्या गरेपछि उहाँले यसो भन्‍नुभयो: “तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।” (उत्पत्ति ४:१०) हाबिलको रगतले तिनको जीवनको प्रतिनिधित्व गर्थ्यो। त्यसैले हाबिलको रगतबारे कुरा गर्नुहुँदा वास्तवमा यहोवाले तिनको जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो।

नुहको जलप्रलयपछि यहोवाले मानिसलाई जनावरको मासु खाने अनुमति दिनुभयो। तर उहाँले तोकेरै यस्तो आज्ञा दिनुभयो: “तिमीहरूले मासुसित रगतचाहिँ नखानू किनभने रगत नै जीवन हो।” (उत्पत्ति ९:४) यो आज्ञा नुहका सबै सन्तानलाई लागू हुन्छ, हामीलाई पनि। सीधै भन्‍नुपर्दा यहोवाको नजरमा रगतले जीवनको प्रतिनिधित्व गर्छ। हामीले पनि रगतप्रति त्यस्तै दृष्टिकोण राख्नुपर्छ।—भजन ३६:९.

५, ६. जीवन र रगतप्रतिको यहोवाको दृष्टिकोण बुझ्न मोसाको व्यवस्थाले कसरी मदत गर्छ?

यहोवाले मोसालाई दिनुभएको व्यवस्थामा यसो भन्‍नुभएको पाउँछौँ: “कुनै इस्राएलीले . . . रगत खाएमा म उसलाई त्याग्नेछु र उसलाई समुदायबाट हटाउनेछु। किनकि हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ।”—लेवी १७:१०, ११.

मोसाको व्यवस्थाअनुसार यदि कसैले मासुको लागि जनावरलाई माऱ्‍यो भने त्यसको रगत भुईँमा पोखाइदिनुपर्थ्यो। यसो गर्दा उसले त्यो जनावरको जीवन सृष्टिकर्ता यहोवालाई फिर्ता गरिरहेको हुन्थ्यो। (व्यवस्था १२:१६; इजकिएल १८:४) तर यहोवाले एक थोपा रगत बाँकी नरहनेगरि निथार्नुपर्छ भनेर भन्‍न खोजिरहनुभएको थिएन। इस्राएलीहरूले आफूले सकेजति रगत निथारेपछि सफा अन्तस्करण राखेर मासु खान सक्थे। जनावरको रगतलाई अनमोल ठानेर तिनीहरूले जीवनदाता यहोवालाई आदर गरेको देखाउन सक्थे। मोसाको व्यवस्थामा पापको क्षमा पाउन जनावरको बलि चढाउने आज्ञा पनि दिइएको थियो।—नोट १९२० हेर्नुहोस्‌।

७. दाउदले रगतलाई अनमोल ठानेको कसरी देखाए?

रगत कति अनमोल छ भन्‍ने कुरा दाउदको विवरणबाट पनि बुझ्न सक्छौँ। एकपटकको कुरा हो, दाउद पलिस्तियालीहरूसित युद्ध लड्‌न गएको बेला तिनलाई धेरै तिर्खा लागेको थियो। त्यसैले तिनका मानिसहरू पानी लिन पलिस्तियालीहरूले कब्जा जमाएको सहरमा छिरे। तिनीहरूले आफ्नो जीवन दाउमा राखेर पानी ल्याए। तर दाउदले त्यो पिउन मानेनन्‌। तिनले “त्यसलाई यहोवा परमेश्‍वरसामु खन्याइदिए।” किन? तिनले यसो भने: “हे यहोवा! यो पानी पिउने कुरा म सोच्न समेत सक्दिनँ! आफ्नो ज्यानको खतरा मोलेका यी मानिसहरूको रगत म कसरी पिउन सक्छु र?” परमेश्‍वरले जीवन र रगतलाई अनमोल ठान्‍नुहुन्छ भनेर दाउदले बुझेका थिए।—२ समुएल २३:१५-१७.

८, ९. आज ख्रिष्टियनहरूले रगतप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

येसुको मृत्युपछि मोसाको व्यवस्था खारेज भयो। तर व्यवस्थाको कुनै-कुनै आज्ञा ख्रिष्टियनहरूले अझै पालन गरेको यहोवा चाहनुहुन्थ्यो। हुनत ख्रिष्टियनहरूले जनावरको बलिदान चढाउनुपर्दैनथ्यो तर ‘रगतबाट अलग रहनुपर्ने’ नियम भने अझै पालन गर्नुपर्थ्यो। रगतबाट अलग रहनु अवैध यौनसम्बन्ध वा मूर्तिपूजाबाट अलग रहनुजत्तिकै महत्त्वपूर्ण थियो।—प्रेषित १५:२८, २९.

रगतका सूक्ष्म तत्त्वहरूको प्रयोगबारे मैले गरेको निर्णय अरूलाई कसरी बताउन सक्छु?

आज पनि कुरा त्यही हो। ख्रिष्टियन भएकोले हामीलाई यहोवा नै जीवनको मूल हुनुहुन्छ र सबैको जीवन उहाँकै हो भनेर थाह छ। रगत पवित्र छ अनि यसले जीवनको प्रतिनिधित्व गर्छ भन्‍ने कुरा पनि हामीले बुझेका छौँ। त्यसैले रगतको प्रयोग हुने उपचारविधि छान्‍ने सन्दर्भमा बाइबलका सिद्धान्तहरू विचार गर्नुपर्छ।

उपचारमा रगतको प्रयोग

१०, ११. (क) रगत र त्यसका मूल तत्त्वहरू लिने सन्दर्भमा यहोवाका साक्षीहरू कस्तो दृष्टिकोण राख्छन्‌? (ख) प्रत्येक ख्रिष्टियनले कस्ता विषयहरूमा आफैले निर्णय गर्नुपर्छ?

१० यहोवाका साक्षीहरूले ‘रगतबाट अलग रहनु’ भनेको रगत नखानु वा नपिउनु मात्र होइन भनेर बुझेका छन्‌। हामी रगत लिँदैनौँ, रक्‍तदान गर्दैनौँ अनि पछि लिने उद्देश्‍यले आफ्नै रगत सञ्चय गर्दैनौँ। साथै रगतका चार मूल तत्त्व—रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स र प्लाज्मा पनि लिँदैनौँ।

११ रगतका यी चार मूल तत्त्वलाई सूक्ष्म तत्त्वहरूमा विभाजन गर्न सकिन्छ। प्रत्येक ख्रिष्टियनले यी सूक्ष्म तत्त्वहरू स्विकार्ने कि नस्विकार्ने, आफैले निर्णय गर्नुपर्छ। आफ्नै रगत प्रयोग हुने उपचारविधि स्विकार्ने कि नस्विकार्ने भनेर पनि आफैले निर्णय गर्नुपर्छ। शल्यक्रिया गर्दा, स्वास्थ्य परीक्षण गर्दा अथवा कुनै उपचारविधि अपनाउँदा आफ्नो रगत कसरी प्रयोग गर्न दिने हो भनेर पनि आफैले निर्णय गर्नुपर्छ।—नोट २१ हेर्नुहोस्‌।

१२. (क) हामीले अन्तस्करण चलाएर गर्ने निर्णयहरूमा यहोवा किन चासो राख्नुहुन्छ? (ख) उपचारविधि छान्‍ने सन्दर्भमा कसरी बुद्धिमानी निर्णय गर्न सक्छौँ?

१२ हामीले अन्तस्करण चलाएर गर्नुपर्ने निर्णयहरूमा के यहोवा साँच्चै चासो राख्नुहुन्छ? हो, राख्नुहुन्छ। तर किन? किनभने त्यस्ता निर्णयहरूले हाम्रो हृदयमा के छ भनेर देखाउँछ। यहोवा हाम्रो विचार र भावना कस्तो छ भनेर बुझ्न चाहनुहुन्छ। (हितोपदेश १७:३; २४:१२ पढ्‌नुहोस्‌) त्यसकारण उपचारविधि छान्‍नुअघि यहोवाको डोऱ्‍याइको लागि प्रार्थना गर्नुपर्छ अनि त्यससम्बन्धी अध्ययन-अनुसन्धान गर्नुपर्छ। त्यसपछि हामीले बाइबल-प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्नुपर्छ। हामीले अरूलाई ‘तपाईँ मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो’ भनेर सोध्नु हुँदैन न त अरूको दबाबमा परेर निर्णय गर्नु हुन्छ। हरेक ख्रिष्टियनले ‘आफ्नो भारी आफै बोक्नुपर्छ।’—गलाती ६:५; रोमी १४:१२.

यहोवाका नियमहरूमा उहाँको प्रेम झल्किन्छ

१३. रगतसम्बन्धी यहोवाले दिनुभएका नियमहरू र सिद्धान्तहरूबाट उहाँबारे के सिक्न सक्छौँ?

१३ यहोवाले हाम्रै फाइदाको निम्ति अनि हामीलाई माया गर्नुहुने भएकोले विभिन्‍न नियम दिनुभएको हो। (भजन १९:७-११) हामी आफ्नो फाइदा हुने भएकोले मात्र उहाँको आज्ञा पालन गर्ने होइन बरु उहाँलाई प्रेम गर्ने भएकोले उहाँको आज्ञा पालन गर्छौँ। त्यसैले हामी रगत लिँदैनौँ। (प्रेषित १५:२०) यसो गर्दा हामी विभिन्‍न स्वास्थ्य समस्यादेखि पनि जोगिन सक्छौँ। आज धेरैजसो मानिसलाई रगत लिँदा वा दिँदा हुन सक्ने खतराहरूबारे थाह छ। अनि थुप्रै डाक्टर पनि रगत नलिई शल्यक्रिया गर्नु बिरामीको स्वास्थ्यको लागि लाभदायी हुन्छ भनी मानिलिन्छन्‌। यसबाट यहोवाका नियमहरू सही र मायालु छन्‌ भनेर स्पष्ट हुन्छ।यसैया ५५:९ पढ्‌नुहोस्‌; युहन्‍ना १४:२१, २३.

१४, १५. (क) यहोवाले आफ्ना जनहरूलाई सुरक्षासम्बन्धी कस्ता नियमहरू दिनुभएको थियो? (ख) ती नियमहरूमा लुकेको सिद्धान्त तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ?

१४ परमेश्‍वरका नियमहरूले उहाँका जनहरूलाई सधैँ फाइदा पुऱ्‍याएको छ। यहोवाले प्राचीन समयका इस्राएलीहरूलाई ठूला दुर्घटनाहरूबाट जोगिन नियमहरू दिनुभएको थियो। उदाहरणको लागि, घरधनीले छतमा चारैतिर बार लगाउनुपर्थ्यो। छतबाट कोही नलडोस्‌ भनेर यस्तो नियम दिइएको थियो। (व्यवस्था २२:८) अर्को नियम जनावरसम्बन्धी थियो। यदि कसैको गोरुको हान्‍ने बानी छ भने अरूलाई हानि नपुऱ्‍याओस्‌ वा नमारोस्‌ भनेर त्यसलाई बाँधेर राख्नुपर्थ्यो। (प्रस्थान २१:२८, २९) यदि कुनै इस्राएलीले यी नियमहरू पालन नगरेकोले कसैको ज्यान गयो भने त्यसको दोष त्यही इस्राएलीलाई लाग्थ्यो।

१५ यी नियमहरूबाट यहोवा जीवनलाई अनमोल ठान्‍नुहुन्छ भनेर बुझ्न सक्छौँ। हामी कसरी यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छौँ? आफ्नो घर र सवारीसाधनको अवस्था कस्तो छ, सवारीसाधन कसरी चलाउँदै छौँ अनि कस्तो मनोरञ्जन गर्दै छौँ, त्यसमा ध्यान दिएर। विशेषगरि युवाहरू आफूलाई केही हुँदैन भन्‍ने सोच्छन्‌ र सम्भाव्य खतरालाई बेवास्ता गर्दै जोखिम मोल्छन्‌। तर यहोवा हामीले त्यसो गरेको चाहनुहुन्‍न। हामीले आफ्नो र अरूको जीवनलाई अनमोल ठानेको उहाँ चाहनुहुन्छ।—उपदेशक ११:९, १०.

१६. यहोवालाई गर्भपतन कस्तो लाग्छ? किन?

१६ यहोवा सबै मानिसको जीवनलाई अनमोल ठान्‍नुहुन्छ। उहाँ गर्भको बच्चालाई समेत अमूल्य ठान्‍नुहुन्छ। मोसाको व्यवस्थाअनुसार यदि कसैले गर्भवती महिलालाई अनजानमै चोट पुऱ्‍यायो र उसको वा बच्चाको ज्यान गयो भने परमेश्‍वरले उक्‍त व्यक्‍तिलाई हत्यारा ठहराउनुहुन्थ्यो। त्यो अनजानमै घटेको घटना भए पनि कसैको ज्यान गएको कारण क्षतिपूर्तिस्वरूप उक्‍त व्यक्‍तिलाई मृत्युदण्ड दिइन्थ्यो। (प्रस्थान २१:२२, २३ पढ्‌नुहोस्‌) परमेश्‍वरको नजरमा गर्भमा रहेको बच्चाको जीवन वयस्क व्यक्‍तिको जीवन जत्तिकै अनमोल छ। त्यसोभए गर्भपतनलाई उहाँ कस्तो ठान्‍नुहुन्छ? वर्षेनी लाखौँ बच्चाको गर्भमै हत्या भएको देख्दा उहाँलाई कस्तो लाग्छ होला?

१७. यहोवालाई चिन्‍नुअघि नै गर्भपतन गरेकी महिलालाई कुन कुराले सान्त्वना दिन सक्छ?

१७ यहोवालाई चिन्‍नुअघि कुनै महिलाले गर्भपतन गरेकी थिइन्‌ भने नि? येसुले दिनुभएको फिरौतीको बलिदानको आधारमा यहोवा क्षमा दिन सक्नुहुन्छ भनेर तिनी ढुक्क हुन सक्छिन्‌। (लुका ५:३२; एफिसी १:७) तिनले मनैदेखि पश्‍चात्ताप गरेकी छिन्‌ भने दोषी महसुस गर्नुपर्दैन। “यहोवा कृपालु र दयालु हुनुहुन्छ . . . पूर्वबाट पश्‍चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।”—भजन १०३:८-१४.

घृणा हटाउनुहोस्‌

१८. हामीले किन मनबाट घृणा हटाउनुपर्छ?

१८ परमेश्‍वरले दिनुभएको जीवनलाई हामीले मनैदेखि कदर गर्नुपर्छ। त्यो कुरा हामी अरूप्रति कस्तो महसुस गर्छौँ, त्यसबाट पनि देखिन्छ। “हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो” भनेर प्रेषित युहन्‍नाले लेखे। (१ युहन्‍ना ३:१५) हामीलाई कोही व्यक्‍ति मन पर्दैन भने ऊप्रति घृणा जाग्न थालेको पत्तै नहुन सक्छ। कसैलाई घृणा गर्छौँ भने उसलाई आदर गर्न सक्दैनौँ। हामी उसलाई झूटो आरोप लगाउने हदसम्म पुग्न सक्छौँ अथवा ऊ मरोस्‌ भन्‍ने इच्छासमेत जाग्न सक्छ। हाम्रो मनमा अरूप्रति कस्तो भावना छ भनेर यहोवालाई राम्ररी थाह छ। (लेवी १९:१६; व्यवस्था १९:१८-२१; मत्ति ५:२२) यदि हाम्रो मनमा कसैप्रति घृणा छ भनेर थाह पायौँ भने त्यसलाई हटाउन प्रयत्न गर्नुपर्छ।—याकुब १:१४, १५; ४:१-३.

१९. जीवनलाई अनमोल ठानेको कुरा अर्को कुन तरिकामा पनि देखाउन सक्छौँ?

१९ जीवनलाई अनमोल ठान्छौँ भनेर हामी अर्को तरिकामा पनि देखाउन सक्छौँ। भजन ११:५ मा “हत्याहिंसा मन पराउनेलाई [यहोवा] घृणा गर्नुहुन्छ” भनेर लेखिएको छ। त्यसैले हिंसात्मक मनोरञ्जनमा भाग लिन्छौँ भने हिंसालाई मन पराइरहेका हुन्छौँ। हामी गालीगलौज, अरूलाई हानि गर्ने विचार र हिंसात्मक दृश्‍य वा तस्बिरहरूले आफ्नो दिमागलाई दूषित पार्न चाहँदैनौँ। बरु हामी आफ्नो दिमागमा चोखा अनि राम्रा कुराहरू भर्न चाहन्छौँ।फिलिप्पी ४:८, ९ पढ्‌नुहोस्‌।

जीवनको कदर नगर्ने सङ्‌गठनको भाग नबन्‍नुहोस्‌

२०-२२. (क) यहोवा सैतानको संसारलाई कस्तो ठान्‍नुहुन्छ? (ख) परमेश्‍वरका उपासकहरूले ‘संसारको भाग नभएको’ कुरा कसरी देखाउन सक्छन्‌?

२० सैतानको संसारले जीवनको कदर गर्दैन। त्यसैले यहोवा त्यसलाई रक्‍तदोषी अर्थात्‌ हत्यारा ठान्‍नुहुन्छ। राजनैतिक कारणले गर्दा लाखौँ मानिसले आफ्नो ज्यान गुमाइसकेका छन्‌, जसमा यहोवाका सेवकहरू पनि पर्छन्‌। बाइबलमा यस्ता राजनैतिक शक्‍ति वा सरकारहरूलाई डरलाग्दा अनि हिंस्रक जनावरहरूसित तुलना गरिएको छ। (दानिएल ८:३, ४, २०-२२; प्रकाश १३:१, २, ७, ८) अहिले संसारमा हेर्ने हो भने हातहतियारको कारोबार निकै मौलाएको छ। मानिसहरू घातक हातहतियार बेचेर निकै मुनाफा आर्जन गर्छन्‌। स्पष्ट छ, “सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ युहन्‍ना ५:१९.

२१ तर साँचो ख्रिष्टियनहरू ‘यस संसारका भाग होइनन्‌।’ यहोवाका साक्षीहरू राजनीति अनि युद्धमा भाग लिँदैनन्‌। तिनीहरू अरूको ज्यान लिँदैनन्‌ अनि त्यस्तो काम गर्ने सङ्‌गठनलाई साथ पनि दिँदैनन्‌। (युहन्‍ना १५:१९; १७:१६) कसैले खेदो गर्दा तिनीहरू हिंसाको बाटो अपनाउँदैनन्‌। किनभने येसुले शत्रुहरूलाई समेत प्रेम गर्नू भनेर सिकाउनुभयो।—मत्ति ५:४४; रोमी १२:१७-२१.

२२ धर्मको कारण पनि लाखौँ मानिसले ज्यान गुमाएका छन्‌। झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनबारे बाइबल यसो भन्छ: “यही सहरमा भविष्यवक्‍ताहरूको र पवित्र जनहरूको अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइयो।” त्यसकारण यहोवाले हामीलाई यस्तो आज्ञा दिनुभएको छ: “हे मेरा मानिस हो, . . . त्यसबाट निस्केर आओ।” यहोवाका उपासकहरू झूटा धर्महरूदेखि अलग रहन्छन्‌।—प्रकाश १७:६; १८:२, ४, २४.

२३. महान्‌ बेबिलोनबाट ‘निस्केर आउनुको’ मतलब के हो?

२३ महान्‌ बेबिलोनबाट ‘निस्केर आउनुको’ मतलब झूटो धर्मलाई पूरै त्याग्नु हो। उदाहरणको लागि, हामीले झूटो धार्मिक सङ्‌गठनको सदस्य-सूचीबाट आफ्नो नाम हटाउनुपर्छ। त्यति मात्र होइन, झूटो धर्मले गर्ने खराब कामहरूलाई पनि घृणा गर्नुपर्छ अनि त्यसबाट अलग रहनुपर्छ। झूटो धर्मले अनैतिक यौनसम्बन्ध राख्नुलाई हल्कासित लिन्छ, राजनीतिमा हात हाल्छ र मानिसहरूलाई लोभी बनाउँछ। (भजन ९७:१० पढ्‌नुहोस्‌; प्रकाश १८:७, ९, ११-१७) यसले गर्दा वर्षौँको दौडान लाखौँले ज्यान गुमाएका छन्‌।

२४, २५. यहोवालाई चिनेपछि हामी कसरी साँचो मनोशान्ति पाउन र अन्तस्करण सफा राख्न सक्छौँ?

२४ यहोवालाई चिन्‍नुअघि हामीले सैतानको संसारलाई कुनै न कुनै तरिकामा समर्थन गरेका थियौँ। तर अहिले सैतानको संसारले गर्ने खराब कुराहरूलाई त्यागेका छौँ। हामीले फिरौतीको बलिदानलाई स्विकारेका छौँ र परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेका छौँ। हामीले “स्वयम्‌ यहोवा परमेश्‍वरबाट स्फूर्ति प्राप्त” गरेका छौँ। मतलब, यहोवालाई खुसी पारिरहेको छु भनेर थाह पाएकोले हामीले साँचो मनोशान्ति पाउन सकेका छौँ र आफ्नो अन्तस्करण सफा राख्न सकेका छौँ।—प्रेषित ३:१९; यसैया १:१८.

२५ यदि हामी कुनै समय जीवनको अनादर गर्ने सङ्‌गठनको भाग थियौँ भने पनि फिरौतीको बलिदानको आधारमा यहोवा हामीलाई क्षमा दिनुहुन्छ। हामी यहोवाले उपहारस्वरूप दिनुभएको जीवनको मनैदेखि कदर गर्छौँ। अरूलाई यहोवाबारे सिक्न, सैतानको संसारबाट अलग रहन अनि परमेश्‍वरसित मित्रता गाँस्न यथासक्दो मदत गरेर हामी जीवनको कदर गरेको देखाउँछौँ।—२ कोरिन्थी ६:१, २.

परमेश्‍वरको राज्यबारे अरूलाई बताउनुहोस्‌

२६-२८. (क) यहोवाले इजकिएललाई कस्तो काम दिनुभयो? (ख) आज यहोवाले हामीलाई कस्तो काम दिनुभएको छ?

२६ प्राचीन समयमा यहोवाले इस्राएललाई चेतावनी दिन भविष्यवक्‍ता इजकिएललाई अह्राउनुभयो। इजकिएलले यरुसलेमको विनाश चाँडै हुनेछ र त्यस विनाशबाट जोगिन के गर्नुपर्छ भनेर मानिसहरूलाई बताउनुपर्थ्यो। तिनले मानिसहरूलाई चेतावनी नदिएको भए अनि उनीहरूको ज्यान गएको भए यहोवाले तिनलाई दोषी ठहराउनुहुने थियो। (इजकिएल ३३:७-९) इजकिएलले त्यो महत्त्वपूर्ण सन्देश अरूलाई सुनाउन सक्दो गरेर जीवनको कदर गरेको देखाए।

२७ यहोवाले हामीलाई पनि मानिसहरूलाई चेतावनी दिने जिम्मेवारी दिनुभएको छ। हामी सैतानको संसार अब चाँडै नाश हुनेछ भनेर मानिसहरूलाई चेतावनी दिन्छौँ। साथै परमेश्‍वरलाई चिन्‍न अनि नयाँ संसारमा बाँच्न के गर्नुपर्छ भनेर बुझ्न पनि हामी मानिसहरूलाई मदत गर्छौँ। (यसैया ६१:२; मत्ति २४:१४) हामी अरूलाई यो सन्देश सुनाउन दिलोज्यान लगाउँछौँ। हामी पावलले जस्तै यसो भन्‍न सकौँ: “सबै मानिसको रगतबाट म निर्दोष छु . . . किनकि तपाईँहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैनँ।”—प्रेषित २०:२६, २७.

२८ परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामीले जीवन र रगतप्रति यहोवाको जस्तै दृष्टिकोण राखेर मात्र पुग्दैन। हामी उहाँको नजरमा स्वच्छ पनि हुनुपर्छ। यसबारे हामी अर्को अध्यायमा छलफल गर्नेछौँ।