दानिएल ८:१-२७

  • थुमा र बोकाको दर्शन (१-१४)

    • सानो सिङले आफैलाई उच्च तुल्याउँछ (९-१२)

    • २ हजार ३ सय साँझ र बिहान नबितुन्जेल (१४)

  • गब्रिएल दर्शनको अर्थ बताउँछन्‌ (१५-२७)

    • थुमा र बोकाको अर्थ बुझाइन्छ (२०, २१)

    • क्रूर राजा देखा पर्छन्‌ (२३-२५)

८  राजा बेलसजरको+ शासनको तेस्रो वर्षमा म दानिएलले एउटा अर्को दर्शन* देखेँ।+ २  म सुसन*+ नाम गरेको किल्लामा* थिएँ, जुन एलाम प्रान्तमा थियो।+ मैले दर्शन हेर्दै गर्दा म उलै नहरको छेउमा थिएँ। ३  मैले आफ्नो नजर उठाएर हेरेँ अनि हेर! त्यहाँ एउटा थुमा+ नहरको अगाडि उभिरहेको थियो अनि त्यसका दुई वटा सिङ थिए।+ ती सिङ लामा-लामा थिए। तर एउटा सिङ अर्कोभन्दा अझै लामो थियो अनि त्यो सिङ पछि उम्रेको थियो।+ ४  अनि थुमाले पश्‍चिम, उत्तर र दक्षिणतिर सिङले हान्दै गरेको मैले देखेँ अनि कुनै पनि जङ्‌गली जनावर त्यसको अगाडि टिक्न सकेन। त्यसको हातबाट* बचाउन सक्ने कोही पनि थिएन।+ त्यसलाई जे गर्न मन लाग्थ्यो, त्यही गर्थ्यो अनि आफैलाई उच्च पार्थ्यो। ५  मैले हेर्दै गर्दा पश्‍चिमतिरबाट एउटा बोका+ आइरहेको देखेँ अनि त्यो जमिनमा कतै पनि नछोई पूरै पृथ्वीलाई पार गर्दै माथि-माथिबाट आइरहेको थियो। अनि त्यसका आँखाहरूको बीचमा एउटा सिङ थियो, जुन प्रस्टै देखिन्थ्यो।+ ६  त्यो बोका दुई वटा सिङ भएको थुमातिर आउँदै थियो, जसलाई नहरको अगाडि उभिरहेको मैले देखेको थिएँ। त्यो असाध्यै रिसाएर त्यस थुमातिर दौडँदै आइरहेको थियो। ७  त्यो बोका अघि बढ्‌दै थुमाको नजिकै आइपुगेको मैले देखेँ; त्यो असाध्यै रिसाएको थियो। त्यसले थुमालाई आक्रमण गरेर त्यसका दुवै सिङ भाँचिदियो। त्यसको सामना गर्न त्यस थुमासित बल थिएन। त्यसले थुमालाई भुईँमा पछारिदियो अनि कुल्चीमिल्ची गऱ्‍यो। त्यसको हातबाट थुमालाई छुटाउन सक्ने कोही थिएन। ८  तब त्यस बोकाले आफूलाई अत्यन्तै उच्च पाऱ्‍यो। तर त्यो शक्‍तिशाली हुनेबित्तिकै त्यसको ठूलो सिङ भाँचियो। अनि त्यसको ठाउँमा प्रस्टै देखिने अर्को चार वटा सिङ उम्रिए र ती सिङहरू पृथ्वीको चारै दिशातिर* फर्केका थिए।+ ९  ती सिङहरूमध्ये एउटाबाट अर्को एउटा सानो सिङ उम्रियो। त्यो दक्षिणतर्फ, पूर्वतर्फ अनि सुन्दर भूमितर्फ शक्‍तिशाली हुँदै गयो।+ १०  त्यो अत्यन्तै शक्‍तिशाली हुँदै गयो र स्वर्गको सेनासम्मै पुग्यो। त्यसले स्वर्गका केही सेनालाई र केही तारालाई पृथ्वीमा झाऱ्‍यो र तिनीहरूलाई कुल्चीमिल्ची गऱ्‍यो। ११  त्यसले आफूलाई उच्च तुल्यायो अनि प्रधान-सेनापतिलाई समेत चुनौती दियो र नियमित रूपमा चढाइने बलि तिनीबाट खोसियो अनि तिनको स्थापित पवित्र स्थानलाई* तल झारियो।+ १२  अपराधको कारणले सेना र नियमित रूपमा चढाइने बलि त्यसको हातमा सुम्पिइयो। त्यसले सत्यलाई पृथ्वीमा फ्याँकिरह्‍यो अनि त्यसले गरेको काममा त्यो सफल भयो। १३  मैले एक पवित्र जनले कुरा गरिरहेको सुनेँ। तिनलाई अर्का पवित्र जनले सोधे: “नियमित रूपमा चढाइने बलि अनि अपराधको दर्शन कहिलेसम्म चलिरहन्छ,+ जसको कारण पवित्र ठाउँ र सेनालाई कुल्चीमिल्ची गर्न दिइयो?” १४  तिनले मलाई भने: “दुई हजार तीन सय साँझ र बिहान नबितुन्जेल। तब पवित्र ठाउँलाई निश्‍चय नै पहिलाजस्तै ठीक अवस्थामा ल्याइनेछ।” १५  म दानिएल दर्शन हेर्दै थिएँ र त्यसलाई बुझ्ने कोसिस गर्दै थिएँ। तब अचानक मेरो अगाडि मानिसजस्तो देखिने कोही उभिरहेको देखेँ। १६  त्यसपछि मैले उलैको+ बीचबाट एक जना मानिसको आवाज सुनेँ अनि तिनले भने: “गब्रिएल,+ त्यस मानिसले देखेको कुराको अर्थ उसलाई बताइदेऊ।”+ १७  अनि म उभिरहेको ठाउँमा तिनी आए। तर मलाई असाध्यै डर लाग्यो र भुईँमा घोप्टो परेँ। तिनले मलाई भने: “हे मानिसको छोरा! यो दर्शन अन्तको दिनको लागि हो भनेर बुझ।”+ १८  तिनी मसँग बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ। त्यसैले तिनले मलाई छोए र म पहिला जहाँ उभिरहेको थिएँ, त्यहीँ उभिन लगाए।+ १९  तिनले भने: “परमेश्‍वरको क्रोधको दिनको अन्तमा के हुनेछ, म तिमीलाई बताउँछु किनभने यो दर्शन अन्तको दिनको तोकिएको समयको लागि हो।+ २०  “तिमीले देखेको दुई वटा सिङ भएको थुमा मादी र फारसका राजाहरू हुन्‌।+ २१  रौँ नै रौँ भएको बोकाचाहिँ ग्रीसको राजा हो;+ त्यसका आँखाहरूको बीचमा भएको ठूलो सिङ पहिलो राजा हो।+ २२  त्यो भाँचिएको सिङको सट्टामा उम्रेका चार वटा सिङचाहिँ+ चार राज्य हुन्‌, जो त्यस राज्यबाट खडा हुनेछन्‌। तर यी राज्यहरू पहिलो राज्यजति शक्‍तिशाली हुनेछैनन्‌। २३  “ती राज्यहरूको पछिल्ला दिनहरूमा जब अपराधीहरूको अपराधले सीमा नाघ्छ, तब एउटा क्रूर शासक देखा पर्नेछ, जसले बुझ्न नसकिने कुराहरूसमेत बुझ्छ।* २४  ऊ शक्‍तिशाली हुनेछ तर आफ्नै बलले होइन। उसले घोर विध्वंस मच्चाउनेछ अनि ऊ आफ्नो हरेक काममा सफल हुनेछ। उसले शक्‍तिशाली व्यक्‍तिहरूलाई अनि पवित्र जनहरूलाई पनि नाश गर्नेछ।+ २५  उसले छल गर्दै धोका दिनेछ र सफल हुनेछ अनि उसले मनमनै आफूलाई उच्च पार्नेछ। सुरक्षाको समयमा* उसले थुप्रैलाई नाश गर्नेछ। ऊ सेनापतिहरूका सेनापतिविरुद्ध समेत खडा हुनेछ। तर मानिसको हातविना नै उसलाई ढालिनेछ। २६  “दर्शनमा साँझ र बिहानको विषयमा बताइएको कुरा सत्य हो। तर तिमीले यो दर्शन गोप्य राख्नुपर्छ किनभने यो धेरै समयपछि पूरा हुनेछ।”+ २७  तर म दानिएल लखतरान भएँ अनि केही दिन बिरामी परेँ।+ अनि म उठेँ र राजाको काम गर्न थालेँ।+ तर मैले देखेको कुराले गर्दा म अक्क न बक्क भएँ। मैले देखेको दर्शन कसैले बुझेन।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “सुसा।”
वा “महलमा।”
वा “शक्‍तिबाट।”
शा., “आकाशका चारै बतासतिर।”
शब्दावली हेर्नुहोस्‌।
वा “जो छल गर्नमा पोख्त छ।”
वा सम्भवतः “चेतावनी नदिई।”