सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भित्री आवाजलाई सुन्‍नुहोस्‌

भित्री आवाजलाई सुन्‍नुहोस्‌

भित्री आवाजलाई सुन्‍नुहोस्‌

“[ परमेश्‍वरको] व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्‌।”—रोमी २:१४.

१, २. (क) अरूको हितका लागि थुप्रैले के-के गरेका छन्‌? (ख) अरूप्रति चासो देखाएको कस्ता उदाहरणहरू बाइबलमा छन्‌?

 एक २० वर्षीय युवक रेलवे-स्टेसनमा बस्दाबस्दै छारे रोगले च्यापेर रेलको लिकमा खसे। यो देखेर आफ्ना दुई छोरीहरूको हात समातेर उभिरहेका एक मानिस तिनीहरूलाई त्यहीं छोडि ती युवकलाई बचाउन लिकमा हाम्फाले। अनि तिनले ती युवकलाई लिकको बीच भागमा ताने र तिनलाई घप्प छोपेर बसे। रोक्नको लागि गति कम गर्दै गरेको रेल उनीहरूकै माथि ठूलो आवाज निकाल्दै रोकियो। कसै-कसैले ती बचाउने मानिसलाई हिरोको संज्ञा देलान्‌ तर तिनले यसो भने: “मानिसले सधैं सही कुरा गर्नुपर्छ। दया जागेर मैले त्यस्तो कदम चालेको हुँ। नाउँ कमाउनको लागि होइन।”

खतरा मोलेर अरूलाई मदत गरेको कुनै व्यक्‍ति तपाईं पनि चिन्‍नुहुन्छ होला। त्यसरी ज्यानको बाजी लगाएर थुप्रैले दोस्रो विश्‍वयुद्धको दौडान नचिनेका मानिसहरूलाई लुक्न मदत गरे। सिसिली नजिकै माल्टामा प्रेरित पावललगायत अन्य २७५ जना जहाज दुर्घटना पर्दाको घटनालाई पनि सम्झनुहोस्‌। त्यहाँ स्थानीय बासिन्दाहरूले “औधि दया” देखाउँदै ती चिन्दै नचिनेका मानिसहरूलाई मदत गरे। (प्रेरित २७:२७–२८:२) अथवा ती इस्राएली केटीबारे सोच्नुहोस्‌ जसले सायद आफ्नो ज्यानको खतरा मोल्नु नपरे तापनि आफूलाई कैदी बनाउने अरामी सेनापतिप्रति दया देखाइन्‌! (२ राजा ५:१-४) अनि येशूको चिरपरिचित दृष्टान्तको असल सामरी छिमेकीलाई पनि नबिर्सनुहोस्‌। अधमरो पारेर छोडिएका ती सँगी यहूदीलाई पूजाहारी र लेवीले वास्तै नगरी हिंडे। तर सामरीले भने ती मानिसलाई खूब मदत गरे। शताब्दीऔंदेखि यस दृष्टान्तले थुप्रै संस्कृतिका मानिसहरूको हृदय छुँदै आएको छ।—लूका १०:२९-३७.

३, ४. थुप्रै मानिसहरूले खतरा मोलेरै भए पनि निःस्वार्थ भावका साथ काम गर्छन्‌, यस कुराले क्रमविकासको सिद्धान्तबारे के बताउँछ?

हो, हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं जहाँ थुप्रै मानिस “निष्ठूर” र “असल नरूचाउने” खालका छन्‌। (२ तिमोथी ३:१-३) तैपनि, मानिसहरूले दयाका कार्यहरू गरेका के हामीले देखेका छैनौं र? हुनसक्छ, त्यस्ता कार्यबाट हामी आफैले पनि लाभ उठाएका छौं। खतरा मोलेरै भए पनि अरूलाई मदत गर्ने झुकाव सामान्य भएकोले कसै-कसैले यसलाई “मानवता” भन्‍ने गर्छन्‌।

खतरा मोलेरै भए पनि अरूलाई मदत गर्ने इच्छुकता सबै जात र संस्कृतिमा देखिन्छ र यो, पशुबाट विकास हुँदै आएर मानिस बनियो भन्‍ने दाबीसित मेल खाँदैन। एक अमेरिकी वैज्ञानिक, प्राध्यापक फ्रान्सिस एस. कोलिन्सले यसो भने: “क्रमविकास मान्‍ने मानिसहरू के विश्‍वास गर्छन्‌ भने पशु तथा मानिसहरूले आफू र आफ्नो समूहको [आफ्नो परिवार, जात, र धर्मको] मात्र ख्याल राख्छन्‌। तर वास्तवमा, मानिसमा आफ्नो समूह बाहिरका र आफूसँग कुनै पनि कुरा समान नभएका मानिसहरूका खातिर समेत त्यागहरू गर्ने मनोभाव छ। यो कुरा क्रमविकासको शिक्षा विपरीत छ।”

“अन्तस्करणको आवाज”

५. मानिसहरूबारे अक्सर के याद गरिएको छ?

प्राध्यापक कोलिन्स निःस्वार्थ भावको एउटा पक्षबारे यसो भन्छन्‌: “अन्तस्करणको आवाजले हामीलाई आफूले केही नपाए पनि अरूलाई मदत गर्न घचघच्याउँछ।” a तिनले “अन्तस्करण” भनी उल्लेख गर्दा हामीलाई प्रेरित पावलले बताएको यो कुराको सम्झना आउन सक्छ: “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्‌ . . . तिनीहरूका व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्‌, यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्‌, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्नेगर्छन्‌।”—रोमी २:१४, १५.

६. किन सबै मानिस परमेश्‍वरप्रति जवाफदेही छन्‌?

रोमीहरूलाई लेखेको पत्रमा, पावलले परमेश्‍वरको अस्तित्व र उहाँका गुणहरू वरपर छर्लंगै देखिने भएकोले मानिसहरू उहाँप्रति जवाफदेही छन्‌ भने। अनि यो त “संसारको सृष्टिदेखिनै” यस्तै हो। (रोमी १:१८-२०; भजन १९:१-४) यो कुरा पनि साँचो हो कि थुप्रै मानिस सृष्टिकर्ताको बेवास्ता गर्दै पतित मार्गमा लाग्छन्‌। यद्यपि, परमेश्‍वरको इच्छा भनेको मानिसहरूले उहाँको धार्मिकता स्वीकारून्‌ र खराब कार्यहरूका लागि पश्‍चात्ताप गरून्‌ भन्‍ने हो। (रोमी १:२२–२:६) यदूहीहरूसित त्यसो गर्ने ठोस कारण थियो किनभने तिनीहरूलाई मोशा मार्फत परमेश्‍वरको व्यवस्था दिइएको थियो। तर “परमेश्‍वरको वाणी” नपाएका मानिसहरूले समेत परमेश्‍वर हुनुहुन्छ भनी मानिलिनुपर्ने थियो।—रोमी २:८-१३; ३:२.

७, ८. सही र गलतको चेतना कत्तिको सामान्य छ र यसबाट कुन कुरा स्पष्ट हुन्छ?

परमेश्‍वर हुनुहुन्छ भनी मानिलिंदै त्यसैअनुरूप चल्नुपर्ने एउटा ठोस कारण हामीमा भएको सही र गलत छुट्याउने भित्री चेतना हो। हामीमा भएको सही र गलतको चेतना, हामीमा अन्तस्करण छ भन्‍ने कुराको संकेत हो। यो दृश्‍य कल्पना गर्नुहोस्‌: केही केटाकेटी पिङ खेल्न आफ्नो पालो कुर्दै लाइनमा उभिरहेका छन्‌। त्यतिखेरै एउटा बच्चा लाइन मिच्दै अगाडि आएर उभिन्छ। यो देखेर थुप्रैले भन्छन्‌, ‘त्यस्तो गर्न कहाँ पाइन्छ, झेली भयो!’ अब आफैलाई प्रश्‍न गर्नुहोस्‌, ‘केटाकेटीले समेत तिनीहरूमा सही र गलत छुट्याउने चेतना छ भनेर कसरी तुरुन्तै देखाउन सकेका?’ तिनीहरूको त्यस्तो प्रतिक्रियाबाट तिनीहरूमा भित्री नैतिक चेतना छ भन्‍ने कुरो स्पष्ट हुन्छ। पावलले यस्तो लेखे: “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्‌।” यसको अर्थ के हो भने, परमेश्‍वरको लिखित व्यवस्थामा जुन कुरा पढ्‌छौं त्यहीअनुरूप गर्न हामीलाई आफ्नो भित्री आवाजले उत्प्रेरणा दिन्छ।

थुप्रै मुलुकमा यस्तो झुकाव देखिएको छ। केमब्रिज विश्‍वविद्यालयका एक प्राध्यापकले बेबिलोनी, मिश्री, युनानीका साथै अस्ट्रेलियन र अमेरिकी आदिवासी सबैले “थिचोमिचो, हत्या, जालसाझी र झूटा कुराहरूको निन्दा गरेको अनि वृद्ध, जवान र कमजोरप्रति दया देखाएको पाए।” अनि प्राध्यापक कोलिन्सले यस्तो लेखे: “सही र गलतको अवधारणा संसारभरि सबै मानव प्राणीमा देखिन्छ।” के यो कुराले तपाईंलाई रोमी २:१४ को सम्झना दिलाउँदैन?

तपाईंको अन्तस्करणले कसरी काम गर्छ?

९. अन्तस्करण भनेको के हो र तपाईंले केही काम गर्नुअघि यसले कसरी मदत गर्न सक्छ?

अन्तस्करण भनेको आफ्नो कार्यलाई हेरेर विश्‍लेषण गर्न सक्ने भित्री क्षमता हो भनी बाइबलले देखाउँछ। मतलब, तपाईंले गरेको कुनै काम सही हो वा होइन भनेर एउटा भित्री आवाज बोलेजस्तै हो। पावलले आफूभित्रको त्यस्तो आवाजबारे यसो भने: “मेरो अन्तस्करणले पवित्र आत्मामा मसित गवाही दिन्छ।” (रोमी ९:१) उदाहरणका लागि, तपाईंले नैतिकता मुछिएको कुनै निर्णय गर्नुअघि त्यो आवाज बोल्न सक्छ। तपाईंको अन्तस्करणले तपाईंलाई भविष्यमा गर्ने कार्यबारे विश्‍लेषण गर्न मदत गर्नुका साथै त्यो कार्य गरेमा कस्तो महसुस गर्नुहुनेछ भनी जनाउ दिन सक्छ।

१०. अक्सर अन्तस्करणले कसरी काम गर्छ?

१० तर अक्सर तपाईंले केही कुरा गरिसकेपछि तपाईंको अन्तस्करण बोल्न थाल्छ। राजा शाऊलको कारण भगुवा जीवन बिताइरहँदा दाऊदले परमेश्‍वरको अभिषिक्‍त राजाको अनादर हुने केही कुरा गर्ने मौका पाएका थिए र तिनले गरे पनि। तर पछि “तिनको विवेकले तिनलाई सतायो।” (१ शमूएल २४:१-५; भजन ३२:३, ५) अन्तस्करणले त्यसरी सताएको हामीले पनि पक्कै महसुस गरेका छौं। केही कुरा गऱ्‍यौं र त्यसो गरेकोमा पछि हामीलाई भित्रभित्रै घोचिरह्‍यो, अशान्ति भइरह्‍यो। कर नतिरेका कोही-कोही मानिसलाई अन्तस्करणले असाध्यै सताएको कारण तिनीहरूले कर तिरेका छन्‌। अरू कतिपयले चाहिं आफ्नो पति वा पत्नीलाई आफ्नो नाजायज सम्बन्धबारे बताएका छन्‌। (हिब्रू १३:४) यदि अन्तस्करणले भनेअनुसार गरेमा सन्तुष्टि र शान्ति महसुस हुन सक्छ।

११. ‘अन्तस्करणले मात्र आफूलाई डोरिन’ दिनु किन खतरनाक हुन सक्छ? उदाहरणसहित बताउनुहोस्‌।

११ त्यसोभए के हामीले ‘अन्तस्करणले मात्र आफूलाई डोरिन’ दिन सक्छौं त? अन्तस्करणको आवाज सुन्‍नु राम्रो हो तर यसले हामीलाई नराम्ररी बहकाउन पनि सक्छ। हो, “भित्री मनुष्यत्व[को]” आवाज चुक्न सक्छ। (२ कोरिन्थी ४:१६) एउटा उदाहरण विचार गर्नुहोस्‌। बाइबलमा “अनुग्रह र शक्‍तिले पूर्ण” ख्रीष्टका समर्पित अनुयायी स्तिफनसबारे बताइएको छ। केही यहूदीहरूले स्तिफनसलाई यरूशलेमबाहिर निकाले र नमरुन्जेल तिनीमाथि ढुंगा बर्साए। (पछि प्रेरित पावल बनेका) शावल चाहिं नजिकै उभिरहे र स्तिफनसको ‘हत्यामा सहमत’ भए। यसो हेर्दा, ती यहूदीहरू आफूले गरेको कार्य सही हो भनी पूरै विश्‍वस्त भएको देखिन्छ। त्यसैले तिनीहरूको अन्तस्करणले तिनीहरूलाई सताएन। शावलको सन्दर्भमा पनि त्यस्तै भएको हुनुपर्छ किनभने त्यसपछि पनि तिनी “प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै” थिए। स्पष्ट छ, त्यतिबेला तिनको अन्तस्करणले बोलिरहेको आवाज ठीक थिएन।—प्रेरित ६:८; ७:५७–८:१; ९:१.

१२. हाम्रो अन्तस्करण प्रभावित हुन सक्ने एउटा तरिका के हो?

१२ शावलको अन्तस्करणलाई कुन कुराले प्रभावित गरेको हुन सक्छ? एउटा त तिनको संगत हुन सक्छ। हामीमध्ये थुप्रैले टेलिफोनमा यस्तो मान्छेसित कुरा गरेका हौंला जसको स्वर तिनको बुबासित ठ्याक्कै मिल्छ। केही हदसम्म त तिनको त्यस्तो स्वर जन्मजातै होला, तैपनि तिनी आफ्नो बुबाको बोल्ने शैलीबाट प्रभावित भएको पनि हुन सक्छ। त्यस्तै गरी शावलको पनि येशू र उहाँका शिक्षालाई विरोध गर्ने यहूदीहरूसित घनिष्ठ सम्बन्ध थियो र शावल तिनीहरूबाट प्रभावित भएका हुन सक्छन्‌। (यूहन्‍ना ११:४७-५०; १८:१४; प्रेरित ५:२७, २८, ३३) हो, संगतले शावलको भित्री आवाज अर्थात्‌ अन्तस्करणलाई प्रभावित गरेको हुन सक्छ।

१३. आफू वरपरको वातावरणले अन्तस्करणलाई कसरी प्रभावित गर्न सक्छ?

१३ जसरी आफ्नो लबज वा भाषा आफू वरपरको वातावरणले प्रभावित हुन्छ त्यसरी नै अन्तस्करण पनि आफू वरपरको संस्कृति र वातावरणले प्रभावित हुन सक्छ। (मत्ती २६:७३) प्राचीन समयका अश्‍शूरीहरूलाई पनि त्यस्तै भएको हुनुपर्छ। तिनीहरू सैन्य शक्‍तिको लागि चिनिन्थे र त्यतिबेला कुँदिएका नक्साहरूमा तिनीहरूले कैदीहरूलाई सास्ती दिइरहेको देखाइएको छ। (नहूम २:११, १२; ३:१) योनाका समयका निनवेबासीहरूलाई चाहिं “दाहिने र देब्रे हातै चिन्‍न” नसक्ने भनी वर्णन गरिएको छ। मतलब, परमेश्‍वरको नजरमा के सही र के गलत भनी छुट्याउने तिनीहरूको स्तर नै सही थिएन। निनवेमा हुर्केका मानिसको अन्तस्करणलाई त्यस्तो वातावरणले कत्ति प्रभाव पाऱ्‍यो होला, सोच्नुहोस्‌ त! (योना ३:४, ५; ४:११) त्यसै गरी, आज पनि आफू वरपरको मनोवृत्तिले मानिसको अन्तस्करणलाई प्रभावित गर्न सक्छ।

भित्री आवाजलाई राम्रो बनाउँदै लैजाने

१४. उत्पत्ति १:२७ मा बताइएको कुराबाट अन्तस्करणबारे के कुरा स्पष्ट हुन्छ?

१४ यहोवाले आदम र हव्वालाई अन्तस्करण दिनुभयो र हामीले पनि तिनीहरूबाट जन्मजातै अन्तस्करण पायौं। उत्पत्ति १:२७ मा मानिसलाई परमेश्‍वरको स्वरूपमा सृष्टि गरियो भनी बताइएको छ। यसको अर्थ शारीरिक रूपमा त होइन किनभने उहाँ आत्मिक हुनुहुन्छ भने हामी हाड र मासुको। हामी यस अर्थमा परमेश्‍वरको स्वरूपमा बनिएका भन्‍न सक्छौं कि हामी उहाँका गुणहरू झल्काउन सक्छौं। यसमा सही र गलत छुट्‌याउन सक्ने चेतना पनि समावेश छ जुन हाम्रो अन्तस्करणको काम गर्ने शैलीमा झल्किन्छ। यस यथार्थबाट, हामीले आफ्नो अन्तस्करणलाई बलियो बनाउन सक्ने एउटा उपाय थाह पाउन सक्छौं जसले गर्दा यो अझ भरपर्दो बन्छ। त्यो हो, सृष्टिकर्ताबारे अझ धेरै सिक्ने र उहाँको नजिक हुने।

१५. हाम्रा पितालाई चिन्दा हामीलाई फाइदा हुन सक्ने एउटा तरिका के हो?

१५ यहोवा हामी सबैको जीवनदाता भएकोले उहाँ हाम्रा पिता हुनुहुन्छ भनी बाइबल बताउँछ। (यशैया ६४:८) विश्‍वासी मसीहीहरू, चाहे तिनीहरूको आशा स्वर्गमा होस्‌ वा पार्थिव प्रमोदवनमा, सबैले परमेश्‍वरलाई पिता भनेर सम्बोधन गर्न सक्छन्‌। (मत्ती ६:९) हाम्रा पिताको झन्‌-झनै नजिक भएर उहाँको दृष्टिकोण र स्तरहरू सिक्न इच्छुक हुनुपर्छ। (याकूब ४:८) थुप्रैलाई त्यसो गर्ने कुनै चासो छैन। तिनीहरू ती यहूदीहरू जस्तै छन्‌ जसलाई येशूले यसो भन्‍नुभयो: “तिमीहरूले उहाँको सोर नता कुनै बेला सुनेका छौ, न उहाँका रूपनै देखेका छौ। औ उहाँको वचन तिमीहरूमा रहँदैन।” (यूहन्‍ना ५:३७, ३८) हामीले परमेश्‍वरको वास्तविक स्वर त सुनेका छैनौं तर उहाँको वचन पढेर उहाँको विचार थाह पाउन सक्छौं। यसरी हामी उहाँ जस्तो हुनुका साथै उहाँले जस्तै महसुस गर्न सक्छौं।

१६. आफ्नो अन्तस्करणलाई प्रशिक्षण दिने र यसले भनेअनुसार गर्नेबारे यूसुफको विवरणले के बताउँछ?

१६ यूसुफ पोतीफरको घरमा हुँदाको विवरणले यो कुरा स्पष्ट पार्छ। पोतीफरकी पत्नीले यूसुफलाई फकाउन खोजिन्‌। यूसुफको समयमा न बाइबलको कुनै पुस्तक लेखिएको थियो न त दस आज्ञा नै दिइएको थियो। तर यूसुफले यस्तो प्रतिक्रिया दिए: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” (उत्पत्ति ३९:९) तिनले आफ्नो परिवारलाई खुसी पार्न त्यसो गरिरहेका थिएनन्‌। तिनको परिवार टाढा बस्थे। मुख्यतया तिनी परमेश्‍वरलाई खुसी पार्न चाहन्थे। यूसुफलाई विवाहसम्बन्धी परमेश्‍वरको स्तर थाह थियो—एउटा पुरुषलाई एउटी स्त्री अनि दुवै “एउटै जीउ” हुन्छन्‌। अनि अबीमलेकले रिबेका विवाहित स्त्री हुन्‌ भनेर थाह पाएपछि कस्तो महसुस गरे, यूसुफलाई सम्भवतः त्यो कुरा थाह भएको हुनुपर्छ। अबीमलेकले रिबेकालाई ल्याउनु गल्ती हुने थियो र यसले तिनका मानिसहरूलाई दोषी ठहऱ्‍याउने थियो। हो, यहोवाले व्यभिचारसम्बन्धी आफ्नो दृष्टिकोण स्पष्ट पारेकोले रिबेका र अबीमलेकको सन्दर्भमा परिणाम राम्रो भयो। यी सबै कुरा थाह भएकोले सायद जन्मजात पाएको तिनको अन्तस्करणको आवाज अझ बलियो भयो र तिनी यौन अनैतिकतालाई तिरस्कार गर्न उत्प्रेरित भए।—उत्पत्ति २:२४; १२:१७-१९; २०:१-१८; २६:७-१४.

१७. हाम्रा पिता जस्तै हुने सन्दर्भमा हामी किन यूसुफको भन्दा राम्रो परिस्थितिमा छौं?

१७ आज हामी अवश्‍य पनि यूसुफको भन्दा राम्रो परिस्थितिमा छौं। हामीसित सम्पूर्ण बाइबल छ जसबाट हामी पिताको सोचाइ तथा भावनाका साथै उहाँको लागि स्वीकार्य र अस्वीकार्य कुराहरू सिक्न सक्छौं। धर्मशास्त्रसित हामी जति धेरै परिचित हुन्छौं त्यति नै परमेश्‍वरसित नजिक र उहाँजस्तै हुन सक्छौं। त्यसो गर्दा हामीले आफ्नो अन्तस्करणको आवाजलाई झनै परमेश्‍वरको सोचाइअनुरूप ढाल्न सक्छौं। अनि यो झन्‌ झनै उहाँको इच्छाअनुरूप हुनेछ।—एफिसी ५:१-५.

१८. विगतका प्रभावहरूको बावजुद हामीले आफ्नो अन्तस्करणलाई कसरी अझ भरपर्दो बनाउन सक्छौं?

१८ अनि हाम्रो अन्तस्करणलाई प्रभाव पार्ने वातावरण नि? हामी आफ्ना नातेदारहरूको सोचाइ र कार्य अनि आफू हुर्केको वातावरणले प्रभावित भएका हुन सक्छौं। त्यसैकारण हाम्रो अन्तस्करणको आवाज बोधो वा टेंढो हुन सक्छ। वरपरका मानिसहरूको “लबजमा” अन्तस्करण बोल्न सक्छ। हो, हामी आफ्नो विगत बदल्न सक्दैनौं तर आफ्नो अन्तस्करणलाई राम्रो तरिकामा प्रभावित गर्ने संगत र वातावरण भने छान्‍ने संकल्प गर्न सक्छौं। यसको लागि एउटा मुख्य तरिका भनेको लामो समयदेखि पिता जस्तो हुने कोसिस गरेका समर्पित मसीहीहरूसित नियमित तवरमा संगत गर्नु हो। यसको लागि एकदमै राम्रो अवसर भनेको मण्डलीका सभालगायत सभा अघि र पछिको संगति हो। सँगी मसीहीहरूको बाइबल आधारित सोचाइ र प्रतिक्रिया अनि परमेश्‍वरको दृष्टिकोण र तौरतरिका झल्काउने अन्तस्करणको आवाज सुन्‍ने तिनीहरूको तत्परतालाई हामी याद गर्न सक्छौं। यसो गर्दा समयको दौडान हामी आफ्नो अन्तस्करणलाई बाइबल स्तरअनुरूप ढाल्न सक्छौं जसले गर्दा हामी अझ राम्ररी परमेश्‍वरको स्वरूप झल्काउन सक्छौं। हामीले आफ्नो भित्री आवाजलाई हाम्रा पिताको सिद्धान्तहरूअनुरूप मिलायौं र सँगी मसीहीहरूको राम्रो प्रभाव पछ्यायौं भने हाम्रो अन्तस्करण अझै भरपर्दो हुनेछ र यसको आवाजले भनेअनुसार गर्ने झुकाव बढ्‌नेछ।—यशैया ३०:२१.

१९. अन्तस्करणको कस्तो पक्षमा अझै ध्यान दिनुपर्छ?

१९ तैपनि, कतिपयले आफ्नो अन्तस्करणले भनेअनुसार गर्न दिनहुँ संघर्ष गर्छन्‌। अर्को लेखमा मसीहीहरूले सामना गरेका केही अवस्थाबारे बताइएको छ। त्यस्ता अवस्थाहरू केलाएर हेर्दा अन्तस्करणको भूमिका अनि यसको आवाज किन भिन्‍नाभिन्‍नै हुन सक्छ र हामीले कसरी अझै अन्तस्करणले भनेअनुसार गर्न सक्छौं भनी बुझ्न सक्नेछौं।—हिब्रू ६:११, १२. (w 07 10/15)

[फुटनोट]

a त्यसैगरि हार्वर्ड विश्‍वविद्यालयका एक प्राध्यापकले यस्तो लेखे: “पशुहरूको अध्ययन गर्दैमा एकअर्कालाई मदत गर्ने मानिसको स्वभाव बुझ्न सम्भव नहुन सक्छ। परमेश्‍वरले हामीलाई अन्तस्करण (असल र खराबको चेतना) जस्ता गुणहरूसहित बनाएकोले नै सायद हामी यस्तो व्यवहार गर्छौं।”

तपाईंले के सिक्नुभयो?

• सही र गलतको चेतना अर्थात्‌ अन्तस्करण किन सबै मानिसहरूमा पाउन सकिन्छ?

• आफूलाई अन्तस्करणले मात्र डोरिन दिने सन्दर्भमा सावधान हुनुपर्छ, किन?

• हामीले आफ्नो भित्री आवाजलाई राम्रो बनाउँदै लैजान सक्ने केही तरिका के-के हुन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ ८-मा भएको चित्र]

हामी आफ्नो अन्तस्करणलाई प्रशिक्षण दिन सक्छौं