योना ३:१-१०

  • यहोवाले आज्ञा गर्नुभएअनुसारै योना निनवे जान्छन्‌ (१-४)

  • योनाको सन्देश सुनेर निनवेबासीहरू पश्‍चात्ताप गर्छन्‌ (५-९)

  • परमेश्‍वरले निनवेलाई नाश नगर्ने निर्णय गर्नुहुन्छ (१०)

 तब यहोवा परमेश्‍वरको वचन दोस्रो पटक योनाकहाँ आयो। उहाँले यसो भन्‍नुभयो:+ २  “उठ! त्यो ठूलो सहर निनवेमा जाऊ।+ मैले तिमीलाई बताएको सन्देश त्यस सहरमा गएर घोषणा गर।” ३  त्यसैले योना उठे र यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएअनुसारै+ निनवे गए।+ निनवे निकै ठूलो सहर थियो,* त्यसको वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्न तीन दिन हिँड्‌नुपर्थ्यो। ४  योना सहरभित्र पसे। सहरभित्र एक दिनको बाटो हिँडेपछि तिनले यसो भनेर घोषणा गरे: “अबको ४० दिनमा निनवे नाश हुनेछ!” ५  यो सुनेर निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे।+ अनि तिनीहरूले उपवासको घोषणा गरे र सानादेखि ठूला सबैले भाङ्‌ग्रा ओढे। ६  जब निनवेका राजाले योनाको सन्देशबारे सुने, तब तिनी आफ्नो सिंहासनबाट उठे अनि शाही पोसाक उतारेर भाङ्‌ग्रा ओढे र खरानीमा बसे। ७  अनि तिनले निनवेभरि यस्तो घोषणा गर्न लगाए, “राजा र भारदारहरूबाट यस्तो उर्दी जारी भएको छ: कुनै पनि मानिस वा पशुले, गाईवस्तु वा भेडाबाख्राले केही नखाओस्‌। कसैले केही खानेकुरा नखाओस्‌, पानीधरि नपिओस्‌। ८  मानिस होस्‌ या पशु, सबैले भाङ्‌ग्रा ओढून्‌। सबैले परमेश्‍वरलाई व्यग्रतासाथ पुकारून्‌, आफ्नो दुष्ट चाल त्यागून्‌ र मारकाट गर्न छोडून्‌। ९  कसले जान्दछ, साँचो परमेश्‍वरले आफ्नो निर्णयमाथि पुनर्विचार गरेर* आफ्नो बल्दो रिसलाई शान्त पार्नुहुन्छ कि? अनि हामी नाश हुनदेखि जोगिन्छौँ कि?” १०  अनि जब साँचो परमेश्‍वरले निनवेका मानिसहरूले पश्‍चात्ताप गरेको र आफ्नो दुष्ट चाल त्यागेको देख्नुभयो,+ तब उहाँले तिनीहरूमाथि ल्याउन लाग्नुभएको विपत्तिको विषयमा पुनर्विचार गर्नुभयो* र विपत्ति ल्याउनुभएन।+

फुटनोटहरू

शा., “परमेश्‍वरको नजरमा ठूलो सहर थियो।”
वा “निर्णयमा पछुतो मानेर।”
वा “पछुताउनुभयो।”