योना ४:१-११

  • योना रिसाउँछन्‌ र मर्न चाहन्छन्‌ (१-३)

  • यहोवाले योनालाई कृपाको पाठ सिकाउनुहुन्छ (४-११)

    • “यसरी रिसले चूर हुनु ठीक हो?” ()

    • लौकाको बोटबाट पाठ (६-१०)

 तर यो कुरा योनालाई फिटिक्कै चित्त बुझेन अनि तिनी रिसले चूर भए। २  त्यसैले तिनले यहोवा परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरे: “हे यहोवा, यस्तै हुन्छ भनी मैले आफ्नो देशमा छँदै भनेको थिइनँ र? त्यसैले म सुरुमै तर्सिसतिर भाग्न खोजेको थिएँ+ किनकि मलाई थाह थियो, तपाईँ दयालु र कृपालु हुनुहुन्छ, हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ+ र कोही सङ्‌कटमा पर्दा तपाईँलाई दुःख लाग्छ। ३  त्यसैले हे यहोवा, बिन्ती छ, मेरो ज्यान लिनुहोस्‌ किनकि म बाँच्नुभन्दा त मर्नु नै बेस हो।”+ ४  तब यहोवा परमेश्‍वरले सोध्नुभयो: “यसरी रिसले चूर हुनु ठीक हो?” ५  त्यसपछि योना सहरबाट निस्के र सहरको पूर्वतिर गएर बसे। तिनले आफ्नो लागि त्यहाँ एउटा छाप्रो बनाए र त्यस सहरलाई के हुँदो रहेछ भनेर हेर्न त्यसको छहारीमा बसे।+ ६  योनालाई शीतल होस्‌ र तिनले आराम पाऊन्‌ भनेर यहोवा परमेश्‍वरले एउटा लौकाको बोट* उमार्नुभयो। अनि त्यो लौकाको बोट देखेर योना साह्रै खुसी भए। ७  तर भोलिपल्ट झिसमिसे उज्यालोमा साँचो परमेश्‍वरले एउटा किरा पठाउनुभयो अनि त्यसले बोटलाई खायो र त्यो बोट ओइलायो। ८  घाम लागेपछि परमेश्‍वरले तातो पूर्वीय बतास चलाउनुभयो अनि टन्टलापुर घामले योनाको टाउको पोल्यो र तिनी बेहोस हुनै लागे। मर्ने इच्छा व्यक्‍त गर्दै तिनले यसो भनिरहे: “म बाँच्नुभन्दा त मर्नु नै बेस।”+ ९  परमेश्‍वरले योनालाई सोध्नुभयो: “लौकाको बोटको कारण यसरी रिसले चूर हुनु ठीक हो?”+ अनि तिनले भने: “हो, म रिसाउनु ठीकै हो। मलाई असाध्यै रिस उठेको छ, म मर्न चाहन्छु।” १०  तर यहोवा परमेश्‍वरले भन्‍नुभयो: “त्यो लौकाको बोट, जसको लागि तिमीले मेहनत गरेकै थिएनौ, जसलाई तिमीले रोपेकै थिएनौ अनि जुन एकै रातमा उम्रियो र एकै रातमा सुक्यो, त्यसको लागि त तिमीमा दया पलायो भने ११  यो ठूलो सहर निनवे,+ जहाँ १ लाख २० हजार मानिस बस्छन्‌, जहाँका मानिसहरूलाई सही र गलतको फरकसमेत थाह छैन* र जहाँ धेरै वस्तुभाउ पनि छन्‌, त्यसको लागि ममा दया पलाउँदैन र?”+

फुटनोटहरू

वा सम्भवतः “अँडिरको बोट।”
वा “जहाँका मानिसहरूले दाहिने र देब्रे हातै चिन्‍न सक्दैनन्‌।”