लुकाका अनुसार १०:१-४२
१० त्यसपछि प्रभुले अरू ७० जना चेला छान्नुभयो र आफू जान लागेको हरेक सहर अनि ठाउँमा दुई-दुई गरी पहिल्यै पठाउनुभयो।+
२ त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्। त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।+
३ त्यसैले जाओ। हेर! म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका पाठाहरू जस्तै हुनेछौ।+
४ तिमीहरूले पैसाको थैली नबोक अनि खाजाको पोको वा जुत्ता पनि नबोक।+ तिमीहरू बाटोमा कसैलाई अभिवादन गर्नलाई* नरोकिओ।
५ जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब सुरुमा यसो भन: ‘यो घरमा शान्ति छाओस्।’+
६ यदि शान्ति चाहने व्यक्ति त्यहाँ रहेछ भने तिमीहरूले कामना गरेको शान्ति ऊमाथि रहनेछ। यदि रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
७ तिमीहरू त्यही घरमा बस।+ तिनीहरूले जे दिन्छन्, त्यही खाओ अनि पिओ+ किनकि कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।+ तिमीहरू घरघर चाहार्दै नहिँड।
८ “साथै तिमीहरू जुन सहरभित्र पस्छौ, त्यहाँ तिमीहरूलाई स्वागत गरिन्छ भने तिनीहरूले जे दिन्छन् त्यही खाओ।
९ त्यहाँका बिरामीहरूलाई निको पार अनि ‘परमेश्वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ’+ भनेर तिनीहरूलाई सुनाओ।
१० तर तिमीहरू जुन सहरभित्र पस्छौ, त्यहाँ तिनीहरूले स्वागत गरेनन् भने तिमीहरू त्यहाँको मूलबाटोमा जाओ र भन:
११ ‘हाम्रो खुट्टामा टाँसिएको तिमीहरूको सहरको धुलोसमेत तिमीहरूविरुद्ध साक्षी होस् भनेर टकटक्याउँछौँ।+ तैपनि तिमीहरूले परमेश्वरको राज्य नजिकै आइपुगेको छ भनेर चाहिँ नबिर्स।’
१२ म तिमीहरूलाई भन्छु, त्यस दिन सदोमले भन्दा त्यस सहरले चर्को दण्ड पाउनेछ।+
१३ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्चात्ताप गरिसकेका हुने थिए।+
१४ त्यसैगरि न्यायको दिनमा टायर र सिदोनले भन्दा तिमीहरूले चर्को दण्ड पाउनेछौ।
१५ अनि ए कफर्नहुम, के तँचाहिँ उचालिएर आकाशसम्मै पुग्नेछस्? तँ तल चिहानमा* खसालिनेछस्!
१६ “जसले तिमीहरूको कुरा सुन्छ, त्यसले मेरो कुरा पनि सुन्छ।+ अनि जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई पनि इन्कार गर्छ। साथै जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि इन्कार गर्छ।”+
१७ तब ती ७० जना चेला रमाउँदै फर्के अनि उहाँलाई यसो भने: “प्रभु, हामीले तपाईँको नाम लिँदा प्रेतहरूसमेत* हाम्रो वशमा आए।”+
१८ यो सुनेर उहाँले तिनीहरूलाई भन्नुभयो: “बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको+ मैले देखेँ।
१९ हेर! मैले तिमीहरूलाई सर्प अनि बिच्छीहरूलाई आफ्नो पैतालामुनि कुल्चने र शत्रुको सबै शक्तिमाथि विजयी हुने अख्तियार दिएको छु।+ कुनै पनि कुराले तिमीहरूलाई चोट पुऱ्याउनेछैन।
२० तैपनि प्रेतहरू तिमीहरूको वशमा आए भनी नरमाओ बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।”+
२१ त्यसै बेला उहाँ असाध्यै खुसी हुनुभयो र पवित्र शक्तिले भरिएर यसो भन्नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान् र बुद्धिजीवीहरूबाट+ होसियारीसाथ लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ। हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो।+
२२ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ अनि छोरालाई बुबाले बाहेक अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्, जसलाई छोराले प्रकट गर्न चाहन्छ।”+
२३ त्यसपछि चेलाहरूतर्फ फर्केर उहाँले तिनीहरूलाई सुटुक्क यसो भन्नुभयो: “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखिरहेका कुराहरू देख्छन्।+
२४ म तिमीहरूलाई भन्छु, धेरै भविष्यवक्ता र राजाहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्+ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्ने इच्छा गरेका थिए तर सुन्न पाएनन्।”
२५ तब हेर, व्यवस्थामा पोख्त एक जना मानिस उठ्यो र उहाँको परीक्षा गर्न यसो भन्यो: “गुरुज्यू, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+
२६ उहाँले उसलाई सोध्नुभयो: “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?”
२७ उसले जवाफ दियो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’+ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”+
२८ उहाँले उसलाई भन्नुभयो: “तिमीले ठीक जवाफ दियौ। त्यसै गरिरह अनि तिमीले जीवन पाउनेछौ।”+
२९ तर आफूलाई धर्मी साबित गर्ने मनसायले+ त्यस मानिसले येसुलाई सोध्यो: “वास्तवमा मेरो छिमेकी को हो?”
३० तब येसुले यस्तो जवाफ दिनुभयो: “एक जना मानिस यरुसलेमबाट यरिहोतिर ओर्लँदै थियो। अनि डाँकुहरूले उसलाई हमला गरे र उसको लुगासमेत लुटेर कुट्नसम्म कुटे अनि उसलाई अधमरो छोडेर गए।
३१ संयोगवश एक जना पुजारी त्यही बाटो भएर ओर्लँदै थियो तर उसलाई देखेपछि ऊ बाटोको पारिपट्टिबाट गयो।
३२ त्यसैगरि एक जना लेवी पनि त्यस ठाउँमा पुगेपछि उसलाई देखेर बाटोको पारिपट्टिबाट गयो।
३३ एक जना सामरियाली+ पनि त्यही बाटो भएर यात्रा गरिरहेको थियो अनि त्यहाँ पुगेपछि उसलाई देखेर टिठायो।
३४ त्यसैले उसको नजिक गएर त्यस सामरियालीले उसको घाउमा तेल र दाखमद्य* लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसलाई आफ्नो गधामा चढाएर पौवामा लग्यो र त्यहाँ उसको स्याहारसुसार गऱ्यो।
३५ भोलिपल्ट त्यस सामरियालीले दुई दिनार* निकालेर पौवाको मालिकलाई दियो र भन्यो: ‘तिमीले उसको हेरविचार गर्नू र यसबाहेक जति खर्च लाग्छ, फर्केर आउँदा म तिरूँला।’
३६ अब भन, यी तीन जनामध्ये कोचाहिँ डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी+ ठहरियो?”
३७ उसले भन्यो: “जसले ऊसित कृपालु व्यवहार गऱ्यो,+ त्यहीचाहिँ।” तब येसुले उसलाई भन्नुभयो: “जाऊ, तिमी पनि त्यसै गर।”+
३८ उहाँहरू जाँदै गर्दा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो। त्यहाँ मार्था+ नाम गरेकी एक जना स्त्रीले उहाँलाई आफ्नो घरमा पाहुना बोलाइन्।
३९ तिनको मरियम नाम गरेकी बहिनी पनि थिइन्, जो प्रभुको पाउनेर बसेर उहाँको कुरा सुनिरहेकी थिइन्।
४० तर मार्था भने थुप्रै कुरा तयारी गर्नमा अल्झिएकी थिइन्। त्यसैले येसुकहाँ गएर तिनले उहाँलाई भनिन्: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईँलाई वास्ता छैन? आएर मलाई सघाउन उसलाई भनिदिनुहोस् न।”
४१ तब प्रभुले तिनलाई यस्तो जवाफ दिनुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको चिन्ता गर्छ्यौ।
४२ हामीलाई धेरै कुरा चाहिँदैन, एक थरी मात्रै भए पनि पुग्छ। मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे+ र त्यो ऊबाट खोसिनेछैन।”
फुटनोटहरू
^ वा “अङ्गालो हालेर अभिवादन गर्नलाई।”
^ वा “दुष्ट स्वर्गदूतहरूसमेत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।
^ शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ अङ्गुरबाट बनेको रक्सी।
^ अतिरिक्त लेख ख१४ हेर्नुहोस्।

