प्रेषितहरूका कार्य २७:१-४४

  • पावल रोम जान जहाज चढ्‌छन्‌ (१-१२)

  • समुद्रमा आँधी चल्छ (१३-३८)

  • जहाज क्षतिग्रस्त हुन्छ (३९-४४)

२७  हामीलाई जहाज चढाएर इटाली पठाउने+ निर्णय गरिएको हुँदा तिनीहरूले पावल अनि अरू केही कैदीलाई अगस्तस गणका जुलियस नाम गरेका सैनिक अफिसरको जिम्मा लगाए। २  एड्रामिटियमबाट एउटा जहाज एसिया प्रान्तको समुद्री किनारामा पर्ने ठाउँहरू हुँदै जान लागेको थियो। हामी त्यही जहाज चढ्‌यौँ अनि हामीसित म्यासिडोनियाली अरिस्तार्खस+ पनि थिए, जो थिस्सलोनिकामा बस्थे। ३  भोलिपल्ट हामी सिदोनमा उत्रियौँ। त्यहाँ जुलियसले पावललाई दया* देखाए र तिनलाई आफ्ना मित्रहरूकहाँ गएर उनीहरूको अतिथि-सत्कारको आनन्द उठाउने अनुमति दिए। ४  त्यसपछि हामी जहाज चढेर साइप्रस टापुको छेउ लाग्दै अगाडि बढ्‌यौँ किनकि हामीतिर उल्टो दिशाबाट बतास चलिरहेको थियो। ५  अनि खुला समुद्रमा जहाज खियाएर सिलिसिया र पाम्फिलिया हुँदै लाइसियाको माइरा बन्दरगाहमा उत्रियौँ। ६  त्यहाँ सैनिक अफिसरले अलेक्जेन्ड्रियाबाट आएको एउटा जहाज देखे, जुन इटाली जाँदै थियो र उनले हामीलाई त्यही जहाजमा चढाए। ७  निकै दिनसम्म सुस्तरी यात्रा गरेपछि हामी मुस्किलले कनिडस पुग्यौँ। बतासले गर्दा अगाडि बढ्‌न गाह्रो भएकोले हामी सालमोने हुँदै क्रेट टापुको छेउ-छेउबाट अगाडि बढ्‌यौँ। ८  अनि किनारै किनार भएर सुन्दर-बन्दरगाह भनिने ठाउँमा बडो मुस्किलले पुग्यौँ, जुन लसिया सहरको नजिकै पर्थ्यो। ९  धेरै दिन बितिसकेकोले अनि प्रायश्‍चित-दिनको+ उपवाससमेत नाघिसकेको हुनाले यात्रा जारी राख्नु अब जोखिमपूर्ण भइसकेको थियो। त्यसैले पावलले उनीहरूलाई यस्तो सुझाव दिए: १०  “मित्रहरू हो, मलाई लाग्छ, यसरी यात्रा अगाडि बढाइरह्‍यौँ भने जहाज र मालसामानको ठूलो क्षति हुनुका साथै हाम्रो ज्यानसमेत खतरामा पर्नेछ।” ११  तर पावलको कुरा सुन्‍नुको साटो सैनिक अफिसरले जहाजको कप्तान र जहाज-धनीको कुरा सुने। १२  त्यो बन्दरगाहमा हिउँद काट्‌न गाह्रो हुने भएकोले धेरैजसो यात्रुले त्यहाँबाट जसोतसो फिनिक्स बन्दरगाहमा पुगेर त्यहीँ हिउँद काट्‌ने सुझाव दिए। क्रेट टापुको फिनिक्स बन्दरगाह उत्तर-पूर्व र दक्षिण-पूर्वतिर फर्किएको छ। १३  दक्षिणबाट मन्द बतास चल्न थालेपछि उनीहरूले आफूले सोचेजस्तै हुनेछ भन्ठाने र लङ्‌गर तानेर क्रेट टापुको छेउ लाग्दै जहाजलाई अगाडि बढाए। १४  तर केही समय बित्न नपाउँदै क्रेटबाट युरोक्विलो* भनिने भीषण समुद्री आँधी चल्न थाल्यो। १५  आँधीले जहाजलाई बेसरी हल्लायो र जहाज आँधीलाई थेगेर अघि बढ्‌न सकेन। त्यसैले आँधीले जता लग्छ, त्यतै लगोस्‌ भनेर हामीले जहाजलाई त्यत्तिकै छोडिदियौँ। १६  तब बतासबाट बच्न कौदा नाम गरेको सानो टापुको छेउ लाग्दै हामी अगाडि बढ्‌यौँ। तैपनि जहाजको पछिल्लो भागमा राखिएको सानो डुङ्‌गालाई* जोगाइराख्नसमेत हामीलाई हम्मेहम्मे परिरहेको थियो। १७  अनि त्यसलाई तानेर माथि ल्याएपछि उनीहरूले जहाजलाई डोरीले फन्को पारेर बेरे। साथै सिरटिस* भन्‍ने बलौटे दलदलमा जहाज धसिएला भनेर उनीहरूले डोरी फुकाएर पाल झारे र जहाजलाई आफै बहन दिए। १८  समुद्री आँधीले जहाजलाई बेसरी उचाल्न र पछार्न नछोडेको हुनाले भोलिपल्ट उनीहरूले मालसामान फ्याँकेर जहाजलाई हलुङ्‌गो बनाउन थाले। १९  अनि तेस्रो दिन उनीहरू आफैले मस्तुलका डोरीहरू समुद्रमा फ्याँकिदिए। २०  घाम वा ताराहरू देखिन छाडेको पनि धेरै दिन भइसकेकोले अनि भीषण आँधी पनि चलिरहेको हुनाले हामीले बाँच्ने आशा मार्न थाल्यौँ। २१  अनि उनीहरूले खाना नखाएको पनि धेरै दिन भइसकेको थियो। त्यसैले उनीहरूमाझ उभिएर पावलले भने: “मित्रहरू हो, तपाईँहरूले मेरो सुझाव मानेर क्रेटबाट यात्रा अगाडि नबढाएको भए यस्तो क्षति अनि नोक्सानी भोग्नुपर्ने थिएन।+ २२  तैपनि म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्‌ किनकि तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन तर यो जहाज मात्र नष्ट हुनेछ। २३  म जुन परमेश्‍वरको सेवक हुँ अनि जसलाई म पवित्र सेवा चढाउँछु, उहाँको स्वर्गदूत+ हिजो राती मेरो छेवैमा आए २४  र यसो भने: ‘नडराऊ पावल। तिमी सिजरसामु* खडा हुनै पर्छ+ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्‍वरले जोगाउनुहुनेछ!’ २५  त्यसैले मित्रहरू हो, हरेस नखानुहोस्‌ किनकि स्वर्गदूतले मलाई भनेको कुरा परमेश्‍वरले अवश्‍य पूरा गर्नुहुनेछ भनेर मलाई पूरा विश्‍वास छ। २६  तर हाम्रो जहाज भने कुनै टापुमा+ पुगेर पक्कै क्षतिग्रस्त हुनेछ।” २७  अनि १४औँ रातमा हाम्रो जहाज एड्रिया समुद्रमा यताउता हुत्तिरहेको बेला मध्यरातमा नाविकहरूले जहाज कुनै जमिनको नजिकै पुगेको हो कि भनेर अड्‌कल काटे। २८  अनि गहिराइ नापेर हेर्दा तिनीहरूले ३६ मिटरजति* रहेछ भनी पत्ता लगाए; त्यसपछि जहाज अलि अगाडि बढाएर फेरि नाप्दा २७ मिटरजति* पाए। २९  जहाज कतै चट्टानमा बज्रिने हो कि भनी डराएर उनीहरूले जहाजको पछिल्लो भागबाट चार वटा लङ्‌गर झारे अनि कहिले उज्यालो हुने होला भनी पर्खन थाले। ३०  तर नाविकहरू जहाजबाट भाग्न खोजे र जहाजको अघिल्लो भागबाट लङ्‌गर झार्ने बहाना बनाएर उनीहरूले सानो डुङ्‌गा पानीमा उतार्न खोजे। ३१  तब पावलले सैनिक अफिसर अनि सैनिकहरूलाई यसो भने: “यी मानिसहरू जहाज छोडेर गए भने तपाईँहरू बच्नुहुनेछैन।”+ ३२  त्यसैले सैनिकहरूले त्यस सानो डुङ्‌गालाई बाँधिराखेको डोरी काटेर त्यसलाई पानीमा पठाइदिए। ३३  अब बिहानीपख पावलले यसो भन्दै सबैलाई केही खान आग्रह गरे: “तपाईँहरूले केही नखाई भोकभोकै बसेर यसरी बाटो हेर्न थाल्नुभएको आज १४ दिन भइसक्यो। ३४  त्यसैले तपाईँहरूकै भलाइलाई ध्यानमा राखेर म तपाईँहरूलाई केही खान आग्रह गर्छु किनकि तपाईँहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।” ३५  यति भनेर तिनले एउटा रोटी लिए अनि उनीहरू सबैसामु परमेश्‍वरलाई धन्यवाद चढाएपछि भाँचेर खान थाले। ३६  तब सबैले हौसला पाए अनि उनीहरूले पनि खान थाले। ३७  जहाजमा हामी सबै गरी २७६ जना थियौँ। ३८  खानेकुरा खाएर तृप्त भएपछि उनीहरूले गहुँजति समुद्रमा फालेर जहाजलाई हलुङ्‌गो बनाए।+ ३९  उज्यालो भएपछि आफूहरू कुन ठाउँमा आइपुगेको हो, उनीहरूले ठम्याउन सकेनन्‌+ तर उनीहरूले एउटा खाडी र त्यसको बलौटे किनारा देखे अनि सम्भव भएसम्म त्यही किनारामा जहाज बिसाउने अठोट गरे। ४०  त्यसैले उनीहरूले डोरी काटेर लङ्‌गरहरूलाई समुद्रमा खसाल्नुका साथै पतवार बाँध्ने डोरी पनि खुकुलो पारे। त्यसपछि जहाजको अघिल्लो भागको पाल उठाएर त्यसलाई हावा बहिरहेको दिशातर्फ फर्काए अनि किनारातर्फ लागे। ४१  जहाज समुद्री लहरले थुपारेको बालुवाको ढिस्कोमा गएर ठोकियो र जहाजको अघिल्लो भाग हल्लिनै नसक्ने गरी त्यसमा धसियो अनि जहाजको पछिल्लो भागचाहिँ समुद्री छालको झोक्काले गर्दा टुक्रिन थाल्यो।+ ४२  एक जना कैदी पनि पौडेर भाग्न नपाओस्‌ भनेर सैनिकहरूले उनीहरूलाई मार्ने निर्णय गरे। ४३  तर सैनिक अफिसरले सैनिकहरूलाई त्यसो गर्नदेखि रोके किनकि उनी पावललाई बचाउन चाहन्थे। अनि उनले पौडन सक्नेजति सबैलाई समुद्रमा हामफालेर अरूभन्दा पहिला किनारामा पुग्न आदेश दिए। ४४  त्यसपछि बाँकी अरूलाई पनि जहाजका फल्याक वा जहाजका अन्य टुक्राटाक्रीको सहारा लिएर किनारामा जान आदेश दिए। यसरी सबै जना सकुशल किनारामा पुगे।+

फुटनोटहरू

वा “मानवताको नाताले दया।”
अर्थात्‌, उत्तर-पूर्वी आँधी।
ज्यान बचाउन जहाजमा राखिने सानो डुङ्‌गा।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “२० फादम।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “१५ फादम।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।