सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानव कमजोरीमाथि विजयी हुने

मानव कमजोरीमाथि विजयी हुने

मानव कमजोरीमाथि विजयी हुने

“शरीरमा मन लगाउनुचाहिं मृत्यु हो।”–रोमी ८:६.

१. कसै कसैले मानव शरीरप्रति कस्तो दृष्टिकोण राखेका छन्‌ र कुन प्रश्‍न विचारणीय छ?

 “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु।” (भजन १३९:१४) यहोवाको सृष्टि, मानव शरीरमाथि मनन गर्दै भजनरचयिता दाऊदले त्यसप्रकार गाए। प्रशंसा गर्न यस्तो असल कारण भए तापनि केही धार्मिक शिक्षकहरू शरीरलाई खराब काम गर्न ढुकेर बस्ने स्थान र पाप गर्ने साधन हो भन्‍ने सम्झन्छन्‌। शरीरलाई “अज्ञानताको पोसाक, पापकर्मको जग, भ्रष्टाचारको नेल, अन्धकारको बन्धन, जीवित मृत्यु, सचेत मुर्दा, चल्तापूर्जा चिहान” आदि नामाकरण गरिएको छ। हो, प्रेरित पावलले “मेरो शरीरमा केही असल कुराले बास गर्दैन” भनेका थिए। (रोमी ७:१८) तर के यसको मतलब हामी पापी शरीरमा यस्तरी फसेका छौं कि हाम्रो कुनै आशै छैन भन्‍न खोजेको हो?

२. (क) ‘शरीरमा मन लगाउनुको’ अर्थ के हो? (ख) परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहने मानिसहरूभित्र “शरीर” र ‘आत्माबीच’ कस्तो द्वन्द्व चल्छ?

धर्मशास्त्रले विद्रोही आदमको पापी सन्तानको असिद्ध अवस्था बुझाउन पनि “शरीर” शब्द प्रयोग गरेको छ। (एफिसी २:३; भजन ५१:५; रोमी ५:१२) आदमबाट हामीले पाएको पैतृक सम्पत्तिको फल, “शरीरको कमजोरी” भएको छ। (रोमी ६:१९) अनि पावलले यस्तो चेताउनी दिए: “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो।” (रोमी ८:६) ‘शरीरमा मन लगाउनुको’ अर्थ पापी शरीरको लालसाद्वारा नियन्त्रित तथा उत्प्रेरित हुनु हो। (१ यूहन्‍ना २:१६) अतः यदि हामी परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने प्रयास गरिरहेका छौं भने हाम्रो आध्यात्मिकता र हामीलाई “शरीरका कामहरू” गर्न निर्ममतासाथ दबाउ दिइरहने हाम्रो पापी झुकाउबीच निरन्तर द्वन्द्व चलिरहन्छ। (गलाती ५:१७-२३; १ पत्रुस २:११) आफूमा भएको यो पीडादायी द्वन्द्वबारे वर्णन गरिसकेपछि पावलले यस्तो उद्‌गार गरे: “हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” (रोमी ७:२४) के पावल प्रलोभनको पन्जामा परेका असहाय सिकारसरि भएका हुन्‌? बाइबलले जोडदारसित त्यसको नकारात्मक जवाफ दिन्छ!

प्रलोभन र पापको वास्तविकता

३. थुप्रैले पाप र प्रलोभनप्रति कस्तो दृष्टिकोण राख्छन्‌ तर बाइबल हामीलाई यस्तो मनोवृत्तिबाट जोगिन किन सतर्क गराउँछ?

आज, थुप्रैका लागि पाप अस्वीकार्य धारणा भएको छ। कसै कसैले “पाप” मानव त्रुटि व्याख्या गर्ने पुरानो शब्द हो भन्दै ठट्टामा उडाउँछन्‌। तिनीहरू “हरेकले, चाहे असल चाहे खराब, जे जस्तो शरीरमा गरेको छ, त्यसअनुसारको फल पाउनालाई हामी सबै जना ख्रीष्टको न्याय-आसनको सामन्‍ने प्रत्यक्षगरी प्रकट हुनुपर्नेछ” भन्‍ने कुरा स्वीकार्दैनन्‌। (२ कोरिन्थी ५:१०) अरूचाहिं यसो भन्दै हल्का जवाफ दिन्छन्‌: “प्रलोभनबाहेक म बाँकी सबथोक सहनसक्छु!” अरू कतिपय चाहे खानेकुराको होस्‌ वा यौनको, रमझमको होस्‌ वा उपलब्धिको, तुरुन्तै आफ्नो चित्त बुझाइहाल्नुपर्ने समाजमा जीवन बिताउँछन्‌। तिनीहरूलाई सबथोक मात्र होइन तर, तुरुन्तै पनि चाहिन्छ! (लूका १५:१२) तिनीहरू क्षणिक आनन्दलाई पन्छाएर ‘साँच्चैको जीवनको’ भावी आनन्दलाई विचार गर्ने पक्षमा छैनन्‌। (१ तिमोथी ६:१९) तथापि, बाइबलले हामीलाई होसियारीसाथ विचार गर्न, दूरदर्शी हुन अनि आध्यात्मिक वा अन्य तवरमा हानि पुऱ्‍याउनसक्ने कुराहरूबाट जोगिन सिकाउँछ। प्रेरित हितोपदेश यसो भन्छ; “चतुर मानिस दुःख आइरहेको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २७:१२.

४. पहिलो कोरिन्थी १०:१२, १३ मा पावलले कस्तो चेतावनी दिए?

नैतिक भ्रष्टताका लागि कुख्यात शहर, कोरिन्थका मसीहीहरूलाई पत्र लेख्दा पावलले प्रलोभन र पापको शक्‍तिविरुद्ध व्यावहारिक चेताउनी दिए। तिनले यसो भने: “म खड़ा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ। मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१२, १३) हामी, जवान तथा वृद्ध, पुरुष तथा स्त्री सबैले स्कूल, कार्यालय वा अन्य स्थानहरूमा निकै पटक प्रलोभनको सामना गर्नुपर्ने हुन्छ। त्यसकारण आउनुहोस्‌, पावलका शब्दहरू जाँचौं र ती शब्दहरूले हाम्रोनिम्ति के अर्थ राख्छ, हेरौं।

अति विश्‍वस्त नहुनुहोस्‌

५. अति विश्‍वस्त हुनु किन जोखिमपूर्ण छ?

पावलले भने: “म खड़ा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” आफ्नो नैतिक बलमाथि धेरै भरोसा गर्नु जोखिमपूर्ण छ। यसले पापको शक्‍ति र प्रकृतिलाई हामीले राम्ररी बुझेका रहेनछौं भनेर प्रकट गर्छ। मोशा, दाऊद, सुलेमान र प्रेरित पत्रुस जस्ता मानिसहरू त पापको जालमा परे भने, हामी पनि सजिलै चुक्नसक्छौं भनेर मानिलिनु पर्दैन र? (गन्ती २०:२-१३; २ शमूएल ११:१-२७; १ राजा ११:१-६; मत्ती २६:६९-७५) हितोपदेश १४:१६ यसो भन्छ: “बुद्धिमान मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिं गरम मिजासको र असावधानी हुन्छ।” (नयाँ संशोधित संस्करण) यसबाहेक, येशूले यसो भन्‍नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” (मत्ती २६:४१) असिद्ध मानिस भ्रष्ट अभिलाषाबाट जोगिन नसक्ने भएको हुँदा हामीले पावलको चेताउनीलाई गम्भीरतासाथ लिनुपर्छ र प्रलोभनको विरोध गर्नुपर्छ अन्यथा हामी लड्‌न सक्छौं।—यर्मिया १७:९.

६. प्रलोभनमा नपर्न हामीले कहिले र कसरी तयारी गर्नुपर्छ?

अप्रत्याशित तवरमा आइपर्नसक्ने समस्याहरूका लागि तयार हुनु बुद्धिमानी हो। शान्ति छाएको समय आफ्नो सुरक्षाको निम्ति तयारी गर्ने अत्युत्तम समय हो भनेर राजा आसाले बुझेका थिए। (२ इतिहास १४:२, ६, ७) आक्रमण गरेको बेला मात्र तयारी गरेमा निकै ढिलो हुने कुरा तिनलाई थाह थियो। त्यसै गरी, प्रलोभन आइपर्दा के कसो गर्ने भनी निर्णय गर्ने उत्तम समय, समस्याले नघेरेको बेला अर्थात्‌ मन शान्त भएको बेला नै हो। (भजन ६३:६) दानियल र तिनका ईश्‍वरभीरु मित्रहरूले राजसी खाना खाने दबाउ आउनुअगावै परमेश्‍वरको व्यवस्था नतोड्‌ने निर्णय गरिसकेका थिए। अतः तिनीहरू आफ्नो विश्‍वासमा अटल भएर अशुद्ध खाना खानदेखि पर बस्न हिचकिचाएनन्‌। (दानियल १:८) हामी पनि प्रलोभनमा पार्नसक्ने परिस्थिति आउनुअगावै नैतिक तवरमा शुद्ध रहने आफ्नो संकल्प सुदृढ पारौं। त्यसो गरेमा हामी पापको विरोध गर्नसक्ने हुनेछौं।

७. अरूले सफलतासाथ प्रलोभनको विरोध गरेका छन्‌ भनेर थाह पाउनु किन सान्त्वनादायी छ?

पावलका यी शब्दहरूबाट हामी एकदमै सान्त्वना पाउन सक्छौं: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ”! (१ कोरिन्थी १०:१३) यस सम्बन्धमा प्रेरित पत्रुसले यस्तो लेखे: “तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌ भन्‍ने जानेर [दियाबलको] विरोध गर।” (१ पत्रुस ५:९) हो, अरूले यस्तै प्रलोभनहरूको सामना गर्नुपरेको छ र परमेश्‍वरको मदत पाएर सफलतासाथ त्यसको विरोध पनि गरेका छन्‌ र हामी पनि त्यसै गर्न सक्छौं। तथापि, यस भ्रष्ट संसारमा बाँचिरहेको हुनाले ढीलो होस्‌ वा चाँडो, हामी सबै साँचो मसीहीहरू प्रलोभित हुनसक्छौं भन्‍ने सोचाइ राख्न सक्छौं। त्यसोभए, मानव कमजोरी र पाप गर्ने प्रलोभनमाथि विजयी हुनसक्छौं भनेर हामी कसरी ढुक्क हुनसक्छौं?

हामी प्रलोभनको विरोध गर्नसक्छौं!

८. प्रलोभनमा पर्नदेखि टाढै बस्ने आधारभूत तरिका के हो?

“पापका कमारा” नहुने प्रमुख तरिका सम्भव भएसम्म प्रलोभनमा पर्नदेखि टाढा बस्नु हो। (रोमी ६:६, नयाँ संशोधित संस्करण) हितोपदेश ४:१४, १५ हामीलाई यस्तो आग्रह गर्छ: “दुष्टको चालमा नहिड्‌, अथवा दुष्ट मानिसहरूको मार्गलाई नपछ्या। त्यसमा तेरो पाइलाले नटेक्‌, तर त्यसलाई छोड़िदे, त्यसबाट तर्केर आफ्नै बाटो लाग्‌।” हामीलाई पापतिर धकेल्नसक्ने परिस्थितिहरूबारे अक्सर हामीलाई पहिल्यै थाह हुन्छ। त्यसकारण, स्पष्टतः हामी मसीहीहरू गलत लालसा उत्पन्‍न गराउने र अशुद्ध कामुकतामा जल्न लगाउनसक्ने जुनसुकै व्यक्‍ति, जेसुकै कुरा र जस्तोसुकै ठाउँबाट “तर्केर” हिंड्‌नुपर्छ।

९. प्रलोभनमा पार्नसक्ने अवस्थाहरूबाट भाग्ने कुरालाई धर्मशास्त्रमा कसरी जोड दिइएको छ?

प्रलोभनमा पर्नसक्ने अवस्थाबाट भाग्नु पनि प्रलोभनमाथि विजयी हुने अर्को आधारभूत तरिका हो। पावलले यस्तो सल्लाह दिए: “व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१८) अनि तिनले यस्तो लेखे: “मूर्तिपूजाबाट अलग रहो।” (१ कोरिन्थी १०:१४) प्रेरित पावलले तिमोथीलाई भौतिक धनसम्पत्तिको अचाक्ली लोभ गर्नदेखि अलग रह भन्‍नुका साथै “जवानीका अभिलाषाहरूबाट भाग” भनेर पनि चेताउनी दिए।—२ तिमोथी २:२२; १ तिमोथी ६:९-११.

१०. प्रलोभनमा पर्नदेखि भाग्नुपर्छ भनेर कुन दुई विपरीत उदाहरणले देखाउँछन्‌?

१० इस्राएलका राजा दाऊदलाई विचार गर्नुहोस्‌। आफ्नो दरबारको कौसीबाट टोलाएर हेरिरहँदा तिनले एउटी सुन्दरीलाई नुहाइरहेकी देखे र तिनको मनमा कुइच्छा जाग्यो। तिनी कौसीबाट तुरुन्तै गइहाल्नुपर्थ्यो र प्रलोभित हुनदेखि भाग्नुपर्थ्यो। तर तिनले त्यस आइमाई, बेतशेबाबारे सोधखोज गरे र परिणाम विध्वंशकारी भयो। (२ शमूएल ११:१–१२:२३) अर्कोतिर, मालिककी अनैतिक पत्नीले आफूसित सुत्न आग्रह गर्दा युसूफले के गरे? विवरणले हामीलाई यसो भन्छ: “तिनले दिनदिनै यूसुफलाई तिनीसँग सुत्ने र बस्ने कुरा गरिन्‌, तथापि तिनीसित सुत्न अथवा तिनीसित बस्न यूसुफ मानेनन्‌।” त्यतिञ्जेल मोशालाई व्यवस्था दिइएको थिएन तैपनि युसूफले यसो भन्दै जवाफ दिए: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” एकदिन तिनले उनलाई समातेर यसो भनिन्‌: “मसित सुत्‌।” के युसूफले त्यहाँ बसेर तिनीसित तर्क गर्न थाले? अहँ। “यूसुफ भागे, र घरबाट बाहिर निस्के।” युसूफले यौन प्रलोभनलाई मौकै दिएनन्‌। उनी भागे!—उत्पत्ति ३९:७-१६.

११. बारम्बार प्रलोभनमा पर्नसक्ने अवस्था आएमा हामीले के गर्नु सम्भव हुनसक्छ?

११ कहिलेकाहीं भाग्नुलाई डरछेरुवापन भनिन्छ, तर कुनै पनि परिस्थितिबाट शारीरिक तवरमै अलग रहनु अक्सर बुद्धिमानी कदम हो। सायद, आफूले काम गर्ने ठाउँमा हामीले बारम्बार प्रलोभनहरूको सामना गर्नुपरिरहेको हुनसक्छ। उक्‍त जागिर नै छोडेर अर्को खोज्न हामी नसकौंला तर प्रलोभनमा पार्नसक्ने परिस्थितिबाट जोगिने थुप्रै तरिका हुनसक्छन्‌। गलत भनेर हामीले थाह पाएका सबै कुराबाट भाग्नु आवश्‍यक छ र जे असल छ, त्यही मात्र गर्न हामी कटिबद्ध हुनुपर्छ। (आमोस ५:१५) अर्कोतिर, प्रलोभनमा पर्नदेखि जोगिने हो भने अश्‍लील इन्टरनेट साइट, शंकास्पद मनोरञ्जन स्थलहरूबाट टाढा बस्नु पनि आवश्‍यक छ। यसको अर्थ, अश्‍लील पत्रपत्रिका मिल्क्याउनु वा परमेश्‍वरलाई माया गर्ने र हामीलाई मदत गर्नसक्ने नयाँ साथीहरू बनाउनु पर्ने पनि हुनसक्छ। (हितोपदेश १३:२०) हामीलाई पापमा फसाउन सक्ने कुरा जेसुकै होस्‌, हामी त्यसलाई तिरस्कार गर्न कटिबद्ध छौं भने बुद्धिमान्‌ ठहरिनेछौं।—रोमी १२:९.

प्रार्थनाले कसरी मदत गर्नसक्छ

१२. “हामीलाई परीक्षामा नल्याउनुहोस्‌” भनेर प्रार्थना गर्दा हामीले परमेश्‍वरसित के मागिरहेका हुन्छौं?

१२ पावल यस्तो प्रोत्साहनजनक आश्‍वासन दिन्छन्‌: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१३) प्रलोभनको सामना गर्न हामीलाई मदत गर्नुहोस्‌ भनेर हामीले गरेको प्रार्थनाको जवाफ दिनुभएर पनि यहोवाले हामीलाई सहयोग गर्नुहुन्छ। येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हामीलाई परीक्षामा नल्याउनुहोस्‌, तर दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ती ६:१३) यस्तो हार्दिक प्रार्थनाको जवाफ दिनुहुँदा यहोवाले हामीलाई प्रलोभनको समयमा त्यसै छोड्‌नुहुन्‍न बरु, शैतान र त्यसका धूर्त चालहरूबाट छुटाउनुहुनेछ। (एफिसी ६:११, पादटिप्पणी, NW) प्रलोभनहरू चिन्‍न मदत गर्नुहोस्‌ र प्रतिरोध गर्न बल दिनुहोस्‌ भनेर हामी परमेश्‍वरलाई आग्रह गर्नसक्छौं। प्रलोभनमा पर्दा त्यसमा फस्न नदिनुहोस्‌ भनी यहोवालाई बिन्ती गऱ्‍यौं भने ‘दुष्ट’ शैतानले भेट्टाउन नसकोस्‌ भनेर उहाँले हामीलाई मदत गर्नुहुनेछ।

१३. लगातार प्रलोभन आइरहेमा हामी के गर्नसक्छौं?

१३ विशेष गरी लगातार प्रलोभन आइरहेमा हामीले खुरन्धार प्रार्थना गर्नु आवश्‍यक छ। कुनै कुनै प्रलोभनले हामीभित्र चर्को अन्तर्द्वन्द्व उत्पन्‍न गर्नसक्छ र हाम्रा विचार तथा मनोवृत्तिले वास्तवमा हामी कति कमजोर रहेछौं भनेर घचघच्याइ रहनसक्छ। (भजन ५१:५) जस्तै, पहिले पहिले हामीले गर्ने गरेका भ्रष्ट कामकुराको सम्झनाले हामीलाई बारम्बार सताउन थाल्यो भने हामी के गर्नसक्छौं? हामी फेरि त्यही काम गर्न प्रलोभित भयौं भने नि? यस्ता भावनाहरू दबाउनुको साटो यहोवासामु यसलाई प्रार्थनामा बिसाउनुहोस्‌, अझ आवश्‍यक परे दोहऱ्‍याइ तेहऱ्‍याइ प्रार्थना गर्नुहोस्‌। (भजन ५५:२२) आफ्नो वचन र पवित्र आत्माको शक्‍तिद्वारा परमेश्‍वरले हाम्रो मनबाट अशुद्ध झुकाउहरू हटाउन सक्नुहुन्छ।—भजन १९:८, ९.

१४. प्रलोभनको सामना गर्न प्रार्थना किन अत्यावश्‍यक छ?

१४ गेतसमनीको बगैंचामा प्रेरितहरूका आँखा लोलाएका देखेर येशूले यस्तो आग्रह गर्नुभयो: “जागा रह, र प्रार्थना गर, र परीक्षामा नपर। आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” (मत्ती २६:४१) प्रलोभनलाई जित्ने एउटा तरिका प्रलोभनका विभिन्‍न रूप राम्ररी चिन्‍नुका साथै त्यसका हल्का रूपहरूसित सचेत हुनु हो। प्रलोभनसित लड्‌नका लागि आध्यात्मिक तवरमा सुसज्जित हुन तुरुन्तै प्रार्थना गरिहाल्नु पनि आवश्‍यक छ। हामीले विरोध गर्न नसक्ने क्षेत्रमै प्रलोभनले हमला गर्ने हुँदा हामी एक्लैले त्यसको प्रतिरोध गर्नसक्दैनौं। प्रार्थना अत्यावश्‍यक छ किनकि परमेश्‍वरले दिनुहुने बलले हामीलाई शैतानसँग लड्‌ने ठूलो आड दिन्छ। (फिलिप्पी ४:६, ७) हामीलाई “मण्डलीको धर्म-गुरुहरू[को]” आध्यात्मिक सहयोग र प्रार्थना पनि आवश्‍यक पर्नसक्छ।—याकूब ५:१३-१८.

सक्रियतासाथ प्रलोभनको विरोध गर्नुहोस्‌

१५. प्रलोभनको विरोध गर्नुमा के समावेश छ?

१५ प्रलोभनमा पर्ने अवस्थादेखि सम्भव भएसम्म अलग बस्नुका साथै हामीले प्रलोभनले दुःख दिन नछाडुञ्जेल अथवा अवस्था परिवर्तन नहोउञ्जेल सक्रियतासाथ प्रलोभनहरूको विरोध गरिरहनैपर्छ। शैतानले प्रलोभनमा पार्न खोज्दा त्यसले छाडेर नजाउञ्जेल येशूले दियाबलको प्रतिरोध गरिरहनुभयो। (मत्ती ४:१-११) चेला याकूबले यसप्रकार लेखे: “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) परमेश्‍वरको वचनद्वारा आफ्नो मनलाई बलियो बनायौं अनि उहाँका स्तरहरूअनुरूप चल्ने दृढ निर्णय गऱ्‍यौं भने प्रतिरोध गर्न सजिलो हुन्छ। हाम्रा खास-खास कमजोरीहरूसित सम्बन्ध राख्ने मूल शास्त्रपदहरू सम्झनु र मनन गर्नु पनि धेरै राम्रो कुरा हो। आफ्नो समस्या बताउन सकिने र प्रलोभनमा पर्दा गुहार्न सकिने परिपक्व मसीही, अझ हुनसक्छ भने प्राचीनको मदत खोज्नुहोस्‌।—हितोपदेश २२:१७.

१६. हामी कसरी नैतिक तवरमा शुद्ध रहनसक्छौं?

१६ धर्मशास्त्रले हामीलाई नयाँ व्यक्‍तित्व धारण गर्न आग्रह गर्छ। (एफिसी ४:२४) यसको अर्थ आफैलाई यहोवाको हातबाट ढालिन अनि परिवर्तन हुन दिनु हो। सहकर्मी तिमोथीलाई पावलले यस्तो लेखे: “धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग। विश्‍वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख, जसमा तिमीलाई बोलावट भएको थियो।” (१ तिमोथी ६:११, १२) परमेश्‍वरको व्यक्‍तित्वबारे विस्तृत जानकारी हासिल गर्न अनि त्यसपछि उहाँका आवश्‍यकताअनुसार चल्न उहाँको वचन लगनशील भई अध्ययन गरेर हामी ‘धार्मिकता खोज्नसक्छौं।’ मसीही क्रियाकलापले भरिएको तालिका जस्तै, सुसमाचार प्रचार गर्नु र सभाहरूमा उपस्थित हुनु पनि अत्यावश्‍यक छन्‌। परमेश्‍वरसित घनिष्ठ हुँदा र उहाँले प्रबन्ध गर्नुभएको आध्यात्मिक प्रबन्धको पूरापूर फाइदा उठाउँदा हामीले आध्यात्मिक तवरमा हुर्कने र नैतिक तवरमा शुद्ध रहने मदत पाउनेछौं।—याकूब ४:८.

१७. प्रलोभनमा पर्दा परमेश्‍वरले हामीलाई त्याग्नुहुनेछैन भनेर हामी कसरी थाह पाउनसक्छौं?

१७ परमेश्‍वरले हामीलाई दिनुभएको क्षमताभन्दा बाहिरको प्रलोभनमा हामी पर्नेछैनौं भनेर पावल हामीलाई आश्‍वस्त गराउँछन्‌। यहोवाले ‘हामीले सहनसकोस्‌ भनेर उम्कने बाटो पनि दिनुहुन्छ।’ (१ कोरिन्थी १०:१३) साँच्चै, निरन्तर परमेश्‍वरमाथि भर परिरह्‍यौं भने आफ्नो निष्ठा कायम गर्न आवश्‍यक आध्यात्मिक बल नै नहुने गरी प्रलोभित हुने अवस्थामा परमेश्‍वर हामीलाई त्यसै छोड्‌नुहुन्‍न। उहाँको दृष्टिमा जे खराब छ, त्यसको सक्रियतासाथ हामीले विरोध गर्न सकेको परमेश्‍वर चाहनुहुन्छ। यसको अतिरिक्‍त हामी उहाँको यस प्रतिज्ञामाथि भरोसा गर्नसक्छौं: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।”—हिब्रू १३:५.

१८. मानव कमजोरीमाथि विजयी हुनसक्छौं भनेर हामी किन पक्का हुनसक्छौं?

१८ मानव कमजोरीविरुद्ध आफ्नो व्यक्‍तिगत लडन्तको परिणामबारे पावल अन्जान थिएनन्‌। तिनले आफूलाई आफ्ना शारीरिक इच्छाहरूको वशमा परेको दयनीय अनि निस्सहाय सिकार ठानेनन्‌। बरु, तिनले यसो भने: “म यसरी दगुर्छु, बेताकसित होइन, म यसरी मुक्का लड़दछु, केवल हावामा हान्‍ने जस्तो होइन, तर म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।” (१ कोरिन्थी ९:२६, २७) हामी पनि सफलतासाथ असिद्ध शरीरविरुद्ध युद्ध लड्‌नसक्छौं। धर्मशास्त्र, बाइबल आधारित प्रकाशनहरू, मसीही सभाहरू अनि परिपक्व सँगी मसीहीहरूद्वारा स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले हामीलाई नैतिक तवरमा शुद्ध मार्गमा लागिरहन सम्झौटोहरू निरन्तर दिइरहनुहुन्छ। उहाँको मदत पाएर हामी मानव कमजोरीमाथि विजयी हुनसक्छौं!

के तपाईंलाई सम्झना छ?

• ‘शरीरमा मन लगाउनुको’ अर्थ के हो?

• प्रलोभनको सामना गर्न हामी कसरी तयार हुनसक्छौं?

• प्रलोभनसित डट्‌न हामी के गर्नसक्छौं?

• प्रलोभनको सामना गर्न प्रार्थनाले कस्तो भूमिका निर्वाह गर्छ?

• मानव कमजोरीमाथि विजयी हुन सम्भव छ भनेर हामी कसरी थाह पाउनसक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

हामी आफ्ना शारीरिक लालसाहरूको वशमा परेका असहाय सिकार हौं भनेर बाइबलले सिकाउँदैन

[पृष्ठ १२-मा भएको चित्र]

प्रलोभनमा पर्नदेखि टाढै बस्नु पापमा फस्नबाट जोगिने एउटा आधारभूत तरिका हो