यर्मिया १७:१-२७

  • सजिलै मेटाउन नसकिने यहुदाको पाप (१-४)

  • यहोवामा भरोसा गर्दा पाइने आशिष्‌हरू (५-८)

  • छली हृदय (९-११)

  • यहोवा, इस्राएलको आशा (१२, १३)

  • यर्मियाको प्रार्थना (१४-१८)

  • विश्रामदिनलाई पवित्र मान्‍नू (१९-२७)

१७  “यहुदाको पाप फलामको कलमले* लेखिएको छ; हिराको टुप्पोले त्यो तिनीहरूको हृदयको पाटीमा र तिनीहरूको वेदीका सिङहरूमा खोपिएको छ।  २  अनि तिनीहरूका छोराहरूले अग्ला डाँडाहरूमा,+ झ्याम्म परेको रूखनजिकै भएका आफ्ना वेदीहरू र पवित्र खामाहरू* सम्झिन्छन्‌।+  ३  त्यसैले हे यहुदाका मानिसहरू हो, तिमीहरूका धन-सम्पत्ति, खजाना र ती अग्ला थानहरूसमेत म शत्रुहरूलाई लुट्‌न दिनेछु+ किनकि तिमीहरूले देशभरि दुष्ट काम गरेका छौ।+  ४  मैले तिमीहरूलाई दिएको भूमि तिमीहरूले आफ्नै गल्तीले गर्दा गुमाउनेछौ+ अनि तिमीहरूले अनजान ठाउँमा आफ्ना शत्रुहरूको सेवा गर्नुपर्नेछ।+ तिमीहरूले मेरो रिसलाई आगोझैँ दन्काएका छौ;*+ त्यो अब निभ्नेछैन।”  ५  यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मानिसमाथि* भरोसा गर्ने,+ मानिसको बलमा भर पर्ने+ र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।  ६  ऊ मरुभूमिको एक्लो रूखजस्तो हुनेछ। उसले कहिल्यै असल कुरा देख्नेछैन। कोही नटिक्ने नुनिलो जमिनमा अनि कोही नबस्ने सुक्खा ठाउँमा ऊ बस्नुपर्नेछ।  ७  यहोवामा भरोसा गर्ने मानिस र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+  ८  त्यो मानिस नदीको किनारमा रोपेको बोटजस्तै हुनेछ, जसले नदीतिर जरा फैलाएको हुन्छ। चर्को घामले पनि त्यसलाई पटक्कै पोल्दैन। त्यसका पात सधैँ हरिया हुन्छन्‌।+ खडेरी पर्दा त्यो निष्फिक्री रहन्छ र त्यसले बाह्रै महिना फल दिन्छ।  ९  मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट* हुन्छ।+ त्यसलाई कसले बुझ्न सक्छ र? १०  म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+ ११  बेइमानी गरेर धनसम्पत्ति कमाउने मानिस आफूले नपारेको अण्डा कोरल्ने च्याखुराजस्तै हुन्छ।+ केही समय नबित्दै धनसम्पत्तिले उसलाई छोडेर जान्छ र अन्तमा ऊ मूर्ख साबित हुन्छ।” १२  परमेश्‍वरको सिंहासन अर्थात्‌ हाम्रो मन्दिर सुरुदेखि नै महिमित छ।+ १३  हे यहोवा, इस्राएलका आशा, तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्‌। तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+ किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्‌।+ १४  हे यहोवा! मलाई निको पार्नुहोस्‌ र म निको हुनेछु। मलाई बचाउनुहोस्‌ र म बच्नेछु+ किनकि मैले तपाईँकै प्रशंसा गरेको छु। १५  हेर्नुहोस्‌! मानिसहरू मलाई यसो भन्छन्‌: “यहोवाको वचन किन अहिलेसम्म पूरा भएको छैन?”+ १६  तर मैले त गोठालोको काम गर्न र तपाईँको पछिपछि लाग्न छोडिनँ। विनाशको दिन आओस्‌ भनेर मैले कहिल्यै चिताइनँ। मैले बोलेका सबै कुरा तपाईँ जान्‍नुहुन्छ; तपाईँकै सामुन्‍ने मैले ती बोलेको हुँ। १७  मलाई त्रसित नपार्नुहोस्‌ किनकि विपत्तिको दिनमा तपाईँ नै मेरो शरणस्थान हुनुहुन्छ। १८  मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्‌+ तर म लज्जित हुनु नपरोस्‌। तिनीहरूलाई त्रासले छोपोस्‌ तर मलाई भने त्रासले नछोपोस्‌। तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्‌।+ तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस्‌ र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्‌। १९  अनि यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “जाऊ, यहुदाका राजाहरू भित्र-बाहिर गर्ने यरुसलेमको मूलढोका* र अरू सबै ढोकामा गएर उभिऊ।+ २०  अनि तिनीहरूलाई यसो भन, ‘यी ढोकाहरूबाट आउजाउ गर्ने यहुदाका राजाहरू, यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, यहोवाको कुरा सुन! २१  यहोवा यसो भन्‍नुहुन्छ: “खबरदार! तिमीहरूले विश्रामदिनमा* कुनै भारी नबोक्नू र यरुसलेमका ढोकाहरूबाट कुनै मालसामान भित्र नल्याउनू।+ २२  त्यो दिन तिमीहरूले आफ्नो घरबाट कुनै भारी ननिकाल्नू अनि अरू कुनै पनि काम नगर्नू।+ मैले तिमीहरूका पितापुर्खालाई आज्ञा दिएझैँ तिमीहरूले विश्रामदिनलाई पवित्र मान्‍नू।+ २३  तर तिमीहरूका पितापुर्खाले मेरो कुरा सुनेनन्‌। तिनीहरूले हठी भएर मेरो आज्ञाको अवहेलना गरे र मेरो अनुशासनलाई तिरस्कार गरे।”’+ २४  “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “तर यदि तिमीहरूले मेरो एक-एक आज्ञा पालन गऱ्‍यौ, विश्रामदिनमा यस सहरको ढोकाबाट कुनै मालसामान ओसारपसार गरेनौ र त्यस दिनलाई पवित्र मानेर कुनै काम गरेनौ भने+ २५  दाउदको सिंहासनमा बस्ने राजा अनि भारदारहरू+ घोडामा र रथमा सवार भएर यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌। तिनीहरू, यहुदाका मानिसहरू र यरुसलेमका सबै बासिन्दा यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌+ र मानिसहरू यहाँ सधैँभरि बसोबास गर्नेछन्‌। २६  मानिसहरू यहुदाका सहरहरूबाट, यरुसलेमवरपरका ठाउँहरूबाट, बिन्यामिनको इलाकाबाट,+ बेँसीबाट,+ यहुदाका पहाडी भेगबाट अनि नेगेबबाट* आउनेछन्‌। तिनीहरूले आफूसित बलिदान,+ अग्निभेटी,+ अन्‍नभेटी,+ सेतो धूप* र धन्यवादको बलिदान ल्याउनेछन्‌+ अनि यहोवाको भवनमा चढाउनेछन्‌। २७  “‘“तर यदि तिमीहरूले विश्रामदिनलाई पवित्र मानेनौ, त्यो दिन भारी बोक्यौ अनि यरुसलेमका ढोकाहरूबाट मालसामान ओसारपसार गऱ्‍यौ भने म यरुसलेमका ढोकाहरूमा आगो लगाइदिनेछु र त्यो निभ्नेछैन। अनि यरुसलेमका बलिया किल्लाहरू जलेर खरानी हुनेछन्‌।”’”+

फुटनोटहरू

वा “छिनुले।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “मेरो रिसको आगोमा तिमीहरू जलेका छौ।”
वा “बलियो मानिसमाथि।”
वा सम्भवतः “निको पार्नै नसकिने।”
शा., “मिर्गौलाहरूसमेत।”
शा., “मलाई।” यसले यहोवा परमेश्‍वरलाई जनाएको हुन सक्छ।
शा., “मानिसहरूका छोराहरूको ढोका।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “दक्षिणबाट।”
शब्दावली हेर्नुहोस्‌।