सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निडर र निष्ठावान्‌ व्यक्‍तिहरूले नाजी सतावटसामु घुँडा टेकेनन्‌

निडर र निष्ठावान्‌ व्यक्‍तिहरूले नाजी सतावटसामु घुँडा टेकेनन्‌

सिद्ध र पूरा निश्‍चय भएका होओ

निडर र निष्ठावान्‌ व्यक्‍तिहरूले नाजी सतावटसामु घुँडा टेकेनन्‌

“हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) यो न्यानो आह्वानले यहोवा परमेश्‍वरका बौद्धिक प्राणीहरूले विश्‍वासी र वफादार भई उहाँको हृदयलाई खुसी तुल्याउन सक्दा रहेछन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ। (सपन्याह ३:१७) तथापि, दोष लगाउन खोज्ने शैतान, यहोवाको सेवा गर्नेहरूको निष्ठा तोड्‌न लागिपरेको छ।—अय्यूब १:१०, ११.

विशेष गरी, २० औं शताब्दीको प्रारम्भमा शैतानलाई स्वर्गबाट पृथ्वीमा फालिएदेखि यता त्यसले यहोवाका जनहरूमाथि धेरै रिस पोखाएको छ। (प्रकाश १२:१०, १२) तथापि, साँचो मसीहीहरू “सिद्ध र पूरा निश्‍चय भएका” छन्‌ र परमेश्‍वरप्रति निष्ठावान्‌ भएर रहेका छन्‌। (कलस्सी ४:१२) आउनुहोस्‌, निष्ठाको एउटा उल्लेखनीय उदाहरण छोटकरीमा छलफल गरौं। यो उदाहरण दोस्रो विश्‍वयुद्धअघि र पछि जर्मनीका यहोवाका साक्षीहरूको हो।

जोसिलो क्रियाकलापले निष्ठाको जाँच गर्छ

सन्‌ १९२० र १९३० को दशकमा जर्मनीमा त्यतिखेर बिबेलफोर्शर भनेर चिनिने यहोवाका साक्षीहरूले थुप्रै बाइबल साहित्यहरू वितरण गरे। सन्‌ १९१९ र १९३३ बीच तिनीहरूले प्रत्येक जर्मन परिवारलाई औसतन आठवटा किताब, साना पुस्तिका वा पत्रिकाहरू प्रस्तुत गरे।

त्यतिखेर, ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूको ठूलो समूह हुने देशहरूमध्ये जर्मनी पनि थियो। वास्तवमा, १९३३ मा विश्‍वभरि प्रभुको साँझको भोज खाने ८३,९४१ जनामध्ये झन्डै ३० प्रतिशत त जर्मनीमा थिए। तर केही समय नबित्दै यी जर्मन साक्षीहरूले निष्ठाको भीषण जाँच सामना गर्नुपऱ्‍यो। (प्रकाश १२:१७; १४:१२) जागिरबाट बर्खास्त हुनु, घरको खानतलासी लिइनु र स्कूलबाट निकालिनु आदिबाट सुरु भएको सतावट चर्किएर पिटाइ, गिरफ्तारी र थुनाइसम्म पुग्यो। (तस्बिर १) फलतः दोस्रो विश्‍वयुद्ध सुरु भइञ्जेलसम्ममा यातना शिविरमा राखिएकाहरूमध्ये ५ देखि १० प्रतिशत त यहोवाका साक्षीहरू नै भए।

किन नाजीहरूले यहोवाका साक्षीहरूलाई सताए

यद्यपि, कुन कुराले गर्दा नाजी सरकारले यहोवाका साक्षीहरूको खेदो गरेको? आफ्नो पुस्तक हिट्‌लर—१८८९-१९३६: हुब्रिस-मा इतिहासका प्राध्यापक इएन कर्श यहोवाका साक्षीहरू सतावटको तारो हुनुको मुख्य कारण “नाजी सरकारको पूर्ण अधीनमा बस्न” इन्कार गर्नु थियो भनी उल्लेख गर्छन्‌।

इतिहासका प्राध्यापक राबर्ट पी. एरिक्सन र यहूदी अध्ययनका प्राध्यापक सुजाना हेशलद्वारा संशोधित पुस्तक बिट्रेयल—जर्मन चर्चेज एण्ड द होलोकस्ट-मा साक्षीहरूले “हिंसा वा सैन्य शक्‍तिको प्रयोगमा भाग लिन इन्कार गरे। . . . साक्षीहरू राजनैतिक तटस्थतामा विश्‍वास गर्थे र यसको अर्थ तिनीहरू न हिट्‌लरलाई भोट दिन्थे न त हिट्‌लरलाई सलामी नै चढाउँथे” भनी व्याख्या गरिएको छ। यसो गर्दा नाजीहरूलाई रिस उठ्यो र त्यसले साक्षीहरूलाई हानि नोक्सानी पुग्ने अवस्थामा पुऱ्‍याए किनकि “राष्ट्रिय समाजवादले यस्तो इन्कारलाई पचाउने थिएन” भनी उक्‍त स्रोत बताउँछ।

विश्‍वव्यापी विरोध तथा सशक्‍त हमला

त्यतिखेर हाम्रो कामको नेतृत्व लिने जोसेफ एफ. रदरफोर्डले फेब्रुअरी ९, १९३४ मा विशेष दूतमार्फत नाजी असहिष्णुताको विरोध गर्दै हिटलरलाई पत्र पठाए। (तस्बिर २) रदरफोर्डको पत्रपछि अक्टोबर ७, १९३४ मा जर्मनीलगायत ५० मुलुकका यहोवाका साक्षीहरूले हिट्‌लरलाई लगभग २०,००० पत्र तथा टेलिग्राम पठाए।

नाजीले सतावट झनै चर्काएर यसको जवाफ दियो। अप्रिल १, १९३५ मा देशभरि यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइयो। अनि अगस्त २८, १९३६ मा गेस्तापोले तिनीहरूमाथि अचाक्ली हमला गऱ्‍यो। यद्यपि, साक्षीहरूले “पर्चा बाँडिनै रहे र आफ्नो विश्‍वास कायमै राखे” भनी बिट्रेयल—जर्मन चर्चेज एण्ड द होलोकस्ट वर्णन गर्छ।

उदाहरणका लागि, डिसेम्बर १२, १९३६ मा ३,५०० जति साक्षीहरूले आफूले भोगिरहेको क्रूर व्यवहारबारे प्रस्तावना छापेर दसौं हजार प्रति वितरण गर्दा गेस्तापोले थाहै पाएनन्‌। यस अभियानबारे प्रहरीधरहरा-ले यस्तो रिपोर्ट गऱ्‍यो: “यो एउटा ठूलो विजय र शत्रुमाथि गरिएको प्रहार अनि विश्‍वासी कार्यकर्ताहरूका लागि अवर्णनीय आनन्द थियो।”—रोमी ९:१७.

सतावट असफल हुन्छ!

नाजीहरूले यहोवाका साक्षीहरू खोज्ने क्रम जारी नै रह्‍यो। सन्‌ १९३९ सम्ममा छ हजार जति थुनामा परिसकेका थिए र हजारौंलाई यातना शिविरहरूमा पठाइयो। (तस्बिर ३) दोस्रो विश्‍व युद्धको अन्तसम्मको परिस्थिति कस्तो थियो? थुनामा परेका २,००० जति साक्षीहरू मरिसकेका थिए भने यिनीहरूमध्ये २५० भन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो। तथापि, प्राध्यापक द्वय एरिक्सन र हेशल यस्तो लेख्छन्‌, “यहोवाका साक्षीहरूले समस्याको बावजूद आफ्नो विश्‍वासलाई कायमै राखे।” फलस्वरूप, हिट्‌लर सरकारको पतन हुँदा हजारौं साक्षीहरू शिविरहरूबाट विजयी भएर निस्किए।—तस्बिर ४; प्रेरित ५:३८, ३९; रोमी ८:३५-३७.

यहोवाका जनहरूलाई सतावट सहने बल केले प्रदान गऱ्‍यो? यातना शिविरको सिकार हुने अडोल्फ आर्नोल्डले यसो भने: “अत्यन्त हताश हुँदासमेत यहोवाले तपाईंको ख्याल गर्नुहुन्छ, तपाईं कस्तो परिस्थितिबाट गुज्रिरहनुभएको छ, उहाँ बुझ्नुहुन्छ र समस्यालाई जित्न अनि विश्‍वासी रहिरहन आवश्‍यक बल दिनुहुन्छ। उहाँका हात हामीलाई छुटाउन नसक्ने गरी कमजोर छैनन्‌।”

यी विश्‍वासी मसीहीहरूमाथि अगमवक्‍ता सपन्याहका यी शब्दहरू ठ्याक्कै सुहाउँछन्‌! तिनले यस्तो विचार व्यक्‍त गरे: “परमप्रभु तेरा परमेश्‍वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ तेरो कारण उहाँ आनन्दित हुनुहुन्छ।” (सपन्याह ३:१७) आज साँचो परमेश्‍वरका सबै उपासकहरूले यी वफादार साक्षीहरू, जसले नाजी सतावटमा पर्दा निष्ठा कायम राखे, तिनीहरूको विश्‍वास अनुकरण गर्दै यहोवाको हृदयलाई प्रसन्‍न तुल्याओस्‌।—फिलिप्पी १:१२-१४.

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

Państwowe Muzeum Oświȩcim-Brzezinka, courtesy of the USHMM Photo Archives