हितोपदेश २७:१-२७

  • साँचो मित्रले दिएको हप्कीले फाइदा गर्छ (५, ६)

  • हे मेरो छोरा, मेरो मनलाई खुसी बनाऊ (११)

  • फलामले फलामलाई उध्याउँछ (१७)

  • आफ्नो बगालको अवस्था राम्रोसँग बुझ (२३)

  • धनसम्पत्ति सधैँभरि रहँदैन (२४)

२७  भोलि यसो गर्छु, उसो गर्छु भनेर फुर्ती नलगाऊ किनकि भोलि के हुन्छ, तिमी जान्दैनौ।+  २  आफ्नो प्रशंसा आफैले नगर, अरूको* मुखबाट तिम्रो प्रशंसा होस्‌; अरूले* तिम्रो प्रशंसा गरून्‌, तिम्रो आफ्नै मुखले होइन।+  ३  ढुङ्‌गा गह्रौँ हुन्छ र बालुवा भारी तर मूर्खको कचकच ती दुवैभन्दा बोझिलो हुन्छ।+  ४  क्रोध निर्दयी हुन्छ र रिस बाढीझैँ उर्लन्छ, तर डाहको सामने को खडा हुन सक्छ र?+  ५  मनमा लुकाएर राखेको मायाभन्दा सबैले देख्नेगरि पाएको सुधार बेस।+  ६  साथीबाट पाएका चोटहरू विश्‍वासयोग्य हुन्छन्‌+ तर शत्रुका चुम्बनहरू धेरै* हुन्छन्‌।  ७  अघाएको मानिसले शुद्ध महसमेत रुचाउँदैन* तर भोकाएको मानिसलाई तीतो पनि मीठो लाग्छ।  ८  घर छोडेर हिँड्‌ने मानिस आफ्नो गुँड छोड्‌ने चराजस्तै हो।  ९  तेल र धूपले हृदयलाई प्रसन्‍न बनाउँछ अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।+ १०  आफ्नो साथीलाई वा आफ्नो बुबाको साथीलाई नत्याग अनि तिमीलाई विपद्‌ आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; टाढा बस्ने दाजुभाइभन्दा नजिकै बस्ने तिम्रो छिमेकी बेस।+ ११  हे मेरो छोरा, बुद्धिमान्‌ होऊ र मेरो हृदयलाई खुसी बनाऊ+ अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।+ १२  चतुर मानिस खतरा आएको देखेर लुक्छ+ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख* पाउँछ। १३  अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्‍तिको लुगा बन्धकी राख तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+ १४  एकाबिहानै ठूलो स्वरले छिमेकीलाई दिएको आशिष्‌ सरापसरह हुन्छ। १५  झगडालु* पत्नी झरी परेको दिन तपतप चुहिने छानोजस्तै हो।+ १६  उसलाई वशमा राख्न सक्ने मानिसले बतासलाई रोक्न सक्छ अनि तेल पनि आफ्नो दाहिने मुठीमा कस्न सक्छ। १७  फलामले फलामलाई उध्याएझैँ एक जना साथीले अर्को साथीको बुद्धिलाई तिखार्छ।*+ १८  अन्जिरको रूखको हेरचाह गर्ने मानिसले त्यसको फल खान्छ+ अनि आफ्नो मालिकको रेखदेख गर्ने मानिसले सम्मान पाउँछ।+ १९  मानिसले पानीमा आफ्नो अनुहार देखेझैँ उसले अर्को मानिसको हृदयमा आफ्नो हृदय देख्छ। २०  चिहान र विनाशको खाडल* कहिल्यै सन्तुष्ट हुँदैनन्‌+ अनि मानिसका आँखा पनि कहिल्यै सन्तुष्ट हुँदैनन्‌। २१  जसरी चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ,+ त्यसरी नै मानिसको जाँच उसले पाउने प्रशंसाले गर्छ। २२  मूर्खलाई ओखलमा* हालेर मुस्लीले* अन्‍न कुटेझैँ कुटे पनि उसको मूर्खताले उसलाई छोड्‌नेछैन। २३  आफ्नो बगालको अवस्था राम्रोसँग बुझ। अनि आफ्नो भेडाको राम्ररी* हेरचाह गर।+ २४  किनकि धनसम्पत्ति सधैँभरि रहँदैन+ अनि मुकुट* पनि पुस्तौँसम्म टिक्दैन। २५  हरियो घाँस ओइलाउँछ अनि नयाँ घाँस पलाउँछ; बटुल्नलाई डाँडामा हरिया घाँसपात हुन्छ। २६  तिमीले लुगा बनाउन भेडाबाट ऊन पाउँछौ अनि बाख्राबाट खेत किन्‍न दाम पाउँछौ। २७  तिम्रो लागि बाख्रीको दूध प्रशस्तै हुनेछ; तिम्रो घरपरिवार र दासीहरूलाई पनि खुवाउन पुग्नेछ।

फुटनोटहरू

शा., “पराईको।”
शा., “विदेशीले।”
वा सम्भवत: “कपटपूर्ण; झूटा।”
शा., “शुद्ध महलाई समेत कुल्चीमिल्ची गर्छ।”
वा “सजाय।”
शा., “विदेशी।”
वा “कचकचे।”
शा., “साथीको अनुहारलाई उध्याउँछ।”
हिब्रू भाषामा शिओल एबाड्डोन। शब्दावलीमा “शिओल; एबाड्डोन” हेर्नुहोस्‌।
अन्‍न कुट्‌नको लागि खोपिल्टो पारी बनाइएको ढुङ्‌गा वा काठको साधन।
ओखलमा अन्‍न कुट्‌ने साधन।
वा “मन लगाएर।”
वा “ताज।”