दानिएल १:१-२१
१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+
२ साँचो परमेश्वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+
३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+
४ तिनीहरू कुनै खोट नभएका, हेर्नमा राम्रा अनि बुद्धि, ज्ञान र समझशक्तिले+ भरिपूर्ण अनि राजाको दरबारमा काम गर्न योग्य युवकहरू हुनुपर्थ्यो। अस्पनजले तिनीहरूलाई कल्दियालीहरूको भाषा र साहित्य सिकाउनुपर्थ्यो।
५ साथै राजाले आफूले खाने गरेको स्वादिष्ठ भोजन र पिउने गरेको मद्यबाट तिनीहरूलाई पनि दिन हुकुम गरे। तिनीहरूलाई तीन वर्षसम्म तालिम दिइने थियो* अनि तिनीहरू राजाको सेवामा हाजिर हुनुपर्ने थियो।
६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो।
७ दरबारका प्रमुख अफिसरले तिनीहरू प्रत्येकलाई एउटा नाम* दिए। तिनले दानिएललाई बेल्तसजर,+ हानन्याहलाई सद्रक, मिसाएललाई मेसक अनि अजर्याहलाई अबेद्नेगो+ नाम दिए।
८ तर दानिएलले राजाको स्वादिष्ठ भोजन र मद्यद्वारा आफूलाई अशुद्ध नपार्ने अठोट गरे। तिनले यसरी आफू अशुद्ध हुन नपरोस् भनी दरबारका प्रमुख अफिसरसित बिन्ती गरे।
९ साँचो परमेश्वरले दानिएललाई आशिष् दिनुभएकोले दरबारका प्रमुख अफिसरले तिनीमाथि दया र कृपा देखाए।+
१० तब दरबारका प्रमुख अफिसरले दानिएललाई भने: “मलाई मेरा मालिक, मेरा राजासित डर लाग्छ किनकि उहाँले नै तिमीहरूको लागि खाने र पिउने प्रबन्ध मिलाउनुभएको हो। राजाको नजरमा तिमीहरू आफ्नै उमेरका अरू युवकजस्तो हृष्टपुष्ट देखिएनौ भने नि? तिमीहरूले गर्दा म राजासामु दोषी ठहरिनेछु।”
११ तब दानिएल, हानन्याह, मिसाएल र अजर्याहको हेरविचार गर्न अस्पनजले खटाएका अधिकारीलाई दानिएलले यसो भने:
१२ “बिन्ती छ, तपाईँका दासहरूलाई १० दिन जाँचेर हेर्नुहोस्। हामीलाई केवल केही सागपात र पानी दिनुहोस्।
१३ त्यसपछि हामीलाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस् अनि त्यसैअनुसार आफ्ना दासहरूसित व्यवहार गर्नुहोस्।”
१४ तिनले तिनीहरूको कुरा माने र १० दिनसम्म तिनीहरूलाई जाँचे।
१५ अनि १० दिनपछि तिनीहरू राजाको स्वादिष्ठ भोजन खाने युवकहरूको तुलनामा स्वस्थ र हृष्टपुष्ट देखिए।
१६ त्यसैले हेरविचार गर्ने ती व्यक्तिले तिनीहरूलाई स्वादिष्ठ भोजन र मद्यको साटो सागपात दिन थाले।
१७ अनि साँचो परमेश्वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+
१८ राजाले हाजिर गराउनू भनी तोकेको समय आएपछि+ दरबारका प्रमुख अफिसरले ती युवकहरूलाई नबुकद्नेजरसामु हाजिर गराए।
१९ राजाले तिनीहरूसित कुरा गर्दा त्यस समूहमा दानिएल, हानन्याह, मिसाएल र अजर्याहको+ बराबरीमा आउन सक्ने कोही पनि तिनले पाएनन्। अनि तिनीहरूले राजाको सेवा गरिरहे।
२० राजाले तिनीहरूलाई बुद्धि र समझ चाहिने जुनसुकै कुरा सोध्दा पनि तिनीहरू राज्यका सबै जादुगर अनि तन्त्रमन्त्र गर्नेहरूभन्दा+ १० गुणा राम्रो भएको राजाले पाए।
२१ यसरी राजा कोरेसको शासनको पहिलो वर्षसम्म दानिएल त्यहीँ रहे।+
फुटनोटहरू
^ अर्थात्, बेबिलोनी साम्राज्यमा।
^ वा सम्भवतः “पालनपोषण गरिने थियो।”
^ यसको अर्थ हो, “यहोवाले अनुग्रह देखाउनुभएको छ।”
^ यसको अर्थ हो, “यहोवाले मदत गर्नुभएको छ।”
^ यसको अर्थ “परमेश्वरजस्तो को छ?” हुन सक्छ।
^ यसको अर्थ हो, “परमेश्वर मेरो न्यायकर्ता हुनुहुन्छ।”
^ अर्थात्, बेबिलोनी नाम।
^ वा “अन्तर्दृष्टि।”

