सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌!

पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌!

पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌!

“मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु। मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।”–मीका ७:७.

१, २. (क) उजाडस्थानमा इस्राएलीहरूले देखाएको गलत मनोवृत्तिले तिनीहरूलाई कसरी हानि पुऱ्‍यायो? (ख) उचित मनोवृत्ति खेती नगर्ने मसीहीलाई के हुनसक्छ?

 जीवनका थुप्रै कुरालाई हाम्रो मनोवृत्तिको आधारमा या त सकारात्मक वा नकारात्मक तरिकामा लिन सकिन्छ। इस्राएलीहरू उजाडस्थानमा छँदा तिनीहरूका निम्ति चमत्कारी ढंगमा मन्‍न उपलब्ध गराइएको थियो। तिनीहरूले वरपरको उजाड तथा बन्जर जमिनलाई हेरेर यहोवाले तिनीहरूको प्राण जोगाउन गर्नुभएको प्रबन्धप्रति गहिरो कृतज्ञता जाहेर गर्नुपर्थ्यो। त्यसो गरेको भए तिनीहरूले सकारात्मक मनोवृत्ति प्रतिबिम्बित गरिरहेको हुनेथियो। तर तिनीहरूले मिस्रमा पाइने थरि थरिका खानेकुराहरू सम्झे अनि मन्‍न वाक्कलाग्दो छ भन्दै गनगन गरे। कस्तो नकारात्मक मनोवृत्ति!—गन्ती ११:४-६.

त्यसै गरी आज मसीहीको मनोवृत्तिले पनि कुनै कुरालाई या त रमाइलो वा नरमाइलो बनाउनसक्छ। उचित मनोवृत्ति नभएमा कुनै पनि मसीहीले सजिलै आफ्नो आनन्द गुमाउँछ र यो निकै गम्भीर हुनसक्छ, किनकि नहेम्याहले यसो भने: “परमप्रभुको आनन्दनै [हा]मीहरूको बल हो।” (नहेम्याह ८:१०) सकारात्मक अनि आनन्दित मनोवृत्तिले हामीलाई बलियो बनाउनुका साथै मण्डलीको शान्ति र एकता बढाउन मदत गर्छ।—रोमी १५:१३; फिलिप्पी १:२५.

३. कठिन समयमा बाँचिरहेको भए तापनि यर्मियालाई उचित मनोवृत्तिले कसरी मदत गऱ्‍यो?

कठिन समयमा बाँचिरहेको भए तापनि यर्मियाले सकारात्मक मनोवृत्ति देखाए। तिनले सा.यु.पू. ६०७ मा यरूशलेमको बीभत्स विनाश देखे तापनि त्यसका सकारात्मक पक्षहरू पनि देखे। तर यहोवाले इस्राएललाई बिर्सनुहुने थिएन न त पूरै राष्ट्र पूर्णतया नामेट हुनेथियो। यर्मियाले विलापको पुस्तकमा यस्तो लेखे: “परमप्रभुको दृढ़ प्रेम कहिल्यै थामिंदैन, उहाँको कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ नयाँ हुन्छन्‌। तपाईंको विश्‍वस्तता महान्‌ छ।” (विलाप ३:२२, २३) इतिहासभरि परमेश्‍वरका सेवकहरूले अत्यन्तै कठिन अवस्थाहरूमा समेत सकारात्मक मात्र होइन, आनन्दित मनोवृत्ति राख्ने प्रयास पनि गरेका छन्‌।—२ कोरिन्थी ७:४; १ थिस्सलोनिकी १:६; याकूब १:२.

४. येशूले कस्तो मनोवृत्ति कायम राख्नुभयो र यसले उहाँलाई कसरी मदत गऱ्‍यो?

यर्मियाभन्दा ६०० वर्षपछि येशूलाई पनि आफ्नो सकारात्मक मनोवृत्तिको कारण धैर्य धारण गर्न सजिलो भयो। हामी यस्तो लेखिएको पाउँछौं: “[येशू]ले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) जस्तोसुकै विरोध वा सतावट भोग्नुपर्दा अर्थात्‌ शासनाको काठमा पीडादायी मृत्यु भोग्नुपर्दासमेत येशूले आफ्नो “सामने राखिदिएको आनन्द[लाई]” मनमा राख्नुभयो। त्यो आनन्द यहोवाको सार्वभौमिकता उच्च पार्ने र उहाँको नाउँ पवित्र पार्ने सुअवसर थियो। साथै, आज्ञाकारी मानिसजातिका लागि भविष्यमा थुप्रै आशिष्‌ ल्याउने सम्भावना पनि त्यस आनन्दमा समावेश थियो।

पर्खने मनोवृत्ति धारण गर्ने

५. पर्खने मनोवृत्तिले उचित दृष्टिकोण राख्न मदत गर्ने एक अवस्था के हो?

यदि हामीले येशूको जस्तो मनोवृत्ति खेती गऱ्‍यौं भने परिस्थिति सधैं हामीले चाहेजस्तो वा हामीले चाहेको समयमा नहुँदासमेत हामी यहोवाले दिनुहुने आनन्द गुमाउने छैनौं। अगमवक्‍ता मीकाले यसो भने: “म चाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु।” (मीका ७:७; विलाप ३:२१) हामी पनि पर्खने मनोवृत्ति प्रकट गर्नसक्छौं। कसरी? थुप्रै तरिकामा। जस्तै: अख्तियार पाएका कुनै भाइले गल्ती गरेको र त्यो तुरुन्तै सुधार्नु आवश्‍यक परेको हामीलाई लाग्नसक्छ। पर्खने मनोवृत्तिले हामीलाई यो विचार गर्न लगाउनेछ, ‘के तिनले वास्तवमा गल्ती गरेकै हुन्‌ त अथवा कतै मैले पो गलत सोचिरहेको छु कि? तिनले गल्ती गरेकै हुन्‌ भने, तिनले भूल सुधार गर्नेछन्‌ भनेर अथवा तुरुन्तै सुधार्नुपर्ने कदम चाल्नु आवश्‍यक छैन भन्‍ने यहोवाले महसुस नगर्नुभएकोले ती घटनाहरू उहाँले नै भइरहन दिनुभएको पो हो कि?’

६. व्यक्‍तिगत समस्यासित जुझिरहेको व्यक्‍तिलाई पर्खने मनोवृत्तिले कसरी मदत गर्नेछ?

व्यक्‍तिगत समस्याले पिरोलिंदा वा कमजोरीसित डट्‌दा हामीलाई पर्खने मनोवृत्ति चाहिनसक्छ। जस्तै: मदतको लागि हामीले यहोवालाई पुकाऱ्‍यौं तर हाम्रो समस्या ज्यूँका त्यूँ रह्‍यो। त्यतिखेर के गर्ने? आफ्नो क्षमताले भ्याएसम्म उक्‍त समस्या समाधान गर्ने प्रयास हामीले गरिरहनुपर्छ र त्यसपछि येशूका यी शब्दहरूमा विश्‍वास गर्नुपर्छ: “माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौ, घच्‌घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ।” (लूका ११:९) प्रार्थना गरिरहनुहोस्‌ र यहोवामाथि भर गरेर पर्खिरहनुहोस्‌। उपयुक्‍त समयमा र उहाँको आफ्नै तरिकामा यहोवाले तपाईंको प्रार्थनाको जवाफ दिनुहुनेछ।—१ थिस्सलोनिकी ५:१७.

७. बाइबलका संशोधित समझहरूप्रति सही दृष्टिकोण राख्न, पर्खने मनोवृत्तिले हामीलाई कुन तरिकामा मदत गर्नसक्छ?

बाइबलका भविष्यवाणीहरू पूरा हुँदै जाँदा, धर्मशास्त्रसम्बन्धी हाम्रो समझ पनि खारिंदै जान्छ। कहिलेकाहीं हामीलाई कुनै खास स्पष्टीकरण निकै ढिलो प्रस्ट पारिएको जस्तो लाग्नसक्छ। चाहेको समयमा त्यो स्पष्टीकरण नपाउँदा के हामी पर्खन राजी हुन्छौं? नबिर्सनुहोस्‌, “ख्रीष्टको रहस्य” ४,००० वर्षको दौडान बिस्तारै बिस्तारै, अलि अलि गर्दै प्रकट गर्न यहोवालाई उचित लागेको थियो। (एफिसी ३:३-६) त्यसोभए, के हामी अधीर हुनुपर्ने केही खास कारण छ त? के हामी “विश्‍वासी र बुद्धिमान दास” यहोवाका जनहरूलाई “ठीक ठीक समयमा खान” दिन खटिएका हुन्‌ भन्‍ने कुरामा शंका गर्छौं? (मत्ती २४:४५) सबथोक पूर्णतया बुझिएन भन्दैमा किन आफ्नो ईश्‍वरीय आनन्द गुमाउने? नबिर्सनुहोस्‌, कहिले र कसरी “आफ्नो रहस्य प्रकट” गर्ने हो, त्यसको निर्णय स्वयम्‌ यहोवाले नै गर्नुहुन्छ।—आमोस ३:७.

८. यहोवा धीरजी हुनु थुप्रैको निम्ति कसरी फाइदाजनक साबित भएको छ?

वर्षौंदेखिको विश्‍वासी सेवाको बावजूद “परमप्रभुको त्यो महा र भयंकर दिन” आएको देख्न बाँच्न नपाइने भयो भनेर कोही कोही निराश हुनसक्छन्‌। (योएल २:३०, ३१) तापनि, यसको सकारात्मक पक्षलाई हेरेर तिनीहरू प्रोत्साहित हुनसक्छन्‌। पत्रुसले यस्तो सल्लाह दिए: “प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झ।” (२ पत्रुस ३:१५) यहोवाको धीरजले धार्मिक प्रवृत्तिका लाखौं लाख मानिसहरूलाई सच्चाइ सिक्ने समय दिएको छ। के यो असल कुरा होइन र? यसबाहेक, यहोवाले जत्ति लामो समयसम्म धीरज धारण गर्नुहुन्छ, “डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा गर्दै” जान हामीले पनि त्यत्ति नै समय पाउनेछौं।—फिलिप्पी २:१२; २ पत्रुस ३:११, १२.

९. यदि हामीले चाहेजति यहोवाको सेवा गर्न सकिरहेका छैनौं भने, त्यसलाई सहेर बस्न पर्खने मनोवृत्तिले हामीलाई कसरी मदत गर्नेछ?

पर्खने मनोवृत्तिले सतावट, रोगबिमार, वृद्धावस्था वा अन्य समस्याहरूले राज्य सेवामा बाधा पुऱ्‍याउँदा हामीलाई निरुत्साहित नहुन मदत गर्छ। हामीले पूर्ण हृदयले सेवा गरेको यहोवा चाहनुहुन्छ। (रोमी १२:१) तथापि, “कमजोर र दरिद्रलाई” देखेर ‘टिठाउनुहुने’ परमेश्‍वरका पुत्रले हामीसित अव्यावहारिक माग गर्नुहुन्‍न न त यहोवाले नै माग गर्नुहुन्छ। (भजन ७२:१३) यसप्रकार, यस रीतिरिवाजमा वा आउन लागेको रीतिरिवाजमा परिस्थिति नसुध्रिएसम्म धीरजी भई पर्खंदै, सके जति गर्न हामीलाई प्रोत्साहन दिइएको छ। नबिर्सनुहोस्‌, “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

१०. पर्खने मनोवृत्ति भएको व्यक्‍तिले कस्तो अईश्‍वरीय स्वभाव त्याग्नसक्छ, व्याख्या गर्नुहोस्‌।

१० पर्खने मनोवृत्तिले हामीलाई अहंकारी हुनदेखि पनि बचाउँछ। धर्मत्यागी भएका कोही कोही पर्खन अनिच्छुक थिए। तिनीहरूलाई बाइबलको समझ अथवा संगठनको कामकुरामा तुरुन्तै छाँटकाँट गर्नुपर्छजस्तो लागेको हुनसक्छ। यद्यपि, यहोवाको आत्माले आफ्नो समयमा विश्‍वासी र बुद्धिमान्‌ दासलाई छाँटकाँट गर्न प्रेरित गर्नुहुन्छ, तर हामीले चाहेको समयमा होइन भन्‍ने कुरा बुझ्न तिनीहरू असफल भए। अनि गरिने कुनै पनि छाँटकाँट यहोवाको इच्छाअनुरूप हुनैपर्छ, हाम्रो व्यक्‍तिगत विचारहरूअनुरूप होइन। धर्मत्यागीहरू अहंकारी मनोवृत्तिको कारण आफ्नो विचार बंग्याउँछन्‌ र ठोकर खान्छन्‌। तर तिनीहरूले ख्रीष्टसित भएको मनोवृत्ति ग्रहण गरेका भए, आफ्नो आनन्द कायम राख्नसक्ने थिए र यहोवाका मानिसहरूबीच हुनेथिए।—फिलिप्पी २:५-८.

११. कसको अनुकरण गर्दै अनि कसरी पर्खेर बिताउनुपर्ने समय हामी फाइदा हुने गरी बिताउनसक्छौं?

११ हो, पर्खने मनोवृत्ति कायम राख्नुको अर्थ पक्कै पनि अल्छे हुनु वा निष्क्रिय हुनु भनेको होइन। हामीले गर्नुपर्ने कामहरू छन्‌। उदाहरणका लागि, व्यक्‍तिगत बाइबल अध्ययनमा व्यस्त भएर आध्यात्मिक कामकुराहरूमा विश्‍वासी अगमवक्‍ताहरूलगायत स्वर्गदूतहरूले समेत देखाएजस्तै गहिरो चासो हामीले पनि देखाउनु आवश्‍यक छ। यस्तो चासोको कुरा गर्दै पत्रुसले यसो भने: “त्यही मुक्‍तिको विषयमा . . . त्यस अनुग्रहको अगमवाणी बोल्ने अगमवक्‍ताहरूले खोजेका र प्रयत्नसाथ तलास गरेका थिए . . . जो स्वर्गदूतहरूले हेर्न अति इच्छा गर्दछन्‌।” (१ पत्रुस १:१०-१२) व्यक्‍तिगत अध्ययन मात्र होइन तर सभाहरूमा नियमित उपस्थित हुनु र प्रार्थनामार्फत परमेश्‍वरसित नजिक हुनु पनि अत्यावश्‍यक छ। (याकूब ४:८) नियमित तवरमा आध्यात्मिक खाना खाएर तथा सँगी मसीहीहरूसित संगत गरेर आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न सतर्क हुनेहरूले आफूसित ख्रीष्टको मनोवृत्ति छ भनेर प्रदर्शन गरिरहेका हुन्छन्‌।—मत्ती ५:३.

व्यावहारिक दृष्टिकोण राख्नुहोस्‌

१२. (क) आदम र हव्वाले कस्तो स्वतन्त्रता रोजे? (ख) मानिसजाति आदम र हव्वाको मार्गमा चल्दा परिणाम के भएको छ?

१२ प्रथम मानव दम्पती सृष्टि गर्नुहुँदा परमेश्‍वरले सही र गलत निर्धारण गर्ने स्तर आफूमा मात्र निहित राख्नुभएको थियो। (उत्पत्ति २:१६, १७) आदम र हव्वा परमेश्‍वरको मार्ग निर्देशनबाट स्वतन्त्र हुन चाहे र परिणाम के भयो त्यो आज हामी वरपर संसारमा देखिरहेका छौं। प्रेरित पावलले यसो भने: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) आदमको समयदेखि यता, मानिसजातिको ६,००० वर्ष लामो इतिहासमा यर्मियाका यी शब्दहरू सत्य प्रमाणित भएका छन्‌: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) यर्मियाका यी शब्दहरू सही हुन्‌ भन्‍नु हार स्वीकार्नु होइन। बरु, व्यावहारिक हुनु हो। यी शब्दहरूले परमेश्‍वरबाट अलग भएर मानिसले शासन गर्न खोज्दा शतकौंदेखिको “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय[को]” वर्णन गर्छ।—उपदेशक ८:९.

१३. मानिसजातिले हासिल गर्नसक्ने कुराहरूप्रति यहोवाका साक्षीहरूको कस्तो व्यावहारिक दृष्टिकोण छ?

१३ मानिसजातिको अवस्था हेरेर यहोवाका साक्षीहरूले वर्तमान रीतिरिवाजमा हासिल गर्न सकिने कुराहरू सीमित छन्‌ भनेर बुझेका छन्‌। सकारात्मक मनोवृत्तिले हाम्रो आनन्द बचाइराख्न मदत गर्छ तर यो सबथोकको समाधान भने होइन। एक अमेरिकी पादरीले १९५० दशकको सुरुतिर द पावर अफ पोजिटिभ थिङकिङ शीर्षक भएको पुस्तक प्रकाशित गरे। निकै बिक्री भएको यो पुस्तकले सकारात्मक मनोवृत्ति छ भने थुप्रै अवरोध पार गर्न सकिन्छ भन्‍ने सुझाउ दिएको थियो। सकारात्मक मनोवृत्ति हुनु पक्कै पनि प्रशंसनीय कुरा हो। तर ज्ञान, दक्षता, भौतिक साधन तथा अन्य थुप्रै कुराले गर्दा हामीले व्यक्‍तिगत तवरमा हासिल गर्नसक्ने कुराहरू छन्‌ भन्‍ने कुरा अनुभवहरूद्वारा देखिएको छ। अनि विश्‍वव्यापी तवरमा हेर्ने हो भने, मानिसजातिको विचारधारा जत्तिसुकै सकारात्मक किन नहोस्‌, विद्यमान समस्याहरू यत्ति ठूला छन्‌ कि त्यसको सफल समाधान निकाल्नै प्रायः असम्भव छ!

१४. के यहोवाका साक्षीहरूसित नकारात्मक मनोवृत्ति छ? वर्णन गर्नुहोस्‌।

१४ यस्तो व्यावहारिक दृष्टिकोणले गर्दा यहोवाका साक्षीहरू नकारात्मक मनोवृत्तिका छन्‌ भनेर मानिसहरू आलोचना गर्छन्‌। तर त्यसो होइन, किनकि यहोवाका साक्षीहरू मानिसजातिका तीन थुप्रा समस्याहरू सधैं सधैंका लागि समाधान गर्नसक्ने एक मात्र व्यक्‍तिबारे बताउन तत्पर छन्‌। यस सम्बन्धमा तिनीहरू ख्रीष्टसित भएको मनोवृत्तिको अनुकरण गर्छन्‌। (रोमी १५:२) अनि तिनीहरू मानिसहरूलाई परमेश्‍वरसित घनिष्ठ सम्बन्ध विकास गर्न मदत गरिरहेका छन्‌। अन्ततः यसैले सर्वोपरि हित गर्नेछ भनेर तिनीहरूलाई थाह छ।—मत्ती २८:१९, २०; १ तिमोथी ४:१६.

१५. यहोवाका साक्षीहरूको कामले व्यक्‍तिविशेषको परिस्थिति कसरी सुधार्छ?

१५ यहोवाका साक्षीहरू सामाजिक समस्याहरू र त्यसमाथि पनि अझ विशेष गरी वरपरका अशुद्ध गैरशास्त्रीय प्रचलनहरू देखेर पनि आँखा चिम्लने होइनन्‌। सकारात्मक प्रतिक्रिया जनाउने कुनै पनि व्यक्‍तिले यहोवाको साक्षी हुनुअघि आफूमा परिवर्तन ल्याउँछ र यसमा अक्सर परमेश्‍वरलाई मन नपर्ने कुलतहरूबाट मुक्‍त हुनु समावेश हुनसक्छ। (१ कोरिन्थी ६:९-११) यसरी, यहोवाका साक्षीहरूले जिज्ञासुहरूलाई मतवालापन, लागू पदार्थको दुर्व्यसन, अनैतिकता र जुवा खेल्नेजस्ता बानीहरू त्याग्न मदत गरेका छन्‌। परिवर्तन भएका यस्ता व्यक्‍तिहरूले जिम्मेवार तथा इमानदार तरिकामा आफ्नो परिवारको आवश्‍यकताहरू पूरा गर्न सिकेका छन्‌। (१ तिमोथी ५:८) यसरी, व्यक्‍तिविशेष तथा परिवारहरूलाई मदत गर्दा समाजमा समस्याहरू कम हुन्छन्‌ अर्थात्‌ समाजमा लागू पदार्थका दुर्व्यसनीहरू घटछन्‌, पारिवारिक हिंसा कम हुन्छ र त्यस्तै अरू अरू पनि। नियम परायण नागरिक भएर अनि अरूलाई उत्तम जीवन बिताउन सहयोग गरेर यहोवाका साक्षीहरूले सामाजिक समस्याहरूसित डट्‌ने माध्यमहरूको भार पनि हलुको पार्छन्‌।

१६. यहोवाका साक्षीहरू किन सांसारिक सुधार नीतिहरूमा भाग लिंदैनन्‌?

१६ त्यसोभए, के यहोवाका साक्षीहरूले संसारको नैतिक वातावरण परिवर्तन गरेका छन्‌? भनौं भने, बितेको दशकमा यहोवाका सक्रिय साक्षीहरूको संख्या ३८,००,००० भन्दा केही कमबाट बढेर झन्डै ६०,००,००० पुग्यो। यसको मतलब २२,००,००० जना बढे र तीमध्ये थुप्रैले मसीही हुनुअघि अधर्मी कामकुराहरू त्यागेका थिए। थुप्रैको जीवन सुध्रियो! तैपनि, विश्‍व जनसंख्यामा भएको तत्कालीन वृद्धि अर्थात्‌ ८७,५०,००,००० को तुलनामा यो संख्या निकै कम छ! मानिसजातिबाट छानिएका थोरैले मात्र जीवनको बाटो समात्नेछन्‌ भन्‍ने कुरा थाह भए तापनि सकारात्मक प्रतिक्रिया जनाउने व्यक्‍तिहरूलाई मदत गर्नु यहोवाका साक्षीहरूका लागि आनन्दको स्रोत भएको छ। (मत्ती ७:१३, १४) परमेश्‍वरले मात्र गर्न सक्नुहुने विश्‍वव्यापी परिवर्तन पर्खंदै गर्दा यहोवाका साक्षीहरू सांसारिक सुधार नीतिहरूमा भाग लिंदैनन्‌। किनकि सांसारिक सुधार नीतिहरू सुरुमा राम्रै मनसायसहित थालिएका भए तापनि अक्सर पछि गएर नैराश्‍य अनि कहिलेकाहीं त हिंसामा टुंगिन्छन्‌।—२ पत्रुस ३:१३.

१७. वरपरका मानिसहरूलाई मदत गर्न येशूले के गर्नुभयो तर उहाँले केचाहिं गर्नुभएन?

१७ यस्तो मार्ग पछ्याएर यहोवाका साक्षीहरू, येशूले यस पृथ्वीमा हुनुहुँदा यहोवामाथि जस्तो भरोसा जाहेर गर्नुभयो त्यस्तै भरोसा जाहेर गर्छन्‌। प्रथम शताब्दीमा येशूले चमत्कारहरू गर्नुभएर रोगव्याधि निको पार्नुभएको थियो। (लूका ६:१७-१९) उहाँले मरेका मानिसहरूको समेत पुनरुत्थान गर्नुभयो। (लूका ७:११-१५; ८:४९-५६) तर उहाँले न रोगबिमारलाई जरैदेखि उखल्नुभयो न त मृत्युलाई नै हटाउनुभयो। त्यसो गर्ने परमेश्‍वरको समय भइसकेको छैन भनेर उहाँलाई थाह थियो। सिद्ध पुरुष हुनुभएकोले येशूसित धेरै क्षमता थियो र उहाँले गम्भीर राजनैतिक तथा सामाजिक समस्याहरू समाधान गर्न थुप्रै कुरा गर्न सक्नुहुन्थ्यो। उहाँको जमानाका केही मानिसहरूले उहाँले शक्‍ति आफ्नो हातमा लिनुभएको र त्यसै गर्नुभएको चाहेका पनि थिए जस्तो देखिन्छ। तर येशूले त्यसो गर्न इन्कार गर्नुभयो। हामी यसो लेखिएको पाउँछौं: “उहाँले गर्नुभएको यो चिह्न देखेर ती मानिसहरूले भने, ‘संसारमा आउने अगमवक्‍ता साँच्चै यहाँनै हुनुहुँदोरहेछ।’ यसकारण उहाँलाई राजा बनाउनालाई तिनीहरूले बलजफत गर्नआँटेका छन्‌ भनी थाह पाई येशू फेरि आफू एकलै डाँड़ामा गइहाल्नुभयो।”—यूहन्‍ना ६:१४, १५.

१८. (क) येशूले कसरी सधैं पर्खने मनोवृत्ति देखाउनुभयो? (ख) सन्‌ १९१४ देखि येशूको गतिविधि कसरी परिवर्तन भएको छ?

१८ येशूले राजनीतिमा लाग्न वा पूर्णतया सामाजिक सेवा गर्न इन्कार गर्नुभयो। किनकि राज्यशक्‍ति लिने र सम्पूर्ण मानिसजातिलाई निको पार्ने समय आइपुगेको छैन भनेर उहाँलाई थाह थियो। स्वर्गमा अमर आत्मिक जीवन प्राप्त गर्न उक्लनु भइसकेपछि पनि उहाँ कुनै कदम चाल्नुअघि यहोवाले तोक्नुभएको समय पर्खन इच्छुक हुनुहुन्थ्यो। (भजन ११०:१; प्रेरित २:३४, ३५) तथापि, १९१४ मा परमेश्‍वरको राज्यको राजाको रूपमा गद्दीनसिन हुनु भएदेखि उहाँ “विजय गर्दै र विजय गर्नालाई” निस्कनुभएको छ। (प्रकाश ६:२; १२:१०) मसीही हौं भनी दाबी गर्नेहरूले राज्यसम्बन्धी बाइबलका शिक्षाहरूलाई अवहेलना गरेका छन्‌। तर हामी उहाँको राज्यको अधीनमा बस्न पाएकोमा कत्ति आभारी छौं!

पर्खनु—दिकदारीको स्रोत वा आनन्दको?

१९. पर्खनु पर्दा कहिले ‘हाम्रो मन मर्छ’ र कहिले चाहिं आनन्दको स्रोत हुन्छ?

१९ पर्खनु दिक्कलाग्दो हुनसक्छ भनेर सुलेमानलाई थाह थियो। त्यसैले, तिनले यस्तो लेखे: “आशा साकार नहुँदा मन मर्छ।” (हितोपदेश १३:१२) हो, कुनै व्यक्‍तिले आधारहीन प्रत्याशा संगालेर राखेको छ भने, निराशाको कारण उसको मन पक्कै मर्नसक्छ। तथापि, आनन्दित घटनाहरू जस्तै: विवाह, बच्चाको जन्म वा हामीले माया गरेको व्यक्‍तिलाई फेरि भेट्‌ने दिन पर्खंदा त्यो दिन आइपुग्नुभन्दा निकै अघिदेखि नै त्यो पर्खाइ आनन्दको स्रोत हुनसक्छ। पर्खिरहँदा हुनलागेको घटनाको तयारी गर्दै उक्‍त समयलाई बुद्धिमानीसाथ प्रयोग गऱ्‍यौं भने हाम्रो आनन्द अझ बढ्‌नेछ।

२०. (क) हामीले कस्ता उदेकलाग्दा घटनाहरू निर्धक्क भई हेर्ने प्रत्याशा राखेका छौं? (ख) यहोवाको उद्देश्‍य पूरा हुने समय पर्खंदै हामी कसरी आनन्द प्राप्त गर्नसक्छौं?

२० हाम्रो आशा कहिले साकार हुन्छ त्यो हामीलाई थाह नभए तापनि हाम्रो आशा पक्कै साकार हुन्छ भन्‍ने पूर्ण भरोसा हामीसित छ भने, हाम्रो ‘मन मर्दैन।’ परमेश्‍वरका विश्‍वासी सेवकहरूलाई ख्रीष्टको हजार वर्षे शासन पक्कै आउँछ भनेर थाह छ। मृत्यु अनि रोगबिमारको अन्त देख्नेछन्‌ भनेर तिनीहरू ढुक्क छन्‌। आफ्ना प्रिय व्यक्‍तिहरूलगायत पुनः जीवित भएर आउने अरबौं व्यक्‍तिहरूलाई स्वागत गर्न पाइने समय तिनीहरू उत्सुकतासाथ पर्खिरहेका छन्‌। (प्रकाश २०:१-३, ६; २१:३, ४) खस्कँदो वातावरणीय समस्याले पिरोलिरहेको समयमा यस पृथ्वीमा पक्कै प्रमोदवन स्थापित हुनेछ भनेर तिनीहरू ढुक्क छन्‌। (यशैया ३५:१, २, ७) त्यसकारण, पर्खेर बिताउनुपर्ने समयलाई “सधैं प्रभुको काममा प्रशस्त हुँदै” बुद्धिमानीसाथ प्रयोग गर्नु कत्ति बुद्धिमानी हुनेछ! (१ कोरिन्थी १५:५८) यसका साथै आध्यात्मिक आहार लिइरहनुहोस्‌। यहोवासित अझ घनिष्ठ हुनुहोस्‌। यहोवाको सेवा गर्न चाहने अरू मानिसहरू खोज्नुहोस्‌। सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिनुहोस्‌। यहोवाले अनुमति दिनुहुने जति पनि समय बाँकी छ, त्यसको पूर्ण सदुपयोग गर्नुहोस्‌। तब, यहोवालाई पर्खेर बिताउनुभएकोमा तपाईंको “मन” कहिल्यै ‘मर्नेछैन।’ बरु, आनन्दले भरिपूर्ण हुनेछ!

के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?

• येशूले कसरी पर्खने मनोवृत्ति प्रकट गर्नुभयो?

• कस्ता अवस्थाहरूमा मसीहीहरूलाई पर्खने मनोवृत्ति आवश्‍यक पर्छ?

• यहोवालाई पर्खन यहोवाका साक्षीहरू किन सन्तुष्ट छन्‌?

• यहोवालाई पर्खंदा त्यसलाई कसरी आनन्दको स्रोत बनाउन सकिन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएका चित्रहरू]

आफ्नो सामने राखिदिएको आनन्दको निम्ति येशूले पर्खनुभयो

[पृष्ठ १३-मा भएको चित्र]

वर्षौं सेवा गरिसकेपछि पनि हामी आफ्नो आनन्द कायम राख्नसक्छौं

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरू बनेर लाखौंले आफ्नो जीवन सुधारिसकेका छन्‌