लुकाका अनुसार ११:१-५४

  • प्रार्थना कसरी गर्ने (१-१३)

    • नमुना प्रार्थना (२-४)

  • पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछ (१४-२३)

  • प्रेत फर्कन्छ (२४-२६)

  • साँचो आनन्द (२७, २८)

  • योनाको चिन्ह (२९-३२)

  • शरीरको बत्ती (३३-३६)

  • कपटी धर्मगुरुहरूलाई धिक्कार (३७-५४)

११  एकपटक उहाँ कुनै एउटा ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका एक जना चेलाले उहाँलाई भने: “प्रभु, युहन्‍नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्‌।” २  तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन: ‘हे बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।*+ तपाईँको राज्य आओस्‌।+ ३  हाम्रो दैनिक आवश्‍यकताअनुसार हामीलाई हरेक दिन भोजन* दिनुहोस्‌।+ ४  हाम्रा पापहरू क्षमा गर्नुहोस्‌+ किनकि हामी पनि हाम्रो हरेक ऋणीलाई* क्षमा गर्छौँ + अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌।’”+ ५  त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मानौँ, तिमीहरूमध्ये कसैको एक जना साथी छ र तिमी मध्यरातमा उसकहाँ गएर यसो भन्छौ: ‘ए साथी, मलाई तीन वटा रोटी पैँचो देऊ ६  किनकि मेरो एक जना साथी यात्रा गरेर भर्खरै मकहाँ आएको छ र उसलाई खुवाउन मसित केही छैन।’ ७  अनि उसले भित्रबाट यस्तो जवाफ दिन्छ: ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ र मेरा बालबच्चा मसितै ओछ्यानमा सुतिसकेका छन्‌। त्यसैले म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ ८  म तिमीहरूलाई भन्छु, साथीको नाताले नदिए तापनि तिमीले खुरन्धार बिन्ती गरिरहेकोले+ उसले उठेर तिमीलाई चाहिएको कुरा दिनेछ। ९  त्यसैले म तिमीहरूलाई भन्छु, मागिरहो+ अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+ १०  किनकि जसले मागिरहन्छ, उसले पाउँछ;+ जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ। ११  तिमीहरूमध्ये कोचाहिँ यस्तो बुबा होला, जसले आफ्नो छोराले माछा माग्दा माछाको सट्टा सर्प देला?+ १२  अथवा उसले अण्डा माग्दा बिच्छी देला? १३  त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन्‌ कत्ति धेरै पवित्र शक्‍ति* दिनुहुनेछ!”+ १४  पछि येसुले एक जना मानिसबाट प्रेत* धपाउनुभयो, जसले त्यस मानिसलाई गुँगो बनाएको थियो।+ प्रेत निस्केपछि त्यो गुँगो बोल्न थाल्यो अनि भीड छक्क पऱ्‍यो।+ १५  तर तिनीहरूमध्ये कोही-कोहीले यसो भने: “यसले प्रेतहरूको शासक बालजिबुलको* मदतले प्रेतहरूलाई धपाउँछ।”+ १६  अरूले चाहिँ उहाँको परीक्षा लिन उहाँसित स्वर्गबाट एउटा चिन्ह माग्न थाले।+ १७  तिनीहरूको विचार थाह पाएर+ उहाँले भन्‍नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन घरभित्र फूट छ, त्यसको पतन हुन्छ। १८  त्यसैले सैतान आफैमा फूट छ भने त्यसको राज्य कसरी टिक्ला र? किनकि तिमीहरू भन्छौ, म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु। १९  यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्‌? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्‌। २०  तर यदि म परमेश्‍वरको पवित्र शक्‍तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २१  हातहतियारले सुसज्जित बलियो मानिसले आफ्नो घरको रखवाली गरेको छ भने उसको सम्पत्ति सुरक्षित हुन्छ। २२  तर ऊभन्दा बलियो कुनै मानिस आएर उसलाई हरायो भने त्यसले ती सबै हातहतियार लैजान्छ, जसमाथि उसले भरोसा गरिरहेको थियो। अनि ऊबाट लुटेका कुराहरू भाग लगाउँछ। २३  जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+ २४  “जब एउटा प्रेत एक जना मानिसबाट बाहिर निस्कन्छ, तब त्यसले सुक्खा ठाउँहरूमा विश्रामस्थल खोज्छ तर कतै नभेटेपछि त्यसले भन्छ, ‘म जुन घरबाट निस्केर आएँ, त्यहीँ फर्किन्छु।’+ २५  अनि त्यहाँ पुग्दा त्यसले त्यो घर सफा पारेर सजिसजाउ गरिएको पाउँछ। २६  तब त्यो जान्छ र आफूभन्दा झन्‌ दुष्ट अरू सात वटा प्रेतलाई सँगै लिएर आउँछ र तिनीहरू त्यस मानिसभित्र पसेर त्यहीँ बस्छन्‌। त्यसैले त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा झन्‌ खराब हुन्छ।” २७  उहाँले यी कुरा भन्दै गर्नुहुँदा भीडको माझबाट एउटी स्त्रीले ठूलो स्वरमा उहाँलाई यसो भनी: “आनन्दित हुन्‌ ती आमा, जसको कोखबाट तपाईँले जन्म लिनुभयो र जसको स्तन तपाईँले चुस्नुभयो!”+ २८  तर उहाँले भन्‍नुभयो: “त्यसो होइन। आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”+ २९  भीड जम्मा हुन थालेपछि उहाँले यसो भन्‍न सुरु गर्नुभयो: “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्छ तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+ ३०  जसरी योना+ निनवेवासीहरूका लागि चिन्ह भए, त्यसरी नै मानिसको छोरा पनि यस पुस्ताको लागि चिन्ह हुनेछ। ३१  न्यायको बेला दक्षिणकी महारानी+ यस पुस्ताका मानिसहरूसँगै खडा हुनेछिन्‌ र यिनीहरूलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌। तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ३२  न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन्‌ र यसलाई दोषी ठहराउनेछन्‌ किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्‍चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ। ३३  कसैले पनि दियो बालेर त्यसलाई लुकाउँदैन न त टोकरीले* छोप्छ तर भित्र पस्ने सबैलाई उज्यालो होस्‌ भनेर त्यसलाई पानसमा राख्छ।+ ३४  तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा एउटै कुरामा केन्द्रित* छ भने पूरै शरीर उज्यालो हुन्छ तर तिम्रो आँखा ईर्ष्यालु* छ भने तिम्रो शरीर अँध्यारो हुन्छ।+ ३५  त्यसैले सतर्क रहो, कतै तिमीमा भएको उज्यालो अँध्यारो नहोस्‌। ३६  त्यसकारण तिम्रो शरीर पूरै उज्यालो छ र कुनै पनि भाग अँध्यारो छैन भने दियोको किरणले दिने उज्यालोजस्तै तिम्रो शरीर पनि पूरै उज्यालो हुनेछ।” ३७  उहाँले यो कुरा भनिसक्नुभएपछि एक जना फरिसीले* उहाँलाई आफूकहाँ खाना खान निम्तो दिए। त्यसैले उहाँ जानुभयो र खान बस्नुभयो। ३८  तर खानअघि उहाँले हात नधुनुभएको* देखेर+ ती फरिसी छक्क परे। ३९  तर प्रभुले तिनलाई भन्‍नुभयो: “तिमी फरिसीहरू ती कचौरा र थालजस्ता छौ, जुन बाहिर मात्र माझिएको हुन्छ तर भित्र भने फोहोरै हुन्छ। तिमीहरूभित्र लोभ र दुष्टता भरिएको छ।+ ४०  ए बेसमझ मानिसहरू! जसले बाहिरी भाग बनाउनुभयो, उहाँले नै भित्री भाग पनि बनाउनुभएको होइन र? ४१  त्यसैले दानपुण्य* गर्दा मनैदेखि गर र हेर, बाँकी सबै कुरामा तिमी शुद्ध हुनेछौ। ४२  तर धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू पुदिना, सोमलता* र अरू सबै जडीबुटीका* दशांश चढाउँछौ+ तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई चाहिँ बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई पनि लत्त्याउनु हुँदैनथ्यो।+ ४३  धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ।+ ४४  धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो बाहिरबाट देखिँदैनन्‌+ अनि चालै नपाई मानिसहरू त्यसमाथि टेकेर हिँड्‌छन्‌।” ४५  यो सुनेर व्यवस्थामा पोख्त एक जना मानिसले उहाँलाई भन्यो: “गुरुज्यू, यस्तो कुरा गरेर तपाईँ हाम्रो पनि अपमान गर्दै हुनुहुन्छ।” ४६  त्यसपछि उहाँले भन्‍नुभयो: “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई पनि धिक्कार छ! किनकि तिमीहरू मानिसहरूलाई बोझिला नियमहरूको भारी बोकाउँछौ तर आफू भने एउटा औँलाले पनि ती छुँदैनौ।+ ४७  “धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती भविष्यवक्‍ताहरूको चिहान बनाउँछौ, जसलाई तिमीहरूकै पितापुर्खाले मारे।+ ४८  आफ्ना पितापुर्खाका कर्तुत थाह हुँदाहुँदै पनि तिमीहरू तिनीहरूले मारेका भविष्यवक्‍ताहरूको+ चिहान बनाएर तिनीहरूलाई आफ्नो मन्जुरी दिन्छौ। ४९  यसैले आफ्नो बुद्धि प्रकट गर्दै परमेश्‍वरले यसो भन्‍नुभयो: ‘म तिनीहरूकहाँ भविष्यवक्‍ताहरू र प्रेषितहरू पठाउनेछु अनि तिनीहरूले उनीहरूमध्ये कसै-कसैलाई मार्नेछन्‌ र कसै-कसैको खेदो गर्नेछन्‌ ५०  ताकि संसारको प्रारम्भदेखि मारिएका सबै भविष्यवक्‍ताको रगतको हिसाब यस पुस्तासित लिन सकियोस्‌,+ ५१  हाबिलको रगतदेखि+ जकरियाको रगतसम्म, जसको हत्या वेदी र मन्दिरको बीचमा भएको थियो।’+ हो, म तिमीहरूलाई भन्छु, त्यसको हिसाब यस पुस्तासित लिइनेछ। ५२  “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्नेहरूलाई पनि रोक्न खोज्छौ।”+ ५३  त्यसैले उहाँ त्यहाँबाट बाहिर निस्कनुभएपछि शास्त्रीहरू र फरिसीहरू उहाँको पछि लागेर उहाँलाई हैरान पार्न अनि प्रश्‍नमाथि प्रश्‍न गर्न थाले। ५४  तिनीहरू उहाँले भन्‍नुभएको कुरामा उहाँलाई फसाउन दाउ खोजिरहेका थिए।+

फुटनोटहरू

वा “पवित्र ठानियोस्‌।”
शा., “रोटी।”
वा, “हाम्रो विरुद्धमा पाप गर्नेलाई।”
शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।
वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
यो सैतानलाई दिइएको नाम हो।
अर्थात्‌, चेलाहरूचाहिँ।
शा., “परमेश्‍वरको औँलाले।”
वा “पाथीले।”
वा “निर्मल।” शा., “सरल।”
शा., “खराब; दुष्ट।”
शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, उहाँ परम्पराअनुसार शुद्ध नहुनुभएको।
शब्दावली हेर्नुहोस्‌।
वा “वनस्पतिका।”
ग्रीक भाषामा “पेगानोन।” यो औषधी र मसलाको रूपमा प्रयोग गरिने बिरुवा हो।
वा “सबैभन्दा राम्रो आसनमा।”