पहिलो थिस्सलोनिकी १:१-१०

  • अभिवादन ()

  • थिस्सलोनिकीहरूको विश्‍वासको लागि धन्यवाद ज्ञापन (२-१०)

 पावल, सिल्भानस*+ र तिमोथि+ थिस्सलोनिकीहरूको मण्डलीलाई, जुन परमेश्‍वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टसित एकतामा छ, यो पत्र लेख्दै छौँ। तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌। २  हाम्रा प्रार्थनाहरूमा तिमीहरू सबैलाई सम्झँदा हामी परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ + ३  किनकि तिमीहरूले आफ्नो विश्‍वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र हाम्रा प्रभु येसु ख्रिष्टमा आशा+ राखेको हुनाले देखाएको सहनशीलता हाम्रा परमेश्‍वर र बुबासामु हामी हरबखत सम्झिरहन्छौँ। ४  परमेश्‍वरले प्रिय ठान्‍नुभएका हे मेरा भाइहरू हो, उहाँले तिमीहरूलाई चुन्‍नुभएको छ भनेर हामीलाई थाह छ ५  किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूमाझ बोलीमा मात्र सीमित रहेन तर त्यसले सशक्‍त प्रभाव पाऱ्‍यो र तिमीहरूबीच पवित्र शक्‍तिले काम गऱ्‍यो अनि त्यो सुसमाचारले तिमीहरूलाई पूर्णतया विश्‍वस्त तुल्यायो। तिमीहरूको निम्ति हामी के मात्र भएनौँ, त्यो तिमीहरूलाई थाहै छ। ६  अनि थुप्रै सङ्‌कष्ट सहँदै+ तिमीहरूले त्यस वचनलाई पवित्र शक्‍तिद्वारा पाइने आनन्दका साथ स्विकाऱ्‍यौ अनि तिमीहरू हाम्रो र प्रभुको अनुकरण गर्नेहरू भयौ।+ ७  यसरी तिमीहरू म्यासिडोनिया र अखैयामा भएका येसुका सबै चेलाका लागि उदाहरण भयौ। ८  वास्तवमा तिमीहरूद्वारा यहोवा* परमेश्‍वरको वचन म्यासिडोनिया र अखैयामा फैलिरहेको छ। तर त्यति मात्र नभई परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको चर्चा जताततै भइरहेको छ।+ त्यसैले हामीले केही बताइरहनु आवश्‍यक छैन। ९  बरु मानिसहरू आफैले बताइरहन्छन्‌ कि हामी कसरी पहिलो पटक तिमीहरूकहाँ आएका थियौँ अनि जीवित र साँचो परमेश्‍वरको दास बन्‍न तिमीहरू कसरी आ-आफ्ना मूर्तिहरू त्यागेर+ परमेश्‍वरतर्फ फर्क्यौ १०  अनि कसरी स्वर्गबाट उहाँको छोरा येसु आउनुहुने समयलाई पर्खन+ पनि तिमीहरू फर्क्यौ, जसलाई उहाँले मृत्युबाट ब्युँताउनुभयो र जसले हामीलाई आउँदै गरेको क्रोधबाट बचाउनुहुनेछ।+

फुटनोटहरू

तिनलाई सिलास पनि भनिन्छ।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।