दोस्रो कोरिन्थी ७:१-१६

  • अशुद्ध पार्ने कुराबाट आफूलाई शुद्ध पारौँ ()

  • कोरिन्थीहरूले गर्दा पावल आनन्दित (२-४)

  • तितस राम्रो खबर ल्याउँछन्‌ (५-७)

  • परमेश्‍वरको इच्छाअनुसार दुःखी हुनु र पश्‍चात्ताप गर्नु (८-१६)

 यसकारण हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले+ तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ+ र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔँ। २  हामीलाई तिमीहरूको हृदयमा ठाउँ देओ।+ हामीले कसैको बिगार गरेका छैनौँ, कसैलाई भ्रष्ट पारेका छैनौँ, कसैबाट फाइदा उठाएका छैनौँ।+ ३  तिमीहरूलाई दोषी ठहराउन मैले यसो भनेको होइनँ। किनकि मैले तिमीहरूलाई पहिला पनि भनिसकेँ कि चाहे हामी बाँचौँ या मरौँ, तिमीहरू हाम्रो हृदयमा छौ। ४  तिमीहरूसित निर्धक्क भई बोल्ने साहस मसित छ। म तिमीहरूमा निकै गर्व गर्छु। मैले पूरा सान्त्वना पाएको छु; हाम्रा सारा दुःखकष्टमा पनि मेरो हृदय खुसीले ओतप्रोत भएको छ।+ ५  वास्तवमा म्यासिडोनिया+ पुग्दा हामीलाई पटक्कै चैन भएन, बरु हामीले हरतरहको दुःखकष्ट झेलिरह्‍यौँ। बाहिर घोर विरोध भइरहेको थियो र भित्रचाहिँ चिन्तैचिन्ताले सताइरहेको थियो। ६  तैपनि निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले+ हामीलाई तितसको उपस्थितिद्वारा सान्त्वना दिनुभयो; ७  तिनको उपस्थितिद्वारा मात्र होइन तर तिमीहरूले गर्दा तिनले जुन सान्त्वना पाए, त्यसबाट पनि हामीलाई सान्त्वना मिल्यो। तिमीहरूले मलाई भेट्‌न उत्कट इच्छा गरेको, तिमीहरूले निकै शोक गरेको अनि मप्रति गहिरो चासो देखाएको खबर तिनले ल्याए; त्यसैले म झनै रमाएँ। ८  यसकारण यदि मैले आफ्नो पत्रबाट तिमीहरूलाई दुःखी तुल्याएको रहेछु भने+ पनि म पछुताउँदिनँ। हुनत सुरुमा मलाई पछुतो लागेको थियो (किनकि मलाई थाह छ, त्यस पत्रले तिमीहरूलाई दुःखी तुल्यायो तर थोरै समयको लागि मात्र) ९  तैपनि अहिले म रमाउँछु तर तिमीहरू दुःखी भएकोले मात्रै होइन, बरु दुःखी भएर पश्‍चात्ताप गरेकोले। किनकि तिमीहरू परमेश्‍वरको इच्छाअनुसार दुःखी भयौ र हाम्रो कारणले गर्दा तिमीहरूले कुनै क्षति बेहोर्नु परेन। १०  किनकि परमेश्‍वरको इच्छाअनुसार दुःखी हुँदा त्यसले पश्‍चात्ताप गर्न लगाउँछ र यसले उद्धारतर्फ डोऱ्‍याउँछ अनि पछुताउनुपर्ने कुनै कारण हुँदैन;+ तर यस संसारका मानिसहरूजसरी दुःखी हुँदा त्यसले मृत्यु उत्पन्‍न गराउँछ। ११  किनकि हेर, तिमीहरू परमेश्‍वरको इच्छाअनुसार दुःखी भएको हुँदा यसले तिमीहरूमा कत्ति धेरै उत्सुकता उत्पन्‍न गऱ्‍यो; हो, आफूलाई दोषमुक्‍त गर्ने कत्ति धेरै इच्छा, कत्ति धेरै आक्रोश, कत्ति धेरै डर, कत्ति धेरै तिर्सना, कत्ति धेरै जोस; अनि तिमीहरूले आफ्नो गल्ती सच्यायौ!+ यस सन्दर्भमा तिमीहरूले हरतरहले आफूलाई चोखो* साबित गऱ्‍यौ। १२  मैले तिमीहरूलाई लेखेको भए तापनि वास्तवमा न गल्ती गर्नेको लागि+ न त जसको विरुद्धमा गल्ती गरियो उसको लागि लेखेको हुँ तर हाम्रो कुरा सुन्‍न तिमीहरू कति उत्सुक छौ भन्‍ने कुरा परमेश्‍वरको नजरमा प्रकट होस्‌ भनेर लेखेको हुँ। १३  यसैकारण हामीले सान्त्वना पाएका छौँ। तथापि हामीले पाएको सान्त्वनाका साथै तितस खुसी भएकोले हामी अझ धेरै रमायौँ किनभने तिमीहरू सबैले गर्दा तिनको हृदयले स्फूर्ति पायो। १४  किनकि मैले तिनीसामु तिमीहरूको विषयमा गर्व गरेकै भए पनि मैले सरम मान्‍नु परेन तर जसरी हामीले तिमीहरूलाई भनेको सबै कुरा सत्य थियो, त्यसरी नै तितससामु हामीले गर्वका साथ भनेका कुराहरू पनि सत्य साबित भएका छन्‌। १५  साथै तिमीहरू सबैको आज्ञाकारिता+ र तिमीहरूले गहिरो आदरसाथ तिनलाई स्वागत गरेको कुरा सम्झँदा तिमीहरूप्रति तिनको कोमल स्नेह झनै बढेको छ। १६  म रमाउँछु किनकि म सबै कुरामा तिमीहरूलाई भरोसा गर्छु।*

फुटनोटहरू

वा “शुद्ध; निर्दोष।”
वा सम्भवत: “तिमीहरूले गर्दा म निकै साहसी हुन सकेको छु।”