लुकाका अनुसार ८:१-५६

  • येसुसँगै यात्रा गर्ने स्त्रीहरू (१-३)

  • बिउ छर्ने मानिसको उदाहरण (४-८)

  • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (९, १०)

  • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (११-१५)

  • दियो बालेर छोपिँदैन (१६-१८)

  • येसुकी आमा र उहाँका भाइहरू (१९-२१)

  • येसु आँधीलाई शान्त पार्नुहुन्छ (२२-२५)

  • येसु प्रेतहरूलाई सुँगुरहरूभित्र पठाउनुहुन्छ (२६-३९)

  • याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन्‌ (४०-५६)

 यसको केही समयपछि उहाँ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।+ अनि ती १२ जना उहाँसँग थिए। २  उहाँसँगै केही स्त्रीहरू पनि थिए, जसबाट उहाँले प्रेतहरू धपाउनुभएको थियो अनि जसका रोगबिमारहरू उहाँले निको पार्नुभएको थियो। तिनीहरूमध्ये मग्दलिनी भनिने मरियम पनि थिइन्‌, जसबाट सात वटा प्रेत निकालिएको थियो। ३  साथै हेरोदको घरको रेखदेख गर्ने नाइके खुजाकी पत्नी योअन्‍ना,+ सुसन्‍ना अनि अरू थुप्रै स्त्री पनि थिए। यिनीहरूले आफ्नो सम्पत्ति खर्चेर येसु अनि उहाँका चेलाहरूको सेवा गरिरहेका थिए।+ ४  तब उहाँसँगै एकपछि अर्को सहरमा जाने मानिसहरूसित एउटा ठूलो जमात भेला भएपछि उहाँले एउटा उदाहरण चलाएर तिनीहरूसित कुरा गर्नुभयो:+ ५  “एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो। बिउ छर्दै जाँदा तीमध्ये केही बाटोको छेउछाउमा परे र ती कुल्चिइए अनि आकाशका चराहरू आएर ती खाइदिए।+ ६  अरूचाहिँ चट्टानमा परे तर त्यो ठाउँ त्यति ओसिलो नभएकोले ती बिउ टुसाउनेबित्तिकै सुकिहाले।+ ७  अझ अरूचाहिँ काँडाहरूको बीचमा परे अनि सँगसँगै बढेका काँडाहरूले गर्दा ती निसासिए।+ ८  अरू केही भने असल माटोमा परे अनि टुसाएपछि १०० गुणा फल फलाए।”+ यी कुराहरू भन्दाभन्दै उहाँले ठूलो स्वरले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+ ९  तर उहाँका चेलाहरूले यस उदाहरणको अर्थ के हो भनेर सोध्न थाले।+ १०  उहाँले भन्‍नुभयो: “तिमीहरूलाई परमेश्‍वरको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ तर बाँकी अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ ताकि हेरेर पनि तिनीहरूले नदेखून्‌ अनि सुनेर पनि तिनीहरूले अर्थ नबुझून्‌।+ ११  उदाहरणको अर्थ यो हो: बिउ परमेश्‍वरको वचन हो।+ १२  बाटोको छेउछाउमा परेकाहरू ती हुन्‌, जसले वचन सुन्छन्‌ तर पछि दियाबल आउँछ र तिनीहरूले विश्‍वास गरेर उद्धार नपाऊन्‌ भनेर तिनीहरूको हृदयबाट त्यो वचन खोसेर लैजान्छ।+ १३  चट्टानमा पर्नेहरू ती हुन्‌, जसले वचन सुन्‍नेबित्तिकै खुसीसाथ स्विकार्छन्‌ तर तिनीहरूको जरा नभएकोले तिनीहरूले केही समयसम्म त विश्‍वास गर्छन्‌ तर परीक्षा आइपर्नेबित्तिकै पछि हटिहाल्छन्‌।+ १४  काँडाहरूको बीचमा पर्ने ती हुन्‌, जसले वचन सुन्छन्‌ तर यस जीवनको फिक्री, धनसम्पत्ति+ अनि मोजमज्जाले गर्दा+ भड्‌किन्छन्‌, जसले गर्दा तिनीहरू पूरै निसासिन्छन्‌ र तिनीहरूको फल पाक्न पाउँदैन।+ १५  असल जमिनमा पर्नेचाहिँ असल हृदय भएका ती मानिसहरू हुन्‌,+ जसले वचन सुनेपछि त्यसलाई हृदयमा राखिराख्छन्‌ र सहनशील भई फल फलाउँछन्‌।+ १६  “कसैले दियो बालेर त्यसलाई भाँडाले छोप्दैन वा खाटमुनि राख्दैन तर भित्र पस्ने सबैलाई उज्यालो होस्‌ भनेर त्यसलाई पानसमा राख्छ।+ १७  लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन थाह हुँदैन र कहिल्यै उदाङ्‌ग हुँदैन।+ १८  त्यसैले तिमीहरू कसरी सुन्छौ, ध्यान देओ। किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ।+ तर जोसित छैन, उसले आफूसित जति छ भनी सोचेको छ, त्यो समेत ऊबाट खोसिनेछ।”+ १९  तब येसुका आमा र भाइहरू+ उहाँ भएको ठाउँमा आए तर भीडले गर्दा तिनीहरू उहाँको नजिक पुग्न सकिरहेका थिएनन्‌।+ २०  त्यसैले उहाँलाई यस्तो खबर दिइयो: “तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई भेट्‌न बाहिर पर्खिरहेका छन्‌।” २१  तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌, तिनीहरू नै मेरा आमा र भाइहरू हुन्‌।”+ २२  एकदिनको कुरा हो, उहाँ आफ्ना चेलाहरूसित डुङ्‌गा चढ्‌नुभयो र तिनीहरूलाई भन्‍नुभयो: “आओ, हामी तालपारि जाऔँ।” त्यसैले उहाँहरू डुङ्‌गा चढेर जानुभयो।+ २३  तर यात्रा गर्दै गर्दा उहाँ निदाउनुभयो। तब तालमा ठूलो आँधी चल्यो अनि डुङ्‌गा पानीले भरिन थाल्यो। यसले गर्दा तिनीहरूको ज्यान खतरामा पऱ्‍यो।+ २४  त्यसैले तिनीहरू उहाँकहाँ गए र उहाँलाई ब्युँझाउँदै यसो भने: “गुरुज्यू, गुरुज्यू, हामी मर्नै आँट्‌यौँ!” तब उहाँ उठ्‌नुभयो अनि आँधीलाई र पानीको छाललाई हप्काउनुभयो अनि ती थामिए र पूरै शान्त भए।+ २५  तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको विश्‍वास खोइ?” तर तिनीहरू असाध्यै डराए र अचम्म मान्दै आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌? किनकि यिनले आँधी र समुद्रलाई समेत आज्ञा गर्दा रहेछन्‌ र तिनीहरूले यिनको आज्ञा मान्दा रहेछन्‌।”+ २६  अनि उहाँहरू गालिलपारि गेरासिनीहरूको इलाकामा किनारातिर जानुभयो।+ २७  येसु किनारामा ओर्लनुहुनेबित्तिकै सहरको एक जना मानिससित उहाँको भेट भयो। यस मानिसलाई प्रेतहरूले सताएको थियो र उसले लुगा नलगाएको निकै समय भइसकेको थियो अनि ऊ घरमा होइन, चिहानहरूमा बस्थ्यो।+ २८  येसुलाई देख्नेबित्तिकै ऊ ठूलो स्वरले चिच्यायो र उहाँसामु घोप्टो पर्दै ठूलो स्वरले यसो भन्यो: “हे सर्वोच्च परमेश्‍वरका छोरा येसु, तपाईँको मसित के सरोकार?* बिन्ती छ, मलाई नसताउनुहोस्‌।”+ २९  (किनभने उहाँले त्यस प्रेतलाई त्यस मानिसबाट निस्केर आउन हुकुम गरिरहनुभएको थियो। त्यसले उसलाई धेरै पटक आफ्नो काबूमा राखेको थियो।*+ उसलाई पटक-पटक नेल र साङ्‌लाले बाँधेर अनि पहरा दिएर राखिएको थियो। तर उसले ती बन्धनहरू तोड्‌थ्यो अनि प्रेतले उसलाई एकलास ठाउँहरूतिर लैजान्थ्यो।) ३०  येसुले उसलाई सोध्नुभयो: “तेरो नाम के हो?” उसले जवाफ दियो: “पल्टन” किनभने थुप्रै प्रेत ऊभित्र बास गरिरहेका थिए। ३१  अनि तिनीहरूले आफूहरूलाई अगाध खाडलमा+ जाने हुकुम नगर्न उहाँलाई बिन्ती गरिरहे। ३२  त्यतिखेर सुँगुरहरूको+ ठूलो बथान त्यही पहाडमा चरिरहेको थियो। त्यसैले तिनीहरूले आफूहरूलाई ती सुँगुरहरूभित्र पस्ने अनुमति दिन उहाँलाई बिन्ती गरे। अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो।+ ३३  तब ती प्रेतहरू त्यस मानिसबाट बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि बथान भीरतिर हुत्तिँदै गयो र तालमा खसेर डुब्यो। ३४  यो देखेर गोठालाहरू भागे अनि सहर र गाउँमा गएर सबैलाई यसबारे सुनाए। ३५  तब के भएको रहेछ भनी हेर्न मानिसहरू आए। तिनीहरू येसुकहाँ पुगे अनि प्रेतहरूले छोडेको त्यस मानिसलाई लुगा लगाएको र सद्दे भएर येसुको पाउनेर बसिरहेको पाए। यो सब देखेर तिनीहरू डराए। ३६  अनि प्रेतले सताएको त्यो मानिस कसरी सद्दे भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए। ३७  तब गेरासिनीहरूको इलाकाको वरपरबाट आएका मानिसहरूको जमातले उहाँलाई त्यहाँबाट गइहाल्न बिन्ती गऱ्‍यो किनकि तिनीहरू असाध्यै भयभीत भएका थिए। त्यसैले उहाँ डुङ्‌गा चढेर त्यहाँबाट फर्कनुभयो। ३८  तब प्रेतहरू बास गर्न छोडेको त्यस मानिसले आफू पनि सँगै जान पाऊँ भनी उहाँलाई बिन्ती गरेको गऱ्‍यै गऱ्‍यो। तर उहाँले यसो भन्दै उसलाई फर्काउनुभयो:+ ३९  “तिमी आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो लागि जे गर्नुभयो, त्यसबारे बताउन नछोड।” त्यसैले ऊ गयो र येसुले उसको लागि गर्नुभएको कुराबारे सहरभरि घोषणा गर्न थाल्यो। ४०  येसु फर्केर आउनुभएपछि भीडले उहाँलाई न्यानो स्वागत गऱ्‍यो किनकि तिनीहरू सबै उहाँको बाटो हेरिरहेका थिए।+ ४१  तब हेर! याइरस नाम गरेका एक जना मानिस उहाँकहाँ आए। तिनी सभाघरको पदाधिकारी थिए अनि तिनले येसुको पाउ पर्दै उहाँलाई आफ्नो घरमा आइदिन बिन्ती गर्न थाले।+ ४२  किनकि लगभग १२ वर्ष पुगेकी तिनकी एक मात्र छोरी मर्नै लागेकी थिई। उहाँ जाँदै गर्नुहुँदा भीडले उहाँलाई ठेलमठेल गर्न थाल्यो। ४३  त्यहाँ रगत बग्ने बेथाले सताएको+ १२ वर्ष भइसकेको अनि कसैको उपचारबाट निको हुन नसकेकी एक जना स्त्री थिई।+ ४४  उसले पछाडिबाट आएर उहाँको लुगाको किनारको फुर्का+ छोई र तुरुन्तै उसको रगत बग्न बन्द भयो। ४५  त्यसैले येसुले सोध्नुभयो: “मलाई छुने को हो?” जब कसैले स्विकारेन, तब पत्रुसले भने: “गुरुज्यू, भीडले तपाईँलाई घेरेर ठेलिरहेको छ।”+ ४६  तर येसुले भन्‍नुभयो: “कसैले मलाई छोयो किनकि मबाट शक्‍ति+ बाहिर निस्केको मैले महसुस गरेँ।” ४७  उहाँको नजरबाट आफू लुक्न नसकेको देखेपछि त्यो स्त्री थरथर काम्दै आई र घुँडा टेक्दै आफूले उहाँलाई छुनुको कारण र त्यसो गर्दा ऊ कसरी तुरुन्तै निको भई, त्यसबारे सबै मानिससामु बताई। ४८  तर उहाँले उसलाई भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।”+ ४९  उहाँ बोल्दै गर्नुहुँदा सभाघरको ती पदाधिकारीको घरबाट एक जना मानिस आयो र भन्यो: “तपाईँकी छोरी मरिसकी! त्यसैले अब गुरुज्यूलाई बेकारमा दुःख नदिनुहोस्‌।”+ ५०  यो सुनेर येसुले याइरसलाई भन्‍नुभयो: “चिन्ता नगर, केवल विश्‍वास गर अनि ऊ बाँच्नेछे।”+ ५१  तिनको घरमा पुगेपछि उहाँले पत्रुस, युहन्‍ना, याकुब अनि केटीका आमाबुबाबाहेक अरू कसैलाई आफूसित भित्र आउन दिनुभएन। ५२  सबै मानिस रुँदै अनि छाती पिट्‌दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्‍नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+ ५३  यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले किनकि केटी मरिसकेकी छे भनेर तिनीहरूलाई थाह थियो। ५४  तर उहाँले उसको हात समातेर भन्‍नुभयो: “नानु, उठ!”+ ५५  तब उसको सास*+ फर्क्यो र ऊ जुरुक्कै उठी।+ त्यसपछि उसलाई केही खानेकुरा दिनू भनी उहाँले अह्राउनुभयो। ५६  यो देखेर उसका आमाबुबाको खुसीको सीमा रहेन। तर यसबारे कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो।+

फुटनोटहरू

प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।
वा सम्भवत: “त्यसले उसलाई आफ्नो काबूमा राखेको निकै समय भइसकेको थियो।”
वा “जीवनशक्‍ति।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।