मिका ७:१-२०

  • इस्राएलको खस्केको नैतिक अवस्था (१-६)

    • शत्रुहरू आफ्नै घरभित्रका हुनेछन्‌ ()

  • “मेरा परमेश्‍वरलाई नै पर्खनेछु” ()

  • परमेश्‍वरका मानिसहरू सही साबित हुन्छन्‌ (८-१३)

  • मिकाको प्रार्थना र परमेश्‍वरको प्रशंसा (१४-२०)

    • यहोवाको जवाफ (१५-१७)

    • ‘यहोवाजस्तो परमेश्‍वर को छ?’ (१८)

 मलाई धिक्कार छ! म ग्रीष्म ऋतुको फल टिपिसकेपछि र अङ्‌गुर टिपेर सिलाबाला बटुलिसकेपछि खानको लागि अङ्‌गुरको एउटै झुप्पा पनि नभेट्टाउने मान्छेजस्तै भएको छु। मलाई असाध्यै खाऊँखाऊँ लाग्ने अन्जिरको पहिलो फल पनि छैन।  २  पृथ्वीबाट वफादार मानिस नष्ट भएको* छ; मानिसहरूबीच एक जना पनि सोझो छैन।+ तिनीहरू सबै रगत बगाउन ढुकिबस्छन्‌।+ तिनीहरू प्रत्येकले जाल बिछ्याएर आफ्नै दाजुभाइलाई सिकार बनाउँछन्‌।  ३  तिनीहरूका हात खराब काम गर्न खप्पिस भएका छन्‌;+ भारदारहरू आफ्ना मागहरू तेर्स्याउँछन्‌, न्यायकर्ताहरू इनाम माग्छन्‌,+ ठूलाबडा आफ्नो इच्छा प्रकट गर्छन्‌+ अनि तिनीहरू सबै मिलेर योजना बनाउँछन्‌।*  ४  तिनीहरूमध्ये असलचाहिँ काँडाजस्तै छ, तिनीहरूमध्ये सबैभन्दा सोझोचाहिँ काँडेबारभन्दा तीखो छ। तिमीहरूका पहरेदारहरूले सुनाएको सजायको समय आउँदै छ; तिमीहरूसित हिसाब लिने समय आउँदै छ।+ त्यसैले तिनीहरू अत्तालिनेछन्‌।+  ५  आफ्नो साथीमा भरोसा नराख वा घनिष्ठ मित्रलाई विश्‍वास नगर।+ तिम्रै अङ्‌गालोमा सुत्नेसित समेत होस पुऱ्‍याएर कुरा गर।  ६  किनकि छोराले बुबालाई घृणा गर्छ, छोरी आमाको विरुद्धमा उठ्‌छे,+ बुहारी सासूको विरुद्धमा उठ्‌छे+ अनि मानिसको शत्रु उसकै घरभित्रका मानिसहरू हुन्छन्‌।+  ७  तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्‍वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्‍वरले मेरो आवाज सुन्‍नुहुनेछ।+  ८  ए मेरो शत्रु,* मलाई देखेर तँ नरमा। म लडेको छु तर फेरि उठ्‌नेछु; म अँध्यारोमा भए तापनि यहोवा मेरो ज्योति हुनुहुनेछ।  ९  जबसम्म यहोवाले मेरो पक्षमा मुद्दा लड्‌नुहुन्‍न र मेरो इन्साफ गर्नुहुन्‍न, तबसम्म म उहाँको क्रोध सहनेछु किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु।+ उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ र उहाँले गर्नुभएको न्याय मैले देख्नेछु। १०  मेरो शत्रुले पनि त्यो देख्नेछे र त्यो लाजले भुतुक्क हुनेछे; त्यसले मलाई यसो भनेकी थिई: “खोइ तेरो परमेश्‍वर यहोवा?”+ मेरो आँखाले त्यसलाई देख्नेछ अनि त्यसलाई सडकको हिलोजस्तै कुल्चिइनेछ। ११  त्यो दिन तिमीहरूले आफ्नो लागि ढुङ्‌गाको पर्खाल लगाउनेछौ; त्यो दिन साँध-सिमाना विस्तार गरिनेछ। १२  त्यो दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्‌; तिनीहरू टाढा अस्सेरियादेखि र मिश्रका सहरहरूदेखि आउनेछन्‌। मिश्रदेखि युफ्रेटिस नदीसम्मका मानिसहरू, एउटा समुद्रदेखि अर्को समुद्रसम्मका र एउटा पहाडदेखि अर्को पहाडसम्मका मानिसहरू आउनेछन्‌।+ १३  भूमि आफ्ना बासिन्दाहरूको कारण, तिनीहरूको कुकर्मको कारण* उजाड हुनेछ। १४  जङ्‌गलको माझमा—फलफूल बगानमा एक्लै बसिरहेको तिम्रो सम्पत्ति —तिम्रो बगाल, हो, तिम्रा मानिसहरूलाई लौरोले डोऱ्‍याऊ।+ उहिले-उहिलेका दिनहरूमा जस्तै तिनीहरूलाई फेरि बासान र गिलादमा चर्न देऊ।+ १५  “तिमीहरू मिश्रबाट छुटेर आएको समयमा जस्तै म तिमीहरूलाई अचम्मका कामहरू देखाउनेछु।+ १६  राष्ट्रहरूले यो देख्नेछन्‌ र तिनीहरू शक्‍तिशाली भए तापनि लज्जित हुनेछन्‌।+ तिनीहरूले हातले आफ्नो मुख छोप्नेछन्‌; तिनीहरूको कान बहिरो हुनेछ। १७  सर्पले जस्तै तिनीहरूले धुलो चाट्‌नेछन्‌;+ जमिनका घस्रने जनावरहरूजस्तै तिनीहरू आफ्नो बलियो गढबाट थरथर काँप्दै निस्कनेछन्‌। तिनीहरू डराउँदै यहोवा हाम्रा परमेश्‍वरकहाँ आउनेछन्‌ र तिनीहरूले उहाँको डर मान्‍नेछन्‌।”+ १८  तपाईँजस्तो परमेश्‍वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्‍न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्‍न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+ १९  उहाँले हामीलाई फेरि कृपा देखाउनुहुनेछ;+ हाम्रा गल्तीहरूको नामोनिसान मेटाइदिनुहुनेछ।* तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।+ २०  उहिले-उहिलेका दिनमा हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ तपाईँले याकुबलाई वफादारी देखाउनुहुनेछ र अब्राहामलाई अटल प्रेम देखाउनुहुनेछ।+

फुटनोटहरू

वा “हराएको।”
शा., “तिनीहरू सबै मिलेर जाल बुन्छन्‌।”
वा “म धैर्य गर्दै पर्खनेछु।”
यहाँ चलाइएको “शत्रु” शब्द हिब्रूमा स्त्रीलिङ्‌गमा छ।
शा., “तिनीहरूको कामको फलको कारण।”
शब्दावली हेर्नुहोस्‌।
वा “कुल्चीमिल्ची गर्नुहुनेछ; अधीनमा राख्नुहुनेछ।”