आमोस ३:१-१५

  • परमेश्‍वरको न्यायदण्डको घोषणा (१-८)

    • परमेश्‍वर आफ्नो गोप्य कुरा खुलाउनुहुन्छ ()

  • सामरियाविरुद्ध सन्देश (९-१५)

 “ए इस्राएलका मानिसहरू हो, यहोवाले तिमीहरूबारे—मिश्रबाट उहाँले छुटाएर ल्याउनुभएका सबै परिवारबारे भन्‍नुभएको कुरा सुन:  २  ‘पृथ्वीका सबै परिवारमध्ये तिमीहरूलाई मात्र मैले चिनेको छु।+ त्यसैले तिमीहरूले गरेका सबै गल्तीको हिसाब म तिमीहरूसित लिनेछु।+  ३  आपसमा सहमत नभई* दुई जना सँगै हिँड्‌छन्‌ र?  ४  वनमा कुनै सिकार छैन भने सिंह गर्जन्छ र? सिकार नपक्रीकनै कुनै जवान सिंहले आफ्नो ओडारमा ङ्‌वार्र-ङुर्र गर्छ र?  ५  चराको लागि जमिनमा कुनै पासो थापिएको छैन भने* त्यो पासोमा पर्छ र? पासोमा केही पनि परेको छैन भने त्यो पासो आफै जमिनबाट माथि उचालिन्छ र?  ६  सहरमा सिङ फुकियो भने त्यहाँका बासिन्दाहरू डराउँदैनन्‌ र? सहरमा विपत्ति आइपऱ्‍यो भने यहोवाले नै त्यो ल्याउनुभएको होइन र?  ७  ब्रह्‍माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्‍ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्‍न।+  ८  सिंह गर्जेको छ!+ कोचाहिँ डराउँदैन र? ब्रह्‍माण्डका मालिक यहोवा बोल्नुभएको छ! कसले भविष्यवाणी गर्दैन र?’+  ९  ‘अस्दोदका बलिया किल्लाहरूमा यसको घोषणा गर अनि मिश्रका बलिया किल्लाहरूमा यसको घोषणा गर। यसो भन: “सामरियाका पहाडहरूमा जम्मा होओ,+ हेर, त्यहाँ कत्ति खैलाबैला मच्चिएको छ अनि कत्ति छलछाम भइरहेको छ।+ १०  किनकि तिनीहरू जे सही छ, त्यो गर्न जान्दैनन्‌, तिनीहरू आफ्ना बलिया किल्लाहरूमा हिंसा र विनाश थुपार्छन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।’ ११  त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘एउटा शत्रुले भूमिलाई घेर्नेछ,+ उसले तिमीहरूको शक्‍ति खोस्नेछ अनि तिमीहरूका बलिया किल्लाहरू लुटिनेछन्‌।’+ १२  यहोवा यसो भन्‍नुहुन्छ, ‘जसरी गोठालोले सिंहको मुखबाट दुइटा खुट्टा वा कानको टुक्रा मात्र खोस्न सक्छ, त्यसरी नै इस्राएलका मानिसहरूलाई अनि सामरियामा भव्य पलङ र शानदार शय्यामा* ढल्किरहेकाहरूलाई पनि खोसिनेछ।’+ १३  ब्रह्‍माण्डका मालिक यहोवा, सेनाहरूका परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘सुन र याकुबको घरानालाई चेतावनी देऊ।* १४  ‘जुन दिन म इस्राएलसित उसले गरेको सबै विद्रोहको* लेखा लिनेछु,+ त्यस दिन म बेथेलका वेदीहरूसित पनि लेखा लिनेछु;+ वेदीका सिङहरू काटिनेछन्‌ र ती भुईँमा खस्नेछन्‌।+ १५  म हिउँदको घर र गर्मी यामको घर दुवैलाई ढालिदिनेछु।’ ‘हस्तिदन्तले बनेका घरहरू तहसनहस हुनेछन्‌।+ अनि भव्य* घरहरू पनि नाश हुनेछन्‌,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

फुटनोटहरू

वा “भेट्‌ने योजना नबनाई।”
वा सम्भवत: “कुनै चारो राखिएको छैन भने।”
वा “दमिसकको शय्यामा।”
वा “याकुबको घरानाविरुद्ध साक्षी देऊ।”
वा “अपराधको।”
वा सम्भवत: “थुप्रै।”