सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूले कसरी मदत गर्न सक्छन्‌?

अरूले कसरी मदत गर्न सक्छन्‌?

“मैले गर्न सक्ने केही छ भने मलाई भन्‍नुहोस्‌ है?” शोकमा परेको साथी वा आफन्तलाई प्रायः हामी यस्तै केही भन्‍ने गर्छौँ। अनि वास्तवमा हामी मनैदेखि त्यसो भन्छौँ। हामी उहाँहरूको लागि जे गर्न पनि तयार हुन्छौँ। तर के शोकमा परेको व्यक्‍तिले हामीलाई यसो भन्छ होला र: “मलाई यो कामको लागि तपाईँको मदत चाहिएको छ”? शोकमा परेको व्यक्‍तिलाई साँच्चै मदत गर्न चाहन्छौँ अनि तिनलाई सान्त्वना दिन चाहन्छौँ भने हामी आफै अग्रसर हुनुपर्छ।

बाइबल यसो भन्छ: “ठीक बेलामा ठीक कुरा भन्‍नु चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।” (हितोपदेश १५:२३; २५:११) के भन्‍ने, के नभन्‍ने अनि के गर्ने, के नगर्ने भन्‍ने कुरामा विचार पुऱ्‍याउनु भनेको बुद्धि देखाउनु हो। शोकमा परेका व्यक्‍तिहरूलाई मदत दिएको केही धर्मशास्त्रीय सल्लाहहरू अब हामी छलफल गरौँ।

के गर्न हुन्छ?

सुन्‍नुहोस्‌: याकुब १:१९ मा हामी “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ” भनिएको छ। तपाईँले गर्न सक्ने एउटा एकदमै मदतकारी कुरा भनेको उनीहरूको कुरा सुनिदिनु हो। शोकमा परेका कोही-कोही आफूले गुमाएको प्रियजनबारे वा उक्‍त दुर्घटनाबारे वा मृत व्यक्‍तिलाई लागेको रोगबारे अथवा प्रियजन गुमाएदेखि आफूलाई कस्तो महसुस भइरहेको छ भन्‍नेबारे कुरा गर्न चाहन्छन्‌ होला। त्यसैले उनीहरूलाई “तपाईँ यसबारे कुरा गर्न चाहनुहुन्छ कि?” भनेर सोध्नुहोस्‌। तर कर भने नगर्नुहोस्‌। बुबाको मृत्यु भएपछिको कुरा सम्झँदै एक युवक यसो भन्छन्‌: “अरूले के भयो भनेर सोध्दा अनि मेरो कुरा ध्यान दिएर सुन्दा मैले साँच्चै मदत पाएँ।” त्यसैले तपाईँले उनीहरूलाई केही भन्‍नै पर्छ वा उनीहरूको समस्या समाधान गरिदिनुपर्छ भन्‍ने नसोच्नुहोस्‌। बरु धैर्य गर्दै कुरा सुन्‍नुहोस्‌ र उनीहरूको भावना बुझ्ने कोसिस गर्नुहोस्‌। उनीहरूलाई आफ्नो मनको कुरा पोख्न दिनुहोस्‌।

ढाडस दिनुहोस्‌: उनीहरूले आफ्नो तर्फबाट सकेजति गरे भन्‍ने कुरामा उनीहरूलाई आश्‍वस्त पार्नुहोस्‌। (वा तपाईँलाई थाह भएको साँचो अनि सकारात्मक कुरा बताउनुहोस्‌।) निराशा, रिस, दोषी भावना वा उनीहरूले महसुस गरिरहेको यस्तै अन्य भावनाहरू स्वाभाविक हो भनेर उनीहरूलाई सम्झाउनुहोस्‌। तपाईँले चिन्‍ने कसैले यस्तो अवस्थाको कसरी सामना गरे भनी उनीहरूलाई बताउनुहोस्‌। हितोपदेश १६:२४ ले (फुटनोट) यस्तो “मीठो बोली”-ले “हड्डीहरूलाई निको पार्छ” भनी बताउँछ।—१ थिस्सलोनिकी ५:११, १४.

मदत गर्न सधैँ तयार हुनुहोस्‌: सुरुका केही दिनहरूमा मात्र नभई साथीहरू अनि आफन्तहरू आफ्नो दिनचर्यामा फर्किसकेपछि पनि शोक परेको व्यक्‍तिलाई मदत गर्न तयार हुनुहोस्‌। सायद यस्तो मदत महिनौँपछि पनि गर्नुपर्ने हुन सक्छ। यसो गरेर तपाईँ तिनको लागि “दुःखमा साथ” दिने “साँचो मित्र” बन्‍न सक्नुहुन्छ। (हितोपदेश १७:१७) कार दुर्घटनामा आफ्नो बच्चा गुमाएकी टेरेसा यसो भन्छिन्‌: “साँझको समयमा हामी एक्लो नहोस्‌ भनेर साथीहरू हाम्रो योजनाबारे सोध्नुहुन्थ्यो अनि हामीसित समय बिताउने योजना बनाउनुहुन्थ्यो। हामीले महसुस गरिरहेको एक्लोपनसित जुझ्न त्यसले साँच्चै मदत गऱ्‍यो।” वर्षौँपछिसम्म पनि विवाह भएको दिन वा प्रियजनको मृत्यु भएको दिनमा तिनको अभाव खट्‌किन सक्छ अनि पीडा झनै बल्झिन सक्छ। आफ्नो क्यालेन्डरमा ती दिनहरूमा चिन्ह लगाएर राख्नुभए कसो होला? यसो गर्दा तपाईँले शोकमा डुबेको व्यक्‍तिलाई भावनात्मक रूपमा आवश्‍यक मदत दिन सक्नुहुनेछ।

कुनै मदत चाहिएको देख्नुभयो भने ‘उहाँले भनेपछि गरौँला’ भनेर नबस्नुहोस्‌; आफै अग्रसर हुनुहोस्‌

सही कदम चाल्नुहोस्‌: सघाउनुपर्ने केही काम छ कि? बच्चाहरूको हेरविचार गरिदिनुपर्छ कि? टाढाबाट भेट्‌न आएका साथीहरू र आफन्तहरूलाई बस्ने ठाउँ चाहिएको छ कि? भर्खरै प्रियजन गुमाएको व्यक्‍तिलाई ठूलो चोट पुगेको हुन्छ। अरूसित मदत माग्नु त परै जाओस्‌, तिनलाई आफूले गर्नुपर्ने कामकुराको समेत याद नहुन सक्छ। त्यसैले तिनलाई कुनै मदत चाहिएको देख्नुभयो भने ‘उहाँले भनेपछि गरौँला’ भनेर नबस्नुहोस्‌; आफै अग्रसर हुनुहोस्‌। (१ कोरिन्थी १०:२४; १ युहन्‍ना ३:१७, १८ तुलना गर्नुहोस्‌) भर्खरै पति गुमाएकी एक महिला यसो भन्छिन्‌: “धेरै जनाले ‘मैले गर्न सक्ने केही छ भने मलाई भन्‍नुहोस्‌ है’ भने। तर एक जना साथीले भने केही पनि सोध्नुभएन। बरु उहाँ सीधै हाम्रो सुत्ने कोठामा जानुभयो अनि खाटबाट तन्‍ना निकालेर धुन थाल्नुभयो। अर्को साथीले चाहिँ बाल्टिनमा साबुन-पानी ल्याएर मेरो श्रीमान्‌ले बान्ता गर्नुभएको कार्पेट सफा गर्न थाल्नुभयो। केही हप्तापछि मण्डलीको एक जना एल्डर केही औजार बोकेर आउनुभयो र भन्‍नुभयो, ‘के-के मर्मत गर्नुपर्ने छ, मलाई देखाइदिनुहोस्‌!’ उहाँले ढोकाको कब्जा अनि बत्ती बनाइदिनुभयो। उहाँको त्यो गुन म कहिल्यै बिर्सन सक्दिनँ।”—याकुब १:२७ तुलना गर्नुहोस्‌।

अतिथि-सत्कार गर्नुहोस्‌: बाइबल भन्छ, “अतिथि-सत्कार गर्न नबिर्स।” (हिब्रू १३:२) हामीले विशेषगरि शोकमा परेकाहरूलाई अतिथि-सत्कार गर्न बिर्सनु हुँदैन। ‘मकहाँ जहिले आउँदा पनि हुन्छ’ भन्‍नुको सट्टा निश्‍चित दिन र समय तोक्नुहोस्‌। तिनले निम्तो स्विकारेनन्‌ भने फेरि-फेरि पनि निम्तो दिन नछोड्‌नुहोस्‌। सायद तपाईँ तिनलाई मायालु तरिकामा सम्झाउन सक्नुहुन्छ। अरूको अगाडि आफ्नो भावनालाई काबूमा राख्न नसक्ने हो कि भन्‍ने डरले गर्दा तिनले तपाईँको निम्तो अस्वीकार गरेको हुन सक्छ। अथवा त्यस्तो समयमा अरूसँगै खाना खाएर रमाइलो गर्न तिनको मनले नदिन सक्छ। बाइबलमा अतिथि-सत्कार गर्ने सन्दर्भमा राम्रो नाम कमाएकी एक जना स्त्रीबारे उल्लेख गरिएको छ। उनको नाम लिडिया हो। उनले केही भाइहरूलाई आफ्नो घरमा निम्तो दिइन्‌ अनि ती भाइहरूमध्ये एक जना लुकाले “उनले कर गरेर हामीलाई आफ्नो घर लगिछाडिन्‌” भनेर बताए।—प्रेषित १६:१५.

धीरजी र समझदार हुनुहोस्‌: भर्खरै प्रियजन गुमाएको व्यक्‍तिको कुरा सुनेर छक्क नपर्नुहोस्‌। नबिर्सनुहोस्‌, तिनलाई रिस उठिरहेको हुन सक्छ अथवा दोषी भावनाले सताइरहेको हुन सक्छ। तिनले रिसको झोँकमा तपाईँलाई केही भनेमा तुरुन्तै जवाफ नफर्काउनुहोस्‌। बरु धैर्य गर्दै तिनको अवस्था बुझ्ने कोसिस गर्नुहोस्‌। बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “कोमल करुणा, दया, नम्रता, कोमलता र धीरज धारण गर।”—कलस्सी ३:१२, १३.

चिठी लेख्नुहोस्‌: तपाईँ प्रियजन गुमाएका व्यक्‍तिप्रति समवेदना व्यक्‍त गर्दै चिठी वा कार्ड लेख्न सक्नुहुन्छ। यसो गर्दा कस्तो फाइदा हुन्छ? क्यान्सरले गर्दा आमा गुमाएकी सिन्डी यसो भन्छिन्‌: “मेरो एक जना साथीले मलाई चिठी पठाइन्‌। मैले त्यो चिठी थुप्रै पटक पढेँ र धेरै सान्त्वना पाएँ।” त्यस्तो चिठी वा कार्डमा तपाईँले लेख्नुभएको कुरा “छोटो” होला तर त्यो तपाईँको मनैदेखि आएको हुनुपर्छ। (हिब्रू १३:२२) त्यसमा तपाईँ आफ्नो माया व्यक्‍त गर्न सक्नुहुन्छ अथवा मृत्यु भएको व्यक्‍तिसित बिताएको रमाइलो पलबारे लेख्न सक्नुहुन्छ अथवा उक्‍त व्यक्‍तिले तपाईँमाथि लगाएको गुनबारे लेख्न सक्नुहुन्छ।

तिनीहरूसँगै प्रार्थना गर्नुहोस्‌: शोकमा परेका व्यक्‍तिसँगै बसेर प्रार्थना गर्नु वा तिनको लागि प्रार्थना गरिदिनुको महत्त्वलाई हल्कासित नलिनुहोस्‌। बाइबल भन्छ: “धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।” (याकुब ५:१६) जस्तै: तपाईँले तिनको लागि प्रार्थना गरिदिएको सुन्दा तिनले आफूलाई पिरोलिरहेको दोषी भावना र अन्य नकारात्मक भावना हटाउन मदत पाउनेछन्‌।—याकुब ५:१३-१५ तुलना गर्नुहोस्‌।

के गर्न हुँदैन?

तपाईँ अस्पतालमा जानु मात्र पनि शोकमा परेका व्यक्‍तिको लागि सान्त्वनाको स्रोत हुन सक्छ

के भन्‍ने वा के गर्ने भनेर थाह नभएकोले पन्छिन नखोज्नुहोस्‌: ‘यतिबेला उहाँलाई एक्लै छोडिदिनु बेस होला’ जस्तो हामीलाई लाग्न सक्छ। वास्तवमा हामी केही गलत कुरा भन्‍न वा गर्न पुग्ने हो कि भन्‍ने चिन्ताले पन्छिरहेका हुन सक्छौँ। तर साथीभाइ, नातागोता वा सङ्‌गी दाजुभाइ दिदीबहिनी साथमा नहुँदा शोकमा परेको व्यक्‍तिलाई झनै एक्लो महसुस हुन सक्छ र पीडामाथि पीडा थपिन सक्छ। नबिर्सनुहोस्‌, आफ्नो बोली र कामद्वारा माया गरेको देखाउन ठूलै काम गर्नुपर्छ भन्‍ने छैन। (एफिसी ४:३२) तपाईँ त्यहाँ उपस्थित हुँदा मात्रै पनि शोकमा परेका व्यक्‍तिले सान्त्वना पाउन सक्छन्‌। (प्रेषित २८:१५ तुलना गर्नुहोस्‌) आफ्नो छोरीको मृत्यु भएको दिन सम्झँदै टेरेसा भन्छिन्‌: “एक घण्टाभित्रै हाम्रा थुप्रै साथीहरू अस्पतालमा आइपुग्नुभयो; मण्डलीको सबै एल्डर र उहाँहरूको पत्नीहरू पनि आउनुभयो। कोही-कोही दिदीबहिनीको त कपालमा रोलर नै बाँकी थियो; कोही भने काम गर्दा लगाउने कपडामै हुनुहुन्थ्यो। खबर पाउनेबित्तिकै उहाँहरू सबै कुरा छोडेर हामीलाई भेट्‌न आउनुभयो। उहाँहरूमध्ये धेरैले हामीलाई कसरी सान्त्वना दिने भनेर थाहै नभएको कुरा बताउनुभयो तर हाम्रो लागि उहाँहरू त्यहाँ आउनु नै ठूलो कुरा थियो।”

उनीहरूलाई शोक नगर्न कर नगर्नुहोस्‌: हामीलाई “भयो, भयो, अब नरुनुस्‌!” भनौँ जस्तो लाग्न सक्छ। तर उनीहरूलाई रुन दिनु नै बेस हो। आफ्नो पतिको मृत्यु भएको समय सम्झँदै क्याथरिन यसो भन्छिन्‌: “मेरो विचारमा शोकमा परेका व्यक्‍तिहरूलाई आफ्नो भावना पोख्न दिनु महत्त्वपूर्ण छ।” उनीहरूलाई आफ्नो भावना काबूमा राख्नुहोस्‌ भन्‍नदेखि होसियार हुनुहोस्‌। उनीहरूलाई गाह्रो होला भनेर आफ्नो पीडा लुकाउन नखोज्नुहोस्‌। बरु बाइबलले सल्लाह दिएझैँ ‘रुनेहरूसित रुनुहोस्‌।’—रोमी १२:१५.

उनीहरूलाई मृतकको लुगाफाटा वा अरू सरसामान फ्याँक्ने सुझाव दिन हतार नगर्नुहोस्‌: आफूले गुमाएको व्यक्‍तिको सरसामान आफ्नो आँखाअगाडि हुँदा शोकमा परेका व्यक्‍तिलाई लामो समयसम्म गाह्रो भइरहन सक्छ। त्यसैले तिनको सम्झना दिलाउने सरसामान फ्याँक्नु राम्रो हो जस्तो हामीलाई लाग्न सक्छ। तर यसो गर्दैमा शोकमा परेका व्यक्‍तिको मनबाट मृतकको सम्झना हट्‌छ भन्‍ने त होइन। शोकमा परेका व्यक्‍तिको पीडा कम हुन समय लाग्छ। बाइबलकालीन समयका एक व्यक्‍ति याकुबले तिनको छोरा युसुफलाई जङ्‌गली जनावरले मारेको झूटो खबर सुन्दा कस्तो प्रतिक्रिया देखाए, विचार गर्नुहोस्‌। याकुबले युसुफको रगतै-रगत लागेको लुगा देखेपछि “धेरै दिनसम्म शोक गरिरहे। याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन।”—उत्पत्ति ३७:३१-३५.

‘अर्को बच्चा पाइहाल्नुहुन्छ नि!’ नभन्‍नुहोस्‌: बच्चा गुमाएकी एक आमा यसो भन्छिन्‌: “मानिसहरूले ‘तपाईँ फेरि अर्को बच्चा जन्माउन सकिहाल्नुहुन्छ नि’ भन्दा साह्रै रिस उठ्‌थ्यो।” सान्त्वना दिन आएकाहरूले राम्रै मनसायले त्यसो भनिरहेका हुन सक्छन्‌ तर शोकित आमाबुबालाई मृत्यु भएको बच्चाको सट्टा अर्को आइहाल्छ नि भन्‍नेजस्ता शब्दहरूले ‘तरबारले झैँ घोच्न सक्छ।’ (हितोपदेश १२:१८) एउटा बच्चाको ठाउँ कहिल्यै पनि अर्को बच्चाले लिन सक्दैन। किन? किनकि आमाबुबाको लागि आफ्नो प्रत्येक छोराछोरी प्यारो हुन्छ।

शोकमा परेका व्यक्‍तिसित मृतकको विषयमा कुरा गर्न नहिचकिचाउनुहोस्‌: एक आमा यसो भन्छिन्‌: “धेरैजसो मानिसहरू मसित मेरो छोरा जिमीबारे कुरै गर्दैनथे; मेरो अगाडि उसको नाम लिनसमेत अप्ठ्यारो मान्थे। तर अरूले त्यसो गर्दा मेरो चित्त दुख्थ्यो।” त्यसैले मृतकको विषयमा कुरा निस्कँदा कुराकानीलाई अन्तै मोड्‌न नखोज्नुहोस्‌। शोकमा परेको व्यक्‍तिलाई आफूले गुमाएको व्यक्‍तिबारे कुरा गर्न मन लागिरहेको छ कि भनेर सोध्नुहोस्‌। (अय्युब १:१८, १९ र १०:१ तुलना गर्नुहोस्‌) साथीभाइहरूले मृतकको एकदमै मन परेको गुणहरूबारे बताउँदा शोकमा परेका व्यक्‍तिको मन हलुका हुन सक्छ।—प्रेषित ९:३६-३९ तुलना गर्नुहोस्‌।

‘जे भयो, राम्रै भयो’ नभन्‍नुहोस्‌: उक्‍त व्यक्‍तिको मृत्यु भएर राम्रै भयो भन्दा त्यो शोकमा परेका व्यक्‍तिको लागि “सान्त्वनादायी कुरा” नहुन सक्छ। (१ थिस्सलोनिकी ५:१४) आफ्नी आमाको मृत्यु भएपछि एक युवतीले यसो भनिन्‌: “कसै-कसैले ‘कम-से-कम उहाँले सास्ती खानु त परेन’ अथवा ‘अब उहाँलाई कुनै पीडा हुँदैन’ भन्‍ने गर्थे। तर म त्यस्तो कुरा पटक्कै सुन्‍न चाहन्‍नथेँ।” त्यस्तो कुरा सुन्दा शोकमा परेका व्यक्‍तिलाई प्रियजन गुमाउनुपरे तापनि केही हुँदैन, दुःख मान्‍नु पर्दैन भनेको जस्तो लाग्न सक्छ। तर तिनलाई भने आफूले गुमाएको व्यक्‍तिको सम्झनाले मनमा छटपटी भइरहेको हुन सक्छ।

‘तपाईँलाई कस्तो लागिरहेको छ, म बुझ्छु’ भन्‍नु उपयुक्‍त नहुन सक्छ: के तपाईँ साँच्चै बुझ्नुहुन्छ? जस्तै: बच्चा गुमाउनुपर्दा आमाबुबालाई कत्ति गाह्रो हुन्छ भन्‍ने कुरा के तपाईँ आफैले नभोगेसम्म बुझ्न सक्नुहुन्छ र? तपाईँ आफैले त्यस्तो परिस्थिति भोग्नुभएको छ भने पनि अर्को व्यक्‍तिको र तपाईँको भावना एउटै हुन्छ भन्‍ने छैन। (विलाप १:१२ तुलना गर्नुहोस्‌) उपयुक्‍त छ भने आफ्नो प्रियजन गुमाउँदा तपाईँले कसरी आफ्नो पीडा कम गर्न सक्नुभयो भनेर बताउनु पनि फाइदाजनक हुन सक्छ। छोरीको हत्या भएको एक महिलाले छोरी गुमाएकी अर्की महिलाबाट तिनी कसरी आफ्नो दिनचर्यामा फर्कन सकिन्‌ भनेर सुन्दा सान्त्वना पाइन्‌। उनी भन्छिन्‌: “छोरी गुमाएकी ती आमाले ‘तपाईँलाई कस्तो महसुस भइरहेको छ, म बुझ्छु’ भनेर कुरा सुरु गर्नुभएन। बरु उहाँ आफूले कसरी पीडा सहनुभयो भनेर बताउनुभयो र मेरो अवस्था कसरी उहाँको अवस्थासित मिल्दोजुल्दो छ भनेर बुझ्न मदत गर्नुभयो।”

शोकमा परेका व्यक्‍तिलाई मदत गर्न दया, समझदारी र सबैभन्दा महत्त्वपूर्ण कुरा प्रेम देखाउनु जरुरी छ। शोकमा परेका व्यक्‍ति आफै तपाईँकहाँ आएको आस नगर्नुहोस्‌। “मैले गर्न सक्ने केही छ भने मलाई भन्‍नुहोस्‌ है” मात्र नभन्‍नुहोस्‌। बरु गर्न सक्ने कुरा के छ, तपाईँ आफै पत्ता लगाउनुहोस्‌ र आफै अग्रसर भएर त्यो काम गरिदिनुहोस्‌।

तर अझै पनि केही प्रश्‍नहरूको जवाफ पाउन बाँकी नै छ: मृतकहरू फेरि जीवित हुनेबारे बाइबलले दिएको आशाबारे के भन्‍न सकिन्छ? यसले तपाईँ र तपाईँले गुमाउनुभएको प्रियजनको लागि कस्तो अर्थ राख्छ? यो आशा पक्कै पूरा हुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?