सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म यो चोट कसरी सहन सक्छु?

म यो चोट कसरी सहन सक्छु?

आफ्नो बुबाको मृत्यु भएको समय सम्झँदै माइक भन्छन्‌: “मैले आफ्नो भावनालाई जबरजस्ती आफूभित्रै गुम्साएर राखेँ।” त्यसो गर्नु भनेको पुरुषार्थ देखाउनु हो जस्तो माइकलाई लाग्थ्यो। तर त्यसो गर्नु ठीक होइन रहेछ भनेर तिनले पछि महसुस गरे। त्यसैले एक जना साथीले हजुरबुबा गुमाउँदा उसलाई कसरी सान्त्वना दिने भनेर माइकलाई थाह थियो। माइक भन्छन्‌: “केही वर्षअघि भएको भए म आफ्नो साथीलाई पिठिउँमा थपथपाउँदै ‘तिमी लोग्नेमान्छे हौ भनेर नबिर्स’ भन्थेँ होला। तर मैले त्यसो गरिनँ। बरु उसको कुममा हात राख्दै यसो भनेँ: ‘आफ्नो भावनालाई आफूभित्रै गुम्साएर नराख। आफ्नो भावनालाई गुम्साएनौ भने तिमीलाई यो चोट सहन सजिलो हुन्छ। तिमी अहिले एक्लै बस्न चाहन्छौ भने म जान्छु। तर बस भन्छौ भने पनि बस्छु। जेहोस्‌, आफ्नो भावना व्यक्‍त गर्नचाहिँ नहिचकिचाऊ।’”

मेरिआनले पनि आफ्नो पतिको मृत्यु हुँदा आफ्नो भावनालाई गुम्साएर राख्ने दबाब महसुस गरेकी थिइन्‌। तिनी भन्छिन्‌: “अरूमा नराम्रो प्रभाव पर्ने हो कि भनेर साह्रै चिन्ता लागेकोले मैले आफ्ना सबै भावनाहरू गुम्साएर राखेँ। तर अरूको अगाडि बलियो भएको जस्तो देखाउँदा मलाई झनै गाह्रो भइरहेको थियो। मैले आफ्नो परिस्थितिलाई राम्ररी केलाएँ र आफैलाई भनेँ, ‘रुन मन लागिरहेको छ भने रोऊ। आफूलाई ज्यादै बलियो देखाउने कोसिस नगर। मनमा उर्लेर आएका भावनाहरू व्यक्‍त गर।’”

त्यसैले माइक र मेरिआन दुवै यस्तो सुझाव दिन्छन्‌: आफ्नो शोक खुलेर व्यक्‍त गर्नुहोस्‌! तिनीहरूको कुरा सही हो। किन? किनकि मनको बोझ हलुका गर्न शोक व्यक्‍त गर्नु आवश्‍यक छ। आफ्नो भावना व्यक्‍त गर्दा मनमा कुरा गुम्सिन पाउँदैन। शोकमा पर्दा उत्पन्‍न हुने भावनाहरूबारे सही ज्ञान पाएका छौँ भने शोक व्यक्‍त गर्नु स्वाभाविक हो भन्‍ने कुरा बुझ्नेछौँ अनि आफ्ना भावनाहरूलाई सही दृष्टिकोणले हेर्न सक्नेछौँ।

हुनत सबैले एउटै किसिमले शोक व्यक्‍त गर्छन्‌ भन्‍ने छैन। साथै भावनात्मक चोट कत्तिको गहिरो हुन्छ भन्‍ने कुरा परिस्थितिमा पनि भर पर्छ, जस्तै: आफूले माया गरेको व्यक्‍तिको अचानक मृत्यु भएको हो वा लामो समय बिरामी परेपछि मृत्यु भएको हो। जेहोस्‌, आफ्नो भावनालाई जबरजस्ती दबाएर राख्नुभयो भने तपाईँलाई शारीरिक र भावनात्मक रूपमा झनै गाह्रो हुनेछ। त्यसैले शोक व्यक्‍त गर्नु तपाईँको लागि निकै फाइदाजनक हुनेछ। त्यसोभए शोक कसरी व्यक्‍त गर्ने? धर्मशास्त्रमा दिइएका केही व्यावहारिक सुझाव विचार गरौँ।

शोक कसरी व्यक्‍त गर्ने?

कुराकानी गर्नु शोक व्यक्‍त गर्ने एउटा उत्तम तरिका हो। बाइबलकालीन समयका अय्युबले एकै पटकमा आफ्ना दसै जना छोराछोरी गुमाउनुपऱ्‍यो र अरू हानि-नोक्सानी पनि  बेहोर्नुपऱ्‍यो। त्यसबेला तिनले यसो भने: “म यो जीवनदेखि वाक्क भइसकेँ। म धीत नमरुन्जेल गुनासो गर्नेछु। म आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।” (अय्युब १:२, १८, १९; १०:१) अय्युबले आफ्नो मनको वेदना थामेर राख्न सकेनन्‌। तिनी त्यो “व्यक्‍त” गर्न बाध्य भए। हो, तिनले त्यसबारे अरूसित कुराकानी गर्नुपर्ने भयो। अङ्‌ग्रेजी नाटककार शेक्सपियरले म्याकबेथ नामको आफ्नो नाटकमा यस्तो लेखे: “शोकलाई शब्दको सहाराले हृदयबाट निकालिदेऊ, नत्र शोकले तिम्रो हृदयमा कब्जा जमाउनेछ र त्यसलाई छिया-छिया पारिदिनेछ।”

त्यसैले धैर्य गर्दै अनि सहानुभूति देखाउँदै तपाईँको कुरा सुनिदिने “साँचो मित्र”-सित आफ्नो भावना पोख्नुभयो भने तपाईँले केही हदसम्म राहत महसुस गर्नुहुनेछ। (हितोपदेश १७:१७) आफ्नो अनुभव र भावनालाई शब्दमा व्यक्‍त गर्नुभयो भने तपाईँ आफैले त्यो अझ राम्ररी बुझ्न सक्नुहुनेछ र त्यसको सामना गर्न मदत पाउनुहुनेछ। अनि तपाईँको कुरा सुनिदिने व्यक्‍तिले पनि विगतमा तपाईँले जस्तै दुःख भोगेका रहेछन्‌ र शोक सहन सफल भएका रहेछन्‌ भने तिनले तपाईँलाई केही व्यावहारिक सुझाव दिन सक्छन्‌। आफ्नो बच्चा गुमाएकी एउटी महिलाले त्यस्तै वियोग सहेकी अर्की महिलासित कुराकानी गर्दा राहत पाएको महसुस गरिन्‌। तिनी भन्छिन्‌: “मेरो जस्तै परिस्थितिको सामना गरेको अरू पनि रहेछ। तिनले आफ्नो सोचाइ र भावनालाई सन्तुलनमा राख्न सकेकी रहेछिन्‌ अनि तिनी त्यसलाई पार गरेर बिस्तारै पहिलाको जस्तै जीवन जिउन सिक्दै छिन्‌ भनेर थाह पाउँदा मैले निकै हौसला पाएँ।”

आफ्ना भावनाहरू लेखेर राख्दा शोक व्यक्‍त गर्न मदत पुग्छ भनेर बाइबलका उदाहरणहरूले देखाउँछ

तर तपाईँलाई आफ्नो भावना व्यक्‍त गर्न सजिलो लाग्दैन भने नि? साउल र जोनाथनको मृत्यु भएपछि दाउदले वेदनाले भरिएको शोकगीत रचेर आफ्नो शोक व्यक्‍त गरे। दाउदले शोक गर्दै रचेको त्यो गीत बाइबलको दोस्रो समुएलको किताबको भाग बन्यो। (२ समुएल १:१७-२७; २ इतिहास ३५:२५) त्यसैगरि कसै-कसैलाई आफ्नो भावना बोलेर भन्दा लेखेर व्यक्‍त गर्न सजिलो लाग्छ। पति गुमाएकी एउटी महिलाले आफ्नो भावना लेखेर राख्ने गरेको र केही दिनपछि आफूले लेखेको कुरा फेरि हेर्ने गरेको बताइन्‌। त्यसो गर्दा तिनले आफ्नो मनको बोझ हलुका भएको महसुस गरिन्‌।

चाहे बोलेर होस्‌ वा लेखेर, आफ्नो भावना व्यक्‍त गर्नुभयो भने तपाईँले हलुका महसुस गर्न सक्नुहुनेछ। साथै त्यसले गलतफहमीहरू हटाउन पनि मदत गर्छ। बच्चा गुमाएकी एउटी महिला यसो भन्छिन्‌: “केही दम्पतीहरूले बच्चा गुमाएपछि सम्बन्धविच्छेद गरेका घटनाहरू म र मेरो श्रीमान्‌ले सुन्यौँ। हामी त्यस्तो भएको पटक्कै चाहँदैन थियौँ। त्यसैले एकअर्कालाई दोष लगाउने विचार मनमा आउनेबित्तिकै वा एकअर्कादेखि रिस उठ्‌नेबित्तिकै हामी त्यसबारे कुरा गरिहाल्थ्यौँ। यसो गर्दा हाम्रो सम्बन्ध अझै बलियो भएको महसुस गरेँ।” आफ्नो भावना अरूसामु व्यक्‍त गर्नुभयो भने एउटै किसिमको चोट सहनुपरे पनि अरूको मनमा आउने भावना र शोक गर्ने तरिका तपाईँको भन्दा फरक हुन सक्छ भनेर तपाईँले बुझ्नुहुनेछ।

मनमा गुम्सिएको भावना व्यक्‍त गर्न मदत दिने अर्को तरिका रुनु पनि हो। बाइबल भन्छ, “रुने एउटा समय छ।” (उपदेशक ३:१, ४) आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा पक्कै पनि त्यो रुने समय हो। रुँदा मनको घाउ निको पार्न मदत पुग्छ भनेर धेरैले महसुस गरेका छन्‌।

आमा गुमाउनुपर्दा आफ्नो मिल्ने साथीले मदत गरेको कुरा  एउटी युवती सम्झन्छिन्‌। तिनी भन्छिन्‌: “उनी सधैँ मेरो साथमा थिइन्‌, मसँगै रोइन्‌ अनि मसँग कुराकानी गरिन्‌। उनीसामु आफ्नो भावना खुलेर व्यक्‍त गर्न मलाई सजिलो भयो अनि त्यसो गर्नु जरुरी पनि थियो। उनको अगाडि रुन मलाई पटक्कै अप्ठेरो लागेन।” (रोमी १२:१५ हेर्नुहोस्‌) तपाईँले पनि रुन अप्ठेरो मान्‍नु पर्दैन। हामीले अगाडि विचार गरेझैँ बाइबलमा आँसु झार्दै आफ्नो शोक खुलेर व्यक्‍त गरेका थुप्रै विश्‍वासी पुरुष र स्त्रीको उदाहरण छ। येसु पनि तिनीहरूमध्ये एक हुनुहुन्थ्यो।—उत्पत्ति ५०:३; २ समुएल १:११, १२; युहन्‍ना ११:३३, ३५.

हरेक संस्कृतिका मानिसहरू शोकमा परेको बेला कसैले सान्त्वना दिँदा त्यसको कदर गर्छन्‌

केही समय आफ्ना भावनाहरूमा निकै उतारचढाव आएको सायद तपाईँले महसुस गर्नुहुनेछ। तपाईँलाई अनायासै रुन मन लाग्ला। श्रीमान्‌ गुमाएकी एउटी महिलालाई किनमेल गर्न जाँदा श्रीमान्‌को यादले निकै सताउँथ्यो। (किनकि तिनी अक्सर श्रीमान्‌सितै किनमेल गर्न जाने गर्थिन्‌।) श्रीमान्‌लाई मनपर्ने खानेकुरा देख्दा त्यसमा हात पुगिहाल्थ्यो। त्यसपछि तिनी आँसु थाम्नै सक्दिनथिन्‌। यस्तो अवस्थामा लाचार महसुस नगर्नुहोस्‌। जबरजस्ती आँसु थाम्नुपर्छ भन्‍ने पनि नसोच्नुहोस्‌। शोकमा पर्दा रुनु स्वाभाविक हो र रुनु आवश्‍यक पनि छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌।

दोषी भावनाले पिरोल्दा

अगाडि पनि विचार गरेझैँ आफूले माया गरेको व्यक्‍ति गुमाउनुपर्दा कसै-कसैलाई दोषी भावनाले पिरोल्छ। युसुफलाई “जङ्‌गली जनावरले माऱ्‍यो” भन्‍ने खबर याकुबले पाए। आफ्नो छोरा युसुफको मृत्युको खबर सुन्दा ती विश्‍वासी पुरुषले अत्यन्तै शोक गरे। तिनले त्यसबेला धेरै शोक गर्नुको कारण हामी अनुमान लगाउन सक्छौँ। युसुफलाई तिनका दाइहरूको हालखबर बुझ्न पठाउने याकुब नै थिए। त्यसैले याकुबलाई दोषी भावनाले सताएको हुन सक्छ। तिनले यस्तो सोचे होलान्‌, ‘मैले किन युसुफलाई एक्लै पठाएछु? मैले उसलाई जङ्‌गली जनावरहरू भएको इलाकामा त्यसरी पठाउनु हुँदैनथ्यो!’—उत्पत्ति ३७:३३-३५.

प्रियजनको मृत्यु हुनुमा आफ्नो पनि गल्ती छ जस्तो तपाईँलाई महसुस हुन सक्छ। चाहे त्यो कुरा साँचो होस्‌ या नहोस्‌, दोषी महसुस गर्नु भनेको शोक गर्दा उत्पन्‍न हुने एउटा स्वाभाविक भावना हो भनेर मनमा राख्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँलाई दोषी भावनासित सङ्‌घर्ष गर्न मदत पुग्नेछ। अरू भावनाजस्तै दोषी भावनालाई पनि गुम्साएर नराख्नुहोस्‌। आफूलाई कत्ति दोषी महसुस भइरहेको छ भनेर कसैलाई बताउनुभयो भने तपाईँको मनको बोझ निकै हलुका हुन सक्छ।

 तर हामीले आफ्नो प्रियजनलाई जति नै माया गरे पनि तिनको जीवन हाम्रो हातमा छैन वा तिनीमाथि “चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।” (उपदेशक ९:११) साथै तपाईँको मनसाय पनि गलत थिएन। उदाहरणको लागि, आफूले माया गरेको व्यक्‍ति बिरामी पर्दा तपाईँले तिनलाई डाक्टरकहाँ लैजान ढिला गर्नुभयो होला। तर त्यसको मतलब के तपाईँको मनसाय ऊ बिरामी परेर मरोस्‌ भन्‍ने थियो र? पक्कै थिएन! त्यसोभए तिनको मृत्यु हुनुमा के तपाईँ साँच्चै दोषी हुनुहुन्छ? हुनुहुन्‍न।

कार दुर्घटनामा परेर आफ्नी छोरीको मृत्यु भएपछि एउटी आमाले दोषी भावनासित सङ्‌घर्ष गर्न सिकिन्‌। तिनी भन्छिन्‌: “उसलाई पठाउनु नै मेरो गल्ती थियो भनेर म सोच्थेँ। तर त्यसरी सोच्नु पटक्कै व्यावहारिक होइन भनेर मैले पछि महसुस गरेँ। उसलाई उसको बुबासित बाहिर पठाउनु गलत थिएन। त्यो त एउटा दुर्घटना मात्र थियो।”

तैपनि ‘मैले यसो गरेको भए हुन्थ्यो’ वा ‘यसो भनेको भए हुन्थ्यो’ जस्तो तपाईँलाई लाग्ला। तर हामीमध्ये को पो त्रुटिरहित छौँ र! बाइबल यसो भन्छ: “हामी सबै जना धेरै चोटि चुक्छौँ। यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ . . . सर्वगुणी मानिस हुन्छ।” (याकुब ३:२; रोमी ५:१२) त्यसैले तपाईँ पनि त्रुटिपूर्ण हुनुहुन्छ भन्‍ने तथ्यलाई स्विकार्नुहोस्‌। ‘यसो गरेको भए हुन्थ्यो’ वा ‘उसो गरेको भए हुन्थ्यो’ भन्‍ने सोचाइमा घोरिएर विगतलाई परिवर्तन गर्न सकिँदैन बरु त्यस्तो सोचाइले गर्दा तपाईँको मनको घाउ निको हुन झनै लामो समय लाग्न सक्छ।

तपाईँलाई आफू दोषी छु जस्तो लाग्ने ठोस आधार छ भने पनि दोषी भावना हटाउन मदत गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ परमेश्‍वरले दिनुहुने क्षमाबारे मनन गर्नुहोस्‌। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “हे याह, तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो भने हे यहोवा, को खडा रहन सक्ला र? तपाईँ मानिसहरूको पाप साँच्चै क्षमा गर्नुहुन्छ।” (भजन १३०:३, ४) तपाईँ विगतमा फर्किएर कुनै कुरा परिवर्तन गर्न सक्नुहुन्‍न। तर विगतमा गरेका गल्तीहरूको लागि परमेश्‍वरसित क्षमा माग्न भने सक्नुहुन्छ। त्यसपछि के गर्नुपर्छ? परमेश्‍वरले तपाईँलाई क्षमा गर्ने प्रतिज्ञा गर्नुभएको छ भने के तपाईँले पनि आफूलाई क्षमा गर्नु पर्दैन र?—हितोपदेश २८:१३; १ युहन्‍ना १:९.

रिस उठ्‌दा

तपाईँलाई डाक्टर, नर्स, साथीहरू वा मृत व्यक्‍तिदेखि समेत रिस उठ्‌न सक्छ। यसरी रिस उठ्‌नु पनि स्वाभाविक प्रतिक्रिया हो भन्‍ने कुरा मनमा राख्नुहोस्‌। आफूले माया गरेको व्यक्‍ति गुमाउनुपर्दा मनमा पीडासँगसँगै रिस पनि उत्पन्‍न हुन्छ। एक जना लेखकले यस्तो लेखे: “रिस उठ्‌नु गलत होइन तर रिसको झोँकमा गलत कदम चाल्नदेखि चाहिँ होसियार हुनुहोस्‌। आफूलाई रिस उठिरहेको कुरा महसुस गर्नुभयो भने मात्र तपाईँ रिसले ल्याउन सक्ने भयावह नतिजाहरूबाट जोगिनुहुनेछ।”

रिस व्यक्‍त गर्नु पनि तपाईँको लागि मदतकारी हुन्छ। तर रिस व्यक्‍त गर्नुको अर्थ रिसले पड्‌किनु होइन। लामो समयसम्म मनमा रिस पालिराख्नु हानिकारक हुन्छ भनेर बाइबल चेतावनी दिन्छ। (हितोपदेश १४:२९, ३०) तर तपाईँको मनको कुरा बुझिदिने साथीसित त्यसबारे कुरा गर्नुभयो भने तपाईँको मन हलुका हुनेछ। साथै रिस उठ्‌दा व्यायाम गर्नु पनि कसै-कसैले मदतकारी पाएका छन्‌।—एफिसी ४:२५, २६ पनि हेर्नुहोस्‌।

हुनत आफ्नो भावना इमानदार हुँदै अनि खुलेर व्यक्‍त गर्नु आवश्‍यक छ तर त्यसो गर्दा हामी होसियार पनि हुनुपर्छ। भावना व्यक्‍त गर्नु र अरूमाथि आफ्नो भावना लाद्‌नुमा आकाश-जमिनको भिन्‍नता छ। तपाईँलाई रिस उठ्‌दा वा दिक्क लाग्दा त्यसको दोष अरूमाथि नथोपर्नुहोस्‌। आफ्नो भावना खुलेर व्यक्‍त गर्नुहोस्‌ तर अरूलाई बोलीको बाणले प्रहार नगर्नुहोस्‌। (हितोपदेश १८:२१) शोक सहने सबैभन्दा मदतकारी तरिकाबारे अब हामी छलफल गर्नेछौँ।

परमेश्‍वरले दिनुहुने मदत

बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई  उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) हो, आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदाको चोट सहन अरू कुनै पनि कुराले भन्दा परमेश्‍वरसितको सम्बन्धले तपाईँलाई मदत गर्नेछ। कसरी? अहिलेसम्म छलफल गरिएका सबै सुझाव परमेश्‍वरको वचन बाइबलमा आधारित छन्‌ वा त्यसमा पाइने सल्लाहसित मेल खान्छन्‌। ती सुझावहरू लागू गर्नुभयो भने तपाईँले शोक सहन मदत पाउनुहुनेछ।

साथै प्रार्थना गर्नुको महत्त्वलाई हल्कासित नलिनुहोस्‌। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ।” (भजन ५५:२२) सहानुभूति देखाउने साथीसित कुराकानी गर्दा त तपाईँले मदत पाउनुहुन्छ भने “सबै सान्त्वनाका परमेश्‍वर”-सामु आफ्नो मनको बह पोखाउँदा झन्‌ कत्ति हलुका महसुस हुन्छ होला!—२ कोरिन्थी १:३.

प्रार्थना गर्दैमा हामीले आफसेआफ हलुका महसुस गर्ने होइन। बरु “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर”-ले मनैदेखि उहाँसित पवित्र शक्‍ति माग्नेहरूलाई त्यो दिने प्रतिज्ञा गर्नुभएको छ। (भजन ६५:२; लुका ११:१३) अनि परमेश्‍वरको सक्रिय शक्‍तिले तपाईँलाई प्रत्येक दिन आइपर्ने चिन्ता-फिक्री र चुनौतीहरूको सामना गर्न “असाधारण शक्‍ति” दिनेछ। (२ कोरिन्थी ४:७) यो कुरा नबिर्सनुहोस्‌, परमेश्‍वर आफ्ना वफादार सेवकहरूलाई जस्तोसुकै समस्याको सामना गर्न मदत गर्न सक्नुहुन्छ।

छोरी गुमाएकी एउटी महिलाले तिनी र तिनको श्रीमान्‌लाई शोक सहन प्रार्थनाले निकै मदत गरेको कुरा बताइन्‌। तिनी भन्छिन्‌, “रातको समयमा निराशाले छोप्दा र असह्‍य महसुस हुँदा हामी सँगै बसेर यहोवालाई प्रार्थना गर्थ्यौँ। पहिला छोरीसँगै गरेका कामहरू पहिलो चोटि उनीविना गर्नुपर्दा, जस्तै: पहिलो चोटि उनीविना सभा अनि अधिवेशन जानुपर्दा हामीले बलको लागि यहोवालाई प्रार्थना गऱ्‍यौँ। बिहान आँखा खुल्दा कहिलेकाहीँ वास्तविकता स्विकार्न निकै गाह्रो हुन्थ्यो। त्यस्तो बेला हामी प्रार्थना गरेर यहोवासित मदत माग्थ्यौँ। घरभित्र एक्लै छिर्नुपर्दा समेत मलाई किन-किन एकदमै गाह्रो महसुस हुन्थ्यो। त्यसैले हरेक चोटि एक्लै घर आउनुपर्दा म मनोशान्तिको लागि यहोवालाई प्रार्थना गर्थेँ।” त्यसरी प्रार्थना गर्दा आफूले निकै मदत पाएको कुरामा यी वफादार महिला पूर्णतया विश्‍वस्त छिन्‌। निरन्तर प्रार्थना गर्दा ‘परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले तपाईँको हृदय र सोच्ने क्षमताको रक्षा गरेको’ तपाईँले पनि महसुस गर्नुहुनेछ।—फिलिप्पी ४:६, ७; रोमी १२:१२.

परमेश्‍वरले हामीलाई चोट सहन मदत दिन सक्नुहुन्छ। येसुका एक जना चेला पावलले यसो भने: “उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ ताकि . . . हामीले हरप्रकारका परीक्षामा परेकाहरूलाई सान्त्वना दिन सकौँ।” यो कुरा साँचो हो, परमेश्‍वरले दिनुहुने मदतले हाम्रो पीडालाई स्वतः हटाउँदैन तर त्यो पीडा सहन भने हामीलाई पक्कै मदत गर्छ। यसको मतलब तपाईँ फेरि कहिल्यै रुनुहुनेछैन वा आफूले गुमाएको व्यक्‍तिलाई बिर्सनुहुनेछ भन्‍ने होइन। बरु तपाईँको चोट निको हुन सक्छ। साथै यस्तो अनुभवले तपाईँलाई अझै समझदार र सहानुभूतिशील बनाउन सक्छ अनि तपाईँले जस्तै पीडा भोगेकाहरूलाई मदत गर्न तपाईँ अझै सक्षम हुनुहुनेछ।—२ कोरिन्थी १:४.