सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यो हुनै सक्दैन!”

“यो हुनै सक्दैन!”

अमेरिकाको न्यु योर्कमा बस्ने एक जना बुबाले यसो भने: “मेरो छोरा जोनाथन केही किलोमिटर पर बस्ने आफ्ना साथीहरूकहाँ गएको थियो। तर छोरा त्यसरी साथीहरूकहाँ गएको मेरी पत्नी भ्यालेन्टिनालाई मन पर्दैन थियो। किनकि त्यो बाटो सुरक्षित थिएन। तर जोनाथन भने इलेक्ट्रोनिक साधनहरू भनेपछि हुरुक्कै हुन्थ्यो। अनि उसका ती साथीहरूको इलेक्ट्रोनिक साधन मर्मत गर्ने पसल थियो। त्यहाँ उसले थुप्रै कुरा सिक्न सक्थ्यो। त्यतिखेर म घरमै थिएँ अनि मेरी पत्नीचाहिँ पोर्टो रिकोमा आफ्नो माइती गएकी थिइन्‌। ‘अब त जोनाथन फर्कने बेला भयो’ भनेर म सोच्दै थिएँ। नभन्दै घण्टी बज्यो र मैले जोनाथन नै हुनुपर्छ भन्ठानेँ। तर ढोका खोल्दा त प्रहरी र स्वास्थ्यकर्मीहरू पो रहेछन्‌। प्रहरीले मलाई सोधे: ‘यो लाइसेन्स कसको हो, तपाईँ चिन्‍नुहुन्छ?’ ‘अँ, यो मेरो छोरा जोनाथनको हो।’ ‘एउटा दुःखको खबर छ। दुर्घटनामा परेर तपाईँको छोरा . . . तपाईँको छोराको मृत्यु भयो।’ सुरुमा त मलाई ‘यो हुनै सक्दैन!’ जस्तो लाग्यो। यो घटना घटेको वर्षौँ भइसक्यो तर यसले पुऱ्‍याएको चोट अझै निको भएको छैन।”

‘एउटा दुःखको खबर छ। दुर्घटनामा परेर तपाईँको छोरा . . . तपाईँको छोराको मृत्यु भयो।’

 स्पेनको बार्सिलोनामा बस्ने एक जना बुबाले यस्तो लेखे: “सन्‌ १९६० को दशकको कुरा हो, मेरी पत्नी मारिया र म हाम्रो परिवारसँग हाँसीखुसी जीवन बिताइरहेका थियौँ। हाम्रा तीन छोराछोरी थिए। जेठो छोरा डेभिड १३ वर्षको, माइलो छोरा पाकितो ११ वर्षको र छोरी इसाबेल ९ वर्षकी थिई।

“सन्‌ १९६३ को मार्च महिनाको कुरा हो, पाकितो ‘असाध्यै टाउको दुख्यो!’ भन्दै स्कुलबाट घर फर्कियो। के भएर यसरी अचानक टाउको दुख्यो भनेर हामीले ठम्याउनै सकेनौँ। तर त्यसको तीन घण्टामै उसको मृत्यु भयो। उसलाई ब्रेन हेमोरेज भएको रहेछ।

“पाकितोको मृत्यु भएको अहिले ३० वर्षभन्दा धेरै भइसक्यो। तैपनि उसलाई गुमाउनुपरेको कुरा सम्झँदा अझै असह्‍य पीडा हुन्छ। सन्तान गुमाउनुपर्दा आमाबुबालाई आफ्नो आधा ज्यानै काटिएसरह लाग्छ। जति नै समय बिते पनि वा अरू सन्तान जन्मिए पनि त्यो पीडा कहिल्यै हराउँदैन।”

 मृत्युले आफ्नो सन्तान खोसेर लैजाँदा त्यसको चोट कति गहिरो हुन्छ भन्‍ने कुरा यी दुई आमाबुबाको अनुभवले देखाउँछ। एक जना डाक्टरले भनेको यस कुरासित सायद हामी सबै सहमत छौँ: “कुनै वयस्कको मृत्युले भन्दा बच्चाको मृत्युले दिने चोट अक्सर गहिरो हुन्छ। किनकि उसको मृत्यु होला भनेर परिवारमा कसैले चिताएकै हुँदैन। . . . बच्चाको मृत्युसँगसँगै उसको भविष्यबारे आमाबुबाले देखेको सबै सपना चकनाचुर हुन्छ; सन्तानको विवाह गराइदिने र नातिनातिनाको अनुहार हेर्नेजस्ता सबै रहर अधुरै रहन्छ।” गर्भ खेर गएका आमाहरूले पनि उत्तिकै गहिरो पीडा महसुस गर्छन्‌।

पति गुमाएकी एउटी पत्नी यसो भन्छिन्‌: “मेरो पति रसलले दोस्रो विश्‍वयुद्धताका प्रशान्त महासागरको रणभूमिमा स्वास्थ्य सेवकको रूपमा काम गर्नुभएको थियो। उहाँले भयानक युद्धहरू आफ्नै आँखाले देख्नुभएको थियो। उहाँ अमेरिका फर्किनुभयो र युद्धको कोलाहलबिनाको शान्त जीवन बिताउन थाल्नुभयो। पछि उहाँ यहोवाको साक्षी हुनुभयो। उहाँ ६० वर्ष कट्‌नुभएपछि उहाँमा मुटुको समस्या देखा पर्न थाल्यो। तैपनि उहाँ फुर्तिलो नै हुनुहुन्थ्यो। तर सन्‌ १९८८ को जुलाई महिनामा उहाँलाई गम्भीर हृदयघात भयो र उहाँ बित्नुभयो। उहाँको मृत्युले मलाई गहिरो आघात पुऱ्‍यायो। उहाँको जीवनको आखिरी क्षणमा मैले उहाँसित दुई शब्द पनि बोल्न पाइनँ। उहाँ मेरो पति मात्र नभएर सबैभन्दा मिल्ने साथी हुनुहुन्थ्यो। हामीले सँगसँगै ४० वसन्त पार गरिसकेका थियौँ। मलाई लाग्यो, संसारमा मजति एक्लो अरू कोही छैन।”

यी त केही उदाहरण मात्र हुन्‌। संसारभर प्रत्येक दिन हजारौँ परिवारले यस्तै वियोग खप्नुपरेको छ। मृत्युले गर्दा आफ्नो छोरा, छोरी, पति, पत्नी, आमा, बुबा वा साथी गुमाएकाहरूले बाइबलका एक लेखक पावलले बताएझैँ मृत्यु एउटा “शत्रु” हो भन्‍ने कुरा महसुस गर्छन्‌। आफूले माया गर्ने व्यक्‍तिको मृत्यु भएको खबर सुन्दा अक्सर पत्याउनै गाह्रो हुन्छ। धेरैले सुरुमा यस्तो प्रतिक्रिया देखाउँछन्‌: “नाइँ! यो हुनै सक्दैन!” त्यसपछि विभिन्‍न प्रकारका भावनाहरू उर्लेर आउँछन्‌, जसबारे हामी चर्चा गर्नेछौँ।—१ कोरिन्थी १५:२५, २६.

मृत्युको चोटले गर्दा उत्पन्‍न हुने भावनाहरूबारे चर्चा गर्नुअघि केही महत्त्वपूर्ण प्रश्‍नहरू विचार गरौँ। के मृत्युको अर्थ सबै कुराको अन्त भयो भन्‍ने हो? के मरिसकेका हाम्रा प्रियजनहरूलाई फेरि भेट्‌न सकिने कुनै आशा छ?

साँचो आशा

बाइबल लेखक पावलले हाम्रो “शत्रु” मृत्युबाट छुटकारा पाइने आशाबारे बताए। तिनले यस्तो लेखे: “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।” (१ कोरिन्थी १५:२६) मृत्युलाई नामेट पारिनेछ भनेर पावल किन पक्का हुन सके? किनभने मृत्युबाट फेरि जीवित पारिनुभएका येसु स्वयम्‌बाट तिनले यो कुरा सिकेका थिए। (प्रेषित ९:३-१९) त्यसैले तिनले यसो पनि भन्‍न सके: “एकै जना पुरुष [आदमले] गर्दा मृत्यु आयो, त्यसकारण मरेकाहरू पनि एकै जना पुरुष [येसुद्वारा] फेरि जीवित पारिनेछन्‌। जसरी आदमले गर्दा सबै मर्दै छन्‌, त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।”—१ कोरिन्थी १५:२१, २२.

नाइन सहरकी विधवा र तिनको मृत छोरालाई देख्दा येसु अत्यन्तै दुःखी हुनुभयो। बाइबल विवरण यसो भन्छ: “जब [येसु नाइन] सहरको मूलढोका नजिक पुग्नुभयो, तब हेर, एक जना मानिसको लास लगिँदै थियो। ऊ एउटी विधवाको एक मात्र छोरा थियो। अनि सहरबाट आएको ठूलो भीड पनि ती विधवाको साथमा थियो। तब तिनलाई देखेर प्रभु टिठाउनुभयो र भन्‍नुभयो: ‘नरोऊ।’ त्यसपछि नजिक गएर उहाँले अरथी छुनुभयो र त्यो बोक्नेहरू टक्क अडिए अनि उहाँले भन्‍नुभयो: ‘ए युवक, म तिमीलाई भन्छु, उठ!’ तब त्यो मरेको मानिस उठेर बस्यो र बोल्न थाल्यो अनि येसुले उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो। तब तिनीहरू सबै असाध्यै डराए र तिनीहरूले यसो भन्दै परमेश्‍वरको महिमा गर्न थाले: ‘हाम्रो बीचमा एक जना महान्‌ भविष्यवक्‍ता खडा हुनुभएको छ’ र  ‘परमेश्‍वरले आफ्ना जनहरूतर्फ ध्यान दिनुभएको छ।’” येसुको मनमा त्यस विधवाप्रति यति धेरै दया जाग्यो कि उहाँले तिनको छोरालाई फेरि जीवित पार्नुभयो! यसले भविष्यको लागि कस्तो अर्थ राख्छ, सोच्नुहोस्‌ त!—लुका ७:१२-१६.

त्यसबेला प्रत्यक्षदर्शीहरूकै सामुन्‍ने येसुले त्यस विधवाको छोरालाई फेरि जीवित पार्नुभयो, जुन घटना सायद तिनीहरूले कहिल्यै बिर्सेनन्‌। यो घटना घट्‌नुभन्दा केही समयअघि उहाँले भविष्यमा “नयाँ आकाश” स्थापना भएपछि पृथ्वीमा मानिसहरू फेरि जीवित पारिनेछन्‌ भनेर बताउनुभएको थियो र यो त्यसकै पूर्वझलक थियो। येसुले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”—प्रकाश २१:१, ३, ४; युहन्‍ना ५:२८, २९; २ पत्रुस ३:१३.

यस घटनाको प्रत्यक्षदर्शी अरू पनि थिए। जस्तै: येसुसँगै यात्रा गरेका पत्रुसलगायत १२ जना चेलामध्ये अरू केही। गालिल समुद्रको किनारामा छँदा तिनीहरू आफैले पनि फेरि जीवित हुनुभएका येसुको आवाज सुनेका थिए। विवरण यसो भन्छ: “येसुले तिनीहरूलाई भन्‍नुभयो: ‘आओ, नास्ता गर।’ तर चेलाहरूमध्ये एक जनाले पनि उहाँलाई ‘तपाईँ को हुनुहुन्छ?’ भनेर सोध्ने आँट गरेन किनकि उहाँ प्रभु नै हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। तब आएर येसुले रोटी लिनुभयो र तिनीहरूलाई दिनुभयो। त्यसैगरि माछा पनि दिनुभयो। मृत्युबाट ब्युँताइएपछि येसु आफ्ना चेलाहरूसामु देखा पर्नुभएको यो तेस्रो पटक थियो।”—युहन्‍ना २१:१२-१४.

त्यसैले पत्रुसले निर्धक्क भई यसो भन्‍न सके: “हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको प्रशंसा होस्‌ किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म दिएर जीवित आशा दिनुभयो।”—१ पत्रुस १:३.

प्रेषित पावलले आफ्नो पक्का आशा यसरी व्यक्‍त गरे: “मोसाको व्यवस्थामा दिइएका र भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएका सबै कुरामा म विश्‍वास गर्छु। अनि धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्‍वरमा आशा राखेको छु।”—प्रेषित २४:१४, १५.

त्यसैले लाखौँ मानिसले मरिसकेका आफ्ना प्रियजनहरूलाई यसै पृथ्वीमा फेरि भेट्‌ने पक्का आशा राख्न सक्छन्‌। त्यसबेला पृथ्वीको अवस्था अहिलेको भन्दा एकदमै फरक हुनेछ। त्यसबेला पृथ्वीको अवस्था कस्तो हुनेछ? मरिसकेका हाम्रा प्रियजनहरूलाई फेरि भेट्‌ने आशाबारे यस पुस्तिकाको अन्तिम भागमा हामी अझै विस्तृत रूपमा छलफल गर्नेछौँ। त्यस भागको शीर्षक छ, “मृतकहरूका लागि पक्का आशा।”

तर सबैभन्दा पहिला, आफूले माया गर्ने व्यक्‍तिको मृत्यु हुँदा हाम्रो मनमा उठ्‌न सक्ने केही प्रश्‍नबारे विचार गरौँ: के मैले यसरी शोक गर्नु स्वाभाविक हो? म यो शोक कसरी सहन सक्छु? शोक सहन अरूले मलाई कसरी मदत गर्न सक्छन्‌? शोक गरिरहेकाहरूलाई म कसरी मदत गर्न सक्छु? अनि मुख्य कुरा, मरिसकेकाहरूका लागि बाइबलले कस्तो पक्का आशा दिएको छ? के म मरिसकेका आफ्ना प्रियजनहरूलाई फेरि कहिल्यै भेट्‌न पाउनेछु? पाउनेछु भने कहाँ?