सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको उद्देश्‍य पूरा गर्न एउटा प्रबन्ध

परमेश्‍वरको उद्देश्‍य पूरा गर्न एउटा प्रबन्ध

परमेश्‍वरको उद्देश्‍य पूरा गर्न एउटा प्रबन्ध

‘[परमेश्‍वरले] सबै थोकलाई आफ्नै इच्छाको सल्लाहजस्तै गराउनुहुन्छ।’—एफिसी १:११.

१. अप्रिल १२, २००६ मा यहोवाका साक्षीहरूका सबै मण्डलीहरूमा मानिसहरू किन जम्मा हुनेछन्‌?

 अप्रिल १२, २००६ बुधबारको साँझ लगभग १ करोड ६० लाख मानिसहरू प्रभुको साँझको भोज मनाउन ओइरिनेछन्‌। प्रत्येक सभास्थलमा ख्रीष्टको शरीरलाई चित्रण गर्ने खमिर नहालिएको रोटी र ख्रीष्टले बगाउनुभएको रगतलाई चित्रण गर्ने रातो दाखमद्य टेबलमा राखिनेछ। भाषणको अन्ततिर येशूको मृत्युको सम्झना गर्नुको अर्थ बुझाउँदै यी प्रतीकहरूमध्ये पहिले रोटी र त्यसपछि दाखमद्य उपस्थित सबैलाई पास गरिनेछ। यहोवाका साक्षीहरूका मण्डलीहरूमा उपस्थितमध्ये नगण्यले प्रतीक खानेछन्‌ र पिउनेछन्‌। धेरै ठाउँमा त उपस्थितहरूमध्ये प्रतीक खाने र पिउनेहरू अक्सर एउटै हुनेछैनन्‌। थोरै संख्यामा रहेका स्वर्गीय आशा राख्ने मसीहीहरूले मात्र प्रतीक खानेछन्‌ र पिउनेछन्‌ तर पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने विशाल समूहले प्रतीक खानेछैनन्‌ र पिउनेछैनन्‌, किन?

२, ३. (क) आफ्नो उद्देश्‍यअनुसार नै यहोवाले कसरी सृष्टि थाल्नुभयो? (ख) यहोवाले कुन उद्देश्‍य राखेर पृथ्वी र मानिस सृजनुभयो?

यहोवा उद्देश्‍य भएको परमेश्‍वर हुनुहुन्छ। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँले ‘सबै थोकलाई आफ्नै इच्छाको सल्लाहजस्तै गराउनुहुन्छ।’ (एफिसी १:११) सबैभन्दा पहिला उहाँले आफैले एकलौटो पुत्र सृजनुभयो। (यूहन्‍ना १:१, १४; प्रकाश ३:१४) त्यसपछि त्यही पुत्रद्वारा उहाँले अरू आत्मिक पुत्रहरूको एउटा परिवार, पृथ्वी र पृथ्वीमा बस्न मानिसलगायत सारा ब्रह्‍माण्ड सृजनुभयो।—अय्यूब ३८:४, ७; भजन १०३:१९-२१; यूहन्‍ना १:२, ३; कलस्सी १:१५, १६.

मसीहीजगत्‌का धेरैजसो चर्चहरूले सिकाएजस्तो स्वर्गमा आफ्ना आत्मिक पुत्रहरूको संख्या बढाउन परीक्षण थलोको रूपमा उहाँले पृथ्वी सृजनुभएन। उहाँले एउटा खास उद्देश्‍य राखेर पृथ्वी सृजनुभयो। उहाँको त्यो उद्देश्‍य पृथ्वीलाई “आबाद” गर्नु थियो। (यशैया ४५:१८) परमेश्‍वरले पृथ्वी मानिसको लागि अनि मानिस पृथ्वीको लागि सृजनुभयो। (भजन ११५:१६) पृथ्वी धर्मी मानिसहरूले भरिएको एउटा सुन्दर बगैंचा हुने थियो। बगैंचा बिस्तार गर्दै लाने र स्याहारसम्भार गर्ने काम मानिसहरूकै थियो। पृथ्वीमा केही समय बिताउने अनि पछि स्वर्ग जाने आशा पहिलो मानव दम्पतीसामु कहिल्यै राखिएको थिएन।—उत्पत्ति १:२६-२८; २:७, ८, १५.

यहोवाको उद्देश्‍य विफल बनाउने प्रयास

४. मानव इतिहासको सुरुमै यहोवाको सार्वभौमिकता कसरी विवादमा पऱ्‍यो?

परमेश्‍वरले नै दिनुभएको स्वतन्त्र इच्छाको दुरुपयोग गर्दै परमेश्‍वरकै एउटा आत्मिक पुत्रले विद्रोह गऱ्‍यो अनि यहोवाको उद्देश्‍य विफल बनाउन लागिपऱ्‍यो। यहोवाको सार्वभौमिकता स्वेच्छाले स्वीकार्नेहरूले पाउने शान्ति त्यसले खलबल्याइदियो। शैतानले प्रथम मानव दम्पतीलाई परमेश्‍वरबाट स्वाधीन हुने मार्गतिर उन्मुख गरायो। (उत्पत्ति ३:१-६) शैतानले परमेश्‍वरको शक्‍तिलाई मानिलियो तर परमेश्‍वरले आफ्नो सार्वभौमिकता र शासनाधिकारको दुरुपयोग गरेको आक्षेप त्यसले लगायो। यसरी मानव इतिहासको सुरुमै पृथ्वीमा यहोवाको सार्वभौमिकतासम्बन्धी मुख्य विवाद उठ्यो।

५. शैतानले अर्को कुन विवाद उठायो र यसमा को-को मुछिए?

सारा ब्रह्‍माण्ड मुछिएको सार्वभौमिकताको मुख्य विवादसित गाँसिएको अर्को विवाद शैतानले अय्यूबको समयमा उठायो। यहोवाका सृष्टिहरूले आफूलाई यहोवामा अर्पण गर्नु र उहाँको सेवा गर्नुको नियतमाथि शैतानले प्रश्‍न उठायो। शैतानको आशय थियो—यहोवाका सृष्टिहरू आफ्नै स्वार्थको लागि उहाँको सेवा गर्छन्‌, परीक्षा आउँदा तिनीहरूले परमेश्‍वरलाई पीठ फर्काउनेछन्‌। (अय्यूब १:७-११; २:४, ५) यो विवाद यहोवाका मानव सेवकहरूको सन्दर्भमा उठाइएको भए तापनि परमेश्‍वरका आत्मिक पुत्रहरू लगायत यहोवाको एकलौटो पुत्र समेत यस विवादमा मुछिनुभयो।

६. यहोवा आफ्नो उद्देश्‍य पूरा गरेरै छाड्‌ने अनि आफ्नो नाउँको अर्थअनुसार चल्ने परमेश्‍वर साबित हुनुभयो, कसरी?

आफ्नो उद्देश्‍य पूरा गरेरै छाड्‌ने र आफ्नो नाउँको अर्थअनुसार चल्ने यहोवाले स्वयम्‌लाई अगमवक्‍ता र उद्धारक साबित गर्नुभयो। a उहाँले शैतानलाई भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्पत्ति ३:१५) शैतानले उठाएको विवादलाई “स्त्रीको” सन्तान अर्थात्‌ आफ्नो संगठनको स्वर्गीय भागमार्फत यहोवाले टुङ्‌गो लगाउनुहुने थियो। अनि आदमका सन्तानहरूलाई मुक्‍ति र जीवनको आशा दिनुहुने थियो।—रोमी ५:२१; गलाती ४:२६, ३१.

“उहाँकै इच्छाको [पवित्र] रहस्य”

७. प्रेरित पावलमार्फत यहोवाले कस्तो उद्देश्‍य प्रकट गर्नुभयो?

यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न कसरी प्रबन्ध मिलाउनुहुन्छ भन्‍ने विषयमा एफिससका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावल स्पष्ट व्याख्या गर्छन्‌। पावलले लेखे: “हामीलाई उहाँकै इच्छाको [पवित्र] रहस्य जान्‍न दिनुभएर उहाँको अभिप्रायअनुसार, जो उहाँले ख्रीष्टमा ठहराउनुभयो, चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नलाई समयको पूर्णताको प्रबन्धको निम्ति।” (एफिसी १:९, १०) उहाँको सार्वभौमिकता स्वेच्छाले स्वीकार्ने प्राणीहरूको एउटा एकताबद्ध विश्‍व बनाउनु नै यहोवाको महान्‌ उद्देश्‍य हो। (प्रकाश ४:११) हो, उहाँको नाउँ पवित्र पारिनेछ, शैतानलाई झुटो साबित गरिनेछ र परमेश्‍वरको “इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा” हुनेछ।—मत्ती ६:१०.

८. “प्रबन्ध” भनी अनुवाद गरिएको शब्दको अर्थ के हो?

यहोवाको “अभिप्राय” अर्थात्‌ उद्देश्‍य ‘एउटा प्रबन्धमार्फत’ पूरा हुने थियो। यहाँ “प्रबन्ध” भनेर अनुवाद गरिएको शब्दको अर्थ मूलभाषामा “घरव्यवहारको बन्दोबस्त मिलाउनु” भन्‍ने हुन्छ। यो शब्दले मसीही राज्य जस्तो कुनै सरकारलाई सङ्‌केत गर्दैन तर यसले कामकुराको व्यवस्था मिलाउने भन्‍ने अर्थ दिन्छ। b आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले उत्कृष्ट प्रबन्ध मिलाउनुहुने थियो। यसमा “[पवित्र] रहस्य” समावेश थियो। अनि यो “[पवित्र] रहस्य” शताब्दीयौंको दौडान क्रमिक रूपमा प्रकट गरिने थियो।—एफिसी १:१०; ३:९, न्यु वर्ल्ड ट्रान्सलेशन बाइबलको फुटनोट पनि हेर्नुहोस्‌।

९. यहोवाले आफ्नो इच्छाको पवित्र रहस्य कसरी क्रमिक रूपमा प्रकट गर्नुभयो?

अदनमा प्रतिज्ञा गरिएको सन्तानबारे आफ्नो उद्देश्‍य यहोवाले कसरी पूरा गर्नुहुन्छ, सो क्रमिक रूपमा बाँधिएका करारहरूद्वारा उहाँले बिस्तारै प्रकट गर्नुभयो। प्रतिज्ञा गरिएको सन्तान अब्राहामको वंशबाट पृथ्वीमा आउने र त्यही सन्तानद्वारा “पृथ्वीका सबै जातिहरू” आशिषित्‌ हुने कुरा उहाँले अब्राहामसित बाँध्नुभएको करारमार्फत बताउनुभयो। उक्‍त करारले सन्तानसित अरू व्यक्‍तिहरू पनि सहभागी हुने कुरा सङ्‌केत गऱ्‍यो। (उत्पत्ति २२:१७, १८) प्राकृतिक इस्राएलसित बाँधिएको व्यवस्थाको करारले “पूजाहारीहरूको एक राज्य” बनाउने यहोवाको उद्देश्‍य प्रकट गऱ्‍यो। (प्रस्थान १९:५, ६) दाऊदसित बाँधिएको करारले त्यो सन्तान सदा सर्वदाको लागि राज्यको प्रमुख हुने कुरा प्रस्ट पाऱ्‍यो। (२ शमूएल ७:१२, १३; भजन ८९:३, ४) व्यवस्थाको करारले यहूदीहरूलाई मसीहसम्म पुऱ्‍याएपछि यहोवाले आफ्नो उद्देश्‍य पूर्तिसित सम्बन्धित थप पक्षहरू फेरि बताउनुभयो। (गलाती ३:१९, २४) उक्‍त सन्तानसित सहभागी हुने मानिसहरू नै भविष्यवाणी गरिएको “पूजाहारीहरूको एक राज्य” बन्‍ने थियो र तिनीहरूलाई नयाँ अर्थात्‌ आध्यात्मिक “इस्राएल[को]” रूपमा ‘नयाँ करारमा’ समावेश गरिने थियो।—यर्मिया ३१:३१-३४; हिब्रू ८:७-९. c

१०, ११. (क) भविष्यवाणी गरिएको त्यो सन्तान यहोवाले कसरी प्रकट गर्नुभयो? (ख) परमेश्‍वरको एकलौटो पुत्र किन पृथ्वीमा आउनुभयो?

१० परमेश्‍वरको उद्देश्‍यको प्रबन्धलाई कार्यान्वयन गर्न भविष्यवाणी गरिएको त्यो सन्तान पृथ्वीमा आउने बेला भयो। मरियमले एउटा छोरो जन्माउनेछिन्‌ र उहाँको नाउँ येशू राख्नू भन्‍ने सन्देश दिन यहोवाले स्वर्गदूत गब्रिएललाई मरियमकहाँ पठाउनुभयो। स्वर्गदूतले मरियमलाई भने: “उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) यसरी प्रतिज्ञा गरिएको सन्तान को रहेछ, सो स्पष्ट भयो।—गलाती ३:१६; ४:४.

११ यहोवाको एकलौटो पुत्र पृथ्वीमा आउनुपर्थ्यो र मृत्युसम्मै जाँचिनुपर्थ्यो। शैतानले उठाएको विवादको पूर्ण जवाफ येशूको हातमा थियो। के आफ्नो पिताप्रति उहाँ विश्‍वासी रहनुहुने थियो? यो पवित्र रहस्यसित मुछिएको थियो। पछि प्रेरित पावलले येशूको भूमिका यसरी बताउनुभयो: “विना विवाद हामी मान्दछौं, कि भक्‍तिको [पवित्र] रहस्य महान्‌ छ। उहाँ, जो शरीरमा प्रकट हुनुभएको थियो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति जातिहरूमा प्रचारिनुभयो, संसारभरि विश्‍वास गरिनुभयो, महिमामा माथि ग्रहण हुनुभयो।” (१ तिमोथी ३:१६) हो, मृत्युसम्मै अटल निष्ठा देखाउनुभएर शैतानले उठाएको विवादको पूर्ण जवाफ येशूले दिनुभयो। तर त्यस पवित्र रहस्यमा समावेश अन्य पक्षहरूको अर्थ खुल्न अझै बाँकी थियो।

“परमेश्‍वरको राज्यको [पवित्र] भेद”

१२, १३. (क) “परमेश्‍वरको राज्यको [पवित्र] भेद[को]” एउटा पक्ष के हो? (ख) स्वर्ग जान यहोवाले मानिसहरूको सीमित संख्या छान्‍नुमा कुन कुरा समावेश थियो?

१२ गालीलमा प्रचार गर्दा एक पटक येशूले आफ्नो मसीही राज्य सरकारसित पवित्र रहस्यको नजिकको सम्बन्ध भएको कुरा बताउनुभयो। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई ता स्वर्गको राज्यको [“परमेश्‍वरको राज्यको” (मर्कूस ४:११)] [पवित्र] रहस्यको ज्ञान दिइएको छ।” (मत्ती १३:११) त्यस भेद अर्थात्‌ रहस्यको एउटा पक्ष यहोवाले आफ्नो पुत्रसित त्यस सन्तानको एउटा भाग बनेर येशूसितै स्वर्गमा शासन गर्ने १,४४,००० मानिसहरूको “सानो बगाल” छान्‍नु थियो।—लूका १२:३२; प्रकाश १४:१, ४.

१३ मानिसजातिलाई पृथ्वीमै बस्न सृजिएको हुनाले केही मानिसहरू स्वर्ग जान यहोवाले तिनीहरूलाई “नयाँ सृष्टि” गर्नुपर्थ्यो। (२ कोरिन्थी ५:१७) विशेष स्वर्गीय आशाको लागि छानिएकाहरूमध्येकै सदस्यको हैसियतमा प्रेरित पत्रुसले लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्‍वर र पिता धन्यको हुनुहुन्छ, जसले आफ्नो ठूलो कृपा अनुसार मरेकोबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निम्ति हामीलाई फेरि नयाँ जन्म दिनुभयो, स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको अविनाशी, विशुद्ध र नष्ट नहुने हकको निम्ति।”—१ पत्रुस १:३, ४.

१४. (क)  ‘परमेश्‍वरको राज्यको [पवित्र] भेदमा’ गैर यहूदीहरू कसरी समावेश भए? (ख) हामी कसरी “गहिरा-गहिरा कुराहरू” बुझ्न सक्छौं?

१४ भावी राज्य सरकारसित सम्बन्धित पवित्र रहस्यको अर्को पक्ष स्वर्गमा ख्रीष्टसित शासन गर्न बोलाइएका मानिसहरूको सानो संख्यामा गैर-यहूदीहरूलाई पनि समावेश गर्ने परमेश्‍वरको इच्छा थियो। पावलले यसलाई उद्देश्‍य पूरा गर्ने यहोवाको “प्रबन्ध” अर्थात्‌ व्यवस्थापनको एउटा पक्ष भनी बताए: “जुन कुरो अब पवित्र प्रेरितहरू र अगमवक्‍ताहरूलाई आत्मामा प्रकट भएझैं गरी अरू पुस्ताका मानिसका सन्तानलाई थाह भएको थिएन, अर्थात्‌ सुसमाचारद्वारा येशू ख्रीष्टमा अन्यजातिहरू उहाँका करारका संगी-हकवाला र शरीरका संगी-सदस्य र प्रतिज्ञाका संगी-सम्भागी भएका छन्‌।” (एफिसी ३:५, ६) पवित्र रहस्यको यस पक्षको अर्थ “पवित्र प्रेरितहरू[लाई]” प्रकट गरियो। आज पनि पवित्र आत्माको मदत नभएको भए “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” हामी बुझ्ने थिएनौं।—१ कोरिन्थी २:१०; ४:१; कलस्सी १:२६, २७.

१५, १६. यहोवाले ख्रीष्टका सह-शासकहरू किन मानिसहरूबाटै छान्‍नुभयो?

१५ स्वर्गीय पर्वत सियोनमा ‘थुमाको’ साथ खडा भइरहेका ‘एक लाख चवालीस हजारलाई’ “पृथ्वीबाट किनिएका” अनि “परमेश्‍वरमा र थुमामा पहिला फलहरू हुनलाई मानिसहरूमध्येबाट किनिएका” भनिएको छ। (प्रकाश १४:१-४) अदनमा प्रतिज्ञा गरिएको सन्तानको रूपमा यहोवाले स्वर्गमा बस्ने आफ्ना पुत्रहरूमध्ये जेठोलाई छान्‍नुभयो तर ख्रीष्टसितै सहभागीहरू हुनेहरूचाहिं उहाँले मानिसहरूबाटै छान्‍नुभयो, किन? प्रेरित पावल यस सीमित संख्या “[यहोवाको] इच्छाअनुसार बोलावट भएकाहरू,” “उहाँको इच्छाको अभिप्रायअनुसार” हो भन्छन्‌।—रोमी ८:१७, २८-३०; एफिसी १:५, ११; २ तिमोथी १:९.

१६ यहोवाको उद्देश्‍य आफ्नो महान्‌ र पवित्र नाउँ पवित्र पार्नु र आफ्नो विश्‍वव्यापी सार्वभौमिकता उच्च पार्नु हो। आफ्नो अतुलनीय बुद्धिमानी “प्रबन्ध” अथवा कामकुराको बन्दोबस्त मिलाउने व्यवस्थापनद्वारा यहोवाले पहिलो पुत्र पृथ्वीमा पठाउनुभयो। पृथ्वीमा उहाँको पुत्र मृत्युसम्मै पूर्णतः जाँचिनुभयो। साथै, मृत्युसम्मै यहोवाको सार्वभौमिकताप्रति विश्‍वासी हुने मानिसहरूलाई पुत्रको मसीही राज्य सरकारमा समावेश गर्न उहाँ कटिबद्ध हुनुभयो।—एफिसी १:८-१२; प्रकाश २:१०, ११.

१७. ख्रीष्ट र उहाँका सँगी शासकहरू कुनै बेला मानिसको रूपमा जीवन बिताइसकेकाहरू हुन्‌ भनी थाह पाउँदा हामी किन खुसी हुन्छौं?

१७ पृथ्वीमा आफ्नो पुत्र पठाउनुभएर अनि उक्‍त राज्य सरकारमा पुत्रको सह-शासक हुनेहरू मानिसहरूबाटै छान्‍नुभएर आदमका सन्तानहरूलाई यहोवाले महान्‌ प्रेम देखाउनुभयो। हाबिलदेखि यता यहोवामा विश्‍वासी साबित हुनेहरूको लागि यसले कस्तो लाभ पुऱ्‍याउने थियो? मानिसहरूप्रति यहोवाको मूल उद्देश्‍यअनुसार जन्मजात पाप र मृत्युको दासत्वमा परेका असिद्ध मानिसहरू आध्यात्मिक र शारीरिक रूपमा निको पारिनुपर्थ्यो र सिद्ध बनाइनुपर्थ्यो। (रोमी ५:१२) पृथ्वीमा हुनुहुँदा येशूले चेलाहरूलाई प्रेम गर्नुभयो र तिनीहरूको भावना बुझ्नुभयो। आफ्नो यस राजाले त्यस्तै प्रेम देखाउनुहुन्छ र अरूका भावना बुझ्नुहुन्छ भनेर थाह पाउनु पृथ्वीमा अनन्त जीवनको बाटो हेरिरहेकाहरूका लागि कत्ति सान्त्वनादायी कुरा! (मत्ती ११:२८, २९; हिब्रू २:१७, १८; ४:१५; ७:२५, २६) अनि स्वर्गमा ख्रीष्टका सँगी राजा-पूजाहारी हुनेहरू हामी जस्तै कमीकमजोरी र जीवनका कठिनाइहरूसित संघर्ष गरेर आएका विश्‍वासी पुरुष र स्त्री हुन्‌ भनेर थाह पाउनु कत्ति ढाडस दिने कुरा!—रोमी ७:२१-२५.

पूरा भएरै छाड्‌ने यहोवाको उद्देश्‍य

१८, १९. एफिसी १:८-११ का पावलका शब्दहरू हाम्रो लागि किन अझ स्पष्ट छन्‌ र अर्को लेखमा कुन कुरा बुझ्नेछौं?

१८ एफिसी १:८-११ मा पावलले अभिषिक्‍त मसीहीहरूलाई भनेका शब्दहरूहरूको अर्थ हामीले अझ राम्ररी बुझ्न सक्यौं। तिनीहरू ख्रीष्टसित “नियुक्‍त” भएका हकवालाहरू अनि “आफ्नै इच्छाको सल्लाहजस्तै गराउनुहुने उहाँको अभिप्रायअनुसार” ठहराइएकाहरू थिए। यो “उहाँकै इच्छाको [पवित्र] रहस्य” हो। परमेश्‍वरले तिनीहरूलाई यी सबैबारे थाह दिनुभएको कुरा पावलले बताए। यो सब आफ्नो उद्देश्‍य पूरा गर्ने यहोवाको महान्‌ “प्रबन्ध[अनुरूप]” थियो भनेर हामीले बुझ्यौं। उपस्थितहरूमध्ये किन थोरै मसीहीहरूले मात्र प्रभुको साँझको भोजमा प्रतीक खान्छन्‌ र पिउँछन्‌ भनेर बुझ्न पनि यसले हामीलाई मदत गऱ्‍यो।

१९ स्वर्गीय आशा हुनेहरूको लागि ख्रीष्टको मृत्युको स्मरणार्थले के अर्थ राख्छ हामी अर्को लेखमा बुझ्नेछौं। अनि स्मरणार्थले सङ्‌केत गर्ने कुरामा पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने लाखौंले किन गहिरो चासो राख्नुपर्छ त्यो पनि हामी सिक्नेछौं।(w06 2/15)

[फुटनोटहरू]

a परमेश्‍वरको नाउँ यहोवाको शाब्दिक अर्थ हो, “उहाँले गराउनुहुन्छ।” जसरी पनि उहाँ आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ र आफ्नो उद्देश्‍य पूरा गर्न आवश्‍यक पऱ्‍यो भने उहाँ जे बन्‍न पनि तयार हुनुहुन्छ।—प्रस्थान ३:१४, न्यु वर्ल्ड ट्रान्सलेशन बाइबलको फुटनोट पनि हेर्नुहोस्‌।

b पावलका शब्दहरूले “प्रबन्ध[अनुसार]” तिनकै समयमा काम सुरु भइरहेको थियो भनेर देखाउँछ तर मसीही राज्यचाहिं सन्‌ १९१४ मा मात्र स्थापना भएको कुरा धर्मशास्त्रले सङ्‌केत गर्छ।

c यहोवाको उद्देश्‍य पूर्तिमा समावेश यी करारहरूबारे विस्तृत विवरणको लागि फेब्रुअरी १, १९८९ पृष्ठ १०-१५ को वाचटावर र फेब्रुअरी १, १९९८, पृष्ठ ८-१८ को प्रहरीधरहरा पनि हेर्नुहोस्‌।

पुनरावलोकन गर्दा

• यहोवाले किन पृथ्वी सृष्टि गर्नुभयो र त्यहाँ मानिस राख्नुभयो?

• यहोवाको एकोलौटो पुत्र किन पृथ्वीमा जाँचिनुपर्थ्यो?

• मानिसहरूबाटै यहोवाले ख्रीष्टका सह-शासकहरू छान्‍नुभयो, किन?

[प्रश्‍नहरू]