दोस्रो समुएल ७:१-२९

  • दाउदले मन्दिर बनाउन पाउनेछैनन्‌ (१-७)

  • परमेश्‍वर दाउदसित राज्यको करार गर्नुहुन्छ (८-१७)

  • दाउदको धन्यवादको प्रार्थना (१८-२९)

 जब राजा दाउद आफ्नै महलमा बस्न थाले+ अनि यहोवा परमेश्‍वरले तिनलाई वरपरका शत्रुहरूबाट विश्राम दिनुभयो, २  तब तिनले भविष्यवक्‍ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्‍वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+ ३  नातानले राजालाई भने: “जानुहोस्‌ र तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। किनकि यहोवा परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ।”+ ४  त्यही रात यहोवा परमेश्‍वरको यो वचन नातानकहाँ आयो: ५  “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “के तिमी मेरो भवन, मेरो निवासस्थान बनाउन चाहन्छौ?+ ६  इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म म कुनै भवनमा बास गरेको छैनँ।+ बरु म पालमा रहेर एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको छु।+ ७  जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्‍याउन मैले कुलनायकहरू नियुक्‍त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’ ८  मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ ९  तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु+ र तिमी यस संसारका महान्‌ मानिसहरूमा गनिनेछौ। १०  म मेरो प्रजा इस्राएलीहरूको लागि एउटा ठाउँ रोज्नेछु र त्यहाँ तिनीहरूलाई राख्नेछु। तिनीहरू त्यहाँ बसोबास गर्नेछन्‌ र तिनीहरूलाई फेरि कसैले दुःख दिनेछैन। दुष्ट मानिसहरूले तिनीहरूमाथि अत्याचार गर्नेछैनन्‌, जसरी विगतमा,+ ११  मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्‍त गरेको समयदेखि+ दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए। म तिमीलाई तिम्रा सबै शत्रुबाट विश्राम दिनेछु।+ “‘“यहोवा परमेश्‍वरले तिमीलाई यस्तो सन्देश पनि दिनुभएको छ: यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।+ १२  जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ १३  तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्‌+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १४  म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+ १५  मैले साउललाई अटल प्रेम देखाउन छोडेँ र उसलाई तिम्रो सामनेबाट हटाएँ। तर म तिम्रो छोरालाई अटल प्रेम देखाउन कहिल्यै छोड्‌नेछैनँ।+ १६  तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७  नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+ १८  तब राजा दाउद यहोवा परमेश्‍वरसामु बसे र यसो भने: “हे ब्रह्‍माण्डका मालिक यहोवा! म को हुँ र? अनि मेरो घराना के हो र? तैपनि तपाईँले मेरो लागि यी सबै गर्नुभयो।+ १९  हे ब्रह्‍माण्डका मालिक यहोवा! मेरो लागि यत्ति धेरै गरिसकेपछि पनि तपाईँले यस दासको घराना लामो समयसम्म रहिरहनेछ भनेर बताउनुभयो। अनि यो तपाईँले सबै मानिसको लागि दिनुभएको आदेश* हो, हे ब्रह्‍माण्डका मालिक यहोवा! २०  अब तपाईँको यो सेवक दाउदले अरू के नै भन्‍न सक्छ र? किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ मलाई राम्ररी चिन्‍नुहुन्छ।+ २१  तपाईँले आफ्नो प्रतिज्ञाअनुरूप अनि आफ्नो इच्छाअनुसार यी सबै महान्‌ काम गर्नुभयो। अनि ती सबै तपाईँले आफ्नो दासलाई प्रकट गर्नुभयो।+ २२  त्यसैले हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान्‌ हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्‍वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २३  अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे परमेश्‍वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तिनीहरूको खातिर महान्‌ र आश्‍चर्यजनक कामहरू गरेर+ तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको खातिर अरू जाति र तिनीहरूका देवताहरूलाई धपाउनुभयो। २४  तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नो प्रजा बनाउनुभएको छ+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्‍वर हुनुभएको छ।+ २५  “अब हे यहोवा, आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा गर्नुहोस्‌; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्‌।+ २६  तपाईँको नाम सदासर्वदा महिमित होस्‌+ र मानिसहरूले यसो भनून्‌ ‘सेनाहरूका यहोवा इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्‌।+ २७  किनकि हे सेनाहरूका यहोवा, हे इस्राएलका परमेश्‍वर, तपाईँले आफ्नो दासलाई यो कुरा प्रकट गर्नुभएको छ: ‘म तिम्रो निम्ति एउटा राजघराना खडा गर्नेछु।’+ त्यसैले यस दासले तपाईँलाई यो प्रार्थना चढाउने आँट गरेको छ। २८  अब हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले भन्‍नुभएको सबै कुरा सत्य हो।+ अनि तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २९  त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्‍न हुँदै आशिष्‌ दिनुहोस्‌ र यो घराना सदासर्वदा तपाईँसामु रहोस्‌।+ किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँले नै यो प्रतिज्ञा गर्नुभएको छ। यस दासको घरानाले सधैँभरि तपाईँको आशिष्‌ पाओस्‌।”+

फुटनोटहरू

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “कानुन।”