सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो शमूएलको पुस्तकका विशेषताहरू

दोस्रो शमूएलको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

दोस्रो शमूएलको पुस्तकका विशेषताहरू

यहोवाको सार्वभौमिकतालाई मानिलिंदा के त्यसले हाम्रो पूर्ण आज्ञाकारिताको माग गर्छ? के निष्ठावान्‌ मानिसले सधैं नै परमेश्‍वरको नजरमा ठीक काम गर्छ? साँचो परमेश्‍वरले कस्तो प्रकारको मानिसलाई ‘रुचाउनुहुन्छ’? (१ शमूएल १३:१४) दोस्रो शमूएलको बाइबल पुस्तकले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।

दोस्रो शमूएल दुई जना अगमवक्‍ता गाद र नातानद्वारा लेखियो जो पुरातन इस्राएलका राजा दाऊदसित नजिक थिए। a दाऊदको ४० वर्षे शासनको अन्ततिर सा.यु.पू. १०४० तिर लेख्न सकिएको यो पुस्तक मुख्यतः दाऊद र यहोवासितको दाऊदको सम्बन्धमा केन्द्रित छ। यो रोमाञ्चक विवरणले कसरी एउटा कलहग्रस्त राष्ट्र एक जना साहसी राजाको नेतृत्वमा समृद्धशाली एकताबद्ध राज्य भयो भनी बताउँछ। यो मनछुने विवरण गहिरा मानवीय भावनाहरूले भरिएको छ।

दाऊद “झन्‌-झन्‌ शक्‍तिशाली हुँदै” जान्छन्‌

(२ शमूएल १:१–१०:१९)

शाऊल र जोनाथनको मृत्युको समाचारप्रति दाऊदले देखाएको प्रतिक्रियाले तिनीहरू र यहोवाप्रति दाऊदका भावनाहरू प्रकट गर्छ। हेब्रोनमा यहूदाको कुलमाथि दाऊदलाई राजा नियुक्‍त गरिन्छ। इस्राएलको बाँकी भागमा शाऊलको छोरा ईश्‍बोशेतलाई राजा बनाइन्छ। दाऊद “झन्‌-झन्‌ शक्‍तिशाली” हुँदै जान्छन्‌ अनि लगभग साढे सात वर्षपछि उनलाई सारा इस्राएलको राजा बनाइन्छ।—२ शमूएल ५:१०.

दाऊदले यबूसीहरूको कब्जामा रहेको यरूशलेममाथि कब्जा जमाउँछन्‌ र यसलाई आफ्नो राज्यको राजधानी बनाउँछन्‌। यरूशलेममा कराकको सन्दुक सार्ने उनको पहिलो प्रयासको परिणाम विनाशक हुन्छ। तथापि, दोस्रो पटकको प्रयास सफल हुन्छ र दाऊद खुसीले नाच्छन्‌। यहोवा दाऊदसित एउटा राज्यको लागि करार बाँध्नुहुन्छ। परमेश्‍वरले उनको साथ कहिल्यै नछोडेकोले गर्दा दाऊद आफ्ना शत्रुहरूमाथि विजयी हुन्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१८—योआब र उनका दुई जना भाइलाई किन तिनीहरूकी आमा सरूयाहका तीन छोराहरू भनियो? हिब्रू धर्मशास्त्रमा वंशावली अक्सर पिताद्वारा गनिन्थ्यो। सरूयाहका पतिको असामयिक निधन भएको हुन सक्छ अथवा पवित्र धर्मशास्त्रमा समावेश गर्नको लागि तिनलाई अयोग्य ठानिएको हुन सक्छ। सरूयाहको नाउँ उल्लेख गरिनु सम्भव छ किनकि शायद, तिनी दाऊदकी बहिनी या त सौतनी बहिनी थिइन्‌। (१ इतिहास २:१५, १६) बेतलेहेममा तिनीहरूको अन्त्येष्टि गर्ने स्थानबारे बताइएको विवरणमा मात्र ती तीन दाजुभाइहरूका पिताको बारेमा उल्लेख गरेको पाइन्छ।—२ शमूएल २:३२.

५:१, २—ईश्‍बोशेतको हत्याको कति समयपछि दाऊदलाई सारा इस्राएलको राजा बनाइयो? शाऊलको मृत्यु भएको थोरै समयपछि ईश्‍बोशेतले आफ्नो दुई वर्षे शासन थाले र त्यसैबेला दाऊदले हेब्रोनमा आफ्नो शासन थाले भन्‍ने निष्कर्षमा पुग्नु तार्किक देखिन्छ। दाऊदले साढे सात वर्षको लागि हेब्रोनबाट यहूदामा शासन गरे। सारा इस्राएलको राजा बनाइए लगत्तै उनले आफ्नो राजधानी यरूशलेममा सारे। तसर्थ, ईश्‍बोशेतको मृत्यु भएको लगभग पाँच वर्षपछि राजा दाऊद सारा इस्राएलको राजा बने।—२ शमूएल २:३, ४, ८-११; ५:४, ५.

८:२—इस्राएलसित तिनीहरूको मुठभेडपछि कति जना मोआबीलाई मारियो? संख्या गनेर भन्दा नापेर ठम्याइएको हुन सक्छ। दाऊदले मोआबीहरूलाई भुइँमा एउटा पङ्‌क्‍तिमा लहरै सुत्न लगाएको जस्तो देखिन्छ। त्यसपछि उनले कुनै रेखा अथवा डोरीले उक्‍त पङ्‌क्‍ति नापे। हुनसक्छ, दुई नाप भित्र आएका अर्थात्‌ दुई तिहाइ मोआबीहरूलाई मारियो अनि एक नाप भित्र आएकाहरू अर्थात्‌ एक तिहाइलाई जोगाइयो।

हाम्रो लागि पाठ:

२:१; ५:१९, २३. हेब्रोनमा बस्नुअघि अनि आफ्ना शत्रुहरू विरुद्ध जाइलाग्नुअघि दाऊदले यहोवालाई सोधे। हाम्रो आध्यात्मिकतालाई असर गर्ने निर्णयहरू गर्नुअघि हामीले पनि यहोवाको डोऱ्‍याइ खोज्नुपर्छ।

३:२६-३०. बदलाले नराम्रा परिणामहरू निम्त्याउँछ।—रोमी १२:१७-१९.

३:३१-३४; ४:९-१२. दाऊदमा बदलाको भाव र इवी नहुनु उदाहरणीय हो।

५:१२. यहोवाले हामीलाई उहाँको आफ्नै तरिकामा शिक्षा दिनुभएको छ अनि उहाँसित असल सम्बन्ध राख्न सम्भव तुल्याउनुभएको छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन।

६:१-७. दाऊदको मनसाय राम्रो भए तापनि सन्दुकलाई गाडामा सार्ने दाऊदको प्रयास परमेश्‍वरको आज्ञाको उल्लङ्‌घन थियो, फलतः असफल भयो। (प्रस्थान २५:१३, १४; गन्ती ४:१५, १९; ७:७-९) उज्जाले हात बढाएर सन्दुक थाम्नुले असल मनसाय हुँदैमा परमेश्‍वरले माग गर्ने कुराहरूलाई परिवर्तन गर्न सकिंदैन भन्‍ने कुरालाई पनि देखाउँछ।

६:८, ९. कठिन परिस्थितिमा दाऊद पहिले त रिसाए त्यसपछि डराए—हुनसक्छ उनले विपत्तिको लागि यहोवालाई दोषसमेत दिए। यहोवाको आज्ञालाई बेवास्ता गरेकोले गर्दा आएका समस्याहरूको लागि यहोवालाई दोष लगाउनदेखि हामी जोगिनुपर्छ।

७:१८, २२, २३, २६. दाऊदको नम्रता, यहोवाप्रतिको ऐकान्तिक भक्‍ति र परमेश्‍वरको नाउँ उच्च पार्नमा देखाएको चासो हामीले अनुकरण गर्नुपर्ने गुणहरू हुन्‌।

८:२. करिब ४०० वर्ष अगाडि गरिएको एउटा भविष्यवाणी पूरा भयो। (गन्ती २४:१७) यहोवाको वचन सधैं पूरा हुन्छ।

९:१, ६, ७. दाऊदले आफ्नो वचन निभाए। हामीले पनि आफ्नो वचन निभाउन प्रयत्न गर्नै पर्छ।

आफूले अभिषेक गरेको व्यक्‍ति विरुद्ध यहोवाले विपत्ति ल्याउनुहुन्छ

(२ शमूएल ११:१–२०:२६)

यहोवा दाऊदलाई भन्‍नुहुन्छ, “म तेरो आफ्नै घरानाभित्रबाट दुःख ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामने अर्को मानिसलाई दिनेछु, र त्यो दिउँसै त्यससित सुत्नेछ।” (२ शमूएल १२:११) यस्तो उद्‌घोषको कारण के हो? बेतशेबासितको दाऊदको पापले गर्दा। पश्‍चात्ताप गरेकोले दाऊदलाई क्षमा दिइए तापनि पापका परिणामहरूबाट उनलाई जोगाइएन।

पहिले त बेतशेबाले जन्माएको छोराको मृत्यु हुन्छ। त्यसपछि दाऊदकी कुमारी छोरी तामारलाई उनकै सौतनी दाइ अम्मोनले बलात्कार गर्छन्‌। तामारको आफ्नै दाई अब्शालोमले बदलामा अम्मोनको हत्या गर्छन्‌। अब्शालोमले आफ्नै बुबा विरुद्ध षड्यन्त्र रच्छन्‌ अनि आफैलाई हेब्रोनको राजा घोषणा गर्छन्‌। दाऊद यरूशलेम भाग्न बाध्य हुन्छन्‌। घरको रेखदेख गर्न छोडिएका आफ्नो बुबाका दस जना रखौटीसित अब्शालोमले यौनसम्पर्क राख्छन्‌। अब्शालोम मारिएपछि मात्र दाऊद शासन आफ्नो हातमा लिन पुनः फर्कन्छन्‌। बिन्यामिनी शेबाले गरेको विद्रोह शेबाको मृत्युसँगै अन्त्य हुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१४:७—“आगोको भुँग्रो” कुन कुराको प्रतीक हो? जीवित सन्ततिलाई इङ्‌गित गर्न बिस्तारै बलिरहेको आगोको भुँग्रो प्रयोग गरिन्छ।

१९:२९—मपीबोशेतको बयान सुनेर दाऊदले किन त्यस्तो प्रतिक्रिया देखाए? एकतर्फी सीबाको कुरा सुनेकै भरमा पत्याएर आफूले गल्ती गरेको रहेछु भनेर मपीबोशेतको बयान सुनिसकेपछि दाऊदले महसुस गरेको हुनुपर्छ। (२ शमूएल १६:१-४; १९:२४-२८) सम्भवतः दाऊदलाई यो कुराले हैरान बनाएको हुनुपर्छ अनि त्यसबारे उनी कुनै कुरा सुन्‍न चाहँदैनथे।

हाम्रो लागि पाठ:

११:२-१५. दाऊदका कमजोरीहरूको खुलस्त विवरणले बाइबल परमेश्‍वरबाट प्रेरित हो भन्‍ने कुरा पुष्टि हुन्छ।

११:१६-२७. जब हामी कुनै गम्भीर पाप गर्छौं दाऊदले जस्तै ढाकछोप गर्ने कोसिस गर्नु हुँदैन। बरु, हामीले यहोवा समक्ष आफ्नो पाप स्वीकार्नुपर्छ अनि मण्डलीका प्राचीनहरूबाट मदत खोज्नुपर्छ।—हितोपदेश २८:१३; याकूब ५:१३-१६.

१२:१-१४. नातानले मण्डलीका नियुक्‍त प्राचीनहरूका लागि राम्रो उदाहरण बसाले। पापमा फसेकाहरूलाई बाटो सच्च्याउन प्राचीनहरूले मदत गर्नुपर्छ। प्राचीनहरूले कौशलतापूर्वक यो जिम्मेवारी पूरा गर्नुपर्छ।

१२:१५-२३. आफूमाथि आइपरेका कुराहरूप्रतिको सही दृष्टिकोणले विपत्तिहरूप्रति उपयुक्‍त प्रतिक्रिया देखाउन दाऊदलाई मदत गऱ्‍यो।

१५:१२; १६:१५, २१, २३. अब्शालोमले सिंहासन पाउनै लागेको कुरा देखेकोले घमन्ड र महत्वाकाङ्‌क्षाले गर्दा चतुर सल्लाहकार अहितोपेल धोकेबाज बन्‍न उन्मुख भए। नम्रता र वफादारीविनाको बौद्धिकता पासो हुन सक्छ।

१९:२४, ३०. मपीबोशेत दाऊदको करुणाप्रति साँच्चै कृतज्ञ थिए। सीबाबारे राजाको निर्णयमा उनले स्वेच्छाले अधीनता देखाए। यहोवा र उहाँको संगठनप्रतिको कृतज्ञताले हामीलाई अधीनमा बस्न उत्प्रेरित गर्नुपर्छ।

२०:२१, २२. एक जना व्यक्‍तिको बुद्धिले धेरैमाथि आउन लागेको विपत्तिलाई रोक्न सक्छ।—उपदेशक ९:१४, १५.

आफूलाई “परमप्रभुको हातमा” सुम्पौं

(२ शमूएल २१:१-२४:२५)

गिबोनीहरूलाई मारेर शाऊलले गरेको रक्‍तदोषले गर्दा तीन वर्षसम्म अनिकाल लाग्छ। (यहोशू ९:१५) उक्‍त रक्‍तदोषको बदला लिन गिबोनीहरूले शाऊलका सात जना छोरालाई मृत्युदण्ड दिने माग राख्छन्‌। दाऊदले तिनीहरूलाई गिबोनीहरूको हातमा सुम्पन्छन्‌ र पानी परेर खडेरीको अन्त हुन्छ। चार जना पलिश्‍ती राक्षस “दाऊद र तिनका मानिसहरूका हातबाट” मारिन्छन्‌।”—२ शमूएल २१:२२.

अवैध जनगणनाको आदेश दिएर दाऊदले गम्भीर पाप गर्छन्‌। उनी पश्‍चात्ताप गर्छन्‌ अनि आफूलाई “परमप्रभुको हातमा” सुम्पन्छन्‌। (२ शमूएल २४:१४) फलतः ७०,००० मानिसहरू रूढीबाट मर्छन्‌। दाऊदले यहोवाको आज्ञा पालन गर्छन्‌ अनि प्रकोप रोकिन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२१:९, १०—गिबोनीहरूले मारेका आफ्ना दुई छोरा र शाऊलका पाँच जना नातीको लागि रिश्‍पा कतिन्जेल जाग्राम बसिन्‌? यी सात जनालाई “फसलको पहिलो दिनमा” अर्थात्‌ मार्च वा अप्रिलमा झुन्ड्याइयो। तिनीहरूको लासलाई पर्वतमा त्यत्तिकै छोडियो। खडेरीको अन्त गरेर आफ्नो रिस मरेको यहोवाले नदेखाउन्जेल रिश्‍पाले दिनरात ती लासहरूको निगरानी गरिन्‌। अक्टोबरमा कटनीको मौसम नसिद्धिउन्जेल पानी पर्नु साह्रै अस्वाभाविक हुने थियो। त्यसैले रिश्‍पा पाँचदेखि छ महिनासम्म जाग्राम बसेकी हुनुपर्छ। त्यसपछि गाड्‌नको लागि दाऊदसित लासका हड्डीहरू मात्र थिए।

२४:१—मानिसहरूको जनगणना लिनुलाई किन दाऊदले गरेको गम्भीर पाप भनियो? जनगणना लिनु नै व्यवस्थामा निषेध त थिएन। (गन्ती १:१-३; २६:१-४) कुन कारणले गर्दा दाऊदलाई मानिसको गणना लिन उत्प्रेरित गऱ्‍यो, त्यो बाइबलले बताउँदैन। तथापि, १ इतिहास २१:१ ले देखाएअनुसार शैतानले दाऊदलाई जनगणना लिन उक्सायो। जे होस्‌, मानिसहरूको दर्ता गर्ने दाऊदको निर्णय गलत थियो भनी उनको सेनापति, योआबलाई थाह थियो र उनले दाऊदलाई यसो गर्नदेखि रोक्ने कोसिस गरे।

हाम्रो लागि पाठ:

२२:२-५१. दाऊदको गीतले यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ र हाम्रो सम्पूर्ण भरोसाको योग्य हुनुहुन्छ भनी कति सुन्दर ढङ्‌गमा वर्णन गर्छ।

२३:१५-१७. जीवन र रगतबारे परमेश्‍वरको व्यवस्थामा दाऊदको यति गहिरो आदर थियो कि त्यस व्यवस्थाको उल्लङ्‌घनसित तुलना गर्न मिल्ने अन्य कुराहरू गर्न समेत उनले इन्कार गरे। परमेश्‍वरका सबै आज्ञाहरूप्रति हामीले पनि यस्तै मनोवृत्ति खेती गर्नै पर्छ।

२४:१०. दाऊदको अन्तस्करणले उनलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गऱ्‍यो। के हाम्रो अन्तस्करण त्यस हदसम्म प्रतिक्रिया देखाउन संवेदनशील छ?

२४:१४. यहोवा मानिसभन्दा धेरै दयालु हुनहुन्छ भनेर दाऊदलाई राम्ररी थाह थियो। के हामीसित पनि त्यस्तै दृढ विश्‍वास छ?

२४:१७. आफ्नो पापले पूरै राष्ट्रमा ल्याएको दुःखप्रति दाऊदले पश्‍चात्ताप महसुस गरे। आफ्नो कार्यले मण्डलीमाथि ल्याएको हुन सक्ने निन्दाको लागि पश्‍चात्तापी पापीले दुःख महसुस गर्नुपर्छ।

हामी परमेश्‍वरले ‘रुचाएको मानिस’ बन्‍न सक्छौं

इस्राएलको दोस्रो राजा यहोवाले ‘रुचाएको मानिस’ बने। (१ शमूएल १३:१४) दाऊदले कहिल्यै यहोवाका धार्मिक स्तरहरूमाथि शङ्‌का गरेनन्‌ अनि उनले परमेश्‍वरबाट स्वाधीन हुने बाटो कहिल्यै पछ्याएनन्‌। हरेक पटक दाऊदले गल्ती गर्दा आफ्नो गल्ती स्वीकारे, अनुशासन स्वीकारे अनि आफ्नो मार्ग सच्याए। दाऊद निष्ठावान्‌ मानिस थिए। विशेष गरेर जब हामी गल्ती गर्छौं के उनीजस्तै हुनु बुद्धिमानी होइन र?

दाऊदको जीवनकथाले यहोवाको सार्वभौमिकता स्वीकार्नु भनेको असल र खराबबारे उहाँका स्तरहरू स्वीकार्नु र निष्ठापालकहरूको हैसियतमा सोही स्तरहरू अनुरूप चल्न प्रयत्न गर्नु हो भनेर जीवन्त चित्रण गर्छ। हामी यसो गर्न सक्छौं। दोस्रो शमूएलको पुस्तकबाट हामीले सिकेका पाठहरूको लागि हामी कत्ति धेरै कृतज्ञ हुन सक्छौं। बाइबलमा समावेश प्रेरित सन्देश साँच्चै जीवित र प्रबल छ।—हिब्रू ४:१२.

[फुटनोट]

a यो पुस्तक शमूएलले नलेखेको भए तापनि पुस्तक उनकै नाउँमा छ किनकि सुरुमा हिब्रू धर्मशास्त्रमा शमूएलका दुवै किताबहरू एउटै मुठ्ठामा थिए। शमूएलले पहिलो शमूएलको धेरैजसो भाग लेखे।

[पृष्ठ १६-मा भएको चित्र]

आफूलाई राजाको रूपमा स्थापित गर्ने को हो भन्‍ने कुराको सम्झनाले दाऊदलाई नम्र रहिरहन मदत गऱ्‍यो

[पृष्ठ १६-मा भएको चित्र]

“म तेरो आफ्नै घरानाभित्रबाट दुःख ल्याउनेछु”

बेतशेबा

तामार

अम्मोन