दोस्रो समुएल ३:१-३९

  • दाउदको घराना झन्‌झन्‌ शक्‍तिशाली हुँदै जान्छ ()

  • दाउदका छोराहरू (२-५)

  • अब्नेर दाउदको पक्ष लिन्छन्‌ (६-२१)

  • योआब अब्नेरलाई मार्छन्‌ (२२-३०)

  • दाउद अब्नेरको लागि विलाप गर्छन्‌ (३१-३९)

 साउलको घराना र दाउदको घरानाबीच लामो समयसम्म युद्ध चलिरह्‍यो। दाउद झन्‌झनै शक्‍तिशाली हुँदै गए+ तर साउलको घराना भने कमजोर हुँदै गयो।+ २  हेब्रोनमा छँदा दाउदका छोराहरू जन्मिए।+ तिनका जेठा छोरा अम्नोन थिए,+ जसलाई यिज्रेलकी अहिनोमले जन्माएकी थिइन्‌।+ ३  तिनका माहिला छोरा किलाब थिए, जसलाई कर्मेली नाबालकी विधवा अबिगेलले जन्माएकी थिइन्‌।+ तिनका साहिँला छोरा अब्सालोम थिए,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्‌।+ ४  तिनका काहिँला छोरा अदोनियाह थिए,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌। अनि ठाहिँला छोरा सेपत्याह थिए, जसलाई अबितलले जन्माएकी थिइन्‌। ५  दाउदका कान्छा छोराचाहिँ इथ्राम थिए, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्‌। हेब्रोनमा जन्मेका दाउदका छोराहरू यी नै हुन्‌। ६  साउलको घराना र दाउदको घरानाबीच युद्ध चलिरहँदा अब्नेरले+ भने साउलको घरानामा आफूलाई झन्‌झन्‌ शक्‍तिशाली बनाउँदै लगे। ७  साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्‌,+ जो अय्याकी छोरी थिइन्‌। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+ ८  इस्बोसेतको कुरा सुनेर अब्नेर रिसले चूर भए र यसो भने: “म यहुदाको कुकुर हुँ र? आजसम्म मैले तपाईँका बुबा साउलको घराना, उहाँका दाजुभाइ र मित्रहरूप्रति अटल प्रेम देखाउँदै आएको छु। तपाईँलाई पनि मैले धोका दिएर दाउदको हातमा सुम्पेको छैन। तर आज मैले एउटी आइमाईको मामिलामा भूल गर्दा के तपाईँ मसित त्यसको हिसाब माग्नुहुन्छ? ९  यहोवा परमेश्‍वरले दाउदसित जुन कसम खानुभएको थियो, मैले त्यसैअनुसार गरिनँ भने उहाँले मलाई अत्यन्तै कडा सजाय देऊन्‌।+ १०  उहाँले साउलको घरानाबाट राज्याधिकार खोस्ने अनि सारा इस्राएल र सारा यहुदामाथि अर्थात्‌ दानदेखि बेर्सेबासम्मै दाउदको सिंहासन बसाल्ने कसम खानुभएको थियो।”+ ११  त्यसपछि इस्बोसेतले अब्नेरलाई केही जवाफ दिन सकेनन्‌ किनकि तिनी अब्नेरसित डराउँथे।+ १२  तब अब्नेरले सन्देशवाहकहरूमार्फत दाउदकहाँ तुरुन्तै यो सन्देश पठाए: “यस देशमाथि कसको अधिकार छ?” तिनले यसो पनि भने: “मसँग करार गर्नुहोस्‌ र सारा इस्राएललाई तपाईँको पक्षमा ल्याउन म कुनै कसर बाँकी राख्नेछैनँ।”+ १३  दाउदले यस्तो जवाफ पठाए: “ठीक छ, म तिमीसित करार गर्नेछु। तर मेरो एउटा काम गरिदेऊ। तिमी मलाई भेट्‌न आउँदा साउलकी छोरी मिकललाई पनि साथमा ल्याउनू। होइन भने तिमी मेरो अगाडि देखै नपर्नू।”+ १४  त्यसपछि दाउदले आफ्ना सन्देशवाहकहरूमार्फत साउलका छोरा इस्बोसेतकहाँ यो सन्देश पठाए:+ “मलाई मेरी पत्नी मिकल फिर्ता देऊ, जससित मगनी गर्न मैले १०० जना पलिस्तियालीको खलडी* दामस्वरूप तिरेको थिएँ।”+ १५  त्यसैले मिकललाई ल्याउन इस्बोसेतले आफ्ना मानिसहरू तिनका पति पल्तिएलको घरमा पठाए,+ जो लेसका छोरा थिए। १६  तर पल्तिएल मिकलको पछिपछि लागे अनि रुँदै-रुँदै बाहुरिमसम्मै आइपुगे।+ त्यसपछि अब्नेरले उनलाई भने: “फर्केर जाऊ!” तब उनी फर्केर गए। १७  अब्नेरले इस्राएलका नाइकेहरूकहाँ यस्तो सन्देश पठाएका थिए: “केही समयदेखि तपाईँहरूले दाउदलाई आफ्ना राजा बनाउन खोज्नुभएको थियो। १८  अब त्यसै गर्नुहोस्‌ किनकि यहोवा परमेश्‍वरले दाउदलाई यसो भन्‍नुभएको छ: ‘म आफ्ना सेवक दाउदमार्फत+ आफ्नो प्रजा इस्राएलीहरूलाई पलिस्तियालीहरू र तिनीहरूका सारा शत्रुहरूको हातबाट जोगाउनेछु।’” १९  त्यसपछि अब्नेरले बिन्यामिनीहरूसित कुरा गरे+ अनि हेब्रोन गए। किनकि तिनी दाउदलाई एकान्तमा भेटेर इस्राएलीहरू र बिन्यामिनीहरू कुन कुरामा सहमत भएका छन्‌ भनी बताउन चाहन्थे। २०  जब अब्नेर आफ्ना २० जना मानिससित हेब्रोनमा दाउदकहाँ पुगे, तब दाउदले अब्नेर र तिनीसित आएका मानिसहरूका निम्ति भोज दिए। २१  त्यसपछि अब्नेरले दाउदलाई यसो भने: “हे मेरा प्रभु, मेरा महाराज! अब मलाई जाने अनुमति दिनुहोस्‌। म गएर सारा इस्राएललाई तपाईँसामु जम्मा गर्नेछु र तिनीहरूले तपाईँसित करार गर्नेछन्‌। त्यसपछि तपाईँ आफूले चाहेअनुसारै पूरै देशको राजा बन्‍न सक्नुहुनेछ।” तब दाउदले अब्नेरलाई बिदा गरे र तिनी शान्तिसित आफ्नो बाटो लागे। २२  त्यति नै खेर दाउदका सेवकहरू र योआब एउटा ठाउँमा आक्रमण गरी प्रशस्त धनमाल लुटेर फर्के। त्यतिबेला अब्नेर हेब्रोनमा थिएनन्‌ किनकि दाउदले तिनलाई शान्तिसित बिदा गरिसकेका थिए। २३  योआब+ र तिनीसित भएका सबै सिपाही फर्किसकेपछि तिनलाई यो खबर सुनाइयो: “नेरका+ छोरा अब्नेर+ राजालाई भेट्‌न आएका थिए। राजाले उनलाई बिदाबारी गरेर पठाउनुभयो अनि उनी शान्तिपूर्वक आफ्नो बाटो लागे।” २४  त्यसैले योआबले राजाकहाँ गएर भने: “तपाईँले यो के गर्नुभयो? अब्नेर तपाईँकहाँ आएका थिए तर तपाईँले उसलाई किन त्यसै छोडिदिनुभयो? २५  नेरको छोरा अब्नेर कस्तो छ भनेर तपाईँलाई थाहै छ! ऊ तपाईँलाई मूर्ख बनाउन यहाँ आएको थियो। तपाईँको एक-एक चाल बुझ्न र तपाईँको हरेक कामको जासुसी गर्न ऊ यहाँ आएको थियो।” २६  त्यसपछि योआब दाउदको सामनेबाट गए र तिनले आफ्ना सन्देशवाहकहरूलाई अब्नेरको पछिपछि पठाए। तिनीहरूले अब्नेरलाई सिराहको इनारबाट फर्काएर ल्याए। तर यसबारे दाउदलाई केही थाह थिएन। २७  अब्नेर हेब्रोनमा फर्केपछि+ योआबले तिनीसित गुप्तमा कुरा गर्ने बहाना बनाएर तिनलाई मूलढोकाभित्र एउटा कुनामा लगे। तर त्यहाँ योआबले तिनको भुँडीमा तरबारले घोपिदिए र तिनी त्यहीँ मरे।+ आफ्नो भाइ आसाहेललाई अब्नेरले मारेको हुनाले* योआबले यसो गरेका थिए।+ २८  केही समयपछि जब दाउदले यसबारे सुने, तब तिनले भने: “नेरका छोरा अब्नेरको हत्याको लागि यहोवा परमेश्‍वरसामु म र मेरो राज्य कुनै हालतमा दोषी ठहरिनेछैनौँ।+ २९  अब्नेरको हत्याको दोष योआब र उसको बुबाको सम्पूर्ण घरानामाथि परोस्‌।+ योआबको घरानामा धातु बग्ने रोग लागेको,+ कुष्ठरोग लागेको,+ कतुवा* चलाउने,* तरबारले मारिने वा खान नपाएर भोकभोकै बस्नुपर्ने मान्छेको कहिल्यै कमी नहोस्‌!”+ ३०  योआब र तिनका दाइ अबिसैले+ अब्नेरलाई+ मारे किनकि अब्नेरले तिनीहरूका भाइ आसाहेललाई गिबोनको युद्धमा मारेका थिए।+ ३१  त्यसपछि दाउदले योआब र तिनीसित भएका सबै मानिसलाई भने: “आ-आफ्नो लुगा च्यात, भाङ्‌ग्रा लगाओ र अब्नेरको लागि विलाप गर।” राजा दाउदचाहिँ अब्नेरको अरथीको पछिपछि हिँडे। ३२  तिनीहरूले अब्नेरलाई हेब्रोनमा गाडे। अब्नेरको चिहानमा राजा दाउद डाँको छोडेर रोए र अरू सबै मानिस पनि रुन थाले। ३३  राजाले अब्नेरको विषयमा यस्तो शोकगीत गाए: “हाय! अब्नेर किन एउटा निकम्मा मानिसझैँ मर्नुपऱ्‍यो? ३४  तिम्रा हात बाँधिएका थिएनन्‌,न त तिम्रा खुट्टा नै साङ्‌लाले बाँधिएका थिए। तैपनि तिमी अपराधीहरूको सिकार भएको मानिसझैँ मऱ्‍यौ।”+ यो सुनेर सबै जना फेरि अब्नेरका लागि रुन थाले। ३५  पछि सबै मानिस दाउदलाई केही खानको लागि मनाउन आए।* त्यतिबेला साँझ परिसकेको थिएन। अनि दाउदले यस्तो कसम खाए: “घाम अस्ताउनुअघि मैले रोटी अथवा अरू केही आफ्नो मुखमा हालेँ भने परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌!”+ ३६  यो कुरा सबैले देखे र तिनीहरूलाई यो कुरा चित्त बुझ्यो। राजाले गरेका अरू सबै कामजस्तै यो कुरा पनि सबै मानिसलाई मन पऱ्‍यो। ३७  यसरी दाउदका सबै मानिस र सारा इस्राएलीहरूले नेरका छोरा अब्नेरको हत्यामा राजाको केही हात थिएन भनेर त्यो दिन थाह पाए।+ ३८  त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: “आज इस्राएलमा एक जना नाइकेको, एक महान्‌ व्यक्‍तिको मृत्यु भएको छ भनेर के तिमीहरूलाई थाह छैन?+ ३९  हुनत मलाई राजा अभिषेक गरिएको छ तर आज म निकै कमजोर भएको छु+ किनकि जेरुयाहका+ यी छोराहरू साह्रै क्रूर छन्‌।+ यहोवा परमेश्‍वरले दुष्टलाई त्यसको दुष्ट कामको प्रतिफल देऊन्‌।”+

फुटनोटहरू

लिङ्‌गको अघिल्लो भाग छोप्ने छाला।
शा., “अब्नेरले आसाहेलको रगत बगाएको हुनाले।”
वा “धागो कात्ने साधन।”
यसले लङ्‌गडो पुरुषलाई जनाएको हुन सक्छ, जो स्त्रीहरूले गर्ने काम गर्न बाध्य हुन्छ।
शा., “सान्त्वनाको (वा शोकको) रोटी दिनको लागि आए।”