दोस्रो समुएल १४:१-३३

  • योआब र तेकोकी स्त्री (१-१७)

  • दाउद योआबको युक्‍तिबारे थाह पाउँछन्‌ (१८-२०)

  • अब्सालोमलाई फर्कन दिइन्छ (२१-३३)

१४  अब्सालोमलाई भेट्‌न राजा आतुर छन्‌+ भनेर जेरुयाहका+ छोरा योआबले थाह पाए। २  त्यसैले तिनले तेकोबाट एउटी चतुर स्त्रीलाई ल्याउन लगाए।+ तिनले ती स्त्रीलाई भने: “बिन्ती छ, शोक मनाइरहेको जस्तो नाटक गर, शोक मनाउँदा लगाउने लुगा लगाऊ र तेल पनि नघस।+ कसैको मृत्यु भएकोले धेरै दिनदेखि शोक मनाइरहेकी स्त्रीजस्तो व्यवहार गर। ३  त्यसपछि राजाकहाँ गएर यसो-यसो भन।” के-के भन्‍नुपर्ने हो, त्यो सबै योआबले ती स्त्रीलाई बताइदिए। ४  तेकोकी ती स्त्री राजाकहाँ गइन्‌ अनि भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गर्दै यसो भनिन्‌: “हे महाराज! मलाई मदत गर्नुहोस्‌!” ५  राजाले उनलाई सोधे: “के भयो?” तब उनले भनिन्‌: “हाय, महाराज! म एउटी विधवा हुँ। मेरो पतिको मृत्यु भइसक्यो। ६  हजुरकी यस दासीको दुई जना छोरा थिए। तिनीहरू मैदानमा एकअर्कासित लडे अनि तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। त्यसैले एक जनाले अर्कोलाई हिर्काएर माऱ्‍यो। ७  अब हजुरकी यस दासीविरुद्ध पूरै परिवार उठेको छ। तिनीहरू यसो भन्दै छन्‌, ‘आफ्नो भाइलाई मार्ने तिम्रो छोरा हामीलाई सुम्पिदेऊ। चाहे तिम्रो उत्तराधिकारीको नामोनिसानै किन नमेटियोस्‌, हामी उसको ज्यान लिनेछौँ किनभने उसले आफ्नो भाइलाई माऱ्‍यो।’+ हे प्रभु, मसित भएको अन्तिम भुङ्‌ग्रोलाई* पनि तिनीहरू निभाउन चाहन्छन्‌। तिनीहरूले त्यसो गरे भने यस धर्तीमा मेरो पतिको कुनै नाम रहनेछैन अनि उहाँको कुनै निसानी बाँकी हुनेछैन।” ८  तब राजाले ती स्त्रीलाई भने: “तिमी आफ्नो घर जाऊ। म तिम्रो खातिर एउटा उर्दी जारी गर्नेछु।” ९  यो सुनेपछि तेकोकी ती स्त्रीले राजालाई भनिन्‌: “हे मेरा प्रभु! मेरा महाराज! मेरो छोराको गल्तीको लागि म र मेरो बुबाको घराना नै दोषी ठहरियोस्‌। हजुर र हजुरको राजवंश निर्दोष रहोस्‌।” १०  राजाले भने: “यदि कसैले तिमीलाई अरू केही भन्यो भने उसलाई मकहाँ ल्याऊ। त्यसपछि उसले तिमीलाई कहिल्यै दुःख दिनेछैन।” ११  तर उनले भनिन्‌: “हे महाराज! बिन्ती छ, हजुरले आफ्ना परमेश्‍वर यहोवालाई सम्झनुहोस्‌। रगतको साटो लिन खोज्नेले मेरो छोराको ज्यान लिएर मलाई बरबाद गर्न नपाओस्‌।”+ अनि राजाले भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु,+ तिम्रो छोराको एउटा केश पनि भुईँमा खस्नेछैन।” १२  तब ती स्त्रीले भनिन्‌: “बिन्ती छ, हजुरकी यस दासीलाई अर्को एउटा कुरा भन्‍न दिनुहोस्‌।” राजाले भने: “भन!” १३  ती स्त्रीले भनिन्‌: “त्यसोभए हजुरले परमेश्‍वरको प्रजाविरुद्ध किन यस्तो कदम चाल्नुभयो?+ हजुरले आफ्नो छोरालाई देश निकाला गर्नुभयो र उसलाई अहिलेसम्म फर्काएर ल्याउनुभएको छैन। हजुरले भर्खरै जे भन्‍नुभयो, त्यसले हजुरलाई नै दोषी ठहराउँदै छ।+ १४  हामी अवश्‍य मर्नेछौँ अनि भुईँमा पोखिएको पानीजस्तै हुनेछौँ, जसलाई फेरि जम्मा गर्न सकिँदैन। तर परमेश्‍वरले विनाकारण कसैको ज्यान लिनुहुन्‍न। कसैलाई देश निकाला गरिएको छ भने पनि उसलाई फर्काएर ल्याउने केही उपाय छ कि भनेर उहाँ विचार गर्नुहुन्छ। १५  हे मेरा प्रभु! मेरा महाराज! हजुरलाई यो बिन्ती चढाउन म यहाँ आएकी हुँ किनकि मानिसहरूले मलाई डर देखाए। त्यसैले हजुरकी यस दासीले मनमनै भनी, ‘मैले राजासामु आफ्नो बिन्ती पोखेँ भने उहाँले आफ्नी दासीको बिन्ती सुन्‍नुहोला। १६  राजाले मेरो बिन्ती सुन्‍नुहोला अनि परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकार छिन्‍न खोज्ने व्यक्‍तिको हातबाट म र मेरो एकमात्र छोरालाई जोगाउनुहोला।’+ १७  अनि मैले मनमनै भनेँ, ‘मेरा प्रभु, मेरा महाराजको वचनले मलाई शान्ति मिलोस्‌’ किनकि मेरा महाराज साँचो परमेश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ अनि असल र खराब छुट्ट्याउन सक्नुहुन्छ। तपाईँका परमेश्‍वर यहोवाले तपाईँलाई साथ देऊन्‌।” १८  राजाले ती स्त्रीलाई भने: “अब म तिमीलाई जे-जे सोध्छु, कुरा नलुकाई त्यसको जवाफ देऊ।” ती स्त्रीले भनिन्‌: “हे मेरा प्रभु! मेरा महाराज! हुकुम होस्‌।” १९  तब राजाले सोधे: “के योआबले तिमीलाई यी सबै कुरा भन्‍न सिकाएका हुन्‌?”+ ती स्त्रीले जवाफ दिइन्‌: “हे मेरा प्रभु! मेरा महाराज! म हजुरको जीवनको कसम खाएर भन्छु, हजुरले ठीक भन्‍नुभयो। हजुरका सेवक योआबले नै मलाई यी सबै कुरा भन्‍न सिकाएर यहाँ पठाएका हुन्‌। २०  यस मामिलाप्रति हजुरको दृष्टिकोण बदलियोस्‌ भनेर हजुरका सेवक योआबले यसो गरेका हुन्‌। तर मेरा मालिकसित साँचो परमेश्‍वरका स्वर्गदूतको जस्तै बुद्धि छ र हजुरलाई यस देशमा भइरहेको सबै कुरा थाह छ।” २१  राजाले योआबलाई भने: “ठीक छ, म त्यसै गर्नेछु।+ जाऊ र मेरो छोरा अब्सालोमलाई लिएर आऊ।”+ २२  तब योआबले भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गरे अनि राजाको प्रशंसा गरे। योआबले भने: “हे मेरा प्रभु! मेरा महाराज! यस सेवकले हजुरको निगाह पाएको छ भनेर मलाई थाह भयो। किनकि हजुरले यस सेवकको बिन्ती सुन्‍नुभयो।” २३  त्यसपछि योआब उठेर गेसुर गए+ अनि तिनले अब्सालोमलाई यरुसलेम ल्याए। २४  तर राजाले भने: “ऊ आफ्नै घर जाओस्‌; उसले मलाई आफ्नो अनुहार नदेखाओस्‌।” त्यसैले अब्सालोम आफ्नै घर गए अनि राजासामु देखा परेनन्‌। २५  इस्राएलमा अब्सालोमजस्तो आकर्षक रूपरङ्‌ग भएको पुरुष अरू कोही थिएन। उनको खुबै तारिफ हुन्थ्यो। उनको शिरदेखि पैतालासम्म खोट लगाउने कुनै ठाउँ थिएन। २६  उनको केश उनको निम्ति असाध्यै भारी हुन्थ्यो। त्यसैले उनले प्रत्येक वर्ष आफ्नो केश काट्‌नुपर्थ्यो। त्यसको वजन शाही तौलअनुसार* २०० शेकेल* हुन्थ्यो। २७  अब्सालोमका तीन छोरा र एक छोरी जन्मिए।+ उनले छोरीको नाम तामार राखे। तामार असाध्यै राम्री थिइन्‌। २८  अब्सालोम दुई वर्षसम्म यरुसलेममा बसे तर उनी राजासामु देखा परेनन्‌।+ २९  त्यसैले उनले योआबलाई बोलाउन लगाए; योआबले उनलाई राजाकहाँ लगिदिएको उनी चाहन्थे। तर योआब आउन मानेनन्‌। उनले फेरि दोस्रो पटक योआबलाई बोलाउन लगाए तर तिनी आउन मान्दै मानेनन्‌। ३०  तब अब्सालोमले आफ्ना सेवकहरूलाई भने: “योआबको खेत मेरो खेतसँगै छ अनि त्यहाँ अहिले जौ फलिरहेको छ। जाओ र त्यसमा आगो लगाइदेओ।” त्यसैले अब्सालोमका सेवकहरूले योआबको खेतमा आगो लगाइदिए। ३१  यो सुनेर योआब उठे अनि अब्सालोमको घर गएर उनलाई भने: “तपाईँका सेवकहरूले किन मेरो खेतमा आगो लगाए?” ३२  अब्सालोमले योआबलाई भने: “हेर, मैले तिमीलाई यस्तो सन्देश पठाएको थिएँ, ‘आऊ र म तिमीलाई राजाकहाँ यो कुरा सोध्न पठाउनेछु: “मलाई गेसुरबाट किन फर्काएर ल्याइयो?+ बरु म त्यहीँ बसेको भए बेस हुन्थ्यो। मलाई राजासामु उपस्थित हुने अनुमति दिइयोस्‌। यदि मैले कुनै अपराध गरेको छु भने उहाँले मेरो ज्यान लेऊन्‌।”’” ३३  त्यसैले योआबले राजाकहाँ गएर यी सबै कुरा बताइदिए। तब राजाले अब्सालोमलाई बोलाए। अब्सालोम राजासामु आए र भुईँमा घोप्टो परेर तिनलाई दण्डवत्‌ गरे। त्यसपछि राजाले अब्सालोमलाई म्वाइँ खाए।+

फुटनोटहरू

यसले वंश धान्‍ने अन्तिम आशालाई जनाउँछ।
यो महलमा प्रयोग गरिने तौल हुन सक्छ वा “शाही” शेकेल हुन सक्छ, जुन साधारणतया प्रयोग गरिने शेकेलभन्दा फरक हुन्थ्यो।
लगभग २.३ किलोग्राम। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।