दोस्रो समुएल ६:१-२३

  • परमेश्‍वरको सन्दुक यरुसलेममा ल्याइन्छ (१-२३)

    • उज्जाह परमेश्‍वरको सन्दुकलाई थाम्छन्‌ र मारिन्छन्‌ (६-८)

    • मिकल दाउदलाई तुच्छ ठान्छिन्‌ (१६, २०-२३)

 दाउदले फेरि एक पटक इस्राएलका सबै कुशल योद्धालाई जम्मा गरे। तिनीहरूको सङ्‌ख्या ३० हजार थियो। २  त्यसपछि दाउद र तिनका सबै मानिस साँचो परमेश्‍वरको सन्दुक* ल्याउन बाले-यहुदातिर लागे।+ यही सन्दुकसामु मानिसहरू सेनाहरूका यहोवाको नाम पुकार्छन्‌,+ जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ ३  तर तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट+ साँचो परमेश्‍वरको सन्दुक ल्याउन त्यसलाई नयाँ गाडामा राखे।+ त्यो नयाँ गाडा अबिनादाबका छोराहरू उज्जाह र अहियोले हाँकिरहेका थिए। ४  यसरी तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट साँचो परमेश्‍वरको सन्दुक ल्याए। अहियोचाहिँ सन्दुकको अघिअघि हिँडिरहेका थिए। ५  दाउद र सबै इस्राएली धुपीको काठबाट बनेका विभिन्‍न किसिमका बाजा, वीणा, किसिम-किसिमका तारे बाजा,+ खैँजडी+ र झ्याली-झ्याम्टा+ बजाउँदै यहोवा परमेश्‍वरसामु खुसीयाली मनाइरहेका थिए। ६  तर तिनीहरू नाकोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात बढाएर साँचो परमेश्‍वरको सन्दुकलाई थामे।+ ७  तब यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्क्यो; तिनले साँचो परमेश्‍वरले दिनुभएको नियमको अनादर गरेको हुनाले+ उहाँले तिनलाई त्यहीँ मार्नुभयो।+ यसरी उज्जाह साँचो परमेश्‍वरको सन्दुकको छेवैमा मरे। ८  तर यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ। ९  त्यसैले दाउद त्यो दिन यहोवा परमेश्‍वरसित डराए+ र तिनले भने: “अब यहोवा परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १०  दाउदले यहोवा परमेश्‍वरको सन्दुक आफ्नो सहर अर्थात्‌ दाउदनगरमा ल्याउन चाहेनन्‌।+ बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए।+ ११  यहोवा परमेश्‍वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। यहोवा परमेश्‍वरले ओबेद-एदोम र तिनको सारा घरानालाई आशिष्‌ दिइरहनुभयो।+ १२  राजा दाउदलाई यो खबर सुनाइयो: “साँचो परमेश्‍वरको सन्दुक ओबेद-एदोमको घरमा भएकोले यहोवा परमेश्‍वरले तिनी र तिनीसँग भएका सबै थोकलाई आशिष्‌ दिइरहनुभएको छ।” त्यसैले साँचो परमेश्‍वरको सन्दुकलाई हर्षोल्लासका साथ ओबेद-एदोमको घरबाट दाउदनगरमा ल्याउन दाउद गए।+ १३  यहोवा परमेश्‍वरको सन्दुक बोक्नेहरू+ छ कदम अघि सरेपछि दाउदले एउटा बहर र एउटा मोटोघाटो जनावर बलि चढाए। १४  दाउद मलमलको* एपोद* लगाएर पूरा जोसका साथ यहोवा परमेश्‍वरसामु नाचिरहेका थिए।+ १५  दाउद र सबै इस्राएलीले जयजयकार गर्दै+ अनि सिङ फुक्दै+ यहोवा परमेश्‍वरको सन्दुक ल्याइरहेका थिए।+ १६  तर यहोवा परमेश्‍वरको सन्दुक दाउदनगरमा ल्याएपछि साउलकी छोरी मिकलले+ झ्यालबाट हेरिन्‌ र राजा दाउदलाई यहोवा परमेश्‍वरसामु उफ्रँदै अनि नाच्दै गरेको देखिन्‌। यो देखेर तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्‌।+ १७  तिनीहरूले यहोवा परमेश्‍वरको सन्दुक पालभित्र ल्याए र त्यसको लागि तोकिएको ठाउँमा राखे।+ दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए। त्यसपछि दाउदले यहोवा परमेश्‍वरसामु+ अग्निभेटी*+ र मेलबलि*+ चढाए। १८  अग्निभेटी र मेलबलि चढाइसकेपछि दाउदले सेनाहरूका यहोवाको नाममा मानिसहरूलाई आशिष्‌ दिए। १९  साथै तिनले सबै मानिसलाई अर्थात्‌ हरेक इस्राएली पुरुष र स्त्रीलाई सेल आकारको एक-एक वटा रोटी, छोहोराको रोटी र किसमिसको रोटी दिए। त्यसपछि सबै मानिस आ-आफ्नो घरतिर लागे। २०  जब दाउद आफ्नो घरानालाई आशिष्‌ दिन फर्के, तब साउलकी छोरी मिकल+ तिनलाई भेट्‌न आइन्‌। मिकलले भनिन्‌: “आज इस्राएलका राजाले कत्रो शान देखाउनुभयो! मूर्ख मान्छेले खुलेआम आफ्नो कपडा खोलेझैँ उहाँले आफ्ना सेवकहरूका दासीहरूसामु आफ्नो कपडा खोल्नुभयो!”+ २१  त्यसपछि दाउदले मिकललाई भने: “म यहोवा परमेश्‍वरसामु खुसी मनाउँदै थिएँ, जसले तिम्रा बुबा र उहाँको घरानालाई होइन तर मलाई छान्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मलाई आफ्नो प्रजा इस्राएलको अगुवा बनाउनुभयो।+ त्यसैले म यहोवा परमेश्‍वरसामु खुसी मनाउनेछु। २२  अनि म आफूलाई अझै तुच्छ बनाउनेछु र आफ्नै नजरमा पनि अपमानित बन्‍नेछु। तर ती दासीहरू, जसबारे तिमीले कुरा गऱ्‍यौ, तिनीहरूले मेरो महिमा गर्नेछन्‌।” २३  त्यसैले साउलकी छोरी मिकल+ आफ्नो मृत्युको दिनसम्मै बाँझी रहिन्‌।

फुटनोटहरू

वा सम्भवतः “करूबहरूको बीचमा।”
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
यसको अर्थ हो, “उज्जाहमाथि दन्केको क्रोध।”
यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।