दोस्रो समुएल ५:१-२५
५ केही समयपछि इस्राएलका सबै कुल हेब्रोनमा दाउदकहाँ आए+ र भने: “हेर्नुहोस्! तपाईँ र हामीबीच रगतको नाता छ।*+
२ पहिला साउल हाम्रा राजा हुँदा तपाईँले नै लडाइँमा इस्राएलीहरूको नेतृत्व लिनुहुन्थ्यो।+ अनि यहोवा परमेश्वरले तपाईँलाई भन्नुभएको थियो: ‘तिमी मेरा प्रजा इस्राएलीहरूको गोठालो हुनेछौ, तिमी तिनीहरूको अगुवा हुनेछौ।’”+
३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्वरसामु करार गरे।+ त्यसपछि तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+
४ दाउद ३० वर्षको उमेरमा राजा भए र तिनले ४० वर्ष शासन गरे।+
५ तिनले हेब्रोनबाट यहुदामाथि साढे सात वर्ष शासन गरे अनि यरुसलेमबाट+ सारा इस्राएल र यहुदामाथि ३३ वर्ष शासन गरे।
६ एकचोटि राजा दाउद र तिनका मानिसहरू यरुसलेममा बसोबास गरिरहेका यबुसीहरूलाई आक्रमण गर्न निस्के।+ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ! यहाँका अन्धा र लङ्गडाहरूले नै तिमीलाई यहाँबाट लखेट्नेछन्।” तिनीहरूले दाउद तिनीहरूको इलाकामा कहिल्यै छिर्न सक्नेछैनन् भन्ठानेका थिए।+
७ तर दाउदले सियोनको गढी कब्जा गरे, जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+
८ त्यो दिन दाउदले भने: “यबुसीहरूलाई आक्रमण गर्नेहरू पानीको सुरुङ भएर जानुपर्नेछ अनि तिनीहरूले ‘अन्धा र लङ्गडाहरू’-लाई मार्नुपर्नेछ, जसलाई दाउद घृणा गर्छन्।” त्यसैले यस्तो भनाइ चल्न थाल्यो: “अन्धा र लङ्गडाहरू यस ठाउँमा कहिल्यै छिर्नेछैनन्।”
९ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले र त्यसलाई दाउदनगर भनियो।* अनि दाउदले ‘ढिस्को’-मा*+ र सहरका अरू ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले।+
१० यसरी दाउद झन्झन् शक्तिशाली हुँदै गए।+ सेनाहरूका परमेश्वर यहोवाले तिनलाई साथ दिइरहनुभयो।+
११ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। तिनले उनीहरूको साथमा देवदारका काठहरू, सिकर्मीहरू अनि पर्खाल बनाउन डकर्मीहरू पनि पठाए।+ अनि ती कामदारहरूले दाउदको लागि महल बनाउन थाले।+
१२ यहोवा परमेश्वरले इस्राएलमाथि तिनको शासन स्थिर गराउनुभएको छ+ र आफ्ना प्रजा इस्राएलीहरूको खातिर+ तिनको राज्यलाई उच्च पार्नुभएको छ+ भनेर दाउदलाई थाह भयो।
१३ दाउद हेब्रोनबाट यरुसलेम सरेपछि तिनले अझ धेरै पत्नी र उपपत्नीहरू ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+
१४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्: साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+
१५ इभार, एलिसु, नेपेग, यापि,
१६ एलिसामा, एलियादा र एलिपेलेत।
१७ दाउद इस्राएलका राजा अभिषेक भएका छन्+ भनेर सुनेपछि सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद सुरक्षित ठाउँमा गए।+
१८ तब पलिस्तियालीहरू रेफाई बेँसीमा आए र चारैतिर फैलिएर बसे।+
१९ दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “के म पलिस्तियालीहरूसित लड्न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्वरले दाउदलाई जवाफ दिनुभयो: “जाऊ, म पलिस्तियालीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+
२० अनि दाउद बाआल-पेराजिम गए र त्यहाँ तिनले पलिस्तियालीहरूलाई मारे। तब तिनले भने: “पानीको भलले पर्खाल भत्काएझैँ यहोवा परमेश्वरले मेरै सामने मेरा शत्रुहरूलाई परास्त गर्नुभएको छ।”+ त्यसकारण तिनले त्यस ठाउँको नाम बाआल-पेराजिम* राखे।+
२१ पलिस्तियालीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर गए अनि दाउद र तिनका मानिसहरूले ती लगेर नाश गरे।
२२ पछि पलिस्तियालीहरू रेफाई बेँसीमा फेरि आए र चारैतिर फैलिएर बसे।+
२३ तब दाउदले यहोवा परमेश्वरसित सल्लाह मागे अनि उहाँले भन्नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू।
२४ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्नेबित्तिकै तिमीहरूले कदम चाल्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न यहोवा परमेश्वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”
२५ दाउदले यहोवा परमेश्वरले भन्नुभएझैँ गरे। पलिस्तियालीहरूलाई मार्दै तिनी गेबादेखि+ गेजेरसम्मै+ पुगे।+

