दोस्रो समुएल १९:१-४३

  • दाउद अब्सालोमको निम्ति शोक मनाउँछन्‌ (१-४)

  • योआब दाउदलाई हप्काउँछन्‌ (५-८क)

  • दाउद यरुसलेम फर्कन्छन्‌ (८ख-१५)

  • सिमि क्षमा माग्छन्‌ (१६-२३)

  • मपिबोसेत निर्दोष भएको कुरा प्रमाणित हुन्छ (२४-३०)

  • बार्जिलैको सम्मान गरिन्छ (३१-४०)

  • कुलहरूबीच विवाद हुन्छ (४१-४३)

१९  योआबलाई यस्तो खबर दिइयो: “अब्सालोमको निम्ति राजा रोइरहनुभएको छ र शोक मनाइरहनुभएको छ।”+ २  त्यस दिनको जितको* खुसीयाली सबै मानिसको लागि शोकमा परिणत भयो। किनकि तिनीहरूले राजा आफ्ना छोराको निम्ति शोक मनाउँदै छन्‌ भनेर सुने। ३  लडाइँमा हारेर लज्जित भएका सिपाहीहरूजस्तै त्यो दिन ती मानिसहरू पनि चुपचाप सहर फर्के।+ ४  राजाले आफ्नो अनुहार छोपेका थिए र तिनी यसो भन्दै डाँको छोडेर रोइरहेका थिए: “हाय! मेरो छोरा अब्सालोम! अब्सालोम, मेरो छोरा, मेरो छोरा!”+ ५  तब योआब महलमा राजाकहाँ गए र यसो भने: “आज हजुरले आफ्ना सबै सेवकलाई लाजमा पार्नुभएको छ, जसले आज हजुरको, हजुरका छोराछोरीको+ र हजुरका पत्नीहरू अनि उपपत्नीहरूको ज्यान जोगाए।+ ६  जसले हजुरलाई घृणा गर्छन्‌, तिनीहरूलाई हजुर माया गर्नुहुन्छ अनि जसले हजुरलाई माया गर्छन्‌, तिनीहरूलाई हजुर घृणा गर्नुहुन्छ। हजुरको लागि हजुरका नाइकेहरू अनि सेवकहरू केही पनि होइनन्‌ भन्‍ने कुरा आज हजुरले देखाउनुभयो। आज अब्सालोम एक जना मात्र बाँचेर हामी सबै जना मरेको भए पनि हजुरलाई कुनै फरक पर्ने रहेनछ भनेर मैले बुझेँ। ७  अब उठ्‌नुहोस्‌ अनि बाहिर गएर आफ्ना सेवकहरूलाई ढाडस दिनुहोस्‌। यदि तपाईँ बाहिर जानुभएन भने म यहोवा परमेश्‍वरको नाममा कसम खाएर भन्छु, आज राती हजुरको साथमा एक जना पनि रहनेछैन। अनि हजुरले सानो छँदादेखि अहिलेसम्म जे-जस्तो दुःख भोग्नुभयो, त्योभन्दा यो झनै पीडादायी हुनेछ।” ८  त्यसैले राजा उठे र सहरको मूलढोकामा गएर बसे। अनि सबै मानिसलाई यो खबर दिइयो: “राजा मूलढोकामा बसिरहनुभएको छ।” त्यसपछि सबै मानिस राजासामु आए। तर लडाइँमा हारेका इस्राएलीहरूचाहिँ भागेर आ-आफ्नो घर गइसकेका थिए।+ ९  इस्राएलको सबै कुलका मानिसहरू आपसमा यसो भन्दै थिए: “राजाले हामीलाई हाम्रा शत्रुहरूबाट जोगाउनुभयो।+ उहाँले हामीलाई पलिस्तियालीहरूको हातबाट बचाउनुभयो। तर उहाँ अहिले अब्सालोमको कारण देश छोडेर भाग्नुभएको छ।+ १०  अनि अब्सालोम, जसलाई हामीले राजा अभिषेक गरेका थियौँ,+ तिनी लडाइँमा मरिसके।+ त्यसैले राजालाई महलमा फर्काएर ल्याउन तपाईँहरू किन केही गर्नुहुन्‍न?” ११  राजा दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ यस्तो सन्देश पठाए: “यहुदाका नाइकेहरूकहाँ गएर भन्‍नुहोस्‌:+ ‘सारा इस्राएलीहरू राजालाई फर्काएर ल्याउन चाहन्छन्‌ भन्‍ने कुरा मैले सुनेको छु। त्यसैले राजालाई महलमा फर्काएर ल्याउन तपाईँहरू किन सबैभन्दा पछि पर्नुहुन्छ? १२  तपाईँहरू त मेरा दाजुभाइ हुनुहुन्छ; तपाईँहरूसित मेरो रगतको नाता छ।* तैपनि राजालाई फर्काएर ल्याउन तपाईँहरू किन सबैभन्दा पछि पर्नुहुन्छ?’ १३  अनि अमासालाई+ यसो भन्‍नुहोस्‌: ‘के तिमीसित मेरो रगतको नाता छैन र? आजदेखि योआबको सट्टा तिमी मेरो सेनापति हुनेछौ। यदि मैले त्यसो गरिनँ भने परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌।’”+ १४  यसरी तिनले यहुदाका सबै मानिसको मन जिते अनि सबै मानिसले एकजुट भएर राजालाई यस्तो खबर पठाए: “हजुर आफ्ना सबै सेवकलाई लिएर फर्कनुहोस्‌।” १५  त्यसैले राजा फर्केर यर्दन आइपुगे। यहुदाका मानिसहरू पनि राजालाई भेट्‌न र तिनलाई यर्दनपारि सँगै लैजान गिलगाल आए।+ १६  बाहुरिममा बस्ने बिन्यामिनी गेराका छोरा सिमि+ पनि राजा दाउदलाई भेट्‌न यहुदाका मानिसहरूसँगै हतारहतार आए। १७  उनीसित १ हजार बिन्यामिनी पनि आए। साउलको घरानाका सेवक सिबा+ पनि आफ्ना १५ जना छोरा र २० जना सेवकलाई लिएर राजाभन्दा अघि नै यर्दन आइपुगेका थिए। १८  राजाको घरानालाई नदीवारि ल्याउन अनि राजाले जे हुकुम दिन्छन्‌, त्यसअनुसार गर्न तिनी* जँघार* तरेर पारि गए। तर राजाले यर्दन तर्नै लाग्दा गेराका छोरा सिमिचाहिँ राजासामु घोप्टो परे। १९  उनले राजालाई भने: “हे मेरा प्रभु! मेरा महाराज! मलाई दोषी नठहराउनुहोस्‌; हजुर यरुसलेमबाट जानुभएको दिन मैले जुन गल्ती गरेँ, त्यो बिर्सिदिनुहोस्‌।+ त्यो कुरा आफ्नो मनमा नराख्नुहोस्‌। २०  किनकि हजुरको यस सेवकले आफ्नो पाप स्विकारेको छ। त्यसैले आज युसुफको सारा घरानाबाट मेरा प्रभु, मेरा महाराजलाई भेट्‌न म नै सबैभन्दा पहिला आएको छु।” २१  यो सुन्‍नेबित्तिकै जेरुयाहका+ छोरा अबिसैले+ भने: “सिमिले यहोवा परमेश्‍वरका अभिषिक्‍त जनलाई सरापेकोले के ऊ मारिनुपर्दैन र?”+ २२  तर दाउदले भने: “ए जेरुयाहका+ छोराहरू हो, तिमीहरूको यसमा के सरोकार? तिमीहरू किन मेरो विरुद्धमा जान खोज्दै छौ? आज म इस्राएलको राजा भएको छु, त्यसैले आजको दिन इस्राएलमा कसैको ज्यान लिनु उचित होला र?” २३  त्यसपछि राजाले सिमिलाई भने: “तिमी मर्नेछैनौ।” अनि राजाले उनीसित शपथ खाए।+ २४  साउलका नाति मपिबोसेत+ पनि राजालाई भेट्‌न आए। राजा सहरबाट निस्केको दिनदेखि तिनी सकुशल नफर्केको दिनसम्म मपिबोसेतले आफ्नो खुट्टा धोएका थिएनन्‌,* जुँगा काटेका थिएनन्‌ अनि लुगा पनि धोएका थिएनन्‌। २५  जब मपिबोसेत राजालाई भेट्‌न यरुसलेम* आए, तब राजाले उनलाई सोधे: “मपिबोसेत, तिमी किन मसित आएनौ?” २६  तब उनले राजालाई जवाफ दिए: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको यो सेवक+ कूँजो छ भनेर हजुरलाई थाहै छ।+ मैले मेरो सेवकलाई भनेको थिएँ: ‘मेरो गधामा काठी कसिदेऊ र म त्यसमा चढेर राजासित जान्छु।’ तर उसले मलाई झुक्क्यायो। २७  उसले मेरो विषयमा हजुरलाई भए नभएको कुरा बताएर मेरो बदनाम गऱ्‍यो।+ हे मेरा प्रभु! मेरा महाराज! हजुर साँचो परमेश्‍वरको स्वर्गदूतजस्तै हुनुहुन्छ। त्यसैले हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌। २८  मेरा प्रभु, मेरा महाराजले चाहनुभएको भए मेरो बुबाको सारा घरानालाई नाश गर्न सक्नुहुन्थ्यो। तैपनि हजुरले यस सेवकलाई हजुरको टेबुलमा सँगै खान दिनुभयो।+ त्यसैले राजासित अरू कुराको लागि बिन्ती गर्ने के मेरो कुनै हैसियत छ र?” २९  तर राजाले भने: “अब यस्तो कुरा नगर। तिमी र सिबाले जमिन आपसमा बाँडचुँड गर्नुपर्छ। यो नै मेरो निर्णय हो।”+ ३०  तब मपिबोसेतले राजालाई भने: “उसले नै सबै लैजाओस्‌ किनकि मेरा प्रभु, मेरा महाराज सकुशल महल फर्कनुभएको छ; यसैमा म खुसी छु।” ३१  अनि राजालाई यर्दन नदीसम्म पुऱ्‍याउन गिलादी बार्जिलै+ रोगेलिमबाट यर्दन आए। ३२  बार्जिलै निकै वृद्ध थिए, उनी ८० वर्ष पुगिसकेका थिए। राजा महनैममा छँदा उनले राजाको लागि खानेकुराको प्रबन्ध गरिदिएका थिए+ किनकि उनी असाध्यै धनी थिए। ३३  त्यसैले राजाले उनलाई भने: “यर्दन तरेर मसँगै यरुसलेम आउनुहोस्‌ र त्यहाँ तपाईँले मेरो टेबुलमा मसँगै खानुहुनेछ।”+ ३४  तर बार्जिलैले राजालाई भने: “म किन यरुसलेम जानु? अब म कति नै बाँच्छु होला र! ३५  म ८० वर्ष पुगिसकेँ।+ त्यसैले अब म असल र खराब छुट्ट्याउन सक्दिनँ। आफूले खाएको वा पिएको कुराको स्वाद पनि ठम्याउन सक्दिनँ। अनि गायक-गायिकाको सुरिलो स्वर पनि सुन्‍न सक्दिनँ।+ त्यसैले हे मेरा प्रभु! मेरा महाराज! म तपाईँसँग गएँ भने बेकारमा तपाईँको लागि बोझ मात्र हुनेछु। ३६  तपाईँको यस सेवकले राजालाई यहाँ यर्दनसम्म ल्याउने सम्मान पाएको छ, यो नै मेरो लागि पर्याप्त छ। त्यसैले राजाले मलाई यत्ति ठूलो इनाम दिनुपर्दैन। ३७  कृपया, अब तपाईँको यस सेवकलाई फर्कने अनुमति दिनुहोस्‌। म आफ्नै सहरमा मर्न चाहन्छु, जहाँ मेरो आमाबुबाको चिहान छ।+ बरु तपाईँको यो सेवक किमहामलाई सँगै लैजानुहोस्‌।+ हे मेरा प्रभु! मेरा महाराज! उसलाई तपाईँसँगै यर्दनपारि लैजानुहोस्‌ र तपाईँ उसको लागि जे गर्न चाहनुहुन्छ, त्यही गर्नुहोस्‌।” ३८  त्यसैले राजाले भने: “त्यसोभए किमहाम मसँगै पारि जानेछ। अनि तपाईँलाई जे ठीक लाग्छ, उसको निम्ति म त्यही गर्नेछु। तपाईँ मबाट जे चाहनुहुन्छ, म तपाईँको निम्ति त्यही गरिदिनेछु।” ३९  त्यसपछि सबै मानिसले यर्दन तर्न थाले। यर्दन तर्नुअघि राजाले बार्जिलैलाई म्वाइँ खाए+ र उनलाई आशिष्‌ दिए। त्यसपछि बार्जिलै आफ्नो घर फर्के। ४०  राजा यर्दन तरेर गिलगाल जाँदा+ किमहाम पनि तिनीसितै आए। यहुदाका सबै मानिस र इस्राएलका मानिसहरूमध्ये आधाले राजालाई यर्दनवारि ल्याए।+ ४१  तब इस्राएलका सबै मानिस राजाकहाँ आएर तिनलाई भने: “यहुदाका यी मानिसहरूले, हाम्रै दाजुभाइले किन हामीलाई थाहै नदिई राजा, राजाका घराना र उहाँका मानिसहरूलाई यर्दनवारि ल्याए?”+ ४२  यहुदाका सबै मानिसले इस्राएलका मानिसहरूलाई यस्तो जवाफ दिए: “किनभने उहाँ हाम्रो नातेदार हुनुहुन्छ।+ तपाईँहरू किन यसरी रिसाउनुहुन्छ? के हामीले राजाले दिनुभएको केही खाएका छौँ र? अथवा हामीले उहाँबाट कुनै उपहार लिएका छौँ र?” ४३  तर इस्राएलका मानिसहरूले यहुदाका मानिसहरूलाई भने: “हामीसित १० वटा कुल छन्‌। त्यसैले राजा दाउदमाथि तपाईँहरूको भन्दा हाम्रो बढी हक लाग्छ। तैपनि तपाईँहरूले किन हामीलाई तुच्छ ठान्‍नुभयो? राजालाई फर्काएर ल्याउन हामी नै पहिलो हुनुपर्ने थियो, होइन र?” तैपनि यस बहसमा इस्राएलका मानिसहरूले यहुदाका मानिसहरूलाई जित्न सकेनन्‌।

फुटनोटहरू

वा “उद्धारको।”
शा., “म तपाईँहरूकै हाड र मासु हुँ।”
वा सम्भवतः “तिनीहरू।”
पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।
यहाँ चलाइएको हिब्रू अभिव्यक्‍तिले खुट्टाको नङ नकाटेको कुरालाई पनि जनाएको हुन सक्छ।
वा सम्भवतः “यरुसलेमबाट।”