दोस्रो समुएल २४:१-२५

  • मानिसहरूको गणना लिएर दाउद पाप गर्छन्‌ (१-१४)

  • महामारीले गर्दा ७० हजार मानिस मर्छन्‌ (१५-१७)

  • दाउद एउटा वेदी बनाउँछन्‌ (१८-२५)

    • बलिदान चढाउन दाम तिर्नुपर्छ (२४)

२४  यहोवा परमेश्‍वरको क्रोध फेरि एक पटक इस्राएलीहरूमाथि दन्कियो,+ जब कसैले दाउदलाई यसो भनेर उक्सायो: “जाऊ, इस्राएल र यहुदाका मानिसहरूको+ गन्ती गर।”+ २  त्यसैले राजाले आफूसँगै भएका सेनापति योआबलाई भने:+ “मानिसहरूको सङ्‌ख्या कति छ, म जान्‍न चाहन्छु। त्यसैले दानदेखि बेर्सेबासम्म+ इस्राएलका सबै कुलको इलाकामा जाऊ र मानिसहरूको नाम दर्ता गर।” ३  तर योआबले राजालाई भने: “हे मेरा प्रभु! मेरा महाराज! तपाईँका परमेश्‍वर यहोवाले तपाईँका प्रजाको सङ्‌ख्या १०० गुणा बढाइदेऊन्‌ र तपाईँको आफ्नै आँखाले त्यो देख्न पाओस्‌। तर हे महाराज! तपाईँ किन यसो गर्न चाहनुहुन्छ?” ४  तर राजाले योआब र सेनाका अरू अफिसरहरूको कुरा सुनेनन्‌ अनि राजाको वचनसामु योआब र सेनाका अफिसरहरूको केही सीप लागेन। त्यसैले योआब र सेनाका अफिसरहरू इस्राएलका मानिसहरूको नाम दर्ता गर्न राजाको सामुन्‍नेबाट गए।+ ५  तिनीहरूले यर्दन तरे अनि अरोएरमा पाल टाँगे।+ तिनीहरूले बेँसीको* बीचमा भएको सहरको दायाँतिर* पाल टाँगे। त्यसपछि तिनीहरू गादीहरूको इलाकामा गए र त्यहाँबाट याजेर गए।+ ६  त्यसपछि तिनीहरू गिलाद र तहतिम-होदसीको इलाकामा गए।+ त्यहाँबाट तिनीहरू दान-यान गए र घुमेर सिदोन पुगे।+ ७  त्यसपछि तिनीहरू टायरको किल्लामा गए।+ त्यहाँबाट तिनीहरू हिव्वीहरूको+ र कनानीहरूको सबै सहरमा गए अनि अन्तमा यहुदाको नेगेबमा+ पर्ने बेर्सेबा आइपुगे।+ ८  यसरी तिनीहरू पूरै देश घुमे अनि नौ महिना, २० दिनपछि यरुसलेम आइपुगे। ९  तब योआबले राजालाई नाम दर्ता गरिएका मानिसहरूको सङ्‌ख्या बताइदिए। इस्राएलमा तरबार भिरेका ८ लाख योद्धा थिए भने यहुदामा ५ लाख योद्धा थिए।+ १०  तर मानिसहरूको गन्ती गरिसकेपछि दाउदको अन्तस्करणले* तिनलाई साह्रै घोच्न थाल्यो।+ त्यसपछि तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले हे यहोवा! बिन्ती छ, आफ्नो यो सेवकलाई क्षमा दिनुहोस्‌।+ मैले साह्रै मूर्ख काम गरेँ।”+ ११  जब दाउद बिहान उठे, तब यहोवा परमेश्‍वरको वचन भविष्यवक्‍ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्‍वरले गादलाई भन्‍नुभयो: १२  “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+ १३  त्यसैले गाद दाउदकहाँ आएर यसो भने, “तपाईँ के चाहनुहुन्छ: सात वर्षसम्म देशमा अनिकाल परोस्‌?+ अथवा तीन महिनासम्म तपाईँका शत्रुहरूले तपाईँलाई खेदून्‌ र तपाईँ तिनीहरूबाट भाग्नु परोस्‌?+ अथवा देशमा तीन दिनसम्म महामारी फैलियोस्‌?+ अब राम्ररी सोचविचार गर्नुहोस्‌ र जसले मलाई पठाउनुभयो, उहाँलाई म के जवाफ दिऊँ, त्यो बताउनुहोस्‌।” १४  तब दाउदले गादलाई भने: “म त साह्रै सङ्‌कटमा परेँ। बिन्ती छ, हामीलाई यहोवा परमेश्‍वरकै हातमा पर्न दिनुहोस्‌+ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्‌।”+ १५  त्यसपछि यहोवा परमेश्‍वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यो महामारी बिहानदेखि तोकिएको समयसम्मै फैलिरह्‍यो। त्यस महामारीले गर्दा दानदेखि बेर्सेबासम्म+ ७० हजार मानिस मरे।+ १६  जब स्वर्गदूतले यरुसलेमका मानिसहरूलाई नाश गर्न त्यसतर्फ आफ्नो हात बढाए, तब यहोवा परमेश्‍वर त्यो विपत्ति पठाएकोमा पछुताउनुभयो।*+ मानिसहरूलाई नाश गर्ने त्यस स्वर्गदूतलाई उहाँले भन्‍नुभयो: “बस्‌ भयो! अब आफ्नो हात बिसाऊ।” त्यसबेला यहोवा परमेश्‍वरका स्वर्गदूत यबुसी+ अरौनाको खलानजिकै थिए।+ १७  जब दाउदले मानिसहरूलाई नाश गरिरहेका त्यस स्वर्गदूतलाई देखे, तब तिनले यहोवा परमेश्‍वरलाई यसो भने: “पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ। बिचरा यी मानिसहरूको*+ के दोष छ र? बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्‌।”+ १८  त्यसैले त्यो दिन गाद दाउदकहाँ आए र यसो भने: “जानुहोस्‌, यबुसी अरौनाको खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउनुहोस्‌।”+ १९  तब यहोवा परमेश्‍वरले गादमार्फत आदेश दिनुभएअनुसारै दाउद त्यहाँ उक्लिए। २०  जब अरौनाले राजा र तिनका सेवकहरूलाई आफूतिर आइरहेको देखे, तब उनी तुरुन्तै गए र भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गरे। २१  अरौनाले भने: “हे मेरा प्रभु! मेरा महाराज! यस दासले हजुरको निम्ति के गरिदिएको चाहनुहुन्छ?” दाउदले भने: “मानिसहरूमाथि आइपरेको विपत्ति रोकियोस्‌ भनेर म तिम्रो खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउन चाहन्छु।+ त्यसैले तिमीसँग त्यो खला किन्‍न म यहाँ आएको हुँ।” २२  तर अरौनाले दाउदलाई भने: “हे मेरा प्रभु! मेरा महाराज! म हजुरलाई त्यो खला दिन्छु। अनि बलिदान चढाउन हजुरलाई जे चाहिन्छ, त्यो पनि लिनुहोस्‌। अग्निभेटी चढाउनका लागि यहाँ गाईवस्तु छन्‌ अनि दाउराको लागि दाइँ गर्ने दाँदे र जुवा पनि छ। २३  म यी सब कुरा राजालाई दिन चाहन्छु।” अरौनाले राजालाई अझै यसो भने: “हजुरका परमेश्‍वर यहोवाले हजुरलाई आशिष्‌ देऊन्‌।” २४  तर राजाले अरौनालाई भने: “होइन, म दाम तिरेर तिमीबाट यी कुराहरू किन्‍नेछु। म यहोवा मेरा परमेश्‍वरलाई सित्तैँमा पाएको कुराको अग्निभेटी चढाउनेछैनँ।” त्यसैले दाउदले ५० शेकेल* चाँदी तिरेर खला र गाईवस्तु किने।+ २५  तब दाउदले त्यहाँ यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। त्यसपछि यहोवा परमेश्‍वरले देशको खातिर गरिएको बिन्ती सुन्‍नुभयो+ र इस्राएलमा आइपरेको विपत्ति रोकियो।

फुटनोटहरू

^ वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
^ वा “दक्षिणतिर।”
^ वा “विवेकले।” शा., “हृदयले।”
^ वा “दुःखित हुनुभयो।”
^ शा., “भेडाहरूको।”
^ एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।