सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मारी—मरुभूमिकी पुरातन रानी

मारी—मरुभूमिकी पुरातन रानी

मारी—मरुभूमिकी पुरातन रानी

फ्रान्सेली पुरातत्त्वविद्‌ आन्द्रे पारो आफ्नो विगत यसरी सम्झिन्छन्‌, “सन्जोगवश हामीले प्राप्त गरेको सफलताको उपलक्ष्यमा त्यो रात साथीहरूसित रमाइलो गरेर आफ्नो सुत्ने कोठामा आइपुग्दा हर्षले मेरो मन गद्‌गद थियो।” सन्‌ १९३४ को जनवरी महिनामा सिरियाको युफ्रेटिसस्थित अबु केमलको सानो सहर नजिकै पर्ने टेल हारिरिमा पारो अनि तिनको टोलीले एउटा मूर्ति फेला पारे जसमा यस्तो अक्षर कुँदिएको थियो: “लम्गी-मारी, मारीका राजा, एनलीलका प्रधान पूजाहारी।” मूर्ति पत्ता लागेकोमा उनीहरू औधी हर्षित थिए।

बल्ल मारी सहर फेला परेको थियो! यस खोजबारे बाइबल विद्यार्थीहरूले चासो लिनुपर्ने कारण के छ?

चासो लिनुपर्ने कारण के छ?

मारी अस्तित्वमा थियो भन्‍ने कुरा पुरातन समयको पुस्तकका पदहरूबाट थाह लागे पनि त्यो सहर ठ्याक्क कहाँ पर्छ भन्‍ने कुराचाहिं पछिसम्म एउटा रहस्य बनेर रहेको थियो। सुमेरी शास्त्रीहरूका अनुसार मारी सहर राजघराना बसोबास गर्ने केन्द्र थियो र त्यहींबाट एकताका उनीहरूले सारा मेसोपोटामियामाथि शासन गरेको हुनुपर्छ। युफ्रेटिस नदीको किनारमा निर्मित यो मारी सहर, फारसको खाडीलाई अश्‍शूर, मेसोपोटामिया, आनाटोलिया र भूमध्यसागरको तटसित जोड्‌ने व्यापारिक मार्गहरूको सङ्‌गमस्थल पर्ने अनुकूल स्थानमा थियो। मेसोपोटामियामा एकदमै अभाव भएका कुराहरू; जस्तै: काठपात, धातु र ढुङ्‌गालगायत अन्य सरसामानहरू त्यही सहर भएर ढुवानी गरिन्थे। ती सामानहरू ढुवानी गरेबापत असुल हुने करले गर्दा मारी सहर निकै सम्पन्‍न भएको थियो। त्यसैकारण मारी सहरले त्यहाँको प्रान्तमाथि प्रभुत्व जमाउन सकेको थियो। तथापि, अकाडका सारगोनले सिरिया कब्जा गरेपछि त्यस प्रभुत्वको अन्त्य भयो।

सारगोन विजयी भएको लगभग ३०० वर्षपछि मारी सहरमा एकपछि अर्को सैन्य गभर्नरहरूले शासन गरे। उनीहरूको शासनकालमा केही हदसम्म भए पनि सहर फेरि संवृद्ध भयो। तथापि, त्यस सहरको अन्तिम शासक जिम्री-लिमको पालामा मारीले फेरि आफ्नो प्रतिष्ठा गुमाउन थाल्यो। जिम्री-लिमले एकपछि अर्को सैन्य विजय हासिल गर्नुका साथै सन्धीहरू गरेर अनि वैवाहिक सम्बन्ध गाँसेर आफ्नो साम्राज्यलाई सुदृढ पार्ने कोसिस नगरेका होइनन्‌। तर करिब सा.यु.पू. १७६० मा बेबिलोनका राजा हमुराबीले त्यस सहरलाई कब्जा गरेर पूरै ध्वस्त पारिदिए र “पुरातन संसारकै सबैभन्दा विकसित सभ्यताहरूमध्ये एउटा सभ्यता” अस्तित्वबाट बिलाएर गयो भनी पारोले वर्णन गरे।

हमुराबीका सेनाहरूले मारी सहर ध्वस्त पार्दा उनीहरूले अनजानमै वर्तमान समयका पुरातत्त्वविद्‌ तथा इतिहासकारहरूलाई ठूलो गुन लगाए। काँचो इँटाहरूको पर्खाल गर्ल्यामगुर्लुम भत्काउँदा उनीहरूले कुनै-कुनै ठाउँका भवनहरूलाई ५ मिटरसम्म पुरे, जसको कारण ती भवनहरू तत्काल ध्वस्त हुनबाट जोगिए। पुरातत्त्वविद्‌हरूले मन्दिर तथा दरबारका भग्नावशेषका साथसाथै पुरातन सभ्यताबारे प्रकाश पार्ने अनेकौं कलाकृति र हजारौं शिलालेख फेला पारेका छन्‌।

मारी सहरका भग्नावशेषहरूबारे हामीले चासो राख्नुपर्ने कारण के छ? कुलपिता अब्राहाम यस पृथ्वीमा छँदाको समयलाई विचार गर्नुहोस्‌। महाजलप्रलय भएको ३५२ वर्षपछि सा.यु.पू. २०१८ मा अब्राहामको जन्म भएको थियो। नूहको पुस्तादेखि गन्ती गर्दै जाने हो भने तिनी दसौं पुस्ताका थिए। परमेश्‍वरको आज्ञाअनुसार अब्राहाम आफ्नो गृहनगर ऊर छोडेर हारान गए। सा.यु.पू. १९४३ मा अब्राहाम ७५ वर्षको हुँदा तिनी हारान छोडेर कनानतिर लागे। इटालीका पुरातत्त्वविद्‌ पावलो मत्तिई यसो भन्छन्‌, “इतिहासको कालक्रमअनुसार मारी सहर अस्तित्वमा भएको बेला अब्राहाम ऊरदेखि [कनानको] यरूशलेम बसाइँ सरेका थिए।” त्यसकारण, मारी सहर पत्ता लाग्नुको महत्त्व छ किनकि यसले हामीलाई परमेश्‍वरको विश्‍वासी सेवक अब्राहाम बाँचेको संसारबारे कल्पना गर्न मदत दिन सक्छ। aउत्पत्ति ११:१०–१२:४.

भग्नावशेषहरूले के प्रकट गर्छन्‌?

मेसोपोटामियाका अन्य भागमा जस्तै मारीमा पनि धर्म मौलाएको थियो। देवीदेवताहरूको सेवा गर्नुलाई मानव कर्तव्यको रूपमा हेरिन्थ्यो। कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुअघि सधैं देवीदेवताको इच्छा बुझ्ने प्रयास गरिन्थ्यो। पुरातत्त्वविद्‌हरूले छवटा मन्दिरका अवशेष भेट्टाएका छन्‌ र यसमध्ये टेम्पल अफ लायन्स्‌ (कतिले यसलाई डागान, बाइबलमा उल्लिखित दागोनको मन्दिर पनि भनेका छन्‌) र प्रजनन्‌ शक्‍तिकी देवी इश्‍तारका साथै सूर्यदेव शामसका मन्दिरहरू समावेश छन्‌। सुरुमा त ती सबै मन्दिरमा एउटा-एउटा देवताको मूर्ति राखिएको थियो र मानिसहरू ती देवतालाई बलिहरू चढाउनुका साथै प्रार्थना गर्थे। भक्‍तजनहरूले मुस्कुराइरहेको आफ्नै मूर्ति बनाएर प्रार्थना गर्दा त्यसलाई मन्दिरका बेन्चहरूमा राख्थे र ती मूर्तिहरूलाई त्यसरी राख्दा आफूले नै उपासना गरिरहेको हुनेछ भन्ठान्थे। पारोले यसो भने: “त्यो मूर्ति अचेल क्याथोलिक उपासनामा चलाइने मैनबत्तीजस्तै थियो तर मैनबत्तीले भन्दा त्यस मूर्तिले भक्‍तजनको सट्टामा धेरै बढी काम गर्थ्यो।”

टेल हारिरिका भग्नावशेषहरूमा फेला परेको सबैभन्दा अद्‌भुत कुरा त यसका अन्तिम शासक राजा जिम्री-लिमको नाउँले चिनिने भव्य दरबारको परिसरका अवशेषहरू थिए। फ्रान्सेली पुरातत्त्वविद्‌ ल्वी-ह्‍युग भानसनले यसलाई “पुरातन पूर्वीय वास्तुकलाको रत्न” भनी वर्णन गरे। छ एकडभन्दा ठूलो जमिनमा निर्मित त्यस दरबारमा लगभग ३०० वटा कोठा तथा चोक थिए। पुरातन समयमै पनि यस दरबारलाई संसारकै एक आश्‍चर्य मानिन्थ्यो। एन्सियन्ट इराक नामक आफ्नो पुस्तकमा जोर्झ रु यस्तो टिप्पणी गर्छन्‌, “यो दरबार यत्ति प्रख्यात थियो कि सिरियाको समुद्रीतटस्थित उगारिटका राजाले ६०० किलोमिटर [३७० माइल] टाढाको ‘जिम्री-लिमको घर’ हेर्नकै लागि मात्र आफ्नो छोरालाई पठाउन हिचकिचाएनन्‌।”

फराकिलो चोक पुग्नुभन्दा अघि आगन्तुकहरू दुईवटा धरहराबीचको ढोकाबाट भव्य दरबारभित्र प्रवेश गर्न सक्थे। अलि अग्लो ठाउँमा गद्दीनसिन मारीका अन्तिम राजा जिम्री-लिमले सैन्य, व्यापारिक तथा कुटनीतिक मामिलाहरू सँभाल्नुका साथै फैसलाहरू सुनाउँथे र आगन्तुक तथा राजदूतावासका प्रतिनिधिहरूलाई स्वागत गर्थे। पाहुनाहरूका लागि बस्ने ठाउँको प्रबन्ध गरिएको हुन्थ्यो र भोजमा नियमित रूपमा खुवाएर, पियाएर राजाले उनीहरूको खूब सत्कार गर्थे। खानेकुराहरूमा पोलेको, सेकेको अथवा उसिनेको बीफ, खसीको मासु, हरिण, माछा र कुखुरा हुन्थे अनि ती सबै मसलेदार लसुनको सस र विभिन्‍न किसिमका तरकारी तथा चीजसँग टक्राइन्थ्यो। भोजनपछि खाइने मिठाई अथवा फलफूलमा चाहिं ताजा, सुकाएको अथवा चिनी दलेको फलफूल र थरीथरीको आकारमा बनाइएका केकहरू हुन्थे। तिर्खा मेट्‌न पाहुनाहरूलाई बियर अथवा दाखमद्य टक्राइन्थ्यो।

दरबारमा सरसफाइबारे पनि ध्यान पुऱ्‍याइएको थियो। बाथरूमहरूमा टेरा-कोट्टा टब र सिट नभएका ट्‌वाइलेटहरू थिए। यी कोठाहरूको भुइँ अनि भित्ताको तल्लो भागलाई अलकत्राले लिप्सेर सुरक्षित गरिएको थियो। फोहोर पानी इँटाले बनेका ढलहरूबाट बग्थे र अलकत्राको पत्र लगाइएको माटोका वाटरप्रुफ पाइपहरूले करिब ३,५०० वर्षपछि पनि अझै काम दिइरहेका छन्‌। शाही परिवारका उप-पत्नीहरूमध्ये तीन जनालाई घातक रोगले समातेमा निकै कडा निर्देशन दिइन्थ्यो। यस्तो बिरामी आइमाईलाई छुट्याएर अलग्गै राख्नुपर्थ्यो। “तिनको कपबाट कसैले पिउनु हुँदैनथ्यो, तिनको टेबुलमा बसेर खानु हुँदैनथ्यो र तिनी बसेको ठाउँमा बस्नु हुँदैनथ्यो।”

अभिलेखहरूबाट हामी के थाह पाउन सक्छौं?

पारो अनि तिनको टोलीले अक्काडीयन भाषामा लेखिएको लगभग २०,००० कीलाक्षर शिलाहरू फेला पारे। ती शिलाहरूमा अक्षर तथा प्रशासकीय तथा अर्थतन्त्रसित सम्बन्धित विवरणहरू थिए। यी अभिलेखहरूमध्ये एक तिहाइ मात्र प्रकाशित भएका छन्‌। यद्यपि, ती अभिलेखहरूमा जम्माजम्मी २८ वटा खण्ड छन्‌। तिनीहरूको कस्तो महत्त्व छ? मारी आक्योलोजिकल मिसनका निर्देशक झाँ-क्लड मार्गरोन यसो भन्छन्‌, “मारीका अभिलेखहरू फेला पर्नुभन्दा अघि सा.यु.पू. २००० सम्म हामीलाई मेसोपोटामिया र सिरियाको इतिहास, परम्परा अनि दैनिक जीवनबारे प्रायः केही थाह थिएन। धन्‍न, यी कीलाक्षर शिलाहरूले गर्दा इतिहासको त्यस कालखण्डबारे सिङ्‌गो अध्याय लेखिसिद्ध्याउन सम्भव भएको छ।” पारोले टिप्पणी गरेझैं ती अभिलेखहरूले “अभिलेखहरूमा बताइएका मानिसहरू र कुलपिताहरूको पालाबारे पुरानो नियममा बताइएका मानिसहरूबीच अचम्मलाग्दो समानता प्रकट गर्छन्‌।”

मारी सहरमा फेला परेका कीलाक्षर शिलाहरूले बाइबलका कुनै-कुनै पदहरूमाथि पनि प्रकाश पार्छन्‌। उदाहरणका लागि, ती शिलाहरूले शत्रुका पत्नी तथा उप-पत्नीहरूलाई आफ्नो बनाउनु “त्यतिखेरको शाही आचरणको एउटा मूलभूत सत्य” थियो भन्‍ने कुरा सङ्‌केत गर्छ। विश्‍वासघाती अहीतोपेलले राजा दाऊदका छोरा अब्शालोमलाई आफ्नो बुबाका उप-पत्नीहरूसित सुत्ने सल्लाह दिनु कुनै नौलो विचार थिएन।—२ शमूएल १६:२१, २२.

सन्‌ १९३३ देखि यता टेल हारिरिको जम्मा ४१ चोटि पुरातात्त्विक उत्खननकार्य भइसकेको छ। तथापि, अहिलेसम्म मारी सहरको २७० एकड जमिनमध्ये २० एकडको मात्रै अध्ययन-अनुसन्धान गर्न सकिएको छ। मरुभूमिकी पुरातन रानी मारीमा अझ थुप्रै अद्‌भुत कुराहरू पत्ता लाग्न सक्ने सम्भावना छ।

[फुटनोट]

a सा.यु.पू. ६०७ मा यरूशलेमको विनाशपछि यहूदीहरूलाई बेबिलोनमा निर्वासनमा लगिंदा उनीहरूलाई मारीका भग्नावशेषहरू हुँदै लगिएको हुन सक्ने धेरै सम्भावना पनि छ।

[पृष्ठ १०-मा भएको नक्सा

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

फारसको खाडी

ऊर

मेसोपोटामिया

युफ्रेटिस

मारी

अश्‍शूर

हारान

अनाटोलिया

कनान

यरूशलेम

भूमध्यसागर (महासागर)

[पृष्ठ ११-मा भएको चित्र]

यो कीलाक्षर शिलालेखमा मारीका राजा इहादुन-लिमले आफ्नो निर्माणकार्यबारे घमन्ड गरेका छन्‌

[पृष्ठ ११-मा भएको चित्र]

लाम्गी-मारीको यो मूर्ति पत्ता लागेकोले गर्दा मारी सहरको पहिचान गर्न सजिलो भयो

[पृष्ठ १२-मा भएको चित्र]

मारीका सुपरिवेक्षक इबिहेल-द्वितीय प्रार्थना गर्दै

[पृष्ठ १२-मा भएको चित्र]

दरबारभित्र भएको पोडियम, जहाँ देवीहरूको मूर्तिलाई राखिएको हुनुपर्छ

[पृष्ठ १२-मा भएको चित्र]

मारीका भग्नावशेषहरू, यसबाट काँचो इँटाहरूले निर्माण गरिएको देखिन्छ

[पृष्ठ १२-मा भएको चित्र]

दरबारको बाथरूम

[पृष्ठ १३-मा भएको चित्र]

मारीमाथि विजय गर्ने नाराम-सिनको विजयको शिला

[पृष्ठ १३-मा भएको चित्र]

दरबारका भग्नावशेषहरूमा लगभग २०,००० कीलाक्षर शिलालेख फेलापऱ्‍यो

[पृष्ठ १०-मा भएको चित्रको स्रोत]

© Mission archéologique française de Tell Hariri - Mari (Syrie)

[पृष्ठ ११-मा भएको चित्रको स्रोत]

Document: Musée du Louvre, Paris; statue: © Mission archéologique française de Tell Hariri - Mari (Syrie)

[पृष्ठ १२-मा भएको चित्रको स्रोत]

Statue: Musée du Louvre, Paris; podium and bathroom: © Mission archéologique française de Tell Hariri - Mari (Syrie)

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Victory stele: Musée du Louvre, Paris; palace ruins: © Mission archéologique française de Tell Hariri - Mari (Syrie)