दोस्रो समुएल १६:१-२३
१६ दाउद डाँडाको टाकुरा पार गरेर अलि पर मात्र के पुगेका थिए,+ मपिबोसेतका+ सेवक सिबा+ पनि तिनलाई भेट्न त्यहीँ आइपुगे। उनले २०० वटा रोटी, किसमिसको १०० वटा रोटी र ग्रीष्म ऋतुका फलहरूको* १०० वटा रोटी दुई वटा गधामा लादेर ल्याएका थिए। तिनले एउटा ठूलो घ्याम्पोमा रक्सी पनि ल्याएका थिए।+
२ यो देखेर राजाले सिबालाई सोधे: “तिमीले यी सबै कुरा किन ल्यायौ?” सिबाले जवाफ दिए: “राजाको घरानालाई यात्रा गर्न सजिलो होस् भनेर मैले यी गधाहरू ल्याएको हुँ। अनि यी रोटीहरू र ग्रीष्म ऋतुका फलहरू हजुरसित यात्रा गरिरहेका जवान मानिसहरूको लागि हो। यो रक्सीचाहिँ निर्जनभूमिमा यात्रा गर्दा थाक्नेहरूका लागि हो।”+
३ अनि राजाले सोधे: “तिम्रा मालिकका छोरा* कहाँ छन्?”+ तब सिबाले राजालाई जवाफ दिए: “उहाँ यरुसलेममै हुनुहुन्छ। उहाँले मलाई यसो भन्नुभयो: ‘आज इस्राएलको घरानाले मेरो बुबाको राज्य मलाई फिर्ता दिनेछ।’”+
४ अनि राजाले सिबालाई भने: “हेर, मपिबोसेतको अधिकारमा भएको सबै कुरा आज म तिमीलाई दिन्छु।”+ सिबाले भने: “हे मेरा प्रभु, मेरा महाराज! म हजुरसामु शिर झुकाउँछु। मैले यसरी नै हजुरको कृपा पाइरहन सकूँ।”+
५ जब राजा दाउद बाहुरिम आइपुगे, तब साउलको घरानाका सिमि+ नाम गरेको एक जना मानिस राजालाई सराप्दै त्यहाँ आयो।+ ऊ गेराको छोरा थियो।
६ उसले राजा दाउदलाई, राजासँग आएका सबै मानिसलाई, राजाका सेवकहरूलाई अनि राजाको दायाँबायाँ भएका वीर योद्धाहरूलाई ढुङ्गाले हानिरहेको थियो।
७ सिमिले राजालाई सराप्दै यसो भन्न थाल्यो: “जा! यहाँबाट गइहाल्! तँ हत्यारा होस्! निकम्मा होस्!
८ तैँले साउलको घरानालाई सखाप पारिस् र उहाँको ठाउँमा आफैलाई राजा बनाइस्। त्यसैले यहोवा परमेश्वरले तँसित उनीहरू सबैको रगतको बदला लिनुभएको छ। यहोवा परमेश्वरले तेरो राज्य तेरो छोरा अब्सालोमको हातमा दिनुभएको छ। तँमाथि ठूलो विपत्ति आइपरेको छ किनकि तँ हत्यारा होस्।”+
९ अनि जेरुयाहका+ छोरा अबिसैले राजालाई भने: “यो मरेको कुकुरले+ मेरा प्रभु, मेरा महाराजलाई सराप्दै छ।+ यसको यत्रो हिम्मत! बिन्ती छ, मलाई जान दिनुहोस्; म त्यसको टाउको उडाइदिन्छु।”+
१० तर राजाले भने: “ए जेरुयाहका+ छोराहरू हो, मेरो मामिलामा तिमीहरू किन हात हाल्छौ? उसलाई सराप्न देओ+ किनकि यहोवा परमेश्वरले नै उसलाई ‘दाउदलाई सराप’ भन्नुभएको हो।+ त्यसैले कसले उसलाई ‘तिमीले यो के गरेको’ भन्न सक्छ र?”
११ त्यसपछि दाउदले अबिसै र आफ्ना सबै सेवकलाई भने: “आज मेरो आफ्नै छोराले, मेरै रगतले मेरो ज्यान लिन खोज्दै छ।+ यो बिन्यामिनीबाट+ त झन् के आस गर्न सक्छु र? उसलाई छोडिदेओ, उसले मलाई सरापोस् किनकि यहोवा परमेश्वरले नै उसलाई यसो गर्न लगाउनुभएको हो।
१२ सायद यहोवा परमेश्वरले मेरो दुःख देख्नुहुनेछ+ र आज उसले मलाई दिएको सरापको साटो यहोवा परमेश्वरले मलाई आशिष् दिनुहुनेछ।”+
१३ त्यसपछि दाउद र तिनका मानिसहरू तलतिर झरे। अनि सिमिचाहिँ डाँडामा दाउदको छेउछेउ हुँदै तिनलाई सराप्दै,+ ढुङ्गा हान्दै र धुलो फ्याँक्दै हिँड्यो।
१४ अन्तमा राजा र तिनीसित गएका सबै मानिस आफ्नो गन्तव्यमा आइपुगे। तिनीहरू सबै लखतरान भएका थिए। त्यसैले तिनीहरूले त्यहाँ थकाइ मारे।
१५ यसैबीच अब्सालोम र इस्राएलका सबै मानिस यरुसलेम आइपुगे। अहितोपेल+ पनि अब्सालोमसँगै थिए।
१६ जब दाउदका मित्र* अरकी+ हुसै+ अब्सालोमकहाँ आइपुगे, तब तिनले अब्सालोमलाई भने: “राजा दीर्घायु होऊन्!+ राजा दीर्घायु होऊन्!”
१७ तब अब्सालोमले हुसैलाई भने: “तपाईँले आफ्नो मित्रलाई अटल प्रेम देखाएको यही हो? तपाईँ किन आफ्नो मित्रसँग जानुभएन?”
१८ अनि हुसैले अब्सालोमलाई भने: “म त यहोवा परमेश्वरले, यी मानिसहरूले र इस्राएलका सारा मानिसले रोजेको व्यक्तिलाई नै साथ दिनेछु। म उहाँसँगै रहनेछु।
१९ म तपाईँलाई फेरि पनि भन्छु, आखिर मैले कसको सेवा गर्नुपर्छ? उहाँकै छोराको होइन र? जसरी मैले तपाईँको बुबाको सेवा गरेँ, त्यसरी नै म तपाईँको पनि सेवा गर्नेछु।”+
२० त्यसपछि अब्सालोमले अहितोपेललाई भने: “अब हामीले के गर्नुपर्ला? मलाई सल्लाह दिनुहोस्।”+
२१ तब अहितोपेलले अब्सालोमलाई भने: “तपाईँको बुबाका उपपत्नीहरूसित सम्भोग गर्नुहोस्,+ जसलाई उहाँले महलको रेखदेख गर्न यहीँ छोडेर जानुभएको छ।+ तब तपाईँले यस्तो काम गरेर आफ्नो बुबाको अपमान गर्नुभएको छ भनी सारा इस्राएलले थाह पाउनेछ अनि तपाईँलाई समर्थन गर्नेहरूको हौसला अझ बढ्नेछ।”
२२ त्यसैले तिनीहरूले कौसीमा अब्सालोमको निम्ति पाल टाँगे+ अनि अब्सालोमले सारा इस्राएलीसामु+ आफ्नो बुबाका उपपत्नीहरूसित सम्भोग गरे।+
२३ त्यस समयमा अहितोपेलको+ सल्लाहलाई साँचो परमेश्वरबाटै आएको सल्लाहको रूपमा हेरिन्थ्यो। त्यसैले दाउद र अब्सालोम दुवैले अहितोपेलले दिएको हरेक सल्लाहको कदर गर्थे।