दोस्रो समुएल १२:१-३१

  • नातान दाउदलाई हप्काउँछन्‌ (१-१५क)

  • बेतसेबाको छोरा मर्छ (१५ख-२३)

  • बेतसेबा सुलेमानलाई जन्माउँछिन्‌ (२४, २५)

  • अम्मोनीहरूको सहर राब्बाहलाई कब्जा गरिन्छ (२६-३१)

१२  त्यसैले यहोवा परमेश्‍वरले नातानलाई दाउदकहाँ पठाउनुभयो।+ दाउदकहाँ आएर नातानले यसो भने:+ “एउटा सहरमा दुई जना मानिस थिए। एक जना धनी र अर्कोचाहिँ गरिब थियो। २  धनी मानिससित थुप्रै भेडाबाख्रा र गाईवस्तु थियो।+ ३  तर गरिब मानिससित भने उसले किनेको एउटा भेडाको पाठीबाहेक अरू केही थिएन।+ उसले त्यस पाठीको निकै ख्याल राख्थ्यो। त्यो पाठी उसको घरमा उसका छोराहरूसँगै हुर्की। उसले आफूसँग भएको थोरै खानेकुराबाट त्यसलाई खुवाउँथ्यो, आफ्नै कचौराबाट पियाउँथ्यो अनि आफ्नो काखमा सुताउँथ्यो। ऊ त्यसलाई आफ्नी छोरीजस्तै ठान्थ्यो। ४  एकदिन धनी मानिसको घरमा एक जना पाहुना आयो। तर आफूकहाँ आएको पाहुनाको लागि भोजन तयार पार्न उसले आफूसँग भएको भेडाबाख्रा र गाईवस्तुबाट कुनै जनावर काटेन। बरु उसले त्यस गरिब मानिसको पाठी ल्यायो र आफूकहाँ आएको पाहुनालाई त्यसको मासु टक्य्रायो।”+ ५  यो सुनेर दाउद त्यस धनी मानिससित साह्रै रिसाए र तिनले नातानलाई भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु,+ यस्तो काम गर्ने मानिस मारिनै पर्छ! ६  यस्तो निर्दयी काम गरेको हुनाले उसले त्यस पाठीको क्षतिपूर्तिस्वरूप चार वटा पाठी दिनुपर्नेछ।”+ ७  तब नातानले दाउदलाई भने: “त्यो मानिस तपाईँ नै हो! इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘मैले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गरेँ+ र तिमीलाई साउलको हातबाट जोगाएँ।+ ८  मैले तिमीलाई तिम्रा मालिकको घराना र तिम्रा मालिकका पत्नीहरू दिएँ।+ अनि तिमीलाई सारा इस्राएल र यहुदाको घराना पनि दिएँ।+ तिमीलाई त्यतिले पनि नपुगेको भए म तिमीलाई अझ धेरै थोक दिने थिएँ।+ ९  तर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्‍यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+ १०  हित्ती उरियाहकी पत्नीलाई आफ्नी पत्नी बनाएर तिमीले मलाई तुच्छ सम्झेको हुनाले तिम्रो घरानाले तरबारबाट कहिल्यै विश्राम पाउनेछैन।’+ ११  यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+ १२  तिमीले जे गऱ्‍यौ, त्यो गुप्तमा गरेका थियौ।+ तर म सारा इस्राएलले देख्नेगरि दिउँसै त्यसो गर्न लगाउनेछु।’” १३  त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्‍वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्‍वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+ १४  तर भर्खरै जन्मेको तपाईँको छोरो भने पक्कै मर्नेछ किनकि यस्तो काम गरेर तपाईँले यहोवा परमेश्‍वरको घोर अनादर गर्नुभएको छ।” १५  तब नातान आफ्नो घर गए। उरियाहकी पत्नीले दाउदबाट जन्माएको छोरालाई यहोवा परमेश्‍वरले बिरामी बनाइदिनुभयो। १६  दाउदले त्यस बालकको खातिर साँचो परमेश्‍वरलाई बिन्ती चढाए। दाउद उपवास बस्न थाले। तिनी आफ्नो कोठाभित्र जान्थे र रातभरि भुईँमा पस्रिरहन्थे।+ १७  त्यसैले तिनको घरका मुखियाहरूले तिनीकहाँ आएर तिनलाई उठ्‌न मनाउँथे। तर तिनी उठ्‌न मान्दैनथे र उनीहरूसित खान पनि इन्कार गर्थे। १८  सातौँ दिनमा बालक मऱ्‍यो। तर दाउदका नोकरचाकर तिनलाई यो खबर दिन डराए। तिनीहरूले भने: “बालक जिउँदो छँदा हामीले उहाँसित कुरा गऱ्‍यौँ तर उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब बालक मरेको खबर हामी कसरी उहाँलाई दिन सक्छौँ? यो कुरा सुनेर कतै उहाँले आफैलाई हानि पुऱ्‍याउनुहुने पो हो कि?” १९  जब दाउदले आफ्ना नोकरचाकरले एकअर्कासित खासखुस गरिरहेको देखे, तब तिनले बालक मरेछ भनी बुझे। तिनले आफ्ना नोकरचाकरलाई सोधे: “बालक मऱ्‍यो?” उनीहरूले जवाफ दिए: “हजुर, बालक मऱ्‍यो।” २०  तब दाउद भुईँबाट उठे। तिनले नुहाए, तेल घसे,+ कपडा फेरे अनि यहोवा परमेश्‍वरको पालमा* गएर+ भुईँमा घोप्टो परी दण्डवत्‌ गरे। त्यसपछि तिनी आफ्नो महलमा फर्के र भोजन ल्याउन हुकुम गरे। अनि तिनले भोजन गरे। २१  तिनका नोकरचाकरले तिनलाई सोधे: “तपाईँले किन यसो गर्नुभयो? बालक जीवितै छँदा तपाईँ उपवास बस्नुभयो र रोइरहनुभयो। तर बालक मर्नेबित्तिकै तपाईँ उठ्‌नुभयो र भोजन गर्नुभयो।” २२  तिनले जवाफ दिए: “बालक जिउँदो छँदा म उपवास बसेँ + र रोइरहेँ किनकि मैले सोचेँ, ‘सायद यहोवा परमेश्‍वरले ममाथि दया गर्नुहोला र बालकलाई जीवितै राख्नुहोला।’+ २३  तर बालक मरिसकेपछि म किन उपवास बसूँ? के मैले उसलाई फर्काएर ल्याउन सक्छु र?+ म मरेपछि उसकहाँ जानेछु+ तर ऊ मकहाँ फर्केर आउनेछैन।”+ २४  त्यसपछि दाउदले आफ्नी पत्नी बेतसेबालाई सान्त्वना दिए।+ तिनी बेतसेबाकहाँ गए र उनीसित सुते। केही समयपछि उनले एउटा छोरो जन्माइन्‌ र उसको नाम सुलेमान* राखियो।+ यहोवा परमेश्‍वर उसलाई माया गर्नुहुन्थ्यो।+ २५  उहाँले भविष्यवक्‍ता नातानमार्फत त्यस बालकको नाम यददियाह* राख्नू भनी सन्देश पठाउनुभयो+ किनकि यहोवा परमेश्‍वर उसलाई माया गर्नुहुन्थ्यो। २६  योआबले अम्मोनीहरूको+ सहर राब्बाहविरुद्ध+ आफ्नो लडाइँ जारी राखे र त्यस शाही सहरलाई कब्जा गरे।+ २७  त्यसैले योआबले सन्देशवाहकहरूमार्फत दाउदकहाँ यो खबर पठाए: “मैले पानीको* सहर राब्बाहलाई+ आक्रमण गरेर कब्जा गरेको छु। २८  त्यसैले अब बाँकी सेना जम्मा गरेर आउनुहोस्‌ र यस सहरलाई घेरा हालेर कब्जा गर्नुहोस्‌। नत्र त म यसलाई कब्जा गर्नेछु र जितको श्रेय मलाई जानेछ।” २९  त्यसैले दाउद आफ्नो पूरै सेना जम्मा गरेर राब्बाह गए अनि त्यसलाई आक्रमण गरेर कब्जा गरे। ३०  त्यसपछि तिनले मल्कामको* टाउकोबाट मुकुट झिके। त्यो मुकुट एक टालेन्ट* सुनले बनेको थियो र त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+ ३१  त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्‌गा काट्‌ने काममा, फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा र इँटा बनाउने काममा लगाए। अम्मोनीहरूका सबै सहरमा तिनले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के।

फुटनोटहरू

शा., “उहाँको वचनलाई।”
शा., “घरमा।”
यो नाम “शान्ति” अर्थ दिने हिब्रू शब्दबाट लिइएको हो।
यसको अर्थ हो, “याहको प्यारो।”
यसले राब्बाहको जलस्रोतलाई जनाएको हुन सक्छ।
यसले अम्मोनीहरूको एउटा देवतालाई जनाएको हुन सक्छ। अन्य ठाउँहरूमा यसलाई मोलेक वा मिल्कोम पनि भनिएको छ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।