सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌ र उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउनुहोस्‌

परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌ र उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउनुहोस्‌

“कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले [परमेश्‍वरले] आफ्नै कसम खानुभयो।”—हिब्रू ६:१३.

१. यहोवाको प्रतिज्ञा र त्रुटिपूर्ण मानिसहरूको प्रतिज्ञाबीच कस्तो भिन्‍नता छ?

 यहोवा “सत्य परमेश्‍वर” हुनुहुन्छ। (भज. ३१:५) त्रुटिपूर्ण मानिसले आफूले भनेको एक-एक कुरा पूरा गर्दैन तर “परमेश्‍वरले झूट बोल्न असम्भव” छ। (हिब्रू ६:१८; गन्ती २३:१९ पढ्‌नुहोस्‌) उहाँले मानिसजातिको फाइदाको लागि गर्नुभएका प्रतिज्ञाहरू सधैं पूरा हुन्छन्‌। उदाहरणको लागि, परमेश्‍वरले सृष्टिका प्रत्येक दिनको सुरुमा आफूले सृष्टि गर्ने कुराहरूबारे प्रतिज्ञा गर्नुभयो। अनि उहाँले आफ्नो प्रतिज्ञाबमोजिमै गर्नुभयो। तर यी २४ घण्टे दिन भने थिएनन्‌। सृष्टिको छैटौं दिनमा “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्प. १:६, ७, ३०, ३१.

२. परमेश्‍वरको विश्राम-दिन के हो? उहाँले किन “त्यसलाई पवित्र तुल्याउनुभयो?”

आफूले गरेका सृष्टिका कामहरूलाई फर्केर हेरेपछि यहोवा परमेश्‍वरले सातौं दिन सुरु भएको घोषणा गर्नुभयो। यो पनि २४ घण्टे दिन थिएन; लामो समयावधि थियो र त्यस समयावधिमा पृथ्वीमा अन्य चिजबीज सृष्टि गर्नबाट परमेश्‍वरले आराम लिनुभयो। (उत्प. २:२) परमेश्‍वरको विश्राम-दिन अझै सिद्धिएको छैन। (हिब्रू ४:९, १०) यो ठ्याक्कै कहिले सुरु भयो भनेर बाइबलमा बताइएको छैन। आदमकी पत्नी हव्वा सृष्टि गरेको केही समयपछि अर्थात्‌ लगभग ६,००० वर्षअघि यो समय सुरु भयो। येशू ख्रीष्टको हजार वर्षीय शासन चाँडै सुरु हुनेछ र परमेश्‍वरले पृथ्वीको लागि राख्नुभएको उद्देश्‍य त्यतिबेला पूरा गर्नुहुनेछ। पृथ्वी प्रमोदवन बनेको र त्रुटिरहित मानिसहरूले भरिएको परमेश्‍वर चाहनुहुन्छ। (उत्प. १:२७, २८; प्रका. २०:६) आफ्नो भविष्य यस्तो आनन्दित हुनेछ भन्‍ने कुरामा के तपाईं ढुक्क हुन सक्नुहुन्छ? पक्कै सक्नुहुन्छ! किनकि “परमेश्‍वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो।” यसो गर्नु भनेको जस्तोसुकै समस्या आइपरे तापनि परमेश्‍वरले आफ्नो विश्राम-दिनको अन्तसम्ममा सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्‍ने ग्यारेन्टी थियो।—उत्प. २:३.

३. (क) परमेश्‍वरको विश्राम-दिन सुरु भएपछि के भयो? (ख) विद्रोह साम्य पार्ने विषयमा यहोवाले के भन्‍नुभयो?

तर परमेश्‍वरको विश्राम-दिन सुरु भएपछि विद्रोह भयो। सैतान जो सुरुमा परमेश्‍वरको दूत थियो, त्यसले परमेश्‍वरको होइन, आफ्नो उपासना खोज्यो। त्यसले पहिलो झूट बोल्यो र हव्वालाई बहकायो। यसले गर्दा तिनी यहोवाप्रति अनाज्ञाकारी भइन्‌। (१ तिमो. २:१४) पछि हव्वाले आफ्नो पतिलाई पनि त्यस विद्रोहमा सामेल गराइन्‌। (उत्प. ३:१-६) यहोवाको सत्यतामाथि त्यस विद्रोहले जतिको ठूलो प्रश्‍न अरू केही कुराले खडा गरेको छैन। तैपनि आफ्नो उद्देश्‍य पूरा हुनेछ भन्‍ने कुराको प्रमाण दिन परमेश्‍वरले शपथ खान आवश्‍यक ठान्‍नुभएन। बरु समयको दौडान स्पष्ट हुने एउटा प्रतिज्ञा गर्नुभयो। त्यो विद्रोह साम्य पार्ने विषयमा उहाँले यसो भन्‍नुभयो: “तेरो [अर्थात्‌ सैतान] र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले [अर्थात्‌ प्रतिज्ञा गरिएको सन्तानले] तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।”—उत्प. ३:१५; प्रका. १२:९.

शपथ—उपयोगी कानुनी माध्यम

४, ५. अब्राहामले कहिलेकाहीं कुन कानुनी माध्यमको प्रयोग गरे?

मानव इतिहासको सुरुतिर, कुनै कुरा साँचो हो कि होइन भनेर कसम खानु कहिल्यै आवश्‍यक परेन होला। परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको अनुकरण गर्ने त्रुटिरहित सृष्टिले शपथ खानु पर्दैन; तिनीहरू सधैं सत्य बोल्छन्‌ र आपसमा पूर्ण भरोसा गर्छन्‌। तर पहिलो मानव दम्पतीले पाप गरेर त्रुटिपूर्ण भएपछि झूटो बोल्नु मानिसहरूको लागि सामान्य कुरा हुन पुग्यो। त्यसैले कुनै कुरा साँचो हो भनेर प्रमाणित गर्न शपथ खानु आवश्‍यक भयो।

कुलपिता अब्राहामसित सम्बन्धित कम्तीमा तीनवटा घटनामा कानुनी माध्यमको रूपमा शपथ खाएको विवरण पाइन्छ। (उत्प. २१:२२-२४; २४:२-४, ९) उदाहरणको लागि, एलामका राजा र उनका मित्रहरूलाई पराजित गरेर अब्राहाम फर्कंदै थिए। शालेम र सदोमका राजा तिनलाई भेट गर्न आए। शालेमका राजा मल्कीसेदेक “सर्वोच्च परमेश्‍वरका पूजाहारी” पनि थिए। उनले अब्राहामलाई आशीर्वाद दिए र शत्रुहरूलाई अब्राहामको हातमा सुम्पिदिएकोमा परमेश्‍वरको प्रशंसा गरे। (उत्प. १४:१७-२०) आफ्ना मानिसहरूलाई शत्रुहरूको हातबाट बचाएकोमा सदोमका राजाले उपहार दिन खोज्दा अब्राहामले यस्तो शपथ खाए: “स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्‍वरमा मैले यसरी किरिया हालेको छु, एउटा धागो अथवा जुत्ताको फित्ता वा तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईं भन्‍नुहुनेछ।”—उत्प. १४:२१-२३.

अब्राहामसित यहोवाको प्रतिज्ञा

६. (क) अब्राहामले हाम्रो लागि कस्तो उदाहरण बसाले? (ख) अब्राहामको आज्ञाकारिताबाट हामी कस्तो लाभ उठाउँछौं?

यहोवाको प्रतिज्ञा पूरा हुनेछ भनी पापी मानिसहरू विश्‍वस्त हुन सकून्‌ भनेर उहाँले पनि शपथ खानुभयो। उहाँले यस्ता अभिव्यक्‍तिहरू प्रयोग गरेर शपथ खानुभएको छ: “‘जस्तो म जीवित छु’ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ।” (इज. १७:१६) यहोवाले ४० पटकभन्दा धेरै चोटि शपथ खानुभएको घटना बाइबलमा पाउँछौं। सायद सबैभन्दा परिचित उदाहरण अब्राहामसितको घटना हो। यहोवाले अब्राहामको जीवनकालमा थुप्रै पटक करार अर्थात्‌ वाचा बाँध्नुभयो। प्रतिज्ञा गरिएको सन्तान आफ्नो छोरा इसहाकबाट आउनेछ भनी अब्राहामले यी करारहरूबाट बुझ्न सके। (उत्प. १२:१-३, ७; १३:१४-१७; १५:५, १८; २१:१२) त्यसपछि यहोवाले अब्राहामलाई एउटा असाध्यै कठिन काम अह्राउनुभयो। उहाँले तिनलाई आफ्नो प्यारो छोरा बलिदान चढाउन आज्ञा गर्नुभयो। ढिलासुस्ती नगरी अब्राहाम आज्ञा पालन गर्न अग्रसर भए। तर इसहाकलाई चढाउनै लाग्दा परमेश्‍वरका स्वर्गदूतले तिनलाई रोके। त्यसपछि परमेश्‍वरले यस्तो शपथ खानुभयो: “मैले आफ्नै नाउँमा शपथ खाएको छु, किनकि तैंले यो काम गरिस्‌ औ तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्‍चय तँलाई आशिष दिनेछु। तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु। औ तेरो सन्तानले आफ्ना शत्रुहरूका शहरहरू कब्जा गर्नेछ। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌, किनकि तैंले मेरो वचन पालन गरिस्‌।”—उत्प. २२:१-३, ९-१२, १५-१८.

७, ८. (क) यहोवाले अब्राहामसित किन शपथ खानुभयो? (ख) परमेश्‍वरको शपथबाट येशूका “अरू भेडा”-ले कसरी लाभ उठाउनेछन्‌?

अब्राहामसित गरेको प्रतिज्ञा पूरा गर्नेछु भनी यहोवाले किन शपथ खानुभयो? उहाँको शपथले प्रतिज्ञा गरिएको “सन्तान”-को दोस्रो भागको रूपमा ख्रीष्टसित शासन गर्नेहरूलाई प्रोत्साहन दिनेथियो र उनीहरूको विश्‍वास बलियो पार्नेथियो। (हिब्रू ६:१३-१८ पढ्‌नुहोस्‌; गला. ३:२९) प्रेषित पावलले व्याख्या गरेझैं ‘यहोवा परमेश्‍वरले झूट बोल्न असम्भव दुई अपरिवर्तनीय कुरा [अर्थात्‌ उहाँको प्रतिज्ञा र उहाँको शपथद्वारा] हामीले आफूसामु राखिएको आशालाई पक्रिराख्ने ठूलो प्रोत्साहन पाउन सकौं भनेर शपथ खानुभयो।’

अब्राहामसित गरेको प्रतिज्ञा पूरा गर्नेछु भन्‍ने परमेश्‍वरको शपथबाट लाभ उठाउनेहरू अभिषिक्‍त ख्रीष्टियनहरू मात्र होइनन्‌। अब्राहामको “सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌” भनेर यहोवाले शपथ खानुभयो। (उत्प. २२:१८) यसरी आशीर्वादी हुनेहरूमा ख्रीष्टप्रति आज्ञाकारी “अरू भेडा” पनि पर्छन्‌ जसले पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा राखेका छन्‌। (यूह. १०:१६) चाहे तपाईंको आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमा बस्ने, परमेश्‍वरप्रति आज्ञाकारी हुँदै आफ्नो आशालाई ‘पक्रिराख्नुहोस्‌।’—हिब्रू ६:११, १२ पढ्‌नुहोस्‌।

परमेश्‍वरका अन्य शपथ

९. अब्राहामका सन्तानहरूले मिश्रमा दासको रूपमा जीवन बिताइरहेको बेला यहोवाले कस्तो शपथ खानुभयो?

अब्राहामको समयभन्दा शताब्दियौंपछि यहोवाले तिनीसित गरेको प्रतिज्ञा पूरा गर्ने विषयमा फेरि शपथ खानुभयो। मिश्रमा दासको रूपमा जीवन बिताइरहेका अब्राहामका सन्तानहरूलाई भेट्‌न मोशालाई पठाउँदा उहाँले शपथ खानुभयो। (प्रस्थ. ६:६-८) त्यस घटनाबारे यहोवाले यसो भन्‍नुभयो: “जुन दिन मैले इस्राएललाई छानें, . . . त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ कि म तिनीहरूलाई मिश्र देशदेखि निकालेर मैले तिनीहरूका निम्ति रोजेको देशमा ल्याउनेछु, जुन देशमा दूध र मह बग्छ।”—इज. २०:५, ६.

१०. इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिएपछि परमेश्‍वरले तिनीहरूसित कस्तो प्रतिज्ञा गर्नुभयो?

१० इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएपछि यहोवाले तिनीहरूसित अर्को प्रतिज्ञा गर्नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।” (प्रस्थ. १९:५, ६) इस्राएल राष्ट्रको लागि यो कत्ति ठूलो मौका थियो! यसको मतलब, यहोवाप्रति आज्ञाकारी भएमा त्यस राष्ट्रका व्यक्‍तिहरू सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउने पुजारीहरूको एक राज्य हुन सक्थे। त्यतिबेला आफूले इस्राएलीहरूका लागि गरेको कुराबारे पछि यहोवाले यसो भन्‍नुभयो: “मैले तँसित वाचा बाँधे र शपथ खाएँ।”इज. १६:८.

११. चुनिएका जनको रूपमा आफूसित विशेष सम्बन्ध गाँस्न परमेश्‍वरले निम्तो दिंदा इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाए?

११ त्यतिबेला यहोवाले इस्राएलीहरूलाई उहाँप्रति आज्ञाकारी हुने शपथ खान जबरजस्ती गर्नुभएन; न त तिनीहरूलाई आफूसित विशेष सम्बन्ध गाँस्न दबाब नै दिनुभयो। तिनीहरूले राजीखुसीले यसो भनेका थिए: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थ. १९:८) त्यसको तीन दिनपछि, चुनिएको राष्ट्रको रूपमा तिनीहरूले पूरा गर्नुपर्ने आवश्‍यकताबारे यहोवाले बताउनुभयो। यहोवाले पहिला तिनीहरूलाई दस आज्ञा दिनुभयो र त्यसपछि प्रस्थान २०:२२ देखि प्रस्थान २३:३३ सम्म उल्लेख गरिएका अन्य आज्ञाहरू मोशामार्फत सुनाउनुभयो। इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाए? “सबै मानिसहरूले एकै सोर गरी भने, ‘परमप्रभुले भन्‍नुभएका सबै वचनहरू हामी पालन गर्छौं।’” (प्रस्थ. २४:३) त्यसपछि मोशाले ती आज्ञालाई “करारको पुस्तक”-मा लेखे र सम्पूर्ण राष्ट्रलाई फेरि सुनाउन ठूलो स्वरमा पढे। तेस्रो पटक पनि तिनीहरूले यस्तो वाचा गरे: “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”—प्रस्थ. २४:४, ७, ८.

१२. इस्राएलीहरूसित करार बाँधेपछि यहोवाले के गर्नुभयो? तर इस्राएलीहरूले चाहिं के गरे?

१२ इस्राएलीहरूसित बाँधेको करार पूरा गर्न यहोवाले तुरुन्तै कदम चाल्नुभयो। पापी मानिसहरू उहाँसित नजिक हुन सकून्‌ भनेर उहाँले बासस्थान र पुजारीहरूको प्रबन्ध मिलाउनुभयो। तर इस्राएलीहरूले परमेश्‍वरलाई गरेको समर्पण बिर्से र “इस्राएलका पवित्र जनलाई झोंक उठाए।” (भज. ७८:४१) उदाहरणको लागि, यहोवाबाट थप निर्देशन पाउन मोशा सीनै पर्वत गएको बेला इस्राएलीहरू अधीर भए र परमेश्‍वरमाथि तिनीहरूको विश्‍वास कमजोर हुन थाल्यो। मोशाले आफूहरूलाई छोडेर गए भनी तिनीहरूले सोचे। त्यसैले तिनीहरूले सुनको बाछो बनाए र मानिसहरूलाई यसो भने: “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्‍वर यही हो।” (प्रस्थ. ३२:१, ४) त्यसपछि तिनीहरूले “परमप्रभुको निम्ति” भन्दै “एउटा चाड” मनाए र मानिसहरूले बनाएको मूर्तिलाई दण्डवत्‌ गरे अनि बलि चढाए। यो देखेर यहोवाले मोशालाई यसो भन्‍नुभयो: “तिनीहरूलाई जुन मार्गमा हिंड्‌ने आज्ञा मैले दिएको थिएँ, त्यसबाट तिनीहरू यति चाँडै अर्कोतिर लागे।” (प्रस्थ. ३२:५, ६, ८) दुःखको कुरा, त्यसपछि पनि इस्राएलीहरूले थुप्रै भाकल गरे तर पूरा गरेनन्‌।—गन्ती ३०:२.

थप दुईवटा शपथ

१३. परमेश्‍वरले राजा दाऊदसित कस्तो शपथ खानुभयो र त्यो शपथ प्रतिज्ञा गरिएका सन्तानसित कसरी सम्बन्धित छ?

१३ आफूप्रति आज्ञाकारी सबैको फाइदाका लागि राजा दाऊदको शासनकालमा यहोवाले थप दुईवटा शपथ खानुभयो। पहिलो, उहाँले राजा दाऊदसित तिनको सिंहासन सधैंभरि रहिरहने शपथ खानुभयो। (भज. ८९:३५, ३६; १३२:११, १२) यसको मतलब, प्रतिज्ञा गरिएका सन्तानलाई “दाऊदका छोरा” भनिने थियो। (मत्ती १:१; २१:९) ख्रीष्ट आफूभन्दा श्रेष्ठ हुने भएकोले दाऊदले प्रतिज्ञा गरिएका ती सन्तानलाई “प्रभु” भनी सम्बोधन गरेर नम्रता देखाए।—मत्ती २२:४२-४४.

१४. प्रतिज्ञा गरिएका सन्तानबारे यहोवाले कस्तो शपथ खानुभयो र त्यसबाट हामी कस्तो फाइदा उठाउँछौं?

१४ दोस्रो, प्रतिज्ञा गरिएका ती सन्तानले राजाको रूपमा मात्र होइन, मानिसजातिको प्रधान पुजारीको रूपमा पनि सेवा गर्नेछन्‌ भनी भविष्यवाणी गर्न यहोवाले दाऊदलाई प्रेरित गर्नुभयो। इस्राएलमा राजा हुनु र पुजारी हुनु भनेको दुई भिन्‍नाभिन्‍नै कुरा थियो। पुजारीहरू लेवी कुलका हुन्थे भने राजाहरूचाहिं यहूदा कुलका। तर यी विशेष उत्तराधिकारीबारे दाऊदले यस्तो भविष्यवाणी गरे: “परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्‍नँ। परमप्रभुले शपथ लिनुभएको छ, औ पछुताउनुहुने छैन, तिमी सदाको निम्ति मल्कीसेदेकको रीतिबमोजिम पूजाहारी हौ।” (भज. ११०:१, ४) त्यस भविष्यवाणीको पूर्तिअनुरूप, प्रतिज्ञा गरिएका सन्तान अर्थात्‌ येशू ख्रीष्टले स्वर्गबाट शासन गर्दै हुनुहुन्छ। साथै, पश्‍चात्तापी मानिसहरूलाई परमेश्‍वरसित राम्रो सम्बन्ध गाँस्न मदत गरेर उहाँले प्रधान पुजारीको रूपमा पनि सेवा गर्दै हुनुहुन्छ।—हिब्रू ७:२१, २५, २६ पढ्‌नुहोस्‌।

परमेश्‍वरको नयाँ इस्राएल

१५, १६. (क) बाइबलमा कुन दुईवटा इस्राएलबारे चर्चा गरिएको छ र आज कुनचाहिंले परमेश्‍वरको आशिष्‌ पाएको छ? (ख) कसम खाने विषयमा येशूले आफ्ना अनुयायीहरूलाई कस्तो आज्ञा दिनुभयो?

१५ येशू ख्रीष्टलाई तिरस्कार गरेकोले इस्राएल राष्ट्रले परमेश्‍वरको अनुमोदन गुमाउनुको साथै “पूजाहारीहरूको एक राज्य” हुने आशा पनि गुमायो। येशूले यहूदी नेताहरूलाई भन्‍नुभयो: “परमेश्‍वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।” (मत्ती २१:४३) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यरूशलेममा भेला भएका येशूका १२० जना जति चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइँदा त्यो नयाँ राष्ट्रको जन्म भयो। तिनीहरू “परमेश्‍वरको इस्राएल” भनेर चिनिए। पछि अन्य राष्ट्रका हजारौं-हजार मानिस परमेश्‍वरको इस्राएलको भाग बने।—गला. ६:१६.

१६ जन्मजात इस्राएलजस्तो नभई परमेश्‍वरको नयाँ इस्राएल राष्ट्रले उहाँप्रति आज्ञाकारी भएर सुहाउँदो फल फलाइरहेको छ। यस राष्ट्रका सदस्यहरू कसम खाने विषयमा पनि उहाँको आज्ञा पालन गर्छन्‌। येशू पृथ्वीमा हुँदा मानिसहरूले अनावश्‍यक कुरामा समेत कसम खाने गर्थे। (मत्ती २३:१६-२२) येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “कसम खाँदै नखाओ। . . . तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌, किनकि यसभन्दा बढ्‌ताचाहिं त्यस दुष्टतर्फको हो।”—मत्ती ५:३४, ३७.

यहोवाको प्रतिज्ञा सधैं पूरा हुन्छ

१७. अर्को लेखमा कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

१७ के यसको मतलब कहिल्यै शपथ खानु हुँदैन? अझ महत्त्वपूर्ण कुरा, ‘हुन्छ’-लाई ‘हुन्छ’ बनाउनुको अर्थ के हो? यी प्रश्‍नहरूबारे अर्को लेखमा छलफल गर्नेछौं। परमेश्‍वरको वचनमा मनन गर्दा यहोवाप्रति आज्ञाकारी भइरहने उत्प्रेरणा पाउन सकौं। यसो गरेमा परमेश्‍वरको प्रतिज्ञाअनुरूपै उहाँले हामीमाथि सदाको लागि आशिष्‌ वर्षाउनुहुनेछ।