सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्यको पूर्वझलक वास्तविकतामा परिणत हुन्छ

परमेश्‍वरको राज्यको पूर्वझलक वास्तविकतामा परिणत हुन्छ

परमेश्‍वरको राज्यको पूर्वझलक वास्तविकतामा परिणत हुन्छ

“अन्धकारमा बलिरहेको दियोलाईझैं गरी तिमीहरूले [ अगमवाणीको वचनलाई] ध्यान दियौ भने असल गर्नेछौ।”—२ पत्रुस १:१९.

१. आजको संसारमा हामी कस्तो भिन्‍नता पाउँछौं?

 एउटा सङ्‌कटपछि अर्को सङ्‌कट—यो नै आजको संसारको प्रमुख चिनारी भएको छ। चाहे पर्यावरणीय विपत्ति होस्‌ वा विश्‍वव्यापी आतङ्‌कवाद, मानिसजातिका समस्याहरू नियन्त्रणभन्दा बाहिर गइसकेको जस्तो देखिन्छ। संसारका धर्महरूले समेत कुनै मदत दिन सकेका छैनन्‌। वास्तवमा भन्‍ने हो भने मानिसहरूबीच फाटो ल्याउने अतिवाद, घृणा र राष्ट्रियताजस्ता तत्त्वहरूको ज्वाला दन्काएर धर्महरूले अवस्था झनै खराब बनाउँछन्‌। हो, भविष्यवाणी गरिएझैं “मानिसहरूलाई” “निष्पट्ट अँध्यारोले” ढाकेको छ। (यशैया ६०:२) तथापि, यति नै बेला लाखौं मानिसहरू भने ढुक्क हुँदै भविष्यको बाटो हेरिरहेका छन्‌। किन? किनभने “अन्धकारमा बलिरहेको दियोलाईझैं गरी” तिनीहरू परमेश्‍वरको भविष्यसूचक वचनलाई ध्यान दिन्छन्‌। अहिले बाइबलमा पाइने परमेश्‍वरको “वचन” वा सन्देशद्वारा तिनीहरू आफ्नो पाइला डोऱ्‍याइन दिन्छन्‌।—२ पत्रुस १:१९.

२. “अन्तको समय[बारे]” दानियलले गरेका भविष्यवाणीअनुसार कसलाई मात्र आध्यात्मिक अन्तरदृष्टि दिइन्छ?

“अन्तको समय[बारे]” अगमवक्‍ता दानियलले यस्तो लेखे: “धेरै जना ज्ञान बढाउनलाई यता र उता जानेछन्‌। धेरै जना शुद्ध पारिनेछन्‌, दागरहित बनाइनेछन्‌ र खारिनेछन्‌, तर दुष्टहरू चाहिं दुष्ट काम गर्दैजानेछन्‌। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्‌हरूले बुझ्नेछन्‌।” (दानियल १२:४, १०, NRV ) निष्कपटतासाथ यता र उता खोज्ने अर्थात्‌ लगनशीलतापूर्वक परमेश्‍वरको वचन अध्ययन गर्ने, उहाँका स्तरहरू अनुरूप चल्ने र उहाँको इच्छाअनुसार गर्न कोसिस गर्नेहरूका लागि मात्र आध्यात्मिक अन्तरदृष्टि साँचेर राखिएको छ।—मत्ती १३:११-१५; १ यूहन्‍ना ५:२०.

३. प्रारम्भिक बाइबल विद्यार्थीहरूले सन्‌ १८७० को दशकमा कुन महत्त्वपूर्ण सच्चाइ बुझे?

“आखिरी दिन” सुरु हुनुभन्दा निक्कै अघि, सन्‌ १८७० को दशकतिरै यहोवा परमेश्‍वरले “स्वर्गको राज्यको रहस्य[बारे]” थप ज्योति दिन थाल्नुभयो। (२ तिमोथी ३:१-५; मत्ती १३:११) त्यसबेला बाइबल विद्यार्थीहरूको एउटा समूहले ख्रीष्टको पुनरागमन अदृश्‍य हुनेछ भन्‍ने कुरा बुझ्यो र यो बुझाइ प्रचलित धारणाभन्दा विपरीत थियो। येशूको पुनरागमन यस अर्थमा हुने थियो कि स्वर्गको सिंहासनमा बसिसक्नुभएपछि उहाँले आफ्नो शाही ध्यान पृथ्वीतर्फ खिच्नुहुने थियो। एउटा दृश्‍य र मिश्रित चिह्नले उहाँको अदृश्‍य उपस्थिति सुरु भएको कुराबारे उहाँका चेलाहरूलाई सजग गराउने थियो।—मत्ती २४:३-१४.

पूर्वझलक जब वास्तविकतामा परिणत हुन्छ

४. यहोवाले वर्तमान समयका आफ्ना सेवकहरूको विश्‍वासलाई कसरी बलियो बनाउनुभएको छ?

रूप परिवर्तनको दर्शन ख्रीष्ट राज्यशक्‍तिमा आउनुहुने कुराको सानदार पूर्वझलक थियो। (मत्ती १७:१-९) येशूले मानिसहरूको गैरशास्त्रीय आशा पूरा नगरिदिनुभएको कारण धेरै जनाले उहाँलाई छोडेको समयमा यो दर्शनले पत्रुस, याकूब र यूहन्‍नाको विश्‍वासलाई बलियो बनायो। त्यसै गरी, यो अन्तको समयमा पनि त्यस अद्‌भुत दर्शनका साथै यससित सम्बन्धित थुप्रै भविष्यवाणीहरूको पूर्तिबारे थप ज्योति दिनुभएर यहोवाले वर्तमान समयका आफ्ना सेवकहरूको विश्‍वासलाई बलियो बनाउनुभएको छ। आउनुहोस्‌, हाम्रो विश्‍वासलाई बलियो बनाउने यी केही आध्यात्मिक वास्तविकताहरूबारे अब हामी विचार गरौं।

५. बिहानको तारा को साबित हुनुभयो र उहाँ कहिले अनि कसरी ‘उदाउनुभयो’?

रूप परिवर्तनलाई सङ्‌केत गर्दै प्रेरित पत्रुसले यसरी लेखे: “औ बढ्‌ता पुष्टि गराउने हामीसँग अगमवाणीको वचन छ। औ झिसमिसे उज्यालो नहोउञ्जेल, र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाईझैं गरी तिमीहरूले त्यसलाई ध्यान दियौ भने असल गर्नेछौ।” (२ पत्रुस १:१९) त्यो लाक्षणिक “बिहानको तारा” अर्थात्‌ “बिहानको चहकिलो तारा” महिमित येशू ख्रीष्ट हुनुहुन्छ। (प्रकाश २२:१६) नयाँ युग सुरु भएको सङ्‌केत गर्दै सन्‌ १९१४ मा स्वर्गमा परमेश्‍वरको राज्यको जन्म हुँदा उहाँ ‘उदाउनुभयो।’ (प्रकाश ११:१५) रूप परिवर्तनको दर्शनमा मोशा र एलिया येशूसँग कुरा गरिरहेको देखापरेका थिए। तिनीहरूले कसलाई पूर्वचित्रण गर्छन्‌?

६, ७. रूप परिवर्तनको दर्शनमा मोशा र एलियाले कसलाई सङ्‌केत गर्छन्‌ र तिनीहरूद्वारा सङ्‌केत गरिएका व्यक्‍तिहरूबारे धर्मशास्त्रले कस्तो महत्त्वपूर्ण विवरण प्रकट गर्छ?

ख्रीष्टको महिमामा मोशा र एलिया पनि समावेश भएको हुँदा यी दुई जना विश्‍वासी साक्षीले येशूसित उहाँको राज्यमा शासन गर्नेहरूलाई चित्रण गरेको हुनुपर्छ। येशूका सहशासकहरू छन्‌ भन्‍ने यो बुझाइ शासनारूढ मसीहको पूर्वझलकबारे दानियलले देखेको दर्शनसित मेल खान्छ। “मानिसका पुत्रजस्तै कोही[ले]” “अति प्राचीन उमेर[का]” यहोवाबाट “सदा सर्वदैको सर्वाधिकार” पाएको दानियलले देखे। तर यसको लगत्तैपछि दानियलले के देखे सो याद गर्नुहोस्‌। तिनी यस्तो लेख्छन्‌: “राज्याधिकार र सर्वाधिकार र स्वर्गमनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ।” (दानियल ७:१३, १४, २७) हो, रूप परिवर्तनको घटना हुनुभन्दा पाँच शताब्दीभन्दा पनि अघि परमेश्‍वरले खास “पवित्र जनहरू” ख्रीष्टको शाही महिमामा सहभागी हुनेछन्‌ भन्‍ने कुरा प्रकट गर्नुभयो।

दानियलले देखेको दर्शनका “पवित्र जनहरू” को हुन्‌? यी व्यक्‍तिहरूलाई सङ्‌केत गर्दै प्रेरित पावल यसो भन्छन्‌: “हामी परमेश्‍वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्‍वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दु:ख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।” (रोमी ८:१६, १७) वास्तवमा यी पवित्र जनहरू येशूका आत्म-अभिषिक्‍त चेलाहरू हुन्‌। प्रकाशको पुस्तकमा येशू यसो भन्‍नुहुन्छ: “जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी मैले पनि जिते, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।” पुनरुत्थान भएका यी १,४४,००० ‘विजेताहरूले’ येशू सँगसँगै सम्पूर्ण पृथ्वीमाथि शासन गर्नेछन्‌।—प्रकाश ३:२१; ५:९, १०; १४:१, ३, ४; १ कोरिन्थी १५:५३.

८. येशूका अभिषिक्‍त चेलाहरूले कसरी मोशा र एलियाको जस्तै काम गरेका छन्‌ र यसको परिणाम कस्तो भएको छ?

यद्यपि, अभिषिक्‍त मसीहीहरूलाई मोशा र एलियाद्वारा सङ्‌केत गरिनुको कारण के हो? यसको कारण हो, यस्ता मसीहीहरू पृथ्वीमा हुँदा मोशा र एलियाले गरेको जस्तै काम गर्छन्‌। उदाहरणका लागि, सतावटसामु समेत तिनीहरू यहोवाका साक्षीहरूको रूपमा सेवा गर्छन्‌। (यशैया ४३:१०; प्रेरित ८:१-८; प्रकाश ११:२-१२) मोशा र एलियाले जस्तै तिनीहरू पनि साहसी भई झूटो धर्मको पर्दाफास गर्छन्‌ भने निष्कपट व्यक्‍तिहरूलाई परमेश्‍वरलाई ऐकान्तिक भक्‍ति चढाउन आग्रह गर्छन्‌। (प्रस्थान ३२:१९, २०; व्यवस्था ४:२२-२४; १ राजा १८:१८-४०) के तिनीहरूको कामले फल फलाएको छ? पक्कै पनि! तिनीहरूले सम्पूर्ण अभिषिक्‍त जनहरू जम्मा गर्न मदत गर्नुको अलावा इच्छुकतापूर्वक येशू ख्रीष्टप्रति अधीनता देखाउन लाखौं “अरू भेडा[लाई]” मदत गरेका छन्‌।—यूहन्‍ना १०:१६; प्रकाश ७:४.

ख्रीष्टले विजय हासिल गर्नुहुन्छ

९. येशू अहिले कस्तो व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरा प्रकाश ६:२ ले कसरी चित्रण गर्छ?

येशू अहिले गधाको बछेडामाथि चढिरहेको साधारण मानिस नभई शक्‍तिशाली राजा हुनुहुन्छ। उहाँलाई घोडामाथि सवार व्यक्‍तिको रूपमा चित्रण गरिएको छ र बाइबलमा घोडा भनेको युद्धको सङ्‌केत हो। (हितोपदेश २१:३१) प्रकाश ६:२ यसो भन्छ: “मैले हेरें, र सेतो घोडा र त्यसमाथि बस्नेले एउटा धनु लिएको मैले देखें, र तिनलाई एउटा मुकुट पनि दिइयो, औ तिनी विजय गर्दै र विजय गर्नलाई निस्के।” साथै, येशूबारे भजनहार दाऊदले यस्तो लेखे: “परमप्रभुले सियोनबाट तिम्रो पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।”—भजन ११०:२.

१०. (क) येशूले आफ्नो महिमित विजययात्रा कसरी सुरु गर्नुभयो? (ख) ख्रीष्टको पहिलो विजयले समग्रमा संसारलाई कसरी असर गऱ्‍यो?

१० येशूको पहिलो विजय उहाँका सबैभन्दा शक्‍तिशाली शत्रुहरू—शैतान र त्यसका प्रेतहरू विरुद्ध थियो। स्वर्गबाट धपाएर उहाँले तिनीहरूलाई पृथ्वीमा खसालिदिनुभयो। आफ्नो अल्प समय थाह पाएर यी दुष्टात्माहरूले मानिसजातिमाथि आफ्नो आक्रोश हिंसात्मक तरिकामा पोखेका छन्‌ र ठूल्ठूला विपत्तिहरू ल्याएका छन्‌। यो विपत्तिलाई प्रकाशको पुस्तकमा थप तीनवटा घोडचढीद्वारा सङ्‌केत गरिएको छ। (प्रकाश ६:३-८; १२:७-१२) येशूको “उपस्थिति र यस रीतिरिवाजको अन्तको चिह्न[बारे]” उहाँको भविष्यवाणी अनुरूप ती घोडचढीहरूको परिणाम युद्ध, अनिकाल र घातक रूढीहरू भएका छन्‌। (मत्ती २४:३, ७, NW; लूका २१:७-११) ख्रीष्टले शैतानको दृश्‍य संगठनको नामोनिसान मेटाएर ‘विजय हासिल नगरुन्जेल’ साँच्चैको प्रसववेदनाजस्तै यो “कष्ट” पनि बढ्‌दै जानेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। aमत्ती २४:८.

११. मसीही मण्डलीको इतिहासले कसरी ख्रीष्टको शाही अख्तियारको प्रमाण दिन्छ?

११ विश्‍वभर परमेश्‍वरको राज्यसन्देश प्रचार गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न सकियोस्‌ भनेर येशूले मसीही मण्डलीलाई जोगाउनुभएको कुराबाट पनि उहाँको शाही अख्तियार प्रस्ट हुन्छ। झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोन र वैरभाव राख्ने सरकारहरूबाट आउने क्रूर विरोधको बावजुद प्रचारकार्य अहिलेसम्म चलिरहेको मात्र होइन तर यसले संसारको इतिहासमा अभूतपूर्व सफलता पनि प्राप्त गरेको छ। (प्रकाश १७:५, ६) ख्रीष्टको राजसत्ताको कस्तो जोडदार प्रमाण!—भजन ११०:३.

१२. अधिकांश मानिसहरू किन ख्रीष्टको अदृश्‍य उपस्थितिलाई बुझ्न सक्दैनन्‌?

१२ तर दुःखको कुरा, मसीही भनौदा लाखौं व्यक्‍तिहरू लगायत अधिकांश मानिसहरू पृथ्वीमा भइरहेका महत्त्वपूर्ण घटनाहरू पछाडिको अदृश्‍य वास्तविकतालाई बुझ्न सक्दैनन्‌। तिनीहरू परमेश्‍वरको राज्यबारे साक्षी दिनेहरूको गिल्लासमेत गर्छन्‌। (२ पत्रुस ३:३, ४) किन? किनभने शैतानले तिनीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ। (२ कोरिन्थी ४:३, ४) वास्तवमा, धेरै शताब्दीअघिदेखि त्यसले मसीही भनौदाहरूमाथि आध्यात्मिक अन्धकारको घुम्टो ओढाइदिन थाल्यो र यसको कारण तिनीहरूले अनमोल राज्य आशा समेत त्यागे।

राज्य आशा त्यागियो

१३. आध्यात्मिक अन्धकारको घुम्टोले कुन कुरातर्फ डोऱ्‍यायो?

१३ गहुँको बीचमा सामा छरिएको जस्तै मसीही मण्डलीभित्र धर्मत्यागीहरू छिर्नेछन्‌ र थुप्रैलाई भर्माउनेछन्‌ भनेर येशूले भविष्यवाणी गर्नुभयो। (मत्ती १३:२४-३०, ३६-४३; प्रेरित २०:२९-३१; यहूदा ४) समय बित्दै जाँदा यी मसीही भनौदाहरूले गैरमसीही चाडपर्व, प्रचलन र शिक्षाहरू अँगाले र यसलाई “मसीही” उत्सवसरह नै मान्‍न सकिन्छ समेत भने। उदाहरणका लागि, गैरमसीही देवहरू सूर्यदेवता र शनिदेवताको उपासना गर्ने प्रचलनबाट क्रिसमस सुरु भएको हो। यी मसीही भनौदाहरू के कारणले गर्दा यस्ता गैरमसीही उत्सवहरू मनाउन पुगे? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका (सन्‌ १९७४) यसो भन्छ: “ख्रीष्ट चाँडै फर्कनुहुनेछ भन्‍ने आशा धमिलिएको कारण येशू ख्रीष्टको जन्मको चाड, क्रिसमस स्थापना भएको थियो।”

१४. ओरिजेन र अगस्टिनका शिक्षाहरूले कसरी परमेश्‍वरको राज्यसम्बन्धी सत्यको गलत चित्रण गऱ्‍यो?

१४ “राज्य” भन्‍ने शब्दको अर्थ कसरी बङ्‌ग्याइयो त्यो पनि विचार गर्नुहोस्‌। द किङ्‌गडम अफ गड इन ट्‌वेन्टिइथ सेन्चुरी इन्टरप्रिटेसन भन्‍ने पुस्तक यस्तो उल्लेख गर्छ: “ ‘राज्य’ शब्दको मसीही प्रयोगको अर्थमा परिवर्तन ल्याएर यसको भित्री अर्थ हृदयमा परमेश्‍वरको शासन हो भन्‍ने व्यक्‍ति [तेस्रो शताब्दीका धर्मविद्‌] ओरिजेन थिए।” ओरिजेनको शिक्षा कुन कुरामा आधारित थियो? धर्मशास्त्रमा नभई “येशू र प्रारम्भिक चर्चहरूको सोचाइभन्दा बिलकुलै बेग्लै खालको दर्शन तथा सांसारिक दृष्टिकोणको संरचनामा” आधारित थियो। डे सिभिटाट्‌ डी (परमेश्‍वरको सहर) भन्‍ने आफ्नो पुस्तकमा हिप्पोका अगस्टिनले चर्च नै परमेश्‍वरको राज्य हो भनेर बताए। यस्तो गैरशास्त्रीय सोचाइले मसीहीजगत्‌का चर्चहरूलाई राजनैतिक शक्‍तिलाई अङ्‌कमाल गर्ने धार्मिक आधार दियो। अनि तिनीहरूले धेरै शताब्दीसम्म अक्सर क्रूरतापूर्वक यस्तो शक्‍ति चलाए।—प्रकाश १७:५, १८.

१५. मसीहीजगत्‌का थुप्रै चर्चहरूको सन्दर्भमा गलाती ६:७ कसरी पूरा भएको छ?

१५ यद्यपि, चर्चहरूले जे छरे त्यसको परिणाम आज कटनी गरिरहेका छन्‌। (गलाती ६:७) थुप्रैले आफ्नो शक्‍तिका साथै अनुयायीहरू पनि गुमाउँदै गरेको जस्तो देखिन्छ। युरोपमा यस्तो लहड एकदमै प्रस्ट देखिन्छ। क्रिश्‍चियानिटी टुडे नाउँको पत्रिकाअनुसार “अहिले युरोपका भव्य चर्चहरू उपासना थलोबाट म्युजियममा परिणत भएका छन्‌ र त्यहाँ पर्यटकहरू बाहेक अरू कोही पनि भेटिंदैनन्‌।” संसारका अरू भागहरूमा पनि यस्तै झुकाव देख्न सकिन्छ। यसले झूटो धर्मको लागि कस्तो सङ्‌केत दिन्छ? के यो समर्थनको अभावले त्यत्तिकै मर्नेछ? अनि यसले साँचो उपासनामा कस्तो प्रभाव पार्नेछ?

परमेश्‍वरको ठूलो दिनको लागि तयार रहनुहोस्‌

१६. महान्‌ बेबिलोनप्रतिको बढ्‌दो वितृष्णा किन अर्थपूर्ण छ?

१६ पहिला निष्क्रिय अवस्थामा रहेको ज्वालामुखीबाट धुँवा र खरानी निस्कन थाल्दा यसले चाँडै नै ज्वालामुखी विस्फोट हुने सम्भावना रहेको कुरा सङ्‌केत गरेझैं संसारका थुप्रै भागहरूमा धर्मप्रति बढ्‌दै गरेको वैमनस्यताले झूटो धर्मको आयु धेरै बाँकी छैन भन्‍ने कुरा सङ्‌केत गर्छ। संसारका राजनैतिक तत्त्वहरूलाई चाँडै नै यहोवाले आध्यात्मिक वेश्‍या महान्‌ बेबिलोनको पर्दाफास गर्ने र त्यसको विनाश गर्ने प्रयत्नमा एकजुट हुन लगाउनुहुनेछ। (प्रकाश १७:१५-१७; १८:२१) त्यो घटना र त्यसपछि आउने “महासंकष्ट[का]” अन्य पक्षहरूदेखि के साँचो मसीहीहरू डराउनुपर्छ र? (मत्ती २४:२१) पटक्कै पर्दैन! परमेश्‍वरले दुष्ट विरुद्ध कारबाही गर्नुहुँदा तिनीहरूसँग साँच्चै रमाउने कारणहरू हुनेछ। (प्रकाश १८:२०; १९:१, २) प्रथम शताब्दीको यरूशलेम र त्यहाँ बस्ने मसीहीहरूको उदाहरण विचार गर्नुहोस्‌।

१७. यहोवाका विश्‍वासी सेवकहरूले किन निर्धक्क भई यस रीतिरिवाजको अन्तको सामना गर्न सक्छन्‌?

१७ सा.यु. ६६ मा रोमी फौजले यरूशलेमलाई घेरा हाल्दा आध्यात्मिक तवरमा सजग मसीहीहरू न त छक्क परे न भयभीत नै भए। परमेश्‍वरको वचनका जेहनदार विद्यार्थीहरू भएको कारण तिनीहरूले “त्यसको विनाश नजीकै आइपुगेछ भनेर” थाह पाए। (लूका २१:२०) सुरक्षित स्थानमा भाग्न परमेश्‍वरले तिनीहरूको लागि बाटो खोलिदिनुहुनेछ भनेर पनि तिनीहरूलाई थाह थियो। यसरी बाटो खुल्दा मसीहीहरू भागे। (दानियल ९:२६; मत्ती २४:१५-१९; लूका २१:२१) त्यसै गरी आज पनि परमेश्‍वरलाई चिन्‍ने र उहाँको पुत्रको आज्ञा मान्‍नेहरूले निर्धक्क भई यस रीतिरिवाजको अन्तको सामना गर्न सक्छन्‌। (२ थिस्सलोनिकी १:६-९) वास्तवमा, महासङ्‌कट आउँदा तिनीहरू आनन्दका साथ ‘शिर उठाएर माथि हेर्नेछन्‌ किनभने तिनीहरूको छुटकारा नजिकै आएको छ’ भन्‍ने कुरा तिनीहरूलाई थाह छ।—लूका २१:२८.

१८. यहोवाका सेवकहरू विरुद्ध गोगले अन्तिम चोटि प्रत्यक्ष हमला गर्दा नतिजा कस्तो हुनेछ?

१८ महान्‌ बेबिलोनको विनाशपछि मागोग देशको गोगको रूपमा शैतानले यहोवाका शान्तिप्रिय साक्षीहरू विरुद्ध अन्तिम चोटि प्रत्यक्ष आक्रमण गर्नेछ। “पृथ्वीलाई ढाक्ने एउटा बादलझैं” आउने गोगको फौजले सहज विजयको आशा राख्नेछ। तिनीहरूले कत्रो ठूलो धक्का महसुस गर्नेछन्‌! (इजकिएल ३८:१४-१६, १८-२३) प्रेरित यूहन्‍ना यसरी लेख्छन्‌: “मैले स्वर्ग उघ्रेको देखें, र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्‍वासयोग्य र सत्य कहलिनुहुँदोरहेछ . . . जाति जातिहरूलाई मार्न उहाँको मुखबाट धारिलो तरवार निस्कँदोरहेछ।” यी अजेय “राजाहरूका महाराजा[ले]” यहोवाका वफादार उपासकहरूको उद्धार गर्नुहुनेछ र तिनीहरूका सबै शत्रुहरूलाई सर्वनाश पार्नुहुनेछ। (प्रकाश १९:११-२१) रूप परिवर्तनको दर्शनको चरमोत्कर्ष कस्तो महान्‌ हुनेछ!

१९. ख्रीष्टको पूर्ण विजयले उहाँका वफादार चेलाहरूलाई कसरी असर गर्नेछ र तिनीहरूले अहिले के गर्ने कोसिस गर्नुपर्छ?

१९ त्यस दिन येशूले “विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित” पार्नुहुनेछ। (२ थिस्सलोनिकी १:१०, NRV ) आश्‍चर्यचकित हुँदै परमेश्‍वरको विजयी पुत्रप्रति श्रद्धा व्यक्‍त गर्नेहरूमध्ये के तपाईं पनि हुन चाहनुहुन्छ? त्यसो हो भने तपाईंको विश्‍वासलाई बलियो बनाइरहनुहोस्‌ र ‘तयार रहनुहोस्‌ किनकि मानिसको पुत्र तपाईंले नचिताएको बेलामा आउनुहुनेछ।’—मत्ती २४:४३, ४४.

होसियार रहनुहोस्‌

२०. (क) परमेश्‍वरले गर्नुभएको “विश्‍वासी बुद्धिमान” दासको प्रबन्धप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं? (ख) हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

२० “विश्‍वासी र बुद्धिमान दास[ले]” परमेश्‍वरका जनहरूलाई आध्यात्मिक तवरमा चनाखो र होसियार रहन नियमित तवरमा आग्रह गर्छन्‌। (मत्ती २४:४५, ४६; १ थिस्सलोनिकी ५:६) यी समसामयिक सम्झौटोहरूको लागि के तपाईं कृतज्ञ हुनुहुन्छ? के तपाईं यी सम्झौटाहरू मनमा राख्दै जीवनमा प्राथमिकताहरू तय गर्नुहुन्छ? आफैलाई यस्ता प्रश्‍नहरू सोधे कसो होला: ‘के मसित यस्तो स्पष्ट आध्यात्मिक दृष्टि छ जसको कारण परमेश्‍वरको पुत्रले स्वर्गमा राज्य गरिरहनुभएको म देख्न सक्छु? महान्‌ बेबिलोन र शैतानको बाँकी रीतिरिवाजमाथि ईश्‍वरीय न्याय कार्यान्वयन गर्न उहाँ तयार हुनुभएको कुरा के म देख्छु?’

२१. कसै-कसैले किन आफ्नो आध्यात्मिक दृष्टि धमिलिन दिएका हुन सक्छन्‌ र तिनीहरूले तुरुन्तै के गरिहाल्नु आवश्‍यक छ?

२१ अहिले यहोवाका जनहरूसित संगत गरिरहेका कसै-कसैले आफ्नो आध्यात्मिक दृष्टि धमिलिन दिएका छन्‌। येशूका कोही-कोही प्रारम्भिक चेलाहरूमा झैं तिनीहरूमा पनि धीरजको कमी भएको कारण पो यस्तो भएको हो कि? जीवनको फिक्री, भौतिकवाद वा सतावटले तिनीहरूलाई असर गरेको छ कि? (मत्ती १३:३-८, १८-२३; लूका २१:३४-३६) सायद कसै-कसैलाई “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” प्रकाशित कुनै खास जानकारी बुझ्न गाह्रो भएको छ। यदि तपाईंलाई पनि यस्तै भएको छ भने नयाँ जोसका साथ परमेश्‍वरको वचन अध्ययन गर्न र यहोवालाई बिन्ती गर्न हामी तपाईंलाई आग्रह गर्छौं ताकि तपाईंले उहाँसित फेरि बलियो र घनिष्ठ सम्बन्ध बनाउन सक्नुहुनेछ।—२ पत्रुस ३:११-१५.

२२. रूप परिवर्तनको दर्शन र त्यससित सम्बन्धित भविष्यवाणीहरूबारे विचार गर्दा यसले तपाईंलाई कसरी असर गरेको छ?

२२ येशूका चेलाहरूलाई प्रोत्साहनको खाँचो पर्दा तिनीहरूलाई रूप परिवर्तनको दर्शन दिइएको थियो। आज हामीलाई बलियो बनाउन त्योभन्दा पनि कता हो कता ठूलो कुरा छ—त्यो हो, त्यस अद्‌भुत पूर्वझलकका साथै त्यससित सम्बन्धित थुप्रै भविष्यवाणीहरूको पूर्ति। जसै हामी यी महिमित वास्तविकताहरू र यिनको भावी महत्त्वबारे विचार गर्छौं, हामी पनि आफ्नो तनमनले प्रेरित यूहन्‍नाको जस्तै भावना झल्काऔं, जसले यसो भने: “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।”—प्रकाश २२:२०.

[फुटनोट]

a मौलिक युनानीमा, “कष्ट” भनेर अनुवाद गरिएको शब्दको शाब्दिक अर्थ “प्रसववेदना” हुन्छ। (मत्ती २४:८, NRV) प्रसववेदनाजस्तै संसारका समस्याहरूको पनि मात्रा, तीव्रता र अवधि बढ्‌नेछ अनि यो महासङ्‌कटमा पुगेर टुङ्‌गिनेछ भन्‍ने कुरा यसले सङ्‌केत गर्छ।

के तपाईंलाई याद छ?

• बाइबल विद्यार्थीहरूको एउटा सानो समूहले सन्‌ १८७० को दशकमा ख्रीष्टको पुनरागमनबारे कुन कुरा बुझ्यो?

• रूप परिवर्तनको दर्शन कसरी पूरा भएको छ?

• येशूको विजययात्राले संसारलाई र मसीही मण्डलीलाई कस्तो प्रभाव पारेको छ?

• येशूले आफ्नो विजय पूरा गर्दा जीवित रहनेहरूमध्ये हुन हामीले के गर्नै पर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएका चित्रहरू]

पूर्वझलक वास्तविकतामा परिणत हुन्छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

ख्रीष्टले आफ्नो विजय सुरु गर्दा के भयो के तपाईंलाई थाह छ?