सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १

“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!”

“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!”

१, २. (क) तपाईँ परमेश्‍वरलाई के सोध्न चाहनुहुन्छ? (ख) मोसाले परमेश्‍वरलाई के सोधे?

 के तपाईँ परमेश्‍वरसित कुरा गरेको कल्पना गर्न सक्नुहुन्छ? परमेश्‍वरसित कुरा गर्नेबारे सोच्दा मात्र पनि हामीमा भय र श्रद्धा जाग्छ। कल्पना गर्नुहोस्‌ त, ब्रह्‍माण्डकै सार्वभौम शासक तपाईँसँग कुरा गर्दै हुनुहुन्छ। सुरुमा तपाईँ हिचकिचाउनुहुन्छ। तर जसोतसो साहस बटुलेर तपाईँ केही जवाफ दिनुहुन्छ। परमेश्‍वर पनि तपाईँको कुरा सुन्‍नुहुन्छ, तपाईँसित कुराकानी गर्नुहुन्छ अनि तपाईँलाई मन लागेको जुनसुकै प्रश्‍न सोध्न आग्रह गर्नुहुन्छ। अब तपाईँ उहाँलाई के सोध्नुहुन्छ?

धेरै पहिले एक जना मानिसले त्यस्तै सुअवसर पाएका थिए। तिनको नाम मोसा थियो र तिनले परमेश्‍वरलाई जुन प्रश्‍न सोधे, त्यो सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। मोसाले परमेश्‍वरलाई आफूबारे, आफ्नो भविष्यबारे वा मानिसजातिको भविष्यबारे केही सोधेनन्‌। बरु तिनले परमेश्‍वरको नाम सोधे। यो प्रश्‍न तपाईँलाई अनौठो लाग्ला किनभने मोसालाई परमेश्‍वरको नाम पहिल्यै थाह थियो। त्यसोभए तिनको प्रश्‍नको पक्कै गहिरो अर्थ थियो। वास्तवमा त्योजत्तिको महत्त्वपूर्ण प्रश्‍न अरू हुनै सक्दैन अनि त्यस प्रश्‍नको जवाफले हामी सबैको लागि गहिरो अर्थ राख्छ। त्यसले हामीलाई परमेश्‍वरसित नजिक हुन मदत गर्छ। किन? आउनुहोस्‌, मोसा र परमेश्‍वरबीच भएको कुराकानीलाई अझ विस्तृत रूपमा केलाऔँ।

३, ४. परमेश्‍वर र मोसाबीच कुराकानी हुनुअघि के-के भएको थियो? अनि त्यस कुराकानीको सार के थियो?

मोसा ८० वर्षका थिए। तिनले मिश्रको दासत्वमा परेका इस्राएलीहरूदेखि अलग्गिएर जीवन बिताएको चार दशक भइसकेको थियो। एकदिन आफ्ना ससुराका भेडाहरू चराउँदै गर्दा तिनले अनौठो कुरा देखे। एउटा झाडी दनदनी बलिरहेको थियो तर डढेको भने थिएन। टाढाबाट हेर्दा डाँडामा एउटा ठूलो राँको बलिरहेको जस्तै देखिन्थ्यो। त्यहाँ के भइरहेको छ भनी हेर्न मोसा नजिकै गए। तर त्यहाँ पुगेपछि झाडीबाट अचानक एउटा आवाज आएको सुन्दा मोसा कत्ति आश्‍चर्यचकित भए होलान्‌, सोच्नुहोस्‌ त! परमेश्‍वरले एक जना स्वर्गदूतमार्फत मोसासित कुरा गर्नुभयो। त्यसपछि मोसा र परमेश्‍वरबीच लामो कुराकानी चल्यो। उहाँले तिनलाई एउटा काम अह्राउनुभयो। उहाँले निष्फिक्रीसित जीवन बिताइरहेका मोसालाई मिश्रमा जान र इस्राएलीहरूलाई दासत्वबाट छुटाउन आज्ञा दिनुभयो तर तिनले आनाकानी गरे।—प्रस्थान ३:१-१२.

त्यतिबेला मोसा परमेश्‍वरलाई जुनसुकै प्रश्‍न सोध्न सक्थे। तर तिनले परमेश्‍वरलाई के सोधे, ध्यान दिनुहोस्‌: “म इस्राएलीहरूकहाँ गएर यसो भनूँला: ‘मलाई तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले पठाउनुभएको हो।’ तर तिनीहरूले ‘उहाँको नाम के हो?’ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्‍नू?”—प्रस्थान ३:१३.

५, ६. (क) मोसाले सोधेको प्रश्‍नबाट हामी कुन सरल तर गहन सत्य सिक्न सक्छौँ? (ख) परमेश्‍वरको नामलाई के गरिएको छ? (ग) परमेश्‍वरले मानिसजातिलाई आफ्नो नाम प्रकट गर्नु किन उल्लेखनीय छ?

मोसाले सोधेको त्यस प्रश्‍नबाट के स्पष्ट हुन्छ भने परमेश्‍वरको एउटा नाम छ। धेरैले यस सत्यलाई हल्कासित लिन्छन्‌ तर हामीले त्यसो गर्नु हुँदैन। परमेश्‍वरको नाम थुप्रै बाइबल अनुवादबाट हटाइएको छ अनि त्यसको ठाउँमा “परमप्रभु” र “परमेश्‍वर”-जस्ता पदवीहरू चलाइएको छ। धर्मको नाममा गरिएको यो असाध्यै दुःखलाग्दो अनि घृणित काम हो। हामी कसैलाई पहिलो चोटि भेट्‌दा सुरुमै तिनको नाम सोध्छौँ नि, होइन र? परमेश्‍वरको सन्दर्भमा पनि कुरा त्यही हो। परमेश्‍वर नामै नभएको, हामीसित नजिक हुन नचाहने अनि हामीले बुझ्नै नसक्ने रहस्यमय व्यक्‍ति हुनुहुन्‍न। हुनत परमेश्‍वर अदृश्‍य हुनुहुन्छ तर उहाँको पनि व्यक्‍तित्व छ र एउटा नाम छ। त्यो हो, यहोवा।

त्यति मात्र होइन, परमेश्‍वरले आफ्नो नाम प्रकट गरेर हामीलाई एउटा विशेष सुअवसर दिनुभएको छ। हामीले उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर चिनेको यहोवा चाहनुहुन्छ। हामीले जीवनमा सबैभन्दा उत्तम छनौट गरेको उहाँ चाहनुहुन्छ। त्यो हो, उहाँसित नजिक हुने। तर परमेश्‍वरले हामीलाई उहाँको नाम मात्र बताउनुभएको छैन बरु आफू कस्तो व्यक्‍ति हुँ भनेर पनि प्रकट गर्नुभएको छ।

परमेश्‍वरको नामको अर्थ

७. (क) परमेश्‍वरको नामको अर्थ के हो? (ख) परमेश्‍वरलाई उहाँको नाम सोध्दा वास्तवमा मोसा के जान्‍न खोज्दै थिए?

यहोवाले आफ्नो नाम आफैले रोज्नुभएको हो र त्यो नाम निकै अर्थपूर्ण छ। “यहोवा” नामको अर्थ हो, “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ।” सारा ब्रह्‍माण्डमा यहोवा अद्वितीय हुनुहुन्छ किनकि सबै थोकलाई अस्तित्वमा ल्याउने उहाँ नै हुनुहुन्छ। साथै उहाँ आफ्ना सबै उद्देश्‍य अवश्‍य पूरा गर्नुहुन्छ र त्यसको लागि त्रुटिपूर्ण मानव सेवकहरूलाई समेत जे पनि बनाउन सक्नुहुन्छ। यो कुरा सोच्दा हाम्रो मन श्रद्धाले भरिन्छ। तर के परमेश्‍वरको नामको अर्थ त्यतिमै सीमित छ? मोसालाई परमेश्‍वरको नाम यहोवा हो र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह थियो। तिनले परमेश्‍वरको नाम सुनेको यो पहिलो पटक थिएन। मानिसहरूले शताब्दियौँदेखि परमेश्‍वरको नाम प्रयोग गर्दै आएका थिए। त्यसैले परमेश्‍वरलाई उहाँको नाम सोध्दा वास्तवमा मोसा त्यो नाम धारण गर्ने परमेश्‍वर कस्तो व्यक्‍ति हुनुहुन्छ भनी जान्‍न खोज्दै थिए। एक अर्थमा तिनी यसो भन्दै थिए: ‘मैले इस्राएलीहरूलाई के भन्दा तिनीहरूले तपाईँमाथि विश्‍वास गर्नेछन्‌ अनि तपाईँले साँच्चै छुटकारा दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनेछन्‌?’

८, ९. (क) मोसाको प्रश्‍नको जवाफमा यहोवाले के भन्‍नुभयो अनि कतिपय बाइबल अनुवादमा उहाँको जवाफलाई कसरी गलत तरिकामा अनुवाद गरिएको छ? (ख) यहोवाले “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु” भन्‍नुको अर्थ के हो?

जवाफमा यहोवाले मोसालाई आफ्नो व्यक्‍तित्वको एउटा रोचक पक्ष प्रकट गर्नुभयो, जुन उहाँको नामको अर्थसित सम्बन्धित थियो। उहाँले मोसालाई भन्‍नुभयो: “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।” (प्रस्थान ३:१४) थुप्रै बाइबल अनुवादमा यस भागलाई यसरी अनुवाद गरिएको छ: “म हुँ, जो म हुँ।” तर भरपर्दा अनुवादहरूमा हेर्ने हो भने यहोवाले यस पदमा आफ्नो अस्तित्वबारे बताइरहनुभएको थिएन। बरु उहाँ मोसालाई अनि हामी सबैलाई के बताउँदै हुनुहुन्थ्यो भने उहाँ आफ्नो उद्धेश्‍य पूरा गर्न परिस्थितिअनुसार जे बन्‍न आवश्‍यक छ, त्यही बन्‍न सक्नुहुन्छ। जे. बी. रथरहामको बाइबल अनुवादमा यस भागलाई यसरी अनुवाद गरिएको छ: “म जे हुन चाहन्छु, त्यही हुनेछु।” साथै बाइबलकालीन हिब्रू भाषाको अध्ययन गर्ने एक विज्ञले यस भागलाई यसरी व्याख्या गरेका छन्‌: “परिस्थिति वा आवश्‍यकताअनुसार . . . परमेश्‍वर कुनै पनि समस्याको समाधान ‘बन्‍नुहुनेछ।’”

यसले इस्राएलीहरूको लागि कस्तो अर्थ राख्ने थियो? तिनीहरूसामु पहाडरूपी समस्या खडा भए तापनि वा तिनीहरूले जस्तोसुकै गाह्रो समस्या झेल्नुपरे तापनि यहोवा तिनीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिन जे बन्‍न आवश्‍यक हुने थियो, त्यो अवश्‍य बन्‍नुहुने थियो र तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजानुहुने थियो। स्पष्ट छ, यहोवाको नामले इस्राएलीहरूलाई उहाँमाथि भरोसा राख्न उत्प्रेरित गर्ने थियो। उहाँको नामले आज हामीलाई पनि त्यसै गर्न उत्प्रेरित गर्छ। (भजन ९:१०) किन?

१०, ११. यहोवा सर्वोत्कृष्ट बुबा हुनुहुन्छ भनेर महसुस गर्न उहाँको नामले हामीलाई कसरी जुरमुऱ्‍याउँछ? उदाहरण दिनुहोस्‌।

१० एउटा उदाहरण विचार गरौँ। छोराछोरीको ख्याल राख्न आमाबुबाले एक दिनमै विभिन्‍न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जस्तै: नर्स, भान्छे, शिक्षक, अनुशासन दिने व्यक्‍ति, न्यायाधीश र अन्य थुप्रै। आफूले पूरा गर्नुपर्ने भूमिकाहरूबारे सोच्दा कतिपय आमाबुबा अत्तालिन सक्छन्‌। आमाबुबालाई छोराछोरीले तिनीहरूमाथि कत्ति भरोसा गर्छन्‌ भनेर थाह हुन्छ। आमाबुबाले चोट निको पारिदिनुहुन्छ, झगडा सुल्झाइदिनुहुन्छ, बिग्रेको खेलौना बनाइदिनुहुन्छ अनि मनमा आएका जुनसुकै प्रश्‍नको जवाफ दिनुहुन्छ भन्‍ने कुरामा छोराछोरी ढुक्क हुन्छन्‌। तर कतिपय आमाबुबालाई ती सबै गर्न सक्दिनँ जस्तो लाग्छ। आफ्नो सीमितता देख्दा तिनीहरू कहिलेकाहीँ दिक्क मान्छन्‌ र यी सबै भूमिका पूरा गर्न अयोग्य महसुस समेत गर्छन्‌।

११ यहोवा पनि मायालु बुबा हुनुहुन्छ। उहाँ पृथ्वीमा रहेका आफ्ना छोराछोरीको राम्ररी ख्याल राख्न जे पनि बन्‍न सक्नुहुन्छ तर त्यसको लागि उहाँले आफूले तोकेको कुनै पनि उच्च स्तर तोड्‌नु पर्दैन। त्यसैले परमेश्‍वरको नाम यहोवाले हामीलाई उहाँ सर्वोत्कृष्ट बुबा हुनुहुन्छ भनेर स्विकार्न जुरमुऱ्‍याउँछ। (याकुब १:१७) उहाँ आफ्नो नामअनुसार काम पनि गर्नुहुन्छ भनेर मोसा अनि अरू वफादार इस्राएलीले चाँडै अनुभव गरे। यहोवाले तिनीहरूको खातिर थुप्रै भूमिका निर्वाह गर्नुभएको तिनीहरू आफैले देखे। जस्तै: कसैले हराउन नसक्ने सेनापति, प्रकृतिलाई पनि नियन्त्रण गर्न सक्ने शक्‍तिशाली ईश्‍वर, कुनै खोट नभएको व्यवस्थाको दाता, न्यायाधीश, कुशल निर्माता, अन्‍नदाता अनि जुत्ता र लुगा फाट्‌नदेखि जोगाउने संरक्षक। त्यो देख्दा तिनीहरूको मन उहाँप्रति श्रद्धाले भरियो।

१२. यहोवाप्रति फारोको दृष्टिकोण कसरी मोसाको भन्दा फरक थियो?

१२ यहाँसम्म हामीले के बुझ्यौँ भने परमेश्‍वरले हामीलाई आफ्नो नाम प्रकट गर्नुभएको छ, उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बताउनुभएको छ र आफूबारे बताएको सबै कुरा सत्य हुन्‌ भनेर प्रमाणित गर्नुभएको छ। स्पष्ट छ, परमेश्‍वर हामीले उहाँलाई चिनेको चाहनुहुन्छ। त्यसोभए तपाईँ के गर्न चाहनुहुन्छ? मोसा परमेश्‍वरलाई चिन्‍न चाहन्थे। त्यस्तो तीव्र चाहनाले मोसाको जीवनलाई नयाँ मोड दियो अनि स्वर्गमा बस्नुहुने बुबा यहोवासित अझ नजिक बनायो। (गन्ती १२:६-८; हिब्रू ११:२७) दुःखको कुरा, मोसाको समयका धेरैजसो मानिसमा परमेश्‍वरलाई चिन्‍ने चाहना थिएन। जब मोसाले मिश्रका अहङ्‌कारी शासक फारोसामु यहोवाको नाम लिए, तब उनले जङ्‌गिँदै यसो भने: “को हो त्यो यहोवा?” (प्रस्थान ५:२) फारोले यहोवाबारे अझ धेरै जान्‍न यो प्रश्‍न सोधिरहेका थिएनन्‌। बरु उनले इस्राएलका परमेश्‍वरको खिसी गरिरहेका थिए र उहाँको कुनै महत्त्व छैन भन्‍न खोजिरहेका थिए। आज धेरैको सोचाइ पनि फारोको जस्तै छ। त्यस्तो सोचाइले मानिसहरूलाई अन्धो बनाइदिएको छ। तिनीहरू यहोवा परमेश्‍वर ब्रह्‍माण्डका मालिक हुनुहुन्छ भन्‍ने गहन सत्य स्विकार्न चाहँदैनन्‌।

ब्रह्‍माण्डका मालिक यहोवा

१३, १४. (क) बाइबलमा किन यहोवालाई थुप्रै पदवी दिइएको छ र तीमध्ये केही के-के हुन्‌? ( पृष्ठ १४ मा भएको पेटी हेर्नुहोस्‌।) (ख) “ब्रह्‍माण्डका मालिक” भन्‍ने पदवी किन यहोवालाई मात्र सुहाउँछ?

१३ यहोवा परमेश्‍वरले आवश्‍यकता र परिस्थितिअनुसार विभिन्‍न भूमिका निर्वाह गर्न सक्नुहुने भएकोले बाइबलमा उहाँलाई थुप्रै पदवी दिइएको छ। तर कुनै पनि पदवी उहाँको नामको बराबरीमा आउन सक्दैन। बरु ती पदवीहरूले यहोवा नाम धारण गर्ने परमेश्‍वर कस्तो हुनुहुन्छ भन्‍नेबारे अझ धेरै कुरा सिकाउँछ। उदाहरणको लागि, उहाँलाई “ब्रह्‍माण्डका मालिक यहोवा” भनिएको छ। (२ समुएल ७:२२) यो उच्च पदवी बाइबलमा सयौँ ठाउँमा पाइन्छ अनि यस पदवीले उहाँको ओहदाबारे बताउँछ। उहाँ मात्र सारा ब्रह्‍माण्डमा शासन गर्न योग्य हुनुहुन्छ। हामी किन त्यसो भन्‍न सक्छौँ?

१४ यहोवा मात्र सृष्टिकर्ता हुनुहुन्छ। प्रकाश ४:११ मा यस्तो लेखिएको छ: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” यहाँ चलाइएका विशिष्ट अभिव्यक्‍तिहरू यहोवालाई मात्र सुहाउँछ। ब्रह्‍माण्डमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो। स्पष्ट छ, यहोवा मात्र महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनभने उहाँ नै ब्रह्‍माण्डका मालिक हुनुहुन्छ र सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ।

१५. यहोवालाई किन “युगयुगका महाराजा” भनिएको हो?

१५ यहोवालाई मात्र दिइएको अर्को पदवी हो, “युगयुगका महाराजा।” (१ तिमोथि १:१७; प्रकाश १५:३) यस पदवीको अर्थ के हो? यहोवाको अस्तित्व अनन्तकालदेखि छ र उहाँ सधैँभरि रहनुहुनेछ। तर हाम्रो समझ सीमित भएकोले यो कुरा बुझ्न सक्दैनौँ। भजन ९०:२ यसो भन्छ: “अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।” भन्‍नुको मतलब, यहोवाको सुरुवात थिएन र उहाँको कहिल्यै अन्त पनि हुनेछैन। त्यसैले बाइबलमा उहाँलाई “अतिप्राचीन” पनि भनिएको छ। (दानिएल ७:९, १३, २२) उहाँलाई यो पदवी सुहाउँछ किनभने ब्रह्‍माण्डमा कुनै पनि वस्तु वा व्यक्‍ति अस्तित्वमा आउनुअघि नै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो। त्यसैले यहोवा नै यस ब्रह्‍माण्डका मालिक हुनुहुन्छ भन्‍ने कुरामाथि कसैले प्रश्‍न उठाउन सक्दैन।

१६, १७. (क) हामी किन यहोवालाई देख्न सक्दैनौँ? यो कुरा थाह पाउँदा हामी किन अचम्म मान्दैनौँ? (ख) यहोवा कुन अर्थमा हामीले देख्न वा छुन सक्ने कुनै पनि कुराभन्दा वास्तविक हुनुहुन्छ?

१६ तैपनि कसै-कसैले फारोले जस्तै प्रश्‍न उठाउँछन्‌ किनभने त्रुटिपूर्ण मानिसहरू आफूले देखेका कुराहरूमा मात्र विश्‍वास गर्छन्‌। हामी ब्रह्‍माण्डका मालिक यहोवालाई देख्न सक्दैनौँ किनकि उहाँ अदृश्‍य हुनुहुन्छ। (युहन्‍ना ४:२४) साथै रगत र मासुको शरीर भएका हामी मानिसहरू साक्षात्‌ परमेश्‍वरसामु खडा भयौँ भने जीवित रहन सक्दैनौँ। यहोवा आफैले मोसालाई भन्‍नुभयो: “तिमीले मेरो अनुहार देख्न सक्दैनौ किनकि मेरो अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन।”—प्रस्थान ३३:२०; युहन्‍ना १:१८.

१७ यो कुरा थाह पाउँदा हामी अचम्म मान्दैनौँ। एकपटक मोसाले यहोवाको महिमाको सानो झलक देख्न पाएका थिए, त्यो पनि उहाँको प्रतिनिधिको रूपमा आएका स्वर्गदूतको माध्यमद्वारा। त्यसको परिणाम? उक्‍त घटनाको केही समयपछिसम्म पनि मोसाको “अनुहारबाट उज्यालो आइरहेको” थियो। त्यसैले इस्राएलीहरू मोसाको अनुहार हेर्न डराए। (प्रस्थान ३३:२१-२३; ३४:५-७, २९, ३०) यसबाट के स्पष्ट हुन्छ भने कुनै पनि मानिसले ब्रह्‍माण्डका मालिक यहोवालाई उहाँको पूर्ण महिमा र वैभवमा कदापि हेर्न सक्दैन। तर परमेश्‍वरलाई देख्न र छुन सकिँदैन भन्दैमा उहाँ वास्तविक हुनुहुन्‍न भन्‍न मिल्छ र? मिल्दैन। हामी देख्न नसकिने कतिपय कुराहरू अस्तित्वमा छन्‌ भनेर सजिलै स्विकार्छौँ। जस्तै: हावा, रेडियो तरङ्‌ग र विचारहरू। त्यति मात्र होइन, यहोवा परमेश्‍वर अविनाशी हुनुहुन्छ। उहाँ समयको अधीनमा हुनुहुन्‍न। भौतिक कुराहरूको आयु हुन्छ र कुनै न कुनै दिन ती अस्तित्वविहीन हुन्छन्‌। तर अरबौँ-खरबौँ वर्ष बिते पनि यहोवा भने अस्तित्वमा रहिरहनुहुन्छ। यस अर्थमा यहोवा हामीले छुन वा देख्न सक्ने कुनै पनि कुराभन्दा वास्तविक हुनुहुन्छ। (मत्ति ६:१९) तर के परमेश्‍वर भावना नै नभएको अलौकिक र निराकार शक्‍ति मात्र हुनुहुन्छ? आउनुहोस्‌, विचार गरौँ।

परमेश्‍वरको व्यक्‍तित्व

१८. इजकिएलले कस्तो दर्शन पाए? यहोवाको वरपर भएका ‘जीवहरूका’ चार वटा अनुहारले केलाई सङ्‌केत गर्छ?

१८ हुनत हामी परमेश्‍वरलाई देख्न सक्दैनौँ तर बाइबलमा पाइने रोमाञ्चक विवरणहरूले हामीलाई स्वर्गबारे कल्पना गर्न मदत गर्छ। त्यस्तै एउटा उदाहरण इजकिएल अध्याय १ हो। इजकिएलले यहोवाको सङ्‌गठनको स्वर्गमा रहेको भागलाई चित्रण गर्ने विशाल स्वर्गीय रथको दर्शन पाएका थिए। खासगरि त्यस दर्शनमा यहोवाको वरपर भएका पराक्रमी अदृश्‍य जीवहरूको वर्णन निकै रोचक छ। (इजकिएल १:४-१०) ती “जीव”-हरू परमेश्‍वरको नजिकै रहेर उहाँको सेवा गर्छन्‌ अनि तिनीहरूको रूपले उहाँको व्यक्‍तित्वबारे केही महत्त्वपूर्ण कुरा प्रकट गर्छ। ती प्रत्येकका चार वटा अनुहार थिए: साँढे, सिंह, चील र मान्छेको। ती अनुहारहरूले यहोवाका चार वटा गुणलाई सङ्‌केत गर्छन्‌, जुन उहाँको विशिष्ट व्यक्‍तित्वको आधार हुन्‌।—प्रकाश ४:६-८, १०.

१९. (क) साँढेको, (ख) सिंहको, (ग) चीलको र (घ) मान्छेको अनुहारले कुन गुणलाई सङ्‌केत गर्छ?

१९ बाइबलमा अक्सर साँढेले बललाई सङ्‌केत गर्छ किनभने साँढे असाध्यै बलियो जनावर हो। अर्कोतर्फ सिंहले भने अक्सर न्यायलाई सङ्‌केत गर्छ किनभने सही न्याय गर्न साहस चाहिन्छ र यो गुण सिंहहरूको चिनारी हो। चीलहरूचाहिँ दूरदर्शीताको लागि चिनिन्छन्‌ किनभने तिनीहरू कोसौँ टाढा भएका ससाना कुराहरू पनि सजिलै देख्न सक्छन्‌। त्यसैले चीलको अनुहारले परमेश्‍वरको दूरदर्शी बुद्धिलाई सङ्‌केत गरेको हुनुपर्छ। मानिसको अनुहारले चाहिँ केलाई सङ्‌केत गर्छ? मानिसहरू परमेश्‍वरकै स्वरूपमा बनाइएका हुन्‌। (उत्पत्ति १:२६) त्यसैले तिनीहरूसित परमेश्‍वरको प्रमुख गुण प्रेम देखाउन सक्ने अद्‌भुत क्षमता छ। यहोवाको शक्‍ति, न्याय, बुद्धि र प्रेमबारे बाइबलमा थुप्रै पटक वर्णन गरिएको छ। त्यसैले यी गुणहरूलाई परमेश्‍वरका मुख्य गुणहरू भन्‍न सकिन्छ।

२०. के परमेश्‍वर परिवर्तन हुनुभएको छ? तपाईँ किन त्यसो भन्‍नुहुन्छ?

२० बाइबलमा यहोवाको व्यक्‍तित्वबारे बताइएको हजारौँ वर्ष भइसक्यो। त्यसोभए के यहोवा परिवर्तन हुनुभएको छ? अहँ, छैन। परमेश्‍वरको व्यक्‍तित्व कहिल्यै परिवर्तन हुँदैन। उहाँ आफैले हामीलाई यसो भन्‍नुभएको छ: “म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्‍नँ।” (मलाकि ३:६) हो, यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न बरु उहाँ हरेक परिस्थितिलाई राम्ररी सम्हाल्ने एक आदर्श बुबा हुनुहुन्छ। कुनै परिस्थिति सुल्झाउन कुन गुण आवश्‍यक पर्छ, उहाँ त्यही गुण झल्काउनुहुन्छ। उहाँको प्रमुख गुणचाहिँ प्रेम हो। उहाँ जे गर्नुहुन्छ, प्रेमले उत्प्रेरित भई गर्नुहुन्छ। उहाँ आफ्नो शक्‍ति, न्याय र बुद्धि प्रकट गर्दा पनि प्रेमले उत्प्रेरित भएर नै गर्नुहुन्छ। बाइबलमा परमेश्‍वर र उहाँको प्रेमबारे असाध्यै रोचक कुरा बताइएको छ। बाइबल भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युहन्‍ना ४:८) याद गर्नुहोस्‌, यहाँ परमेश्‍वरमा प्रेम वा परमेश्‍वर मायालु हुनुहुन्छ भनेर बताइएको छैन। बरु यस पदले बताएअनुसार परमेश्‍वर नै प्रेम हुनुहुन्छ। भन्‍नुको मतलब, परमेश्‍वर प्रेमको मूर्तरूप हुनुहुन्छ। उहाँ सबै कामकुरा प्रेमले उत्प्रेरित भएर नै गर्नुहुन्छ।

“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!”

२१. यहोवाका गुणहरूबारे अझ गहिरिएर बुझ्दै जाँदा हामी कुन कुरामा विश्‍वस्त हुनेछौँ?

२१ “उहाँ मेरो बाबा हो!” के तपाईँले कहिल्यै एउटा सानो केटोले साथीहरूलाई आफ्नो बुबातिर देखाउँदै खुसी भई त्यसो भनेको सुन्‍नुभएको छ? यहोवाका उपासकहरूले पनि उहाँबारे त्यस्तै महसुस गर्न सक्छन्‌। बाइबलमा यस्तो समयबारे भविष्यवाणी गरिएको छ, जब वफादार जनहरूले हर्षोल्लासका साथ यसो भन्‍नेछन्‌: “हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!” (यसैया २५:८, ९) हामी यहोवाका गुणहरूबारे जति गहिरिएर बुझ्दै जान्छौँ, उहाँ सर्वोत्कृष्ट बुबा हुनुहुन्छ भनेर त्यति नै विश्‍वस्त हुनेछौँ।

२२, २३. बाइबलमा स्वर्गमा बस्नुहुने हाम्रा बुबालाई कस्तो व्यक्‍तिको रूपमा चिनाइएको छ? यहोवा हामी उहाँसित नजिक भएको चाहनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

२२ थुप्रै धार्मिक नेता र दार्शनिकहरूले परमेश्‍वर भावना नै नभएको व्यक्‍ति हुनुहुन्छ, हामीदेखि धेरै टाढा हुनुहुन्छ वा उहाँसित नजिक हुनै सकिँदैन भनेर सिकाउँछन्‌। तर हाम्रा बुबा यहोवा त्यस्तो हुनुहुन्‍न। उहाँ त्यस्तो निर्दयी हुनुभएको भए हामी उहाँसित कदापि नजिक हुन सक्ने थिएनौँ। तर बाइबलले स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवालाई त्यस्तो व्यक्‍तिको रूपमा चिनाउँदैन। बरु उहाँलाई “आनन्दित परमेश्‍वर” भनिएको छ। (१ तिमोथि १:११) यहोवा हाम्रो काम र व्यवहार याद गर्नुहुन्छ। त्यसले उहाँलाई खुसी वा दुःखी बनाउन सक्छ। उहाँले बौद्धिक क्षमता भएका सृष्टिहरूलाई तिनीहरूकै भलाइको लागि विभिन्‍न निर्देशन दिनुभएको थियो तर तिनीहरूले ती पालन नगर्दा “उहाँ असाध्यै दुःखी हुनुभयो।” (उत्पत्ति ६:६; भजन ७८:४१) अर्कोतर्फ हामीले उहाँका निर्देशनहरू पालन गऱ्‍यौँ भने उहाँको “हृदयलाई खुसी” बनाइरहेका हुन्छौँ।—हितोपदेश २७:११.

२३ हाम्रा बुबा यहोवा हामी उहाँसित नजिक भएको चाहनुहुन्छ। बाइबलले हामीलाई ‘परमेश्‍वरलाई खोज्न अनि छामछाम-छुमछुम गरेर उहाँलाई भेट्टाउन’ प्रोत्साहन दिन्छ किनभने “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।” (प्रेषित १७:२७) तर के हामी धुलोको कणसरि मानिसहरू ब्रह्‍माण्डका मालिक यहोवासित साँच्चै नजिक हुन सक्छौँ?