सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के हामी ईश्‍वरलाई साँच्चै भेट्टाउन सक्छौँ?

के हामी ईश्‍वरलाई साँच्चै भेट्टाउन सक्छौँ?

“ईश्‍वर रहस्यमय हुनुहुन्छ।”—अलेक्जेन्ड्रियाका फिलो, प्रथम शताब्दीका दार्शनिक।

“[परमेश्‍वर] हामी कसैबाट पनि टाढा हुनुहुन्‍न।”—टार्ससका सावल, प्रथम शताब्दीमा एथेन्सका दार्शनिकहरूलाई सम्बोधन गर्दै।

माथिका दुईमध्ये कुनचाहिँ विचारसित तपाईँ समहत हुनुहुन्छ? टार्ससका सावल जसलाई प्रेषित पावल पनि भनिन्छ, तिनले बताएका कुराहरूले धेरै मानिसलाई सान्त्वना दिएको छ र तिनीहरूको मन छोएको छ। (प्रेषित १७:२६, २७) बाइबलमा योजस्तै अरू थुप्रै आश्‍वासनदायी कुराहरू पाइन्छ। उदाहरणको लागि, येसुले चढाउनुभएको प्रार्थनामा उहाँका चेलाहरूले परमेश्‍वरलाई चिन्‍न सक्छन्‌ र उहाँबाट आशिष्‌ पाउन सक्छन्‌ भन्‍ने एउटा न्यानो आश्‍वासन पाइन्छ।—युहन्‍ना १७:३.

तर फिलोजस्ता दार्शनिकहरूको धारणा बेग्लै थियो। तिनीहरूको विचारमा हामी ईश्‍वरलाई कहिल्यै पनि चिन्‍न सक्दैनौँ। किनभने उहाँ पूर्णरूपमा रहस्यमय हुनुहुन्छ। त्यसोभए सत्य के हो त?

ईश्‍वरसम्बन्धी केही कुराहरू मानिसहरूलाई बुझ्न गाह्रो हुन्छ भनेर बाइबलले पनि स्विकारेको छ। उदाहरणको लागि, सृष्टिकर्ताको अस्तित्व अनादिदेखि अनन्तसम्म छ, उहाँको समझ बेजोड छ र उहाँको बुद्धिको गहिराइ नाप्न सकिँदैन। ती कुराहरू हामी कहिल्यै पनि बुझ्न सक्दैनौँ। तर यसको अर्थ हामी ईश्‍वरलाई चिन्‍न सक्दैनौँ भन्‍ने होइन। वास्तवमा ती कुराहरूमा मनन गर्दा हामी “परमेश्‍वरसित नजिक” हुन सक्छौँ। (याकुब ४:८) पहिला हामीले ईश्‍वरबारे बुझ्न नसक्ने केही कुराहरू विचार गरौँ। त्यसपछि उहाँबारे बुझ्न सकिने केही कुराहरू विचार गर्नेछौँ।

हामीले ईश्‍वरबारे बुझ्न नसक्ने केही कुराहरू

ईश्‍वरको अनन्त अस्तित्व: ईश्‍वरको अस्तित्व “अनादिदेखि अनन्तसम्म” छ भनेर बाइबलले सिकाउँछ। (भजन ९०:२) अर्को शब्दमा भन्‍नुपर्दा, ईश्‍वरको न सुरुवात छ न अन्त नै। “मानिसले उहाँको उमेर गन्ती गर्न सक्दैन।”—अय्युब ३६:२६.

तपाईँलाई कस्तो फाइदा हुन्छ: तपाईँले ईश्‍वरलाई चिन्‍नुभयो भने उहाँले तपाईँलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। (युहन्‍ना १७:३) ईश्‍वर नै सधैँभरि बाँच्नुहुन्‍न भने उहाँले यस्तो प्रतिज्ञा गर्नुको के कुनै औचित्य छ? “युगयगुका महाराजा”-ले मात्र त्यस्तो प्रतिज्ञा गर्न सक्नुहुन्छ।—१ तिमोथि १:१७.

ईश्‍वरको समझ: बाइबलअनुसार “उहाँको समझलाई कसैले बुझ्न सक्दैन” किनभने उहाँको विचार हाम्रो विचारभन्दा उच्च छ। (यसैया ४०:२८; ५५:९) त्यसैले बाइबलमा यस्तो आलङ्‌कारिक प्रश्‍न सोधिएको छ: “परमेश्‍वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?”—१ कोरिन्थी २:१६.

तपाईँलाई कस्तो फाइदा हुन्छ: ईश्‍वरले एकैचोटि लाखौँ मानिसले गरेको प्रार्थना सुन्‍न सक्नुहुन्छ। (भजन ६५:२) उहाँ प्रत्येक भँगेरालाई समेत याद गर्नुहुन्छ। के ईश्‍वर तपाईँलाई ध्यानै दिन नसक्नेगरि अनि तपाईँको प्रार्थना नै सुन्‍न नभ्याउनेगरि व्यस्त हुनुहुन्छ? अहँ, त्यस्तो त होइन। बरु उहाँको नजरमा तपाईँ “थुप्रै भँगेराभन्दा बहुमूल्य” हुनुहुन्छ।—मत्ति १०:२९, ३१.

ईश्‍वरका मार्गहरू: “मानिसले साँचो परमेश्‍वरको काम पूर्ण रूपमा कहिल्यै बुझ्न सक्दैन” भनेर बाइबलले सिकाउँछ। (उपदेशक ३:११) त्यसैले हामीले ईश्‍वरबारे सबै कुरा कहिल्यै पनि थाह पाउन सक्दैनौँ। ईश्‍वरको बुद्धि “अपार” छ। (रोमी ११:३३) तैपनि ईश्‍वर उहाँलाई खुसी पार्न चाहनेहरूलाई आफ्नो मार्ग प्रकट गर्न इच्छुक हुनुहुन्छ।—आमोस ३:७.

सृष्टिकर्ताको अस्तित्व अनादिदेखि अनन्तसम्म छ, उहाँको समझ बेजोड छ र उहाँको बुद्धिको गहिराइ नाप्न सकिँदैन

तपाईँलाई कस्तो फाइदा हुन्छ: तपाईँले बाइबल पढ्‌नुभयो अनि अध्ययन गर्नुभयो भने ईश्‍वर र उहाँका मार्गहरूबारे नयाँ-नयाँ कुराहरू थाह पाइरहनुहुनेछ। यसको मतलब, हामी स्वर्गमा बस्नुहुने बुबासित सधैँभरि नजिक भइरहन सक्नेछौँ।

हामीले ईश्‍वरबारे बुझ्न सक्ने केही कुराहरू

हुन त ईश्‍वरबारे केही कुराहरू हामी पूर्णरूपमा बुझ्न सक्दैनौँ। तर यसको अर्थ हामी उहाँबारे केही पनि थाह पाउनै सक्दैनौँ भन्‍ने होइन। बाइबलमा ईश्‍वरलाई अझ राम्ररी चिन्‍न मदत गर्ने थुप्रै जानकारी पाइन्छ। केही उदाहरणहरू विचार गरौँ:

ईश्‍वरको नाम: ईश्‍वर आफैले आफ्नो एउटा नाम राख्नुभएको छ भनेर बाइबलले सिकाउँछ। उहाँ भन्‍नुहुन्छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” बाइबलमा ईश्‍वरको नाम कुनै पनि व्यक्‍तिको नामभन्दा धेरै पटक चलाइएको छ। यो नाम बाइबलमा करिब ७ हजार पटक उल्लेख गरिएको पाइन्छ।—यसैया ४२:८.

तपाईँलाई कस्तो फाइदा हुन्छ: येसुले यसरी प्रार्थना गर्न सिकाउनुभएको थियो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) के तपाईँ पनि प्रार्थना गर्दा ईश्‍वरको नाम प्रयोग गर्न सक्नुहुन्छ? उहाँको नामप्रति उचित आदर देखाउने सबैको उद्धार गर्न यहोवा इच्छुक हुनुहुन्छ।—रोमी १०:१३.

ईश्‍वरको निवासस्थान: बाइबलले दुइटा “संसार” छ भनेर बताउँछ—एउटा भौतिक संसार, जहाँ हाम्रो पृथ्वी र ब्रह्‍माण्ड छ र अर्को अदृश्‍य संसार, जहाँ परमेश्‍वर र स्वर्गदूतहरू हुनुहुन्छ। (युहन्‍ना ८:२३; १ कोरिन्थी १५:४४) बाइबलमा चलाइएको “स्वर्ग” शब्दले अक्सर अदृश्‍य संसारलाई बुझाउँछ। सृष्टिकर्ताको “निवासस्थान स्वर्ग”-मा छ।—१ राजा ८:४३.

तपाईँलाई कस्तो फाइदा हुन्छ: तपाईँ ईश्‍वरलाई राम्रोसँग चिन्‍न सक्नुहुन्छ। मानिसहरूले ईश्‍वर एउटा शक्‍ति हो, जो सबैतिर अनि सबै कुरामा पाइन्छ भनेर विश्‍वास गर्छन्‌। तर वास्तवमा त्यो सही होइन। यहोवा एक जना वास्तविक व्यक्‍ति हुनुहुन्छ, जो एउटा वास्तविक ठाउँमा बस्नुहुन्छ। तर “यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌।”—हिब्रू ४:१३.

ईश्‍वरको व्यक्‍तित्व: यहोवाका मनमोहक गुणहरू छन्‌ भनेर बाइबलले सिकाउँछ। “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ युहन्‍ना ४:८) उहाँ कहिल्यै झूट बोल्नुहुन्‍न। (तितस १:२) उहाँ निष्पक्ष, कृपालु, दयालु हुनुहुन्छ र हतपती रिसाउनुहुन्‍न। (प्रस्थान ३४:६; प्रेषित १०:३४) सृष्टिकर्ता उहाँको आदर गर्नेहरूको “घनिष्ठ मित्र” बन्‍न चाहनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा धेरै जना छक्क पर्न सक्छन्‌।—भजन २५:१४.

तपाईँलाई कस्तो फाइदा हुन्छ: तपाईँ ईश्‍वरको मित्र हुन सक्नुहुन्छ। (याकुब २:२३) साथै ईश्‍वरको व्यक्‍तित्वबारे बुझ्दै जाँदा तपाईँले बाइबलका विवरणहरू अझ राम्ररी बुझ्न सक्नुहुन्छ।

“उहाँको खोजी” गर्नुहोस्‌

बाइबलमा यहोवा परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर स्पष्टसँग बताइएको छ। उहाँ मानिसहरूले सोचेजस्तो रहस्यमय हुनुहुन्‍न। वास्तवमा सृष्टिकर्ता तपाईँले उहाँलाई चिनेको चाहनुहुन्छ। उहाँको वचन बाइबलले यस्तो प्रतिज्ञा गरेको छ: “तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।” (१ इतिहास २८:९) बाइबल विवरणहरू पढेर अनि त्यसमा मनन गरेर परमेश्‍वरलाई अझ चिन्‍ने प्रयास गर्नुभए कसो होला? त्यसो गर्नुभयो भने बाइबलले प्रतिज्ञा गरेअनुसारै परमेश्‍वर तपाईँसित “नजिक हुनुहुनेछ।”—याकुब ४:८.

तपाईँले बाइबल पढ्‌नुभयो अनि अध्ययन गर्नुभयो भने ईश्‍वर र उहाँका मार्गहरूबारे नयाँ-नयाँ कुराहरू थाह पाइरहनुहुनेछ

तपाईँलाई यस्तो लाग्ला, ‘सृष्टिकर्ताबारे म सबै कुरा बुझ्न सक्दिनँ भने म कसरी उहाँको मित्र बन्‍न सक्छु र?’ यो कुरा विचार गर्नुहोस्‌: डाक्टरको घनिष्ठ साथी बन्‍न कोही डाक्टर नै हुनुपर्छ र? पर्दैन! डाक्टरको साथीको पेसा बिलकुलै फरक हुन सक्छ। तैपनि तिनीहरू घनिष्ठ साथी बन्‍न सम्भव छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको डाक्टरको साथीलाई तिनको व्यक्‍तित्व र तिनलाई मन पर्ने अनि मन नपर्ने कुरा थाह हुन्छ। त्यसैगरि तपाईँले यहोवा कस्तो किसिमको व्यक्‍ति हुनुहुन्छ भनेर बाइबलबाट थाह पाउन सक्नुहुन्छ। उहाँसित घनिष्ठ मित्रता गाँस्न तपाईँले गर्नुपर्ने कुरा यही नै हो।

बाइबलमा सृष्टिकर्ताबारे अपूरो जानकारी दिइएको छैन। बरु यसमा उहाँलाई अझ राम्ररी चिन्‍न हामीलाई चाहिने सबै किसिमको जानकारी पाइन्छ। के तपाईँ यहोवा परमेश्‍वरबारे थप कुरा बुझ्न चाहनुहुन्छ? यहोवाका साक्षीहरू निश्‍शुल्क गृह बाइबल अध्ययन सञ्चालन गर्छन्‌। हामी तपाईँलाई तपाईँको इलाकाका साक्षीहरूसित सम्पर्क राख्न वा हाम्रो वेबसाइट www.jw.org हेर्न अनुरोध गर्छौँ।