पहिलो इतिहास २८:१-२१

  • मन्दिर निर्माणबारे दाउदले दिएको भाषण (१-८)

  • सुलेमानलाई दिइएका निर्देशनहरू; मन्दिरको नक्सा दिइन्छ (९-२१)

२८  त्यसपछि दाउदले इस्राएलका यी सबै अगुवालाई यरुसलेममा भेला गराए: सबै कुलका नाइकेहरू, राजाको सेवा गर्न खटाइएका दलहरूका कप्तानहरू,+ हजार-हजार र सय-सयका नाइकेहरू+ अनि राजा र राजकुमारहरूको+ सरसम्पत्ति र वस्तुभाउको रेखदेख गर्न खटाइएकाहरू।+ साथै तिनले दरबारका अफिसरहरू अनि सबै वीर र योग्य पुरुषलाई पनि त्यहाँ भेला गराए।+ २  त्यसपछि राजा दाउदले खडा भएर यसो भने: “हे मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌! एउटा यस्तो भवन बनाउने मेरो ठूलो धोको थियो, जुन यहोवा परमेश्‍वरको करारको सन्दुक* राख्ने स्थायी ठाउँ र हाम्रा परमेश्‍वरको पाउदान होस्‌।+ अनि मैले त्यो भवन बनाउन तयारी पनि गरेको थिएँ।+ ३  तर साँचो परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: ‘तिमीले मेरो नामको निम्ति भवन बनाउनेछैनौ।+ किनकि तिमीले थुप्रै युद्ध लडेका छौ र धेरैको रगत बगाएका छौ।’+ ४  इस्राएलका परमेश्‍वर यहोवाले मेरो बुबाको सारा घरानाबाट मलाई नै सधैँभरिको लागि इस्राएलको राजा बनाउन रोज्नुभएको थियो।+ उहाँले यहुदालाई अगुवा हुन रोज्नुभयो+ र यहुदाका घरानाहरूमध्ये मेरो बुबाको घरानालाई छान्‍नुभयो+ अनि उहाँले मेरो बुबाका छोराहरूमध्ये मलाई नै इस्राएलको राजा बनाउन चाहनुभयो।+ ५  यहोवा परमेश्‍वरले मलाई थुप्रै छोरा दिनुभएको छ+ अनि यहोवाको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न+ उहाँले मेरा छोराहरूमध्ये सुलेमानलाई रोज्नुभएको छ।+ ६  “उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो छोरा सुलेमानले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले उसलाई नै मेरो छोरा हुन रोजेको छु र म उसको बुबा हुनेछु।+ ७  यदि उसले अहिले जस्तै अटल भएर मेरा आज्ञा पालन गरिरह्‍यो र मेरा फैसलाअनुसार चलिरह्‍यो भने+ म उसको सिंहासन सधैँभरिको लागि स्थिर पार्नेछु।’+ ८  त्यसैले म सारा इस्राएल—यहोवाको पूरै समुदायसामु र हाम्रा परमेश्‍वरसामु यसो भन्छु: तिमीहरूका परमेश्‍वर यहोवाले दिनुभएको सम्पूर्ण आज्ञाको खोजी गर र ती होसियारीपूर्वक पालन गर। यसो गऱ्‍यौ भने तिमीहरूले यो सुन्दर भूमि अधिकार गर्न+ र तिमीहरूका छोराहरूलाई यो भूमि सदाको लागि पैतृक सम्पत्तिको रूपमा दिन सक्नेछौ। ९  “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+ १०  अब हेर, यहोवा परमेश्‍वरले एउटा पवित्र स्थान,* एउटा भवन बनाउन तिमीलाई रोज्नुभएको छ। साहसी होऊ र आफ्नो काम थाल।” ११  त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्‍चितको ढकनीको भवनको*+ नक्सा दिए।+ १२  तिनले परमेश्‍वरको प्रेरणाद्वारा पाएका यी सबै कुराको नक्सा सुलेमानलाई दिए: यहोवाको भवनका चोकहरू,+ भवनवरपर भएका भोजनकक्षहरू, साँचो परमेश्‍वरको भवनका भण्डारहरू र पवित्र पारिएका* कुराहरू राख्ने भण्डारहरूको नक्सा।+ १३  तिनले पुजारीहरू तथा लेवीहरूको दल छुट्ट्याउने विषयमा,+ यहोवा परमेश्‍वरको भवनमा गरिने सम्पूर्ण कामकाजको विषयमा र यहोवा परमेश्‍वरको भवनमा प्रयोग हुने सबै भाँडाकुँडाको विषयमा पनि निर्देशनहरू दिए। १४  विभिन्‍न काममा प्रयोग हुने सुनका भाँडाकुँडा र चाँदीका भाँडाकुँडा बनाउन सुन र चाँदी कति चाहिन्छ, १५  सुनका पानसहरू+ र सुनका दियोहरू अनि चाँदीका पानसहरू र चाँदीका दियोहरू बनाउन सुन र चाँदी कति चाहिन्छ, १६  भेटीको रोटी* राख्ने प्रत्येक टेबुल बनाउन कति सुन चाहिन्छ+ अनि चाँदीका टेबुलहरू बनाउन कति चाँदी चाहिन्छ, १७  काँटाहरू, कचौराहरू र सुराहीहरू बनाउन निखुर सुन कति चाहिन्छ अनि सुनका प्रत्येक कचौरा+ र चाँदीका प्रत्येक कचौरा बनाउन सुन र चाँदी कति चाहिन्छ, त्यो सब तिनले बताइदिए। १८  साथै, धूप बाल्ने वेदीको लागि निखुर सुन कति चाहिन्छ+ अनि रथको प्रतीक+ अर्थात्‌ सुनका ती करूबहरू,+ जसका पखेटाहरू फिँजिएका हुने थिए र यहोवा परमेश्‍वरको करारको सन्दुकलाई छाया पार्ने थिए, ती बनाउन कति सुन चाहिन्छ, त्यो पनि बताइदिए। १९  त्यसपछि दाउदले भने: “यहोवा परमेश्‍वरको हात ममाथि थियो र उहाँले मलाई अन्तर्दृष्टि दिनुभएकोले मैले यी सबै कुराको एक-एक विवरण+ नक्सामा उतार्न सकेँ।”+ २०  अनि दाउदले आफ्ना छोरा सुलेमानलाई भने: “साहसी र बलियो होऊ! अनि आफ्नो काम थाल। नडराऊ, त्रसित नहोऊ। किनकि मेरा परमेश्‍वर यहोवा तिम्रो साथमा हुनुहुन्छ।+ उहाँले तिमीलाई छोड्‌नुहुनेछैन र तिमीलाई त्याग्नुहुनेछैन।+ यहोवा परमेश्‍वरको भवनको सम्पूर्ण कामकाज नसिद्धिएसम्म उहाँ तिमीसँगै हुनुहुनेछ। २१  साँचो परमेश्‍वरको भवनमा गरिने सबै सेवाको लागि यहाँ पुजारीहरू+ र लेवीहरूका दलहरू छन्‌।+ हरेक किसिमको काम राजीखुसीले गर्न तयार अनि सिपालु कामदारहरू पनि तिम्रो साथमा छन्‌।+ साथै, तिम्रा हरेक निर्देशन पालन गर्ने इस्राएलका अगुवाहरू+ र सम्पूर्ण मानिसहरू पनि तिमीसँग छन्‌।”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “प्रायश्‍चितको भवनको।”
वा “अर्पण गरिएका।”
वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।