सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू

तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू

यहोवाको वचन जीवित छ

तीतस, फिलेमोन र हिब्रूहरूलाई लेखेको पत्रका विशेषताहरू

इस्वी संवत्‌ ६१ मा रोमको कैदबाट मुक्‍त भएको केही समयपछि प्रेरित पावल क्रेट टापु आइपुग्छन्‌। त्यहाँको मण्डलीको आध्यात्मिक अवस्था देखेर तिनीहरूलाई सुदृढ पार्न पावलले तीतसलाई त्यहीं बस्न भन्छन्‌। पावल रोमको कैदमा परेको त्यो पहिलो चोटि थियो। पछि, सम्भवतः म्यासिडोनियाबाट तीतसलाई जिम्मेवारी सँभाल्नका लागि डोऱ्‍याइ दिन र तिनले गरिरहेको काममा समर्थन छ भनी देखाउन पावल पत्र लेख्छन्‌।

इस्वी संवत्‌ ६१ मा कैदबाट छुट्‌नुभन्दा केही अघि मात्र पावलले कलस्सीमा बस्ने ख्रीष्टियान भाइ फिलेमोनलाई पत्र लेखे। यो पत्र आफ्नो मित्रलाई गरेको एउटा व्यक्‍तिगत बिन्ती हो।

इस्वी संवत्‌ ६१ तिर पावलले यहूदियाका हिब्रू ख्रीष्टियानहरूलाई पनि पत्र लेख्छन्‌। उक्‍त पत्रमा यहूदी धर्मभन्दा ख्रीष्टियान धर्म श्रेष्ठ छ भनी स्पष्ट पारिएको छ। यी तीनै पत्रमा हाम्रो लागि बहुमूल्य सल्लाह छन्‌।—हिब्रू ४:१२.

आध्यात्मिक तवरमा स्वस्थ रहनुहोस्‌

(ती. १:१–३:१५)

“हरेक शहरमा धर्म-गुरुहरू नियुक्‍त गर्न” डोऱ्‍याइ दिएपछि ‘विश्‍वासमा पक्का होऊन्‌ भनी [वशमा नआउनेहरूलाई] कडासित हप्काउन’ पावल तीतसलाई सल्लाह दिन्छन्‌। तिनले क्रेटका ख्रीष्टियानहरूलाई “संसारको तृष्णालाई इन्कार गरेर . . . भक्‍तिको जीवनमा” रहन अर्ती दिन्छन्‌।—ती. १:५, १०-१३; २:१२.

क्रेटका भाइहरूलाई आध्यात्मिक तवरमा स्वस्थ रहन पावल थप सल्लाह दिन्छन्‌। तिनी तीतसलाई “मूर्ख सवाल-जवाफ, . . . र व्यवस्था सम्बन्धी झगडाहरूदेखि . . . अलग” बस्न निर्देशन दिन्छन्‌।—ती. ३:९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१५—कसरी “सबै थोक” ‘शुद्धहरूलाई शुद्धै’ तर “अशुद्ध र अविश्‍वासीहरूलाई” अशुद्धै हुन्छ? यसको जवाफ पाउन पावलले “सबै थोक” भन्‍नुको अर्थ के हो त्यो पहिला बुझ्नुपर्छ। बाइबलले सीधै निन्दा गर्ने कुराबारे तिनले भनिरहेका थिएनन्‌। तिनले त्यस्ता विषयहरूबारे भन्दै थिए जसमा ख्रीष्टियानहरूले आफ्नो भित्री आवाजअनुसार फरक-फरक निर्णय गर्न सक्थे। परमेश्‍वरको स्तर अनुरूप सोचाइ भएको मानिसलाई त्यस्ता कुरा शुद्ध लाग्छ। तर कसैको सोचाइ टेढो र अन्तस्करण बिटुलिएको छ भने उसलाई त्यस्ता कुरा अशुद्ध लाग्छ। a

३:५, NRV—अभिषिक्‍त ख्रीष्टियानहरूलाई ‘स्नानद्वारा मुक्‍ति’ र ‘पवित्र आत्माद्वारा नवीकरण’ गरिन्छ, कसरी? तिनीहरूलाई ‘स्नानद्वारा मुक्‍ति’ दिइन्छ भनेर यो अर्थमा भन्‍न सकिन्छ कि ख्रीष्टको छुटकाराको बलिदानको आधारमा उहाँको रगतमा तिनीहरू पखालिएका छन्‌। अनि तिनीहरूलाई ‘पवित्र आत्माद्वारा नवीकरण’ गरिएको छ भन्‍न सकिन्छ किनभने तिनीहरू परमेश्‍वरको आत्मा-अभिषिक्‍त पुत्रहरूको हैसियतमा “नयाँ सृष्टि” भएका छन्‌।—२ कोरि. ५:१७.

हाम्रो लागि पाठ:

१:१०-१३; २:१५. मण्डलीमा देखिएको गल्तीलाई सुधार्न ख्रीष्टियान निरीक्षकहरूले साहस देखाउनुपर्छ।

२:३-५. प्रथम शताब्दीमा जस्तै आज पनि परिपक्व ख्रीष्टियान बहिनीहरू “पवित्र चालचलनका, अर्कालाई सित्तै दोष नलाउने, रक्सी धेरै नपिउने, बढिया कुराहरूको शिक्षा दिने” हुनुपर्छ। यसो हुँदा तिनीहरूले मण्डलीका “तरूणीहरूलाई” व्यक्‍तिगत रूपमा प्रभावकारी सल्लाह दिन सक्छन्‌।

३:८, १४. “असल काम कायम राख्ने” चेष्टा गर्नु “असल र उपकारी छन्‌” किनभने यसले हामीलाई परमेश्‍वरको सेवामा फलदायी हुन र दुष्ट संसारबाट अलग रहन मदत गर्छ।

“प्रेमको खातिर” आग्रहपूर्वक बिन्ती गर्नुहोस्‌

(फिले. १-२५)

फिलेमोनलाई “प्रेम र विश्‍वासको” उदाहरण भएकोमा प्रशंसा गरिन्छ। सँगी ख्रीष्टियानहरूका लागि तिनी स्फूर्तिको स्रोत भएकोले पावललाई “बडो आनन्द र खुशी लागेको छ।”—फिले. ४, ५, ७.

पावलले ओनसिमससम्बन्धी संवेनशील मामिलालाई कसरी सँभाल्छन्‌? आज्ञा नदिई, “प्रेमको खातिर” आग्रहपूर्वक बिन्ती गरेर। यो, निरीक्षकहरूका लागि एउटा उदाहरण हो। तिनी फिलेमोनलाई यसो भन्छन्‌: “तिम्रो आज्ञापालनमा दृढ विश्‍वास राखीकन, कि मैले भनेकोभन्दा पनि अझ बढ्‌तानै गर्नेछौ भनी सम्झेर तिमीलाई लेख्तछु।”—फिले. ८, ९, २१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१०, ११, १८—पहिला “काम नलाग्ने” ओनसिमस कसरी “काम लाग्ने” भए? फिलेमोनकहाँ काम गर्न मन नलागेकोले ओनसिमस कलस्सीबाट भागेर रोम पुगे। ओनसिमसले १,४०० किलोमिटरको यात्रा गर्न मालिकको पैसा पनि चोरेको हुनुपर्छ। निश्‍चय नै तिनी फिलेमोनको लागि काम नलाग्ने थिए। तर रोममा पावलको मदत पाएर ओनसिमस ख्रीष्टियान भए। पहिलाको “काम नलाग्ने” कमारा अहिले आध्यात्मिक भाइ भएपछि “काम लाग्ने” भए।

१५, १६—ओनसिमसलाई छोडिदिन पावलले फिलेमोनलाई किन नभनेको? पावल ‘परमेश्‍वरको राज्यको प्रचार गर्ने र प्रभु येशू ख्रीष्टको विषयका कुराहरू सिकाउने’ काममा पूरै केन्द्रित हुन चाहन्थे। त्यसैले कमाराको विषय जस्तो सामाजिक मामिलामा तिनी मुछिन चाहेनन्‌।—प्रेरि. २८:३१.

हाम्रो लागि पाठ:

. फिलेमोनले आफ्नो घर ख्रीष्टियान सभाहरूका लागि उपलब्ध गराए। आफ्नो घरमा क्षेत्र सेवाको लागि सभा गर्न पाउनु सुअवसरको कुरा हो।—रोमी १६:५; कल. ४:१५.

४-७. विश्‍वास र प्रेममा उदाहरणीय सँगी विश्‍वासीहरूको प्रशंसा गर्न हामी अघि सर्नुपर्छ।

१५, १६. जीवनमा आइपर्ने नराम्रा परिस्थितिहरूको कारण अचाहिंदो फिक्रीमा डुब्नु हुँदैन। ओनसिमसको सन्दर्भमा जस्तै नतिजा राम्रो पनि हुन सक्छ।

२१. फिलेमोनले ओनसिमसलाई माफी दिनेछन्‌ भनी पावलले आशा गरेका थिए। त्यस्तैगरि हामीलाई चित्त दुखाएका भाइलाई पनि हामीले क्षमा गरेको आशा गरिन्छ।—मत्ती ६:१४.

“परिपक्वतातर्फ बढौं”

(हिब्रू १:१–१३:२५)

व्यवस्थाको कार्यभन्दा येशूको बलिदानमाथिको विश्‍वास श्रेष्ठ छ भनी प्रमाणित गर्न पावलले ख्रीष्टियान धर्मका संस्थापक, तिनको पूजाहारीगिरी, तिनको बलिदान र नयाँ करारको श्रेष्ठतालाई प्रकाश पार्छन्‌। (हिब्रू ३:१-३; ७:१-३, २२; ८:६; ९:११-१४, २५, २६) यहूदीहरूबाट सतावट भोग्नुपर्दा हिब्रू ख्रीष्टियानहरूलाई निश्‍चय नै यो कुराले मदत गरेको हुनुपर्छ। हिब्रू सँगी विश्‍वासीहरूलाई पावलले ‘परिपक्वतातर्फ बढ्‌न’ आग्रह गर्छन्‌।—हिब्रू ६:१, NRV.

ख्रीष्टियान धर्ममा विश्‍वासको कत्ति महत्त्व छ? पावल लेख्छन्‌, “विनाविश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ।” तिनी हिब्रूहरूलाई यस्तो प्रोत्साहन दिन्छन्‌: “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग दौडौं।”—हिब्रू ११:६; १२:१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१४, १५—शैतानलाई “मृत्युका सामर्थ्य भएको” भन्‍नुको अर्थ त्यसले चाहेको जो कोहीको पनि अकालमै मृत्यु गराउन सक्छ भन्‍ने हो? होइन। तर शैतानले दुष्ट मार्ग अपनाएदेखि नै त्यसले बोलेको झूट मृत्युको कारण बनेको छ किनभने आदमले पाप गऱ्‍यो अनि सम्पूर्ण मानव परिवारमा पाप र मृत्यु व्याप्त भयो। (रोमी ५:१२) यसबाहेक, यस पृथ्वीमा रहेका शैतानका मानिसहरूले परमेश्‍वरका जनहरूलाई घोर सतावट दिएका छन्‌—यहाँसम्म कि हत्या समेत गरेका छन्‌। जस्तै: येशूलाई। तर त्यसको अर्थ शैतानसित आफूले चाहेको जो-कोहीलाई पनि मार्न सक्ने असीमित शक्‍ति छ भन्‍ने होइन। त्यसो हुँदो हो त त्यसले धेरै पहिल्यै यहोवाका सबै उपासकहरूलाई निश्‍चयै खतम पार्नेथियो। यहोवाले आफ्ना जनहरूलाई समूहको रूपमा सुरक्षा दिनुहुन्छ र तिनीहरूलाई निर्मूल पार्न दिनुहुन्‍न। शैतानको आक्रमणको कारण हामीमध्ये कसैलाई परमेश्‍वरले मर्न दिनुभए तापनि हामीमाथि पुगेको जस्तोसुकै हानिलाई यहोवाले उल्टाउन सक्नुहुन्छ भनेर विश्‍वस्त हुन सक्छौं।

४:९-११—हामी कसरी “[परमेश्‍वरको] विश्राममा प्रवेश” गर्छौं? सृष्टिको छैठौं दिनको अन्तमा परमेश्‍वरले सृष्टि गर्ने कार्यबाट विश्राम लिनुभयो, उहाँ पृथ्वी अनि मानिसजातिको लागि राखेको आफ्नो उद्देश्‍य पूरा हुने कुरामा विश्‍वस्त हुनुहुन्थ्यो। (उत्प. १:२८; २:२, ३) आफ्नो जस्तोसुकै कामको पनि सफाइ दिने नगरेर र मुक्‍तिको लागि परमेश्‍वरको प्रबन्ध स्वीकारेर हामी “विश्राममा प्रवेश” गर्छौं। स्वार्थी इच्छाहरूको पछि लाग्नुको सट्टा यहोवामा विश्‍वास गर्दै आज्ञाकारी भई येशूको पछि लाग्दा प्रत्येक दिन स्फूर्ति र विश्राम पाउँछौं।—मत्ती ११:२८-३०.

११:१०, १३-१६—अब्राहामले प्रतीक्षा गरिरहेको “शहर” के थियो? यो लाक्षणिक सहर थियो। अब्राहामले येशू ख्रीष्ट र उहाँका १,४४,००० सह-शासक मिलेर बनेको “स्वर्गीय यरूशलेम”-को प्रतीक्षा गरिरहेका थिए। स्वर्गीय महिमामा रहेका यी सह-शासकहरूलाई “पवित्र शहर नयाँ यरूशलेम” पनि भनिएको छ। (हिब्रू १२:२२; प्रका. १४:१; २१:२) अब्राहाम, परमेश्‍वरको राज्य अन्तर्गत पाउने जीवनको प्रतीक्षामा थिए।

१२:२—“[येशूको] सामने राखिदिएको आनन्द” के थियो जसको लागि उहाँले “क्रूसको [अर्थात्‌, “शासनाको खम्बामा,” NW] शासना भोग्नुभयो”? त्यो, उहाँको सेवाले हासिल गरेका कुराहरू देख्न पाउनुको आनन्द थियो। जस्तै: यहोवाको नाउँ पवित्र गरिएको, यहोवाको सार्वभौमिकता उच्च पारिएको र मानव परिवारलाई मृत्युबाट छुटाएको। साथै मानिसजातिको भलाइको लागि राजाको हैसियतमा शासन गर्ने र प्रधान पूजाहारीको रूपमा सेवा गर्ने समयको पनि उहाँ प्रतीक्षा गर्नुहुन्थ्यो।

१३:२०—नयाँ करारलाई किन “अनन्त करार” भनिएको? यसका तीन कारण छन्‌: (१) यो कहिल्यै रद्द हुनेछैन, (२) यसको प्रभाव स्थायी हुन्छ र (३) “अरू भेडा”-ले आरमागेडोन पछि पनि यस नयाँ करारको प्रबन्धबाट लाभ उठाइरहनेछन्‌।—यूह. १०:१६.

हाम्रो लागि पाठ:

५:१४. परमेश्‍वरको वचन बाइबलको हामी लगनशील विद्यार्थी हुनुपर्छ र सिकेको कुरा व्यवहारमा उतार्नुपर्छ। “खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास” गर्ने अर्को कुनै तरिका छैन।—१ कोरि. २:१०.

६:१७-१९. परमेश्‍वरको प्रतिज्ञा अनि वाचामा बलियो आशा राख्दा सत्यको मार्गबाट तर्किंदैनौं।

१२:३, ४. हामीमाथि आइपर्ने सानातिना परीक्षा वा विरोधको कारण “शिथिल भई . . . थाकेर” जानुको सट्टा परिपक्वतातर्फ बढ्‌नुपर्छ र परीक्षा सहने शक्‍ति बढाउनुपर्छ। “रगतपच्छे हुनेगरी” अर्थात्‌ मृत्युसम्मै प्रतिरोध गर्ने संकल्प हाम्रो हुनुपर्छ।—हिब्रू १०:३६-३९.

१२:१३-१५. “तीतो जरा” अर्थात्‌ मण्डलीमा गल्ती कोट्याउनेहरूले गर्दा “खुट्टाहरूको निम्ति सीधा मार्ग” बनाउनदेखि हामी पछि हट्‌नुहुँदैन।

१२:२६-२८. परमेश्‍वरबाट “सृष्टि भएका कुराहरू”-बाहेक यो सम्पूर्ण रीतिरिवाज र दुष्ट “स्वर्ग” समेत नामोनिसान नरहनेगरि हल्लाइनेछन्‌। त्यतिबेला “नहल्लाएका कुराहरू” अर्थात्‌ परमेश्‍वरको राज्य र उहाँका समर्थकहरू मात्र रहनेछन्‌। जोसका साथ परमेश्‍वरको राज्यको घोषणा गर्नु र त्यसअनुरूप जीवन बिताउनु कत्ति महत्त्वपूर्ण छ!

१३:७, १७. मण्डलीका निरीक्षकहरूको आज्ञा पालन गर्ने र तिनीहरूको अधीनमा बस्ने सल्लाहलाई मनमा राख्दा हामीले सहयोगी मनोभाव देखाइरहेका हुनेछौं। (w08 10/15)

[फुटनोट]

a नोभेम्बर १, २००७ को प्रहरीधरहरा, पृष्ठ १२-१३ हेर्नुहोस्‌।