सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यर्मियाजस्तै साहसी हुनुहोस्‌

यर्मियाजस्तै साहसी हुनुहोस्‌

यर्मियाजस्तै साहसी हुनुहोस्‌

“परमप्रभुको बाटो हेर्‌, दह्रो हो, र तेरो हृदयले साहस गरोस्‌, तैंले परमप्रभुकै बाटो हेर्‌।”—भजन २७:१४.

१. यहोवाका साक्षीहरूले कस्तो उल्लेखनीय आशिष्‌को आनन्द उठाउँछन्‌?

 यहोवाका साक्षीहरू आध्यात्मिक प्रमोदवनमा बसोबास गर्छन्‌। (यशैया ११:६-९) अत्यन्तै समस्याग्रस्त यस संसारमा पनि तिनीहरू, यहोवा परमेश्‍वर र एकअर्कासित शान्तिमा रहने आफ्ना सँगी मसीहीहरूसित अद्‌भुत आध्यात्मिक वातावरणको आनन्द उठाउँछन्‌। (भजन २९:११; यशैया ५४:१३) अनि तिनीहरूको आध्यात्मिक प्रमोदवन बढ्‌दैछ। सम्पूर्ण ‘हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्ने’ सबैले यसलाई विस्तार गरिरहेका छन्‌। (एफिसी ६:६) कसरी? बाइबलका सिद्धान्तहरू अनुरूप जीवन बिताएर अनि अरूलाई पनि त्यसै गर्न सिकाएर, त्यस प्रमोदवनका इनामदायी आशिष्‌हरूको भागीदार हुने निम्तो दिइरहेका छन्‌।—मत्ती २८:१९, २०; यूहन्‍ना १५:८.

२, ३. साँचो मसीहीहरूले कस्ता कुराहरू सहनुपर्छ?

हामी आध्यात्मिक प्रमोदवनमा बसिरहेका छौं भन्दैमा हामीले परीक्षाहरू सहनु पर्दैन भन्‍ने होइन। हामी अझै असिद्ध छौं र बिमारी, वृद्धावस्था तथा अन्ततः मृत्युका पीडाहरू भोग्छौं। यसबाहेक, हामीले “आखिरी दिन[सित]” सम्बन्धित भविष्यवाणीहरूको पूर्ति देखिरहेका छौं। (२ तिमोथी ३:१) युद्ध, अपराध, बिमारी, अनिकाल र अन्य कठिनाइहरूले सबै मानिसजातिलाई पिरोल्छ अनि यहोवाका साक्षीहरू पनि यसबाट मुक्‍त छैनन्‌।—मर्कूस १३:३-१०; लूका २१:१०, ११.

यी सब बाहेक, हामीलाई थाह भएकै कुरा हो कि यस आध्यात्मिक प्रमोदवनको न्यानो वातावारण बाहिर विरोधको चिसो बतास चल्छ। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले जे कुरा तिमीहरूलाई भनें, त्यो सम्झ, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूहन्‍ना १५:१८-२१) आज पनि अवस्था यस्तै छ। धेरैजसो मानिसहरूले अझै हाम्रो उपासनालाई बुझेका छैनन्‌ वा त्यसको मूल्याङ्‌कन गर्दैनन्‌। कसै-कसैले हाम्रो आलोचना र खिसी गर्छन्‌ वा येशूले चेतावनी दिनुभएझैं घृणासमेत गर्छन्‌। (मत्ती १०:२२) अक्सर, सञ्चारजगत्‌ले फैलाउने गलत जानकारी तथा द्वेषपूर्ण अफवाहको हामी तारो बन्छौं। (भजन १०९:१-३) हो, हामी सबैले चुनौतीपूर्ण परिस्थितिको सामना गर्छौं अनि हामीमध्ये कोही-कोही निरुत्साहित हुन सक्छौं। यसको बावजुद हामी कसरी सहेर अघि बढिरहन सक्छौं?

४. सहने बलको लागि हामी कसमा भर पर्छौं?

यहोवाले हामीलाई मदत गर्नुहुनेछ। प्रेरणा पाएर भजन रचयिताले यस्तो लेखे: “धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” (भजन ३४:१९; १ कोरिन्थी १०:१३) हामी यहोवामा पूर्णतया विश्‍वस्त हुँदा उहाँले हामीलाई जस्तोसुकै कठिनाइ सहन बल दिन सक्नुहुन्छ भनेर हामी पुष्टि गर्न सक्छौं। उहाँप्रति हाम्रो प्रेम र हाम्रो सामु राखिदिएको आनन्दले हामीलाई निराशा र डरमाथि विजयी हुन मदत गर्छ। (हिब्रू १२:२) तसर्थ, कठिनाइको बावजुद हामी दृढ रहन्छौं।

परमेश्‍वरको वचनले यर्मियालाई बल प्रदान गऱ्‍यो

५, ६. (क) सहन सफल भएका साँचो उपासकहरूको हामीसित कस्ता उदाहरणहरू छन्‌? (ख) अगमवक्‍ता हुन बोलाउँदा यर्मियाले कस्तो प्रतिक्रिया देखाए?

इतिहासभरि नै, यहोवाका विश्‍वासी सेवकहरूले कठिन परिस्थितिको बावजुद आनन्द महसुस गरेका छन्‌। यहोवाले अवफादारहरूमाथि आफ्नो क्रोध खन्याउनुभएको न्यायको समयमा कोही-कोही वफादार सेवकहरू जीवित थिए। त्यस्ता वफादार उपासकहरूमध्ये यर्मिया र तिनका केही समकालीनहरूका साथै प्रथम शताब्दीका मसीहीहरू पनि थिए। ती ऐतिहासिक उदाहरणहरू हाम्रो प्रोत्साहनको लागि बाइबलमा लिपिबद्ध छन्‌ अनि ती अध्ययन गरेर हामी धेरै कुरा सिक्न सक्छौं। (रोमी १५:४) उदाहरणका लागि, यर्मियालाई विचार गर्नुहोस्‌।

यर्मियालाई कलिलो उमेरमा नै यहूदामा अगमवक्‍ताको रूपमा सेवा गर्न बोलाइएको थियो। यो कुनै सजिलो कार्यभार थिएन। थुप्रैले झूटा देवहरूको उपासना गर्दै थिए। यर्मियाले आफ्नो सेवकाई थालेको समयका राजा योशियाह वफादार भए तापनि त्यसपछिका सबै राजाहरू अवफादार भए अनि मानिसहरूलाई सिकाउने जिम्मेवारी पाएका प्रायजसो व्यक्‍तिहरू अर्थात्‌ अगमवक्‍ता तथा पूजाहारीहरू सत्यको पक्षमा थिएनन्‌। (यर्मिया १:१, २; ६:१३; २३:११) त्यसोभए यहोवाले यर्मियालाई अगमवक्‍ता हुन बोलाउनुहुँदा तिनले कस्तो महसुस गरे? तिनी डराए! (यर्मिया १:८, १७) आफूले सुरुमा देखाएको प्रतिक्रियालाई यर्मियाले यसरी सम्झे: “मैले भनें, ‘हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्‌, मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।’ ”—यर्मिया १:६.

७. आफ्नो इलाकामा यर्मियाले कस्तो अवस्थाको सामना गरे अनि तिनले कस्तो प्रतिक्रिया देखाए?

यर्मियाको इलाकाका अधिकांश मानिसहरूले तिनको कुरा सुनेनन्‌ र तिनले अक्सर कडा विरोधको सामना गर्नुपऱ्‍यो। एक चोटि पूजाहारी पशहूरले तिनलाई पिटे र ठिंगुरामा हाले। त्यतिबेला तिनलाई कस्तो लाग्यो भनी यर्मियाले यसरी बताए: “म उहाँको [यहोवाको] चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँ लिन्‍नँ।” सायद तपाईंले पनि कहिलेकाहीं यस्तै महसुस गर्नुभएको छ—लत्तो छोड्‌न चाहनुभएको छ। यर्मियालाई कुन कुराले लागिरहन मदत गऱ्‍यो, ध्यान दिनुहोस्‌। तिनले भने: “मेरो हृदयमा [परमेश्‍वरको वचन वा सन्देश] जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ, त्यसलाई भित्र रोकि राख्ता म थकित हुन्छु, औ म त्यो थाम्नै सक्‍तिनँ।” (यर्मिया २०:९) के परमेश्‍वरको वचनले तपाईंलाई यस्तै असर गर्छ?

यर्मियाका सँगीहरू

८, ९. (क) अगमवक्‍ता ऊरियाहले कस्तो कमजोरी देखाए अनि परिणाम कस्तो भयो? (ख) बारूक किन निरुत्साहित भए अनि तिनलाई कसरी मदत गरियो?

भविष्यवाणी गर्ने काममा यर्मिया एक्लै थिएनन्‌। तिनका सँगीहरू थिए अनि यसबाट तिनी प्रोत्साहित भएको हुनुपर्छ। तर कहिलेकाहीं तिनका सँगीहरूले बुद्धिमानीपूर्ण व्यवहार गरेनन्‌। उदाहरणका लागि, ऊरियाह नाउँका सँगी अगमवक्‍ता “यर्मियाले भनेजस्तै” यरूशलेम र यहूदा विरुद्ध चेतावनीहरू सुनाउन व्यस्त थिए। तथापि, राजा यहोयाकीमले अगमवक्‍ता ऊरियाहलाई मार्ने आदेश दिंदा तिनी डराएर मिश्रतिर भागे। त्यसरी भागे तापनि तिनको ज्यान बचेन। राजाका मानिसहरूले तिनलाई खेदे, पक्रे अनि यरूशलेममा फिर्ता ल्याएर मारे। यसले यर्मियालाई कत्ति विचलित तुल्याएको हुनुपर्छ! —यर्मिया २६:२०-२३.

यर्मियाका अर्का सँगी तिनका सचिव बारूक थिए। यर्मियाको लागि बारूक राम्रो सहायक थिए तर तिनले पनि एक चोटि आफ्नो आध्यात्मिक दृष्टिकोण गुमाए। तिनले यसो भन्दै गुनासो गर्न थाले: “धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दुःखमाथि दुःख थपिदिनुभयो! सुस्केरा मार्दा मार्दा म थाकिसकें! म कतै पनि विश्राम पाउँदिनँ!” निरुत्साहित भएका बारूकले आध्यात्मिक कुराहरूप्रति मूल्याङ्‌कन गुमाउन थाले। तैपनि, यहोवाले बारूकलाई दयापूर्वक बुद्धिमान्‌ सल्लाह दिनुभयो अनि तिनले छाँटकाँट गरे। तब तिनी यरूशलेमको विनाशबाट बच्नेछन्‌ भन्‍ने आश्‍वासन दिइयो। (यर्मिया ४५:१-५) बारूकले आफ्नो आध्यात्मिक सन्तुलन पुनः प्राप्त गर्दा यर्मिया कत्ति प्रोत्साहित भए होलान्‌!

यहोवाले आफ्नो अगमवक्‍तालाई साथ दिनुभयो

१०. यहोवाले यर्मियालाई साथ दिने कस्तो प्रतिज्ञा गर्नुभयो?

१० सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले यर्मियालाई त्याग्नुभएन। उहाँले आफ्ना अगमवक्‍तालाई कस्तो लागिरहेको छ भनेर बुझ्नुभयो अनि तिनलाई चाहिएको बल र सहयोग दिनुभयो। उदाहरणका लागि, यर्मियाले आफ्नो सेवकाईको सुरुतिर आफ्नो योग्यताबारे शङ्‌का व्यक्‍त गर्दा यहोवाले तिनलाई यसो भन्‍नुभयो: “तिनीहरूसँग नडरा, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु, परमप्रभु भन्‍नुहुन्छ।” अनि, आफ्ना अगमवक्‍तालाई तिनको कामबारे जानकारी दिइसक्नुभएपछि यहोवाले यसो भन्‍नुभयो: “तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्‍नुहुन्छ।” (यर्मिया १:८, १९) कत्ति सान्त्वनादायी! अनि यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो।

११. यहोवाले यर्मियालाई साथ दिने प्रतिज्ञा पूरा गर्नुभयो भनी हामी कसरी थाह पाउँछौं?

११ तसर्थ, ठिंगुरामा बाँधिनुका साथै सर्वसाधारणको अगाडि हाँसोको पात्र भएपछि यर्मियाले विश्‍वस्त भई यसो भने: “परमप्रभु एक भयङ्‌कर योद्धाझैं मसित हुनुहुन्छ, यसैकारण मलाई सताउनेहरू ढल्नेछन्‌, तिनीहरू ममाथि विजयी हुनेछैनन्‌। . . . तिनीहरू साह्रै लाजमा पर्नेछन्‌।” (यर्मिया २०:११) पछि यर्मियालाई मार्ने प्रयास गरिंदा यहोवाले तिनलाई साथ दिइरहनुभयो अनि बारूकजस्तै यर्मिया पनि स्वतन्त्र मानिस भएर यरूशलेमको विनाशबाट बचे जबकि तिनलाई सताउनेहरू अनि तिनको चेतावनीलाई बेवास्ता गर्नेहरू नाश भए वा बन्दी बनाएर बेबिलोनमा लगिए।

१२. निरुत्साहित हुन सक्ने विभिन्‍न कारणको बावजुद हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१२ यर्मियाजस्तै आज थुप्रै यहोवाका साक्षीहरूले दुःखकष्ट सहन्छन्‌। माथि उल्लेख गरिएझैं यीमध्ये कुनै-कुनै हाम्रै असिद्धताले गर्दा हुने गर्छ, कति चाहिं हामी बाँचिरहेको संसारको गन्जागोलले गर्दा हुन्छ र अरू कतिपय भने हाम्रो कार्यलाई विरोध गर्नेहरूले गर्दा हुन्छ। त्यस्ता दुःखकष्टहरूले हामीलाई निरुत्साहित बनाउन सक्छ। यर्मियाजस्तै हामी पनि अब अझै सेवामा लागिरहन सकौंला र, भन्‍ने बिन्दुसम्म पुग्न सक्छौं। निस्सन्देह, हामी समय-समयमा निरुत्साहित हुने आशा गर्न सक्छौं। निरुत्साहले यहोवाप्रतिको हाम्रो प्रेम कत्तिको प्रगाढ छ भनेर जाँच्छ। त्यसकारण निरुत्साहको कारण टाढिने ऊरियाहजस्तो नभएर यहोवाको सेवामा लागिरहन हामी कटिबद्ध होऔं। बरु, यर्मियाको अनुकरण गरौं अनि यहोवाको साथ पाउने कुरामा विश्‍वस्त होऔं।

निरुत्साह विरुद्ध कसरी लड्‌ने

१३. हामी यर्मिया र दाऊदको उदाहरण कसरी अनुकरण गर्न सक्छौं?

१३ यर्मियाले यहोवा परमेश्‍वरसित नियमित तवरमा कुराकानी गरिरहे, आफ्ना भित्री भावनाहरू उहाँलाई पोखे अनि बलको लागि बिन्ती गरे। यो अनुकरण गर्न योग्य राम्रो उदाहरण हो। बलको लागि त्यही स्रोतमा भर परेका पुरातन समयका दाऊदले यस्तो लेखे: “हे परमप्रभु, मेरा कुरामा कान लगाउनुहोस्‌। मेरो ध्यानतिर विचार गर्नुहोस्‌। हे मेरा राजा, हे मेरा परमेश्‍वर, मेरो पुकाराको सोर सुन्‍नुहोस्‌। किनकि तपाईंमानै म प्रार्थना गर्दछु।” (भजन ५:१, २) दाऊदको जीवनको प्रेरित विवरणले देखाएअनुसार तिनले मदतको लागि प्रार्थना गर्दा यहोवाले बारम्बार जवाफ दिनुभयो। (भजन १८:१, २; २१:१-५) त्यसरी नै, तीव्र दबाब आउँदा वा हाम्रा समस्याहरू पहाडजस्तै देखिंदा यहोवालाई प्रार्थना गर्नु अनि आफ्नो हृदयको कुरा उहाँलाई पोखाउनु सबैभन्दा सान्त्वनादायी हुन्छ। (फिलिप्पी ४:६, ७; १ थिस्सलोनिकी ५:१६-१८) यहोवाले हाम्रो कुरा सुन्‍न इन्कार गर्नुहुन्‍न। बरु, उहाँ ‘हाम्रो फिक्री गर्ने’ आश्‍वासन दिनुहुन्छ। (१ पत्रुस ५:६, ७) तथापि, यहोवालाई प्रार्थनाचाहिं गर्ने तर उहाँको कुराचाहिं नसुन्‍ने गऱ्‍यौं भने के यो अव्यावहारिक हुनेछैन र?

१४. यहोवाका शब्दहरूले यर्मियामाथि कस्तो असर पाऱ्‍यो?

१४ यहोवा हामीसित कसरी कुरा गर्नुहुन्छ? यर्मियालाई फेरि विचार गर्नुहोस्‌। यर्मिया एक जना अगमवक्‍ता भएको हुँदा यहोवाले तिनीसित प्रत्यक्ष कुराकानी गर्नुभयो। परमेश्‍वरको वचनले तिनको हृदयमा पारेको असरबारे यर्मिया यसरी वर्णन गर्छन्‌: “तपाईंका वचन पाइए औ मैले ती खाएँ, तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु, तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मिया १५:१६) हो, परमेश्‍वरको नाउँले कहलाइएको हुँदा यर्मिया रमाए अनि उहाँका शब्दहरू यी अगमवक्‍ताको लागि अनमोल थिए। यसर्थ, प्रेरित पावलझैं यर्मिया आफूलाई सुम्पिएको सन्देश घोषणा गर्न उत्सुक थिए।—रोमी १:१५, १६.

१५. हामी कसरी यहोवाको वचन आफ्नो हृदयमा राख्न सक्छौं अनि कुन कुराहरूलाई विचार गर्दा हामीलाई चुपो लागेर नबस्न कटिबद्ध बनाउनेछ?

१५ आज यहोवाले कसैसित पनि प्रत्यक्ष कुराकानी गर्नुहुन्‍न। तथापि, बाइबलका पानाहरूमा हामीसित परमेश्‍वरका वचनहरू छन्‌। यसर्थ, यदि हामी बाइबललाई गम्भीरतापूर्वक अध्ययन गर्छौं अनि आफूले सिकेका कुराहरूमा गहिरो मनन गर्छौं भने परमेश्‍वरका वचनहरू हाम्रो हृदयको लागि पनि “रमाहट, र . . . आनन्द दिने कुरा” हुनेछन्‌। अनि ती वचनहरू अरूलाई बताउँदा यहोवाको नाउँ वहन गरिरहेका छौं भनेर रोमाञ्चित हुन सक्छौं। आज यस संसारमा अरू कसैले पनि यहोवाको नाउँ घोषणा गर्दैनन्‌ भन्‍ने कुरालाई कहिल्यै नबिर्सौं। उहाँका साक्षीहरूले मात्र परमेश्‍वरको स्थापित राज्यबारे सुसमाचार घोषणा गर्छन्‌ अनि नम्र जनहरूलाई येशू ख्रीष्टको चेला बन्‍न सिकाउँछन्‌। (मत्ती २८:१९, २०) हामीले कत्ति ठूलो सम्मान पाएका छौं! यहोवाले हामीलाई माया गरेर सुम्पनुभएको कुरा विचार गर्दा, हामी कसरी चुपो लागेर बस्न सक्छौं र?

हाम्रो संगतिबारे होसियार रहौं

१६, १७. संगतिबारे यर्मियाको दृष्टिकोण कस्तो थियो अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौं?

१६ यर्मिया आफूलाई साहसी बन्‍न मदत गरेको अर्को एउटा कुराबारे पनि बताउँछन्‌। तिनले यसो भने: “हंसी दिल्लगी गर्नेहरूको झुण्डमा म बसिनँ, नता मैले हर्ष मनाएँ। मता एकलै बसें, किनभने तपाईंको हात ममाथि थियो, किनभने तपाईंले मलाई रीसले भरिदिनुभयो।” (यर्मिया १५:१७) खराब संगतिबाट भ्रष्ट हुनुभन्दा बरु यर्मिया एक्लै बस्न रुचाउँथे। आज हामी पनि त्यस्तै दृष्टिकोण राख्छौं। हामीले वर्षौंदेखि बसालेका राम्रा बानीहरूलाई समेत यसले बिगार्न सक्छ भनी पावलले दिएको यो चेतावनी हामी कहिल्यै बिर्संदैनौं, “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३.

१७ खराब संगतले गर्दा संसारको आत्माले हाम्रो सोचाइलाई भ्रष्ट पार्न सक्छ। (१ कोरिन्थी २:१२; एफिसी २:२; याकूब ४:४) त्यसोभए, हानिकारक संगति चिन्‍न अनि त्यसलाई चटक्कै त्याग्न हाम्रो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण देऔं। (हिब्रू ५:१४) पावल अहिले यस पृथ्वीमा जीवित हुँदा हुन्‌ त, अनैतिक वा हिंस्रक चलचित्र वा हिंस्रक खेलकुद हेर्ने मसीहीलाई तिनले के भन्थे होलान्‌? आफूले चिन्दै नचिनेका मानिसहरूसित इन्टरनेटमा मित्रता गाँस्ने भाइलाई तिनले कस्तो सल्लाह दिन्थे होलान्‌? घण्टौं भिडिओ गेम खेल्ने वा टेलिभिजन हेर्ने तर राम्रो व्यक्‍तिगत अध्ययन गर्न समय निकाल्न नसक्ने मसीहीबारे तिनले कस्तो सोच्थे होलान्‌?—२ कोरिन्थी ६:१४ख; एफिसी ५:३-५, १५, १६.

आध्यात्मिक प्रमोदवनमा रहिरहनुहोस्‌

१८. आध्यात्मिक तवरमा बलियो रहन हामीलाई कुन कुराले मदत गर्नेछ?

१८ हामी हाम्रो आध्यात्मिक प्रमोदवनको कदर गर्छौं। आजको संसारमा देखिने कुनै पनि कुरा त्यो प्रमोदवनको एक छेउजस्तो पनि छैन। बेग्लै विश्‍वास राख्ने व्यक्‍तिहरू समेत मसीहीहरूले एकअर्काप्रति देखाउने प्रेम, हेरचाह र दयाबारे सकारात्मक टिप्पणी गर्छन्‌। (एफिसी ४:३१, ३२) तैपनि, हामीले निरुत्साह विरुद्ध अहिले जति पहिला कहिल्यै लड्‌नुपरेको छैन। असल संगति, प्रार्थना र अध्ययन गर्ने राम्रो बानीले हामीलाई आध्यात्मिक तवरमा बलियो रहन मदत गर्न सक्छ। ती कुराहरूले हामीलाई यहोवामा पूर्ण विश्‍वस्त भई जस्तोसुकै परीक्षा सहन बल प्रदान गर्नेछ।—२ कोरिन्थी ४:७, ८.

१९, २०. (क) हामीलाई सहन कुन कुराले मदत गर्नेछ? (ख) यसपछिको लेख कसलाई सम्बोधन गरिएको छ अनि यो कसका लागि पनि खास चासोको विषय हो?

१९ बाइबल सन्देशलाई घृणा गर्ने मानिसहरूदेखि तर्सिएर आफ्नो विश्‍वासलाई कहिल्यै सम्झौता गर्न दिनु हुँदैन। यर्मियालाई सताउने शत्रुहरूजस्तै हामी विरुद्ध लड्‌नेहरू परमेश्‍वर विरुद्ध लडिरहेका हुन्छन्‌। तिनीहरू विजयी हुनेछैनन्‌। हाम्रा विरोधीहरूभन्दा एकदमै बलियो यहोवा हामीलाई यसो भन्‍नुहुन्छ: “परमप्रभुको बाटो हेर्‌, दह्रो हो, र तेरो हृदयले साहस गरोस्‌, तैंले परमप्रभुकै बाटो हेर्‌।” (भजन २७:१४) यहोवामाथि हाम्रो आशालाई हृदयमा बलियोसित गाडेर असल कुरा गर्न कहिल्यै नछोड्‌ने सङ्‌कल्प गरिरहौं। हामीले हरेस खाएनौं भने यर्मिया र बारूकले जस्तै कटनी गर्नेछौं भन्‍ने कुरामा विश्‍वस्त होऔं।—गलाती ६:९.

२० निरुत्साह विरुद्ध लड्‌नु भनेको थुप्रै मसीहीहरूको लागि एउटा अटुट सङ्‌घर्ष हो। तर जवान मानिसहरूले अझ विशेष किसिमका चुनौतीहरू सामना गर्छन्‌। तर तिनीहरूका सामु थुप्रै सुअवसरका ढोका पनि खुला छन्‌। यसपछिको लेखले हामीमाझ भएका युवाहरूलाई नै प्रत्यक्ष सम्बोधन गरेको छ। आमाबाबु तथा मण्डलीका सबै समर्पित वयस्कहरूका लागि पनि यो खास चासोको विषय हुनेछ जसले आफ्नो वचन, उदाहरण अनि प्रत्यक्ष मदतद्वारा मण्डलीका जवानहरूलाई मदत गर्न सक्छन्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• हामी किन निरुत्साहजनक परिस्थितिहरूको आशा गर्न सक्छौं अनि हामीले मदतको लागि कसमा भर पर्नुपर्छ?

• कठिन काम सुम्पिएको भए तापनि यर्मिया निरुत्साह विरुद्ध कसरी विजयी भए?

• कठिनाइहरूको माझमा पनि कुन कुराले गर्दा हाम्रो हृदय ‘रमाउनेछ र आनन्दित’ हुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

यर्मियाले आफू बच्चै छु अनि अगमवक्‍ता हुन कुनै अनुभव छैन भन्ठाने

[पृष्ठ १०-मा भएको चित्र]

सताइँदा पनि यर्मियालाई यहोवा “एक भयङ्‌कर योद्धाझैं” तिनीसित हुनुहुन्छ भनेर थाह थियो