सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुरातन खेलकुद र जित्नुको महत्त्व

पुरातन खेलकुद र जित्नुको महत्त्व

पुरातन खेलकुद र जित्नुको महत्त्व

“खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ।” “खेलमा भाग लिने मानिसले . . . नियमबमोजिम नखेलीकन इनाम पाउँदैन।”—१ कोरिन्थी ९:२५; २ तिमोथी २:५.

प्रेरित पावलले संकेत गरेका खेलकुदहरू पुरातन युनानी सभ्यताको एउटा अभिन्‍न पक्ष थियो। यस्ता प्रतिस्पर्धाहरू तथा त्यहाँ व्याप्त माहौलबारे इतिहासले हामीलाई के बताउँछ?

हालै रोमको रङ्‌गशालामा युनानी खेलकुदबारे नीके—एल जोको ए ला भिटोर्या (“नाइकी—खेलकूद तथा विजय”) भन्‍ने एउटा प्रदर्शनी आयोजना गरिएको थियो। a प्रदर्शन गरिएका कुराहरूले उक्‍त प्रश्‍नको केही जवाफ दिनुका साथै खेलकुदप्रति मसीही दृष्टिकोणबारे विचारणीय कुराहरू प्रस्तुत गर्छन्‌।

एउटा पुरातन प्रचलन

युनान, खेलकुदमा भाग लिने पहिलो सभ्यता थिएन। तैपनि, लगभग सा.यु.पू. आठौं शताब्दीतिर युनानी कवि होमरले साहसिक आदर्शहरू र प्रतिस्पर्धात्मक मनोभावद्वारा उत्साहित समाजबारे वर्णन गरे, जुन समाजमा सैन्य कौशलता र खेलकुदसम्बन्धी निपुणतालाई अत्यन्तै महत्त्व दिइन्थ्यो। सुरु-सुरुका युनानी चाडपर्वहरू वीर आदर्श व्यक्‍तिहरूको अन्त्येष्टिमा देवताहरूको सम्मान गर्न धार्मिक क्रियाकलापको रूपमा सुरु भएका थिए भनेर प्रदर्शनीमा बताइएको थियो। उदाहरणका लागि, होमरद्वारा लिखित अहिलेसम्म पनि संरक्षित सबैभन्दा पुरानो युनानी साहित्य इलियाड-मा कसरी कुलीन योद्धाहरू र एकिलसका सँगीहरूले पेट्रोकल्सको अन्त्येष्टिमा आ-आफ्नो हातहतियार बिसाएर आफ्नो बहादुरी साबित गरेर देखाउन बक्सिङ, कुस्ती, डिसकस र भाला फ्याँक्ने खेल अनि घोडागाडी दौडमा प्रतिस्पर्धा गरे भनी बताइएको छ।

त्यस्तै खाले अरू चाडपर्वहरू पनि युनानभरि मनाउन थालियो। प्रदर्शनीसम्बन्धी हाते पुस्तक यसो भन्छ: “चाडपर्वहरूले एउटा विशेष मौकाको बाटो खोल्यो, जुन मौकामा युनानीहरूले आफ्ना देवताहरूको सम्मानमा कहिल्यै नटुङ्‌गिने र बारम्बार भड्‌किने हिंस्रक झगडालाई स्थगित गरे अनि त्यतिबेला व्याप्त प्रतिस्पर्धी मनोभावलाई शान्तिमय तर त्यतिकै उपलब्धिमूलक अर्थात्‌ खेलकुदसम्बन्धी प्रतिस्पर्धामा परिवर्तन गर्न सफल भए।”

खेलकुदसम्बन्धी प्रतिस्पर्धाहरू मार्फत आफ्ना देवीदेवतालाई श्रद्धाञ्जली अर्पण गर्न सहर अनि प्रान्त-प्रान्तका समूहहरूले सार्वजनिक उपासना केन्द्रहरूमा नियमित रूपमा भेला हुने बानी बसाले। समयको अन्तरालमा, ज्यूसलाई समर्पित ओलम्पियन र निमियन अनि अपोलो तथा पोसिईडनलाई समर्पित पाइथियन र इस्मीयनजस्ता चारैवटा चाडपर्व पानहेलेनिक अर्थात्‌ सम्पूर्ण युनानवासीहरूसित सम्बन्धित चाडपर्वको दर्जा प्राप्त गर्ने हदसम्म महत्त्वपूर्ण भयो। त्यसको अर्थ, युनानबाट आएका सम्पूर्ण खेलाडीहरूले ती खेलहरूमा भाग लिन सक्थे। यी चाडपर्वहरूमा बलिदान चढाइनुका साथै प्रार्थना गर्नुको अलावा एकदमै उत्कृष्ट खेलकुद वा कलात्मक प्रतिस्पर्धाहरू मार्फत देवीदेवताहरूको सम्मान पनि गरिन्थ्यो।

भनिन्छ, यस्ता चाडपर्वहरूमध्ये सबैभन्दा पुरानो र एकदमै प्रतिष्ठित चाडपर्व सा.यु.पू. ७७६ तिर ओलम्पियामा ज्यूसको सम्मानमा हरेक चार वर्षमा मनाउने गरिन्थ्यो। महत्त्वको आधारमा पाइथियन पर्व दोस्रो स्थानमा पर्थ्यो। पुरातन संसारको डेल्फी स्थित प्रसिद्ध वेदीको नजिकै मनाइने यस चाडपर्वमा पनि खेलकुदहरू समावेश गरिन्थे। तर कविता र सङ्‌गीतको संरक्षक अपोलोको सम्मानमा गीत र नाचलाई जोड दिइन्थ्यो।

खेलहरू

आधुनिक खेलकुदहरूको तुलनामा त्यतिबेला एकदमै थोरै खेलहरू हुन्थे र ती खेलमा पुरुषहरूले मात्र भाग लिन सक्थे। पुरातन ओलम्पिक खेलमा दसवटा भन्दा बढी खेल हुँदैनथ्यो। विशाल रङ्‌गशालामा प्रदर्शन गरिएका प्रतिमा, मूर्ति, मोजाइक तथा टेरा-कोटा फूलदानीका चित्रहरूले ती खेलहरूका केही झलक प्रस्तुत गरेको थियो।

त्यतिखेर तीन किसिमको दूरीको दौड हुन्थ्यो—स्टेडियम अर्थात्‌ लगभग २०० मिटर लामो दूरी; वर्तमान समयको ४०० मिटर बराबरको दोब्बर दूरी; अनि लगभग ४,५०० मिटर लामो दूरी। यस दौडमा भाग लिंदा र व्यायाम गर्दा खेलाडीहरू नाङ्‌गै हुन्थे। पेन्टाथ्लोन प्रतियोगितामा भाग लिने व्यक्‍तिहरूले पाँचवटा विधामा प्रतिस्पर्धा गर्थे: दौड, लङ्‌ जम्प, डिसकस तथा भाला फ्याँक्ने र कुस्ती। अन्य खेलहरूमा चाहिं बक्सिङ अनि पेनक्राटियम अर्थात्‌ “पन्जा नलाइकन खेलिने बक्सिङ तथा कुस्ती मिसिएको हिंस्रक खेल” थियो। त्यसबाहेक, लगभग १,६०० मिटर लामो दूरीको घोडागाडी दौड हुन्थ्यो अनि त्यस घोडागाडीमा ससाना पाङ्‌ग्राहरूमाथि निर्मित पछिल्तिर खुला हलुको बग्गी हुन्थ्यो र त्यसलाई दुई अथवा चारवटा बछेडा वा हुर्किसकेका घोडाहरूले तान्थे।

बक्सिङ खेल अत्यन्तै हिंस्रक हुनुका साथै कहिलेकाहीं त यसको कारण ज्यानै जान सक्थ्यो। खेलाडीहरूले आफ्नो मुड्‌कीमा फलामका तीखा-तीखा कीलाहरू जडित कडा छालाको पत्र-पत्र लगाउँथे। स्ट्राटोफोन्टे नाउँका एक जना प्रतियोगीले बक्सिङ खेलेको चार वर्षपछि आफ्नो मुख ऐनामा हेर्दा आफैलाई चिन्‍न नसक्नुको कारण तपाईं कल्पना गर्न सक्नुहुन्छ। पुरातन मूर्ति तथा मोजाइकहरूले बक्सरहरू एकदमै नराम्रो गरी कुरूप हुन्थे भन्‍ने कुरा प्रमाणित गर्छन्‌।

कुस्ती खेलको नियमअनुसार खेलाडीले प्रतिद्वन्द्वीको शरीरको माथिल्लो भाग समात्न पाइँदैनथ्यो र जसले आफ्नो प्रतिद्वन्द्वीलाई सबैभन्दा पहिला तीन चोटि भुइँमा पछार्छ, त्यही विजयी हुन्थ्यो। त्यसको ठीक विपरीत, पेनक्राटियम खेलमा समात्ने सन्दर्भमा त्यस्तो केही बन्देज लगाइएको थिएन। खेलाडीहरूले लात हान्‍न, मुक्का लगाउन र जोर्नीहरू मर्काइदिन पाउँथे। आँखा निकाल्नु, कोतर्नु र टोक्नु मात्र निषेध गरिएको थियो। खेलको मुख्य उद्देश्‍य आफ्नो प्रतिद्वन्द्वीलाई भुइँमा हल न चल बनाउनु र तिनलाई हार स्वीकार्न बाध्य तुल्याउनु थियो। कसै-कसैले यस खेललाई “ओलम्पियाभरिकै सबैभन्दा हेर्न लायक खेलको रूपमा” लिन्थे।

भनिन्छ, पुरातन समयको सबैभन्दा लोकप्रिय पेनक्राटियम भिडन्त सा.यु.पू. ५६४ को ओलम्पिक फाइनलमा खेलिएको थियो। गला अँठ्याइएको व्यक्‍ति आराहिओन त्यस्तो अवस्थामा समेत आफ्नो प्रतिद्वन्द्वीको खुट्टाको औंला भाँच्न अत्यन्त सचेत थिए। असह्‍य पीडाले गर्दा तिनको प्रतिद्वन्द्वीले आराहिओन मर्नुभन्दा अगाडि आफ्नो हार स्वीकारे। निर्णायक समितिले आराहिओनको शवलाई विजयी घोषित गऱ्‍यो!

खेलहरूमध्ये घोडागाडी दौड सबैभन्दा प्रतिष्ठित खेल हुनुका साथै कुलीन घरानाहरूमा सबैभन्दा लोकप्रिय खेल पनि थियो किनभने यसको विजेता सारथि नभई घोडागाडी अनि घोडाहरूको मालिक हुन्थे। प्रतिस्पर्धाको निर्णायक घडी दौडको सुरुमा हुन्थ्यो, जहाँ सारथिहरू दौड सुरु हुने ठाउँमा लहरै बस्नुपर्थ्यो र त्योभन्दा पनि अझ गाह्रो त, दौडने बाटोको दुवै छेउका खम्बामा मोड्‌दा हुन्थ्यो। गल्ती वा नियम उल्लंघन गर्नासाथ दुर्घटनाहरू हुन्थे, जसले गर्दा यो लोकप्रिय खेल झनै हेरूँ-हेरूँ लाग्ने हुन्थ्यो।

पुरस्कार

प्रेरित पावलले यसो भने, “दौड़मा दगुर्नेहरू सबै दगुर्छन्‌, पुरस्कार एउटैले मात्र पाउँछ।” (१ कोरिन्थी ९:२४) जित्नु सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यतिखेर रजत पदक, कांस्य पदक भन्‍ने केही थिएन न दोस्रो वा तेस्रो स्थान नै थियो। “हरेक खेलाडीको अन्तिम लक्ष्य विजय अर्थात्‌ ‘नाइकी’ हुन्थ्यो” भनी प्रदर्शनीमा बताइएको थियो। “विजय हासिल गर्नै पर्थ्यो किनभने खेलाडीको शारीरिक तथा नैतिक दुवै स्वभाव अनि आफ्नो गृहनगरको गौरव यसैमा झल्कन्थ्यो।” यस्तो मनोवृत्ति होमरबाट लिइएको एउटा पङ्‌क्‍तिमा झल्कन्छ: “मैले सधैं जित्न सिकेको छु।”

पानहेलेनिक खेलहरूमा प्रदान गरिने पुरस्कार केवल लाक्षणिक अर्थात्‌ पातहरू उनेर बनाइएको मुकुट हुन्थ्यो। पावलले यसलाई “नाश हुने मुकुट” भने। (१ कोरिन्थी ९:२५) यद्यपि, त्यस पुरस्कारको गहिरो महत्त्व थियो। यसले विजेतामाथि आफ्नो शक्‍ति प्रदान गर्ने प्रकृतिको शक्‍तिलाई चित्रित गर्थ्यो। दृढ अठोट गरेर प्राप्त गरेको विजय ईश्‍वरीय अनुमोदन प्राप्त गर्नु सरह ठानिन्थ्यो। पुरातन मूर्तिकार तथा चित्रकारहरूले विजेतालाई मुकुट पहिऱ्‍याइदिंदै गरेको नाइकी अर्थात्‌ पखेटासहितकी विजयकी युनानी देवीको परिकल्पना गरेका थिए र त्यही कुरा प्रदर्शनीमा देखाइएको थियो। ओलम्पियामा विजय हासिल गर्नु भनेको कुनै पनि खेलाडीको जीवनकै सर्वोत्कृष्ट विजय हुन्थ्यो।

ओलम्पिकमा पाइने मुकुटहरू जंगली जैतुनका पातहरूबाट बनाइएका हुन्थे अर्थात्‌ इस्मीयन खेलमा देवदारको पातको मुकुट, पायथन खेलमा सल्लाको पातको मुकुट अनि नेमियन खेलमा चाहिं सुकेको सेलरीका पातहरूको मुकुट लगाइदिने गरिन्थ्यो। अब्बल दर्जाका प्रतियोगीहरूलाई आकर्षित गर्न अन्य ठाउँमा सम्पन्‍न हुने खेलका आयोजकहरूले आर्थिक वा अन्य पुरस्कारहरू प्रदान गर्ने गर्थे। प्रदर्शनीमा प्रदर्शन गरिएका थुप्रै फूलदानीहरू एथेन्समा एथेना देवीको सम्मानमा आयोजित पानाथेनिक खेलहरूमा प्रदान गरिएका पुरस्कारहरू थिए। पहिले-पहिले यी आम्खोराहरूमा आटिका प्रान्तबाट झिकाइएको बहुमूल्य जैतुनको तेल राख्ने गरिन्थ्यो। फूलदानीको एकापट्टि कोरिएको चित्र एथेना देवीको हो र यसमा “एथेनाका प्रतियोगिताहरूको लागि पुरस्कार” भन्‍ने वाक्यांश लेखिएको छ। अर्कोपट्टि चाहिं सम्भवतः खेलाडीले विजय हासिल गरेको खेलको चित्र हुनुपर्छ।

आफ्ना खेलाडीहरूको ख्याति सँगसँगै युनानी सहरहरूको पनि ख्याति बढ्‌थ्यो र आफ्नो जीतको कारण उनीहरू आफ्नो गृहनगरमा साहसिक व्यक्‍तित्वहरू बन्थे। विजेताहरू आफ्नो गृहनगर फर्किंदा विजय जुलुस निकालिन्थ्यो। देवतालाई धन्यवाद चढाउनको लागि यी विजेताहरूको सम्मानमा सालिक निर्माण गरिन्थ्यो र कविहरूले यिनीहरूको बहादुरीको गीत गाउँथे। यस्तो सम्मान साधारणतया मानिसहरूलाई दिइँदैनथ्यो। त्यसपछि विजेताहरूलाई सार्वजनिक उत्सवहरूमा प्रथम स्थान प्रदान गरिनुका साथै सर्वसाधारणको खर्चमा तिनीहरूले पेन्सन पाउँथे।

व्यायामशाला तथा त्यहाँका खेलाडीहरू

नागरिक सुरक्षा बलको विकासमा खेलकुदसम्बन्धी प्रतिस्पर्धाहरूलाई अत्यावश्‍यक पक्ष ठानिन्थ्यो। सबै युनानी सहरहरूको आफ्नै व्यायामशालहरू हुन्थे, जहाँ जवान मानिसहरूलाई शारीरिक प्रशिक्षणका साथसाथै बौद्धिक तथा आध्यात्मिकविधा सिकाइन्थ्यो। व्यायामशालाको सँगै कसरत गर्नको लागि खुला ठाउँ हुन्थ्यो र त्यस ठाउँको चारैतिर खम्बाहरूका लहर अनि भवनको भित्रतिर भने पुस्तकालय अनि कक्षा कोठाहरू हुन्थे। यस्ता संस्थाहरूमा खास गरी काम गर्नुको सट्टा शिक्षाको लागि समय दिन सक्ने धनाढ्य परिवारका जवान मानिसहरू आउने गर्थे। यहाँ, खेलाडीहरूले प्रशिक्षकहरूको मदत लिएर खेलको लागि धेरै लामो समयदेखि अनि दिलोज्यान दिएर तयारी गर्थे। प्रशिक्षकहरूले खेलाडीहरूलाई खानपानसम्बन्धी सरसल्लाह पनि दिनुका साथै तिनीहरू यौन सम्बन्धबाट टाढै बसेका छन्‌ कि छैनन्‌, सो पक्का गर्थे।

विशाल रङ्‌गशालामा गरिएको प्रदर्शनी हेर्न आउनेहरूले पुरातन खेलाडीहरूका उत्कृष्ट चित्रहरूको मजा लिन सक्थे। ती चित्रहरूमध्ये प्रायजसो मौलिक युनानी शिल्पकलाहरूको रोमन प्रतिहरू थिए। पुरातन युनानी विचारधाराअनुसार, शारीरिक सिद्धता नैतिक सिद्धता जत्तिकै हुने भएकोले र यो कुलीन घरानाहरूको विशेष सम्पत्ति भएको कारण विजेता खेलाडीहरूको चिटिक्क मिलेको शरीरले दर्शनहरूमा चित्रण गरिने आदर्शलाई देखाउँथ्यो। रोमीहरूले ती शिल्पकलाहरूलाई कलाकृतिको रूपमा निकै मूल्यवान्‌ ठान्थे र त्यसलाई रङ्‌गशाला, नुहाउने ठाउँ, ठूल्ठूला घर तथा महलहरू सजाउन प्रयोग गरिन्थ्यो।

रोमीहरूमाझ हिंस्रक खेलहरू सधैं लोकप्रिय हुन्थे। त्यसैकारणले गर्दा पनि रोममा आयोजना गरिने सम्पूर्ण युनानीविधा जस्तै, बक्सिङ, कुस्ती र पेनक्राटियम खेललाई मानिसहरूले सबैभन्दा बढी मन पराउँथे। रोमीहरूले यस्ता खेलकुदलाई आ-आफ्नो सद्‌गुण निर्धारण गर्न समान खेलाडीहरूबीच हुने प्रतिस्पर्धाको रूपमा नभई साधारण मनोरञ्जनको रूपमा हेर्थे। खेलकुद भनेको आफ्नो शिक्षाको एउटा भागको रूपमा विशिष्ट लडाकु-खेलाडीहरूले सामूहिक रूपमा भाग लिने खेल हो भन्‍ने सुरुको धारणालाई परित्याग गरिएको थियो। त्यसको सट्टा रोमीहरूले युनानी खेलहरूलाई काँटछाँट गरेर नुहाइधुवाइ गर्नुभन्दा अघि गरिने स्वास्थ्यवर्धक व्यायाम वा निम्न वर्गका पेसागत खेलाडीहरूले दर्शकहरूको सामने खेलिने रोमी नरभक्षी प्रतिस्पर्धाहरूजस्तो मात्र बनाए।

मसीही तथा खेलहरू

प्रथम शताब्दीका मसीहीहरू खेलबाट टाढा रहनुको एउटा कारण हो—ती खेलहरू धार्मिक किसिमका हुन्थे र “मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सम्बन्ध?” (२ कोरिन्थी ६:१४, १६) आजका खेलकुदबारे के भन्‍न सकिन्छ?

स्पष्टतया, अहिलेका खेलकुदहरूले झूटा देवहरूको सम्मान गर्दैनन्‌। यद्यपि, पुरातन खेलकुदहरूमा जस्तै कुनै-कुनै खेलकुदहरूलाई आफ्नो धर्म जत्तिकै ठानिएको हुन्छ भन्‍ने कुरा के सत्य होइन र? यसबाहेक, गत केही वर्षका रिपोर्टहरूले देखाएअनुसार जित्नको लागि कोही-कोही खेलाडीहरू आफ्नो खेल क्षमता विकास गर्ने लागूऔषध सेवन गर्न इच्छुक भएका छन्‌, जसले तिनीहरूको स्वास्थ्यलाई मात्र होइन तिनीहरूको जीवनलाई समेत खतरामा पार्छ।

मसीहीहरूका लागि शारीरिक उपलब्धि अत्यन्त कम महत्त्वको हुन्छ। “हृदयको . . . गुप्त मानिस[का]” आध्यात्मिक गुणहरूले पो हामीलाई परमेश्‍वरको दृष्टिमा सुन्दर बनाउँछ। (१ पत्रुस ३:३, ४) आज खेलकुदमा भाग लिनेहरू सबैसित उग्र प्रतिस्पर्धात्मक मनोभाव हुँदैन भन्‍ने कुरा हामीलाई थाह छ तर थुप्रैसित भने हुन्छ। के त्यस्ता मानिसहरूसितको सरसंगतिले हामीलाई ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्र होओ’ भन्‍ने धर्मशास्त्रीय सल्लाह पछ्याउन मदत गर्ला? अथवा के यस्तो सरसंगतिको परिणाम “दुश्‍मनी, झैंझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट” हुँदैन र?—फिलिप्पी २:३; गलाती ५:१९-२१.

कन्ट्याक्ट स्पोर्टस्‌ अर्थात्‌ धक्की दिएर खेल्नुपर्ने वर्तमान समयका थुप्रै खेलहरूमा हिंसा भड्‌किने सम्भावना हुन्छ। यस किसिमका खेलकुदप्रति आकर्षित हुने जो कोहीले पनि भजन ११:५ का (नयाँ संशोधित संस्करण) शब्दहरूलाई सम्झिनु बेस हुन्छ: “परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ।”

सीमाभित्र रहेर कसरत गर्नु आनन्ददायी हुन सक्छ र प्रेरित पावलले पनि “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ” भनेका थिए। (१ तिमोथी ४:७-१०) तथापि, युनानी खेलहरूबारे बताउँदा पावलले मसीहीहरूसित आत्मसंयम तथा धीरजजस्ता गुणहरू हुनु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा प्रस्ट्याउन मात्र ती खेलहरूलाई संकेत गर्नु उपयुक्‍त थियो। पावलले प्राप्त गर्न चाहेको लक्ष्य, सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ ईश्‍वर-प्रदत्त अनन्त जीवनको “मुकुट” थियो। (१ कोरिन्थी ९:२४-२७; १ तिमोथी ६:१२) त्यस विषयमा तिनले हाम्रो लागि उदाहरण बसाले।

[फुटनोट]

a युनानी शब्द नाइकी-ले “विजय” भन्‍ने अर्थ बुझाउँछ।

[पृष्ठ ३१-मा भएको पेटी/चित्र

अर्को भिडन्तपछि

सा.यु.पू. चौथो शताब्दीको यस कांस्यले पुरातन बक्सिङ खेलका खतरनाक असरहरूलाई देखाउँछ। रोमीहरूद्वारा देखाइएको प्रदर्शनीको क्याटलगअनुसार त्यस खेलमा “ ‘चोटको सट्टा चोट’ दिने थकाइलाग्दो भिडन्तमा . . . मुक्केबाजको प्रतिरोधलाई एउटा राम्रो उदाहरणको रूपमा जोडदार तारिफ गरिएको हुन्थ्यो।” विवरणमा अझै यसो भनिएको छ, “भर्खरैको भिडन्तमा लागेका चोटहरू पुराना चोटहरूमाथि थपिन्छन्‌।”

[पृष्ठ २९-मा भएको चित्र]

पुरातन प्रतिस्पर्धाहरूमध्ये घोडागाडी दौड सबैभन्दा प्रतिष्ठित खेल थियो

[पृष्ठ ३०-मा भएको चित्र]

पुरातन चित्रकारहरूले विजेतालाई मुकुट पहिऱ्‍याइदिंदै गरेको नाइकी अर्थात्‌ पखेटासहितकी विजयकी युनानी देवीको परिकल्पना गरेका थिए