सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ

अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ

“हाम्रा परमेश्वरको स्तुतिगान गाउनु असल कुरा हो।” —भज. १४७:१.

१, २. (क) आफूले माया गर्ने व्यक्तिबारे सोच्दा र उनीबारे अरूसित कुरा गर्दा ती व्यक्तिसितको सम्बन्ध कस्तो हुन्छ? (शीर्षकसँगैको तस्बिर हेर्नुहोस्) (ख) यस लेखमा हामी कस्ता प्रश्नहरूबारे छलफल गर्नेछौं?

आफूले माया गर्ने व्यक्तिबारे सोच्दा अनि उनीबारे अरूसित कुरा गर्दा ती व्यक्तिसितको सम्बन्ध अझ बलियो हुन्छ। यहोवा परमेश्वरसितको सम्बन्धबारे पनि त्यसै भन्न सकिन्छ। दाऊदले गोठालो जाँदा थुप्रै रात आकाशका ताराहरू हेरेर अनि सृष्टिकर्ता कत्ति भलो हुनुहुन्छ, त्यसबारे मनन गरेर बिताए। तिनले लेखे: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईंले नियुक्त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?” (भज. ८:३, ४) साथै, यहोवाले अभिषिक्त ख्रीष्टियनहरूको सम्बन्धमा राख्नुभएको उद्देश्य अद्भुत तरिकामा पूरा भइरहेको विषयमा लेख्दा प्रेषित पावलले यस्तो उद्गार गरे: “परमेश्वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ!”—रोमी ११:१७-२६, ३३.

प्रचारमा जाँदा हामी यहोवाबारे सोच्छौं अनि मानिसहरूसित उहाँबारे कुरा गर्छौं। यसो गर्दा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ। प्रचारमा धेरै समय बिताएकोले यहोवासितको सम्बन्ध अझै बलियो भएको थुप्रै अग्रगामीले महसुस गरेका छन्‌। यस लेखले अग्रगामी सेवा गरिरहेकाहरू र गर्ने विचार गरिरहेकाहरूलाई यी प्रश्नहरूबारे गहिरिएर सोच्न मदत गर्छ: अग्रगामी सेवाले यहोवासितको सम्बन्ध कसरी बलियो बनाउँछ? अग्रगामी सेवा गर्दै हुनुहुन्छ भने यो विशेष सेवामा लागिरहन तपाईंलाई केले मदत गर्नेछ? अहिलेसम्म अग्रगामी सेवा गर्नुभएको छैन भने यो सेवा सुरु गर्न तपाईं के गर्न सक्नुहुन्छ? सर्वप्रथम, अग्रगामी सेवाले यहोवासितको सम्बन्ध कसरी बलियो बनाउँछ, केही तरिका विचार गरौं।

 अग्रगामी सेवाले यहोवासितको सम्बन्ध कसरी बलियो बनाउँछ?

३. राज्यले ल्याउने आशिष्‌हरूबारे अरूसित कुरा गर्दा परिणाम कस्तो हुन्छ?

परमेश्वरको राज्यले ल्याउने आशिष्‌हरूबारे अरूसित कुरा गर्दा हामी उहाँसित नजिक हुन्छौं। घरघरको प्रचारमा जाँदा तपाईंलाई कुन पद प्रयोग गर्न मनपर्छ? सायद भजन ३७:१०, ११; दानियल २:४४; यूहन्ना ५:२८, २९ वा प्रकाश २१:३, ४ प्रयोग गर्न पो मनपर्छ कि? प्रत्येक पटक यी प्रतिज्ञाहरूबारे कुरा गर्दा उदार परमेश्वर यहोवा “हरेक असल वरदान र हरेक उत्तम उपहार”-को स्रोत हुनुहुन्छ भनेर सम्झने मदत पाउँछौं। यसले हामीलाई यहोवासित नजिक बनाउँछ।—याकू. १:१७.

४. मानिसहरूको दयनीय आध्यात्मिक अवस्था देख्दा बाइबल सत्यप्रतिको हाम्रो कृतज्ञता किन अझै बढ्छ?

मानिसहरूको दयनीय आध्यात्मिक अवस्था देख्दा बाइबल सत्यप्रतिको हाम्रो कृतज्ञता अझै बढ्छ। संसारका मानिसहरूले सफल अनि आनन्दित हुन चाहिने मदत पाएका छैनन्‌। थुप्रै मानिस भविष्यको चिन्ता गर्छन्‌। तिनीहरूसित कुनै आशा छैन। तिनीहरू जीवनको उद्देश्य बुझ्न चाहन्छन्‌। धार्मिक झुकाव भएका व्यक्तिहरूलाई समेत बाइबलबारे थोरै मात्र थाह छ। तिनीहरू निनवेका मानिसहरूजस्तै छन्‌। (योना ४:११ पढ्नुहोस्) प्रचारमा जत्ति धेरै समय बिताउँछौं, यहोवा हाम्रो ख्याल गर्नुहुन्छ भनेर त्यत्ति नै राम्ररी बुझ्छौं। (यशै. ६५:१३) हो, यहोवा आफ्ना जनहरूको आध्यात्मिक आवश्यकता पूरा गर्नुहुन्छ। तर उहाँ अरू मानिसलाई पनि सान्त्वना र साँचो आशा पाउने मौका दिनुहुन्छ। यो कुरा विचार गर्दा यहोवा कत्ति भलो हुनुहुन्छ भनेर थाह पाउँछौं।—प्रका. २२:१७.

५. अरूलाई सत्य बुझ्न मदत गर्दा के गर्नदेखि जोगिन्छौं?

अरूलाई सत्य बुझ्न मदत गर्दा आफ्ना समस्याबारे अति नै चिन्तित हुनदेखि जोगिन्छौं। नियमित अग्रगामी त्रिसालाई विचार गर्नुहोस्। आमा र बुबाले सम्बन्धविच्छेद गर्दा तिनी अति नै निराश भइन्‌। एक दिन असाध्यै दुःखित भएकोले तिनलाई प्रचारमा जान पनि मन थिएन। तैपनि तिनी बाइबल अध्ययनमा गइन्‌। तिनीसित तीन जना केटाकेटी अध्ययन गर्दै थिए। उनीहरूको परिवारमा थुप्रै समस्या थियो। उनीहरूलाई बुबाले छोडेर गएका थिए। दाइले पनि निकै दुर्व्यवहार गर्थे। त्रिसा भन्छिन्‌: “उनीहरूले भोगिरहेको समस्याको तुलनामा मेरो समस्या त केही पनि थिएन। अध्ययन गर्दै जाँदा उनीहरूको अनुहारै उज्यालो हुन्थ्यो अनि उनीहरू खुसीले खित्का छोडेर हाँस्थे। विशेषगरि त्यो दिन उनीहरू मेरो लागि यहोवाले दिनुभएको उपहारसरह भए।”

६, ७. (क) बाइबल सत्य सिकाउँदा हाम्रो विश्वास कसरी अझ बलियो हुन्छ? (ख) बाइबल सिद्धान्तले विद्यार्थीलाई जीवनमा छाँटकाँट गर्न मदत गरेको देख्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?

अरूलाई बाइबल सत्य सिकाउँदा हाम्रो विश्वास अझै बलियो हुन्छ। अरूलाई सिकाउने तर आफूले चाहिं नगर्ने केही यहूदीलाई पावलले यस्तो प्रश्न गरे: “अब तिमी जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिं सिकाउँदैनौ?” (रोमी २:२१) अग्रगामीहरूसित अरूलाई सत्य सिकाउने अनि बाइबल अध्ययन सञ्चालन गर्ने प्रशस्त मौका हुन्छ। यो काम राम्ररी पूरा गर्न तिनीहरूले हरेक अध्ययनको लागि तयारी गर्नै पर्छ र प्रश्नको जवाफ दिन थप अनुसन्धान गर्नुपर्ने हुन सक्छ। अग्रगामी बहिनी जेनिनले हरेक पटक अरूलाई बाइबल सत्य सिकाउँदा त्यसमाथि आफ्नो विश्वास अझै बढेको बताइन्‌।

विद्यार्थीले बाइबल सिद्धान्त लागू गरेर जीवनमा छाँटकाँट गरेको देख्दा यहोवाको बुद्धिको अझ धेरै मोल गर्छौं। (यशै. ४८:१७, १८) यो देख्दा हामी आफै पनि ती सिद्धान्तअनुसार चल्न उत्प्रेरित हुन्छौं। एड्रियाना नाम गरेकी अग्रगामी भन्छिन्‌: “आफ्नै बल-बुद्धिको भरमा चल्दा मानिसहरूको जिन्दगी अस्तव्यस्त हुन्छ। तर यहोवाको बुद्धिमा भर पर्न थाल्दा तुरुन्तै  लाभ उठाउन थाल्छन्‌।” साथै, अग्रगामी भाइ फिल भन्छन्‌: “आफ्नै बलबर्कतमा छाँटकाँट गर्न नसकेका मानिसहरूलाई पनि यहोवाले छाँटकाँट गर्न मदत गर्नुहुन्छ।”

८. भाइबहिनीसित प्रचारमा जाँदा हामीलाई कस्तो फाइदा हुन्छ?

भाइबहिनीसित प्रचारमा जाँदा हामी प्रोत्साहन पाउँछौं। (हितो. १३:२०) अग्रगामीहरू प्रचारमा भाइबहिनीसित धेरै समय बिताउँछन्‌। यसले गर्दा तिनीहरूले “एकअर्कालाई प्रोत्साहन” दिने मौका पाउँछन्‌। (रोमी १:१२; हितोपदेश २७:१७ पढ्नुहोस्) अग्रगामी बहिनी लिजा यसो भन्छिन्‌: “काम गर्ने ठाउँमा सहकर्मीहरूबीच अक्सर प्रतिस्पर्धा हुन्छ अनि उनीहरू एकअर्काको डाह गर्छन्‌। अर्काको कुरा काट्ने अनि नराम्रो बोली बोल्ने मानिसहरूसित उठबस गर्नुपर्छ। उनीहरू जसरी हुन्छ अरूलाई उछिन्न चाहन्छन्‌। हामी ख्रीष्टियन आचरणअनुसार चलेकोले कहिलेकाहीं मानिसहरू हाम्रो खिसी गर्छन्‌। तर सँगी ख्रीष्टियनहरूसित प्रचारमा जानु साँच्चै उत्थानदायी हुन्छ। प्रचारबाट घर फर्कंदा जतिसुकै थाके तापनि आनन्द लाग्छ।”

९. जीवनसाथीसँगै अग्रगामी सेवा गर्दा वैवाहिक सम्बन्ध कस्तो हुन्छ?

जीवनसाथीसँगै अग्रगामी सेवा गर्दा वैवाहिक सम्बन्ध बलियो हुन्छ। (उप. ४:१२) श्रीमान्‌सँगै अग्रगामी सेवा गरिरहेकी म्याडेलिन भन्छिन्‌: “प्रचार कस्तो भयो, हामी एकअर्कालाई सुनाउँछौं। अथवा बाइबल पढ्ने क्रममा प्रचारमा लागू गर्न सकिने कुरा भेट्टाउँदा, त्यसबारे कुराकानी गर्छौं। हामीले सँगै अग्रगामी सेवा गरेको वर्षौं भइसक्यो र हामी एकअर्कासित झन्‌झनै नजिक भएका छौं।” अगाडि पनि उल्लेख गरिएकी त्रिसा आफू र आफ्नो श्रीमान्‌ले औकातबाहिरको सरसामान नकिन्ने निर्णय गरेको बताउँछिन्‌। यसले गर्दा उनीहरूबीच कहिल्यै पनि पैसाको विषयमा  झगडा हुँदैन। उनीहरू पुनःभेट र बाइबल अध्ययनमा सँगै जान्छन्‌। फलस्वरूप उनीहरूको वैवाहिक सम्बन्ध अझै बलियो भएको छ।

पूर्ण-समय सेवामा सक्रिय हुँदा तपाईंले जीवनमा सन्तुष्टि पाउनुहुनेछ (अनुच्छेद ९ हेर्नुहोस्)

१०. परमेश्वरको राज्यलाई पहिलो स्थान दिंदा अनि उहाँको समर्थन पाएको अनुभव गर्दा उहाँमाथिको हाम्रो भरोसा के हुन्छ?

१० परमेश्वरको राज्यलाई पहिलो स्थान दिंदा, उहाँको समर्थन पाएको अनुभव गर्दा र प्रार्थनाको जवाफ पाउँदा यहोवामाथिको भरोसा बढ्छ। हुन त सबै वफादार ख्रीष्टियन यहोवामा भरोसा राख्छन्‌। तर यहोवामा भरोसा राख्दा मात्रै अग्रगामी सेवा गरिरहन सकिन्छ भन्ने कुरा अग्रगामीहरूले राम्ररी बुझेका छन्‌। (मत्ती ६:३०-३४ पढ्नुहोस्) कर्ट नाम गरेका भाइलाई विचार गर्नुहोस्। तिनी अग्रगामी अनि कार्यवाहक क्षेत्रीय निरीक्षक पनि हुन्‌। तिनी आफ्नी अग्रगामी पत्नीसितै एउटा मण्डलीको भ्रमणमा जान राजी भए। त्यो मण्डली तिनीहरूको घरबाट साढे दुई घण्टा टाढा पर्थ्यो। तर कारमा पर्याप्त पेट्रोल थिएन, जान पुग्ने जति मात्र थियो। तलब बुझ्न अझै एक हप्ता बाँकी थियो। कर्ट यसो भन्छन्‌: “मैले सही निर्णय गरें कि गरिनँ भनेर मनमा प्रश्न उठ्न थाल्यो।” तिनीहरूले प्रार्थना गरे र जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगे। किनकि परमेश्वरले आवश्यकता पूरा गरिदिनुहुनेछ भनेर तिनीहरू विश्वस्त थिए। हिंड्नै लागेको बेला एउटी बहिनीले फोन गरिन्‌ र एउटा उपहार दिन चाहेको बताइन्‌। तिनीहरूले यात्राको लागि चाहिएकै रकम उपहारस्वरूप पाए। कर्ट भन्छन्‌: “जीवनमा यस्ता कुराहरू बारम्बार अनुभव गर्दा यसमा यहोवाकै हात छ भनेर थाह हुन्छ।”

११. अग्रगामीहरूले पाउने केही आशिष्‌ के हुन्‌?

११ यहोवासित जति धेरै नजिक भयो अनि उहाँको सेवा जति धेरै गऱ्यो, त्यति नै धेरै आशिष्‌ पाएको अनुभव अग्रगामीहरूले गरेका छन्‌। (व्यव. २८:२) तर अग्रगामी सेवा गर्न सधैं सजिलो भने हुँदैन। हामी त्रुटिपूर्ण छौं अनि हामी बाँचिरहेको संसार खराब छ, त्यसकारण हामी सबैले दुःख भोग्छौं। समस्याले गर्दा कहिलेकाहीं केही समयको लागि अग्रगामी सेवा छोड्नुपर्ने हुन सक्छ। तर अक्सर त्यस्ता समस्याहरू समाधान गर्न सकिन्छ वा आउनै नदिनसमेत सकिन्छ। यस विशेष सेवामा लागिरहन अग्रगामीहरूलाई केले मदत गर्छ?

अग्रगामी सेवा गरिरहनुहोस्

१२, १३. (क) घण्टा पुऱ्याउन गाह्रो भइरहेको छ भने अग्रगामीले के गर्नुपर्छ? (ख) दैनिक बाइबल पढाइ, व्यक्तिगत अध्ययन र मननको लागि समय छुट्टयाउनु किन आवश्यक छ?

१२ धेरैजसो अग्रगामीहरू व्यस्त हुन्छन्‌। सबै कुरा भ्याउन हम्मेहम्मे पर्छ। त्यसकारण सबै कुरा व्यवस्थित रूपमा गर्नु आवश्यक छ। (१ कोरि. १४:३३, ४०) घण्टा पुऱ्याउन गाह्रो भइरहेको छ भने आफ्नो समय केमा प्रयोग भइरहेको छ, राम्ररी विचार गर्नुपर्छ। (एफि. ५:१५, १६) तिनले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छन्‌: ‘मनोरञ्जनमा कति समय खर्च गरिरहेको छु? काममा बिताउने समयमा छाँटकाँट गर्नुपर्ने हो कि? अनावश्यक कुरामा पो धेरै समय बिताउँछु कि?’ अग्रगामीहरूले समय-समयमा आफूलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ अनि आवश्यक छाँटकाँट गर्नुपर्छ।

१३ अग्रगामीहरूले दैनिक बाइबल पढाइ, व्यक्तिगत अध्ययन र मननको लागि समय छुट्टयाउनुपर्छ। कम महत्त्वपूर्ण कुरामा धेरै समय बिताएकोले यस्ता महत्त्वपूर्ण गतिविधि ओझेलमा परिरहेका छन्‌ कि भनेर विचार गर्नुपर्छ। (फिलि. १:१०) यस्तो परिस्थिति कल्पना गर्नुहोस्। एक जना अग्रगामी दिनभर प्रचार गरेर घर फर्केका छन्‌। उनले त्यो साँझ सभाको तयारी गर्ने योजना बनाएका छन्‌। तर उनी पहिला चिठी-पत्र पढ्छन्‌। अनि कम्प्युटर खोल्छन्‌ र ईमेल पढेर जवाफ पठाउन थाल्छन्‌। त्यसपछि आफूले किन्न चाहेको सामानको मूल्य घट्यो कि भनेर वेबसाइटमा हेर्न थाल्छन्‌। दुई घण्टा बितेको उनलाई पत्तै हुँदैन। उनले सभाको तयारी गर्न सुरुसमेत गरेका छैनन्‌। यो किन गम्भीर समस्या हो? कुनै खेलाडीले खेललाई  नै आफ्नो पेसा बनाउने हो भने तिनले नियमित रूपमा पोसिलो खानेकुरा खानुपर्छ। त्यसैगरि अग्रगामी सेवा गरिरहने हो भने अग्रगामीले नियमित रूपमा व्यक्तिगत अध्ययन गरेर आध्यात्मिक भोजन लिइरहनुपर्छ।—१ तिमो. ४:१६.

१४, १५. (क) अग्रगामीहरूले जीवन किन सरल बनाउनुपर्छ? (ख) कठिनाइ आइपर्दा अग्रगामीले के गर्नुपर्छ?

१४ अग्रगामीहरू सफल हुने हो भने जीवन सरल बनाउनुपर्छ। येशूले पनि आफ्ना अनुयायीहरूलाई त्यसै गर्न प्रोत्साहन दिनुभयो। (मत्ती ६:२२) प्रचारमा धेरै समय बिताउन सकियोस् भनेर उहाँ आफैले पनि जीवन सरल बनाउनुभयो। उहाँले एकपटक यसो भन्नुभयो: “फ्याउरोहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड, तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।” (मत्ती ८:२०) धेरै सामान थुपारेमा त्यसलाई ठीक अवस्थामा राख्न अनि मर्मतसम्भार गर्न गाह्रो हुन्छ भन्ने कुरा येशूको उदाहरण पछ्याउने अग्रगामीले मनमा राख्छन्‌।

१५ अग्रगामीहरू आफूले गरिरहेको सेवालाई विशेष ठान्छन्‌ तर आफू अरूभन्दा श्रेष्ठ छु भन्ने सोचाइ राख्दैनन्‌। अग्रगामी सेवा यहोवाले दिनुभएको उपहार हो भनेर तिनीहरूलाई थाह छ। त्यसकारण यस सेवामा लागिरहन प्रत्येक अग्रगामीले यहोवामा भरोसा राख्नै पर्छ। (फिलि. ४:१३) कठिनाइ त पक्कै आइपर्छ। (भज. ३४:१९) तर कठिनाइ आइपर्दा अग्रगामीहरूले यहोवाको निर्देशन खोज्नुपर्छ। अग्रगामी सेवा नै छोड्नुको साटो यहोवाले मदत गर्नुहुन्छ भनेर भरोसा गर्नुपर्छ। (भजन ३७:५ पढ्नुहोस्) यहोवाले कत्ति ख्याल राख्नुहुन्छ भनेर आफैले अनुभव गर्दा उहाँसितको सम्बन्ध बलियो हुन्छ।—यशै. ४१:१०.

अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?

१६. अग्रगामी सेवा सुरु गर्न चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ?

१६ अग्रगामी सेवा गर्न अनि अग्रगामीहरूले पाइरहेको आशिष्‌ आफैले अनुभव गर्न चाहनुहुन्छ भने यसलाई प्रार्थनामा राख्नुहोस्। (१ यूह. ५:१४, १५) अग्रगामीहरूसित कुरा गर्नुहोस्। अग्रगामी सेवा सुरु गर्न मदत गर्ने लक्ष्यहरू राख्नुहोस्। केथ र एरिकाले पनि त्यसै गरे। उनीहरूकै उमेरका अरू दम्पतीजस्तै उनीहरू पनि पूर्ण-समय जागिर खान्थे र विवाह गरेको केही समयमै घर र नयाँ गाडी किने। उनीहरू भन्छन्‌: “यी कुराहरूले साँचो सन्तुष्टि देला भन्ने सोचेका थियौं। तर त्यस्तो भएन।” जागिर गुमेपछि केथले सहायक अग्रगामी सेवा सुरु गरे। तिनी भन्छन्‌: “प्रचारमा भाग लिंदा कत्ति रमाइलो हुन्छ भन्ने कुरा अग्रगामी सेवा गरेर थाह पाएँ।” उनीहरूले अग्रगामी दम्पतीलाई साथी बनाए। अग्रगामी सेवा गरेर सरल जीवन बिताउँदा कत्ति धेरै आनन्द पाइन्छ भनी बुझ्न ती दम्पतीले उनीहरूलाई मदत गरे। केथ र एरिकाले के गरे? उनीहरूले आफ्ना लक्ष्यहरूको सूची बनाए र फ्रिजमा टाँसे। लक्ष्यहरू हासिल गर्दै जाँदा त्यसमा चिन्ह लगाउँदै गए। केही समयमै तिनीहरूले अग्रगामी सेवा सुरु गर्न सके।

१७. अग्रगामी सेवा सुरु गर्न सकिन्छ कि भनेर सोच्नु किन राम्रो हो?

१७ तपाईं अग्रगामी सेवा सुरु गर्न सक्नुहुन्छ कि? तत्कालै अग्रगामी सेवा सुरु गर्न सक्दिनँ जस्तो लाग्छ भने पनि यहोवाको सेवामा सक्दो गरेर उहाँसित नजिक हुने प्रयास गर्नुहोस्। यहोवालाई प्रार्थना गर्नुभयो अनि आफ्नो अवस्थाबारे राम्ररी सोचविचार गर्नुभयो भने केही छाँटकाँट गरेमा अग्रगामी सेवा गर्न सकिंदो रहेछ भनेर थाह पाउनुहुनेछ। अग्रगामी सेवा सुरु गर्नुभयो भने तपाईंले गरेको त्यागको तुलनामा कैयौं गुना धेरै आनन्द अनुभव गर्नुहुनेछ। परमेश्वरको राज्यलाई पहिलो स्थानमा राखेकोले अनि दिने काममा भाग लिएकोले तपाईं खुसी हुनुहुनेछ। (मत्ती ६:३३) तपाईंले यहोवाबारे सोच्ने अनि उहाँबारे अरूसित कुरा गर्ने प्रशस्त मौका पाउनुहुनेछ। यसले गर्दा यहोवाप्रतिको प्रेम प्रगाढ हुनेछ अनि उहाँलाई खुसी बनाउन सक्नुहुनेछ।