सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंको कायापलट भएको छ?

के तपाईंको कायापलट भएको छ?

“तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस् कि तिमीहरूको कायापलट होस्।”—रोमी १२:२.

१, २. आफू हुर्किएको वातावरण र वरपरको समाजले हामीलाई कसरी असर गर्छ?

आफू हुर्किएको वातावरण र वरपरको समाजले हामीलाई असर गर्छ। त्यसैकारण हाम्रो रहनसहन—हाम्रो भोजन, पहिरन, आनीबानी तथा बोलीवचन पनि भिन्नाभिन्नै छ।

तर कुनै-कुनै कुरा हाम्रो भोजन र पहिरनभन्दा पनि महत्त्वपूर्ण छन्‌। जस्तै, हुर्कंदै गर्दा हामीलाई सही के हो र गलत के हो, सिकाइन्छ। तर सही र गलतको सन्दर्भमा पनि मानिसहरूको सोचाइ फरक-फरक छ। हामीले गर्ने छनौटमा हाम्रो विवेकले पनि असर गर्छ। अक्सर “व्यवस्था नहुने गैर-यहूदीहरू स्वभावैले व्यवस्थामा भएका कुराहरू गर्छन्‌” भनेर बाइबलमा बताइएको छ। (रोमी २:१४) यदि परमेश्वरले कुनै खास व्यवस्था दिनुभएको छैन भने परिवारले बनाएको वा हाम्रो समाजमा सबैले स्वीकारेको स्तर पछ्याउँदा हुँदैन र?

३. ख्रीष्टियनहरूले संसारको स्तर नपछ्याउनुका दुईवटा कारण बताउनुहोस्।

ख्रीष्टियनहरू संसारको स्तर पछ्याउँदैनन्‌। यसको कम्तीमा दुईवटा महत्त्वपूर्ण कारण छन्‌। पहिलो कारणबारे बाइबल यसो भन्छ: “कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्छ, तापनि अन्तमा त्यसले मृत्युमा पुऱ्याउँछ।” (हितो. १६:२५) त्रुटिपूर्ण भएकोले हामी आफ्नो पाइला ठीकसित डोऱ्याउन सक्षम छैनौं। (हितो. २८:२६; यर्मि. १०:२३) दोस्रो कारण हो, “यस युगको ईश्वर” सैतानले यस संसारका स्तर तथा चलनलाई आफ्नो नियन्त्रणमा राखेको छ। (२ कोरि. ४:४; १ यूह. ५:१९) यहोवालाई खुसी बनाउन चाहन्छौं र उहाँको आशिष्‌ पाउन चाहन्छौं भने रोमी १२:२ मा लेखिएको कुरा पालन गर्नै पर्छ।—पढ्नुहोस्।

४. यस लेखमा के छलफल गर्नेछौं?

यस लेखमा हामी रोमी १२:२ मा उल्लिखित तीनवटा मुख्य बुँदा छलफल गर्नेछौं। ती हुन्‌: (१) हामी किन “कायापलट” अथवा पूरै परिवर्तन हुनुपर्छ? (२) केको कायापलट  गर्नुपर्छ? (३) कसरी कायापलट हुन सक्छौं?

किन कायापलट हुनुपर्छ?

५. रोमी १२:२ मा पाइने सल्लाह पावलले खासमा कसलाई लेखेका थिए?

इस्वी संवत्‌ ५६ तिर पावलले रोमीहरूलाई लेखेको पत्र रोमका सम्पूर्ण बासिन्दाको लागि थिएन। उनले त्यो पत्र रोमका अभिषिक्त ख्रीष्टियनहरूलाई लेखेका थिए। (रोमी १:७) उनले तिनीहरूलाई कायापलट हुन र “यस युगको चालढालअनुसार चल्न” छोड्न आग्रह गरे। यहाँ उल्लिखित “यस युग”-ले सही र गलतबारे रोमीहरूको सोचाइका साथै रोमीहरूको चलन, आचरण, लुगाफाटा आदिलाई बुझाउँथ्यो। रोमका केही भाइबहिनीको सोचाइ र बेहोरा अझै पनि रोमीहरूको जस्तै भएकोले पावलले तिनीहरूलाई “यस युगको चालढालअनुसार चल्न छोड” भने। रोमीहरूको “चालढाल”-ले रोमका भाइबहिनीहरूमा कस्तो प्रभाव पारेको थियो?

६, ७. पावलको समयमा रोमका ख्रीष्टियनहरूका लागि कस्तो चुनौती थियो?

रोम घुम्न जाँदा पर्यटकहरू अक्सर हजारौं वर्षअघि बनाइएका मन्दिर, चिहान, रङ्गशाला, नाचघर, स्मारक आदिका भग्नावशेष हेर्छन्‌। यस्ता भग्नावशेषले त्यतिखेरका रोमीहरूको रहनसहन र धार्मिक आस्था बुझ्न मदत गर्छ। रोमी इतिहाससम्बन्धी पुस्तकहरू पढ्दा रोममा खेलाइने हिंसात्मक खेल र रथ-दौडबारे थाह पाउँछौं। विभिन्न किसिमका नाटक तथा नाचगानबारे पनि थाह पाउँछौं जुन कहिलेकाहीं अश्‍लील किसिमका हुन्थे। रोम सम्पन्न सहर भएकोले मानिसहरूले प्रशस्तै पैसा कमाउन सक्थे।—रोमी ६:२१; १ पत्रु. ४:३, ४.

रोमीहरूका थुप्रै मन्दिर थिए र तिनीहरू थुप्रै देवीदेवताको पूजा गर्थे। तर तिनीहरू ती देवीदेवतासित व्यक्तिगत सम्बन्ध गाँस्ने प्रयास गर्दैनथे। तिनीहरूको लागि धर्म भन्नु त जन्म, मृत्यु, विवाहजस्ता रीतिथितिमा भाग लिनु मात्र थियो। यस्ता रीतिथिति तिनीहरूको जीवनको अभिन्न अंश थियो। रोमका ख्रीष्टियनहरूलाई पटक्कै सजिलो थिएन। उनीहरूमध्ये कतिपय त झूटा देवीदेवताको पूजा गर्दै हुर्केका थिए। त्यसैकारण ख्रीष्टियन हुन उनीहरूले थुप्रै परिवर्तन गर्नुपर्थ्यो। अनि बप्तिस्मापछि पनि उनीहरूले थुप्रै परिवर्तन गरी नै रहनुपर्ने थियो।

८. अहिले यो संसार ख्रीष्टियनहरूको लागि किन खतरनाक छ?

त्यसैगरि अहिले पनि यो संसार ख्रीष्टियनहरूको लागि खतरनाक छ। किन? किनकि संसारको मनोभाव जताततै व्याप्त छ। (एफिसी २:२, ३; १ यूहन्ना २:१६ पढ्नुहोस्) संसारले हामीलाई त्यसको अभिलाषा, सोचाइ, स्तर र नैतिकताको प्रभावमा पार्न खोज्छ। संसारको भाग हुन सक्ने खतरा हामीसामु चौबीसै घण्टा छ। त्यसैकारण “यस युगको चालढालअनुसार चल्न छोड, बरु . . . तिमीहरूको कायापलट होस्” भनेर दिइएको सल्लाह पालन गर्नु नितान्त जरुरी छ। त्यसोभए  कायापलट हुन हामीले के गर्नै पर्छ?

केको कायापलट गर्नुपर्छ?

९. बप्तिस्मा गर्न योग्य हुन थुप्रैले के-कस्ता परिवर्तन गर्छन्‌?

बाइबल अध्ययन गरेपछि र सिकेको कुरा प्रयोग गर्न थालेपछि कुनै व्यक्ति परमेश्वरसित नजिक हुन थाल्छ। उसले झूटो धर्म छोड्छ र जीवनमा परिवर्तनहरू गर्छ। नयाँ व्यक्तित्व धारण गर्न र येशू ख्रीष्टको अनुकरण गर्न उसले निकै प्रयास गर्छ। (एफि. ४:२२-२४) वर्षेनी लाखौंले यस्तो परिवर्तन गरेर यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेको र बप्तिस्मा गरेको देख्दा हामी खुसी हुन्छौं। यसले यहोवालाई पनि आनन्दित तुल्याउँछ। (हितो. २७:११) तर कुनै व्यक्तिले गर्नुपर्ने परिवर्तन यति मात्र हो?

थुप्रै मानिस सैतानको संसारबाट निस्कनुपर्छ र तिनीहरू कायापलट हुनुपर्छ (अनुच्छेद ९ हेर्नुहोस्)

१०. कायापलट हुनुमा आफूलाई सुधार्नु मात्र समावेश छैन, किन?

१० कायापलट हुनुमा प्रगति गर्नु वा आफूलाई सुधार्नु मात्र समावेश छैन। एउटा बाइबल शब्दकोशअनुसार रोमी १२:२ को “कायापलट होस्” भन्ने अभिव्यक्तिमा पवित्र शक्तिको मदतले हाम्रो सोचाइ परिवर्तन गर्नु समावेश छ। त्यसकारण कुनै ख्रीष्टियनले आफ्नो खराब आनीबानी, बोलीवचन वा आचरण सुधार्दैमा तिनको कायापलट हुने होइन। बाइबलबारे केही थाह नपाएका व्यक्तिले समेत यस्तो सुधार गर्ने प्रयास गरेका छन्‌। त्यसोभए ख्रीष्टियनको रूपमा कायापलट हुन अर्थात्‌ आफ्नो सोचाइ र भावना परिवर्तन गर्न हामीले के गर्नुपर्छ?

११. कायापलट हुन के गर्नुपर्छ भनेर पावलले बताए?

११ “तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस् कि तिमीहरूको कायापलट होस्” भनेर पावलले लेखे। बाइबलमा प्रयोग गरिएको “सोचाइ” शब्दमा मानसिक झुकाव, मनोवृत्ति र तर्कशक्ति समावेश छ। रोमीहरूलाई लेखेको पत्रको सुरुतिर पावलले ‘कुकर्म, दुष्टता, लालच र खराबीले’ गर्दा “भ्रष्ट मनस्थिति” भएका मानिसहरूबारे बताए। तिनीहरू “ईर्ष्या, हत्या, कलह, छल र द्वेषले भरिएका” थिए। (रोमी १:२८-३१) चारैतिर यस्ता मानिसहरू भएकोले नै पावलले ख्रीष्टियनहरूलाई “तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस् कि तिमीहरूको कायापलट होस्” भनेका रहेछन्‌।

“रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग।”—एफि. ४:३१

१२. अहिले थुप्रैले कस्तो सोचाइ राख्छन्‌? ख्रीष्टियनहरूले यस्तो सोचाइ राख्नु किन खतरनाक हुन्छ?

१२ दुःखको कुरा, अहिले संसारमा थुप्रैको सोचाइ पावलले व्याख्या गरेको जस्तै छ। तिनीहरूको विचारमा निश्‍चित स्तर र सिद्धान्तअनुसार जीवन बिताउनु पुरानो जमानाको कुरा भइसक्यो र कसैले कसैलाई यस स्तर र सिद्धान्तअनुसार जीवन बिताउन दबाब दिनुहुँदैन। थुप्रै आमाबाबु र शिक्षकसमेत केटाकेटी जे गर्न चाहन्छन्‌, तिनीहरूलाई त्यही गर्न दिनुपर्छ भन्ने सोचाइ राख्छन्‌। के सही र के गलत, केटाकेटी आफैले निर्णय गर्नुपर्छ भनेर समेत सिकाउँछन्‌। यिनीहरूको विचारमा  सही र गलत छुट्टयाउने आधार वास्तवमा छँदै छैन। परमेश्वरमाथि विश्वास गरेको दाबी गर्ने थुप्रैलाई समेत परमेश्वरले सही ठहराउनुभएको कुरा अनुरूपै गर्नुपर्छ भन्ने लाग्दैन। (भज. १४:१) ख्रीष्टियनहरूले यस्तो सोचाइ राख्नु खतरनाक हुन्छ। होसियार भएनौं भने परमेश्वरको सङ्गठनबाट आएको निर्देशन पछ्याउन छोड्न सक्छौं र आफूलाई मन नपरेको हरेक कुराविरुद्ध गनगन गर्नसमेत थाल्छौं। अथवा मनोरञ्जन, इन्टरनेटको प्रयोग र उच्च शिक्षाजस्ता विषयमा बाइबलआधारित सल्लाह दिइँदा पूर्णतया सहमत नहुन सक्छौं।

१३. हामी वास्तवमा कस्ता छौं इमानदार भई जाँच्नुपर्छ, किन?

१३ यस युगको चालढालले हाम्रो सोचाइ र भावनालाई असर नगरेको चाहन्छौं भने हामी वास्तवमा कस्ता छौं, इमानदार भई जाँच्नुपर्छ। हामीले आफ्नो भित्री भावना, मनोवृत्ति, हाम्रा लक्ष्य तथा स्तर जाँच्नु आवश्यक छ। हामी वास्तवमा कस्ता छौं, अरूलाई थाह हुँदैन। त्यसैकारण हामीले गरिरहेको कामलाई उनीहरूले राम्रै मान्लान्‌। तर बाइबलबाट सिकेको कुरा अनुरूपै जीवनमा कायापलट भयो कि भएन र अझै भइरहेको छ कि छैन, त्यो त हामीलाई मात्र थाह छ।याकूब १:२३-२५ पढ्नुहोस्।

कसरी कायापलट हुन सक्छौं?

१४. हामीले गर्नुपर्ने छाँटकाँट थाह पाउन हामीलाई केले मदत गर्छ?

१४ कायापलट हुन वास्तवमा भित्रैदेखि परिवर्तन हुनु आवश्यक छ। यस्तो परिवर्तन गर्न हामीलाई केले मदत गर्छ? हामी कस्तो व्यक्ति भएको परमेश्वर चाहनुहुन्छ, बाइबल पढ्दा थाह पाउँछौं। पढेको कुराप्रति हामीले देखाउने प्रतिक्रियाबाट हाम्रो हृदयभित्र के छ, प्रस्ट हुन्छ र यसले हामीलाई ‘परमेश्वरको सिद्ध इच्छाअनुसार’ गर्न आफूमा गर्नुपर्ने छाँटकाँट थाह पाउन मदत गर्छ।—रोमी १२:२; हिब्रू ४:१२.

१५. यहोवाले आकार दिंदा हाम्रो के कायापलट हुन्छ?

१५ यशैया ६४:८ पढ्नुहोस्। भविष्यवक्ता यशैयाले प्रयोग गरेको दृष्टान्तबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। हामी माटो हौं र यहोवा हाम्रो कुमाले हुनुहुन्छ। हामीलाई आकार दिंदा उहाँ हाम्रो बाहिरी रूप होइन, भित्री रूप परिवर्तन गर्नुहुन्छ। उहाँले आकार दिंदा उहाँको आकारमा ढालियौं भने भित्रैदेखि हाम्रो कायापलट हुन्छ अर्थात्‌ हाम्रो सोचाइ र भावना परिवर्तन हुन्छ। यसले नै हामीलाई संसारको प्रभावको विरोध गर्न मदत गर्छ। त्यसोभए यहोवा हामीलाई कसरी आकार दिनुहुन्छ?

१६, १७. (क) गुणस्तरीय भाँडो बनाउन कुमालेले माटोलाई के गर्छ, व्याख्या गर्नुहोस्। (ख) परमेश्वरको हातमा नरम माटोसरह हुन उहाँको वचनले हामीलाई कसरी मदत गर्छ?

१६ गुणस्तरीय भाँडो बनाउन कुमालेले राम्रो खालको माटो प्रयोग गर्छ। तर भाँडो बनाउनुअघि कुमालेले दुईवटा काम गर्नुपर्छ। पहिलो, माटो सफा गर्नुपर्छ। अनि दोस्रो, आवश्यक मात्रामा पानी हालेर माटोलाई राम्ररी मुछ्नुपर्छ। यसो गर्दा भाँडो बनाउन सजिलो हुन्छ।

१७ याद गर्नुहोस्, माटो सफा गर्नुपर्छ र माटो नरम बनाउन पानी हाल्दै मुछ्नुपर्छ। यसो गर्दा कुमालेले चाहेको आकारमा किसिम-किसिमको भाँडो बनाउन सक्छ। पानी हाल्दै मुछ्दा साह्रो माटो बदलिएर नरम भएजस्तै परमेश्वरको वचनले हामीलाई बदल्छ। बाइबलबाट यहोवाबारे सिक्न थाल्दा हामीले संसारको जस्तै सोचाइ राख्न छोड्यौं र उहाँको जस्तै सोचाइ राख्न थाल्यौं। हामी उहाँको हातमा नरम माटोसरह भयौं र उहाँले हामीलाई आफूले चाहेको आकारमा ढाल्नुभयो। (एफि. ५:२६) हामीलाई अहिले पनि दिनहुँ बाइबल पढ्न र नियमित तवरमा सभाहरूमा उपस्थित हुन बारम्बार सम्झाइएको  छ। किन? किनकि त्यसो गऱ्यौं भने यहोवाले आकार दिनुहुँदा त्यही आकारमा ढालिन हामीलाई सजिलो हुन्छ।—भज. १:२; प्रेषि. १७:११; हिब्रू १०:२४, २५.

कायापलट हुँदा पहिलेभन्दा अझ राम्ररी समस्याको समाधान गर्न सक्नुहुनेछ (अनुच्छेद १८ हेर्नुहोस्)

१८. (क) परमेश्वरको वचनले हाम्रो कायापलट गरेको चाहन्छौं भने त्यसमा मनन गर्नु किन आवश्यक छ? (ख) परमेश्वरको वचनमा मनन गर्न हामीलाई कस्ता प्रश्नहरूले मदत गर्छन्‌?

१८ परमेश्वरको वचनले हाम्रो कायापलट गरेको चाहन्छौं भने बाइबल पढेर र त्यसबाट सिकेर मात्र पुग्दैन। थुप्रैले बाइबल पढेका छन्‌ र उनीहरूलाई बाइबलमा के छ, थाह छ। तपाईंले पनि प्रचारमा यस्तै मानिस भेट्टाउनुभएको होला। कतिले त बाइबल पदहरू कण्ठै पारेका हुन्छन्‌। * तैपनि उनीहरूको सोचाइ र जीवनशैलीमा अक्सर कुनै किसिमको परिवर्तन भएको हुँदैन। किन? किनकि बाइबलको कुरा मनको गहिराइसम्म पुगेको छ भने मात्र बाइबलले प्रभाव पार्न र कायापलट गर्न सक्छ। (गला. ६:६) त्यसैकारण हामीले बाइबलबाट सिकेको कुरामा मनन गर्नै पर्छ। आफैलाई यी प्रश्नहरू सोध्नु उपयुक्त हुन्छ: ‘बाइबलको शिक्षा धार्मिक शिक्षा मात्र होइन भनेर के म विश्वस्त छु? बाइबलको शिक्षा सत्य हो भन्ने प्रमाण के मैले आफ्नो जीवनमा देखेको छु? सिकेको कुरा जीवनमा लागू पनि गर्दै छु कि अरूलाई मात्र सिकाउँदै छु? यहोवाले नै मलाई सिकाउँदै हुनुहुन्छ भनेर के म विश्वास गर्छु?’ यस्ता प्रश्नहरूमा मनन गऱ्यौं भने परमेश्वरसित अझ घनिष्ठ हुनेछौं। सिकेको कुराले मन छुँदा जीवनमा परिवर्तनहरू गर्न उत्प्रेरित हुनेछौं।—हितो. ४:२३; लूका ६:४५.

१९, २०. बाइबलको सल्लाहअनुसार चलेका छौं भने कस्तो फाइदा हुन्छ?

१९ नियमित तवरमा बाइबल पढ्छौं र त्यसमा मनन गर्छौं भने पावलले भनेको यो कुरा गरिरहने मदत पाउनेछौं: “पुरानो व्यक्तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ अनि परमेश्वरले दिनुहुने नयाँ व्यक्तित्व धारण गर, अर्थात्‌ आफ्नो व्यक्तित्वलाई सही ज्ञानद्वारा . . . नयाँ बनाओ।” (कल. ३:९, १०) बाइबलको शिक्षा साँच्चै बुझेका छौं र सिकेअनुसार गरेका छौं भने नयाँ व्यक्तित्व धारण गर्न उत्प्रेरित हुनेछौं। नयाँ व्यक्तित्वले हामीलाई सैतानका पासोहरूबाट जोगाउनेछ।

२० “परमेश्वरको ज्ञान नहुँदा तिमीहरू जुन इच्छाअनुसार हिंड्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न छोड,” बरु “आफ्नो सारा चालचलनमा पवित्र होओ” भनेर पत्रुस हामीलाई आग्रह गर्छन्‌। (१ पत्रु. १:१४, १५) आफ्नो सोचाइ र मनोवृत्तिलाई कायापलट गर्न सक्दो गरेका छौं भने यहोवाले हामीलाई कसरी आशिष्‌ दिनुहुन्छ, यसपछिको लेखमा छलफल गर्नेछौं।

^ अनु. 18 फेब्रुअरी १, १९९४ को प्रहरीधरहरा, पृष्ठ ८, अनुच्छेद ७ मा भएको उदाहरण हेर्नुहोस्।