सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हर प्रकारका परीक्षामाथि विजयी हुन बल पाएका छौं

हर प्रकारका परीक्षामाथि विजयी हुन बल पाएका छौं

हर प्रकारका परीक्षामाथि विजयी हुन बल पाएका छौं

“किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलि. ४:१३.

१. यहोवाका जनले किन थुप्रै परीक्षाको सामना गर्छन्‌?

 यहोवाका जनलाई पनि कुनै न कुनै प्रकारको परीक्षा आइपर्छ। कतिपय परीक्षा हाम्रै कमीकमजोरीले गर्दा वा हामी बाँचिरहेको संसारले गर्दा भोग्छौं। अरू कतिपय भने परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेहरूबीचको दुस्मनीले गर्दा हुन्छ। (उत्प. ३:१५) मानव इतिहासको सुरुदेखि नै परमेश्‍वरले आफ्ना विश्‍वासी सेवकहरूलाई धार्मिक सतावट सहन, साथीहरूबाट आउने हानिकारक दबाबको प्रतिरोध गर्न र हर प्रकारका कठिनाइमाथि विजयी हुन मदत गर्नुभएको छ। उहाँको पवित्र शक्‍तिले हामीलाई पनि त्यसै गर्ने बल दिन सक्छ।

धार्मिक सतावट सहन

२. धार्मिक सतावट दिनुको उद्देश्‍य के हो र यो कस्ता प्रकारका हुन सक्छन्‌?

धार्मिक सतावट भनेको मानिसहरूको विश्‍वास वा आस्थालाई लिएर तिनीहरूलाई जानाजानी दुःख दिनु वा शारीरिक आक्रमण गर्नु हो। यसो गर्नुको उद्देश्‍य तिनीहरूको विश्‍वासलाई नामेट पार्नु, तिनीहरूको धर्म फैलनदेखि रोक्नु वा त्यस धर्म मान्‍नेहरूको सत्यनिष्ठा तोड्‌नु हो। सतावट विभिन्‍न प्रकारले आउन सक्छ—कुनै प्रत्यक्ष त कुनै अप्रत्यक्ष। बाइबलले सैतानको आक्रमणलाई जवान सिंह र गोमनको आक्रमणसित तुलना गरेको छ। भजन ९१:१३, NRV पढ्‌नुहोस्‌।

३. सिंहरूपी सतावट र गोमनरूपी सतावट भनेको के हो?

हिंस्रक सिंहले झैं सैतानले अक्सर हिंसा, कैद वा प्रतिबन्धमार्फत अगाडिबाट प्रत्यक्ष आक्रमण गरेको छ। (भज. ९४:२०) आधुनिक समयका यहोवाका साक्षीहरूको क्रियाकलापबारे बताउने वार्षिक पुस्तक-को (अङ्‌ग्रेजी) रिपोर्टमा सैतानका यस्ता कर्तुतबारे थुप्रै विवरण पाउँछौं। धर्मगुरु वा राजनैतिक कट्टरपन्थीहरूको लहलहैमा लागेर केही हुल्याहा जमातले थुप्रै ठाउँमा परमेश्‍वरका जनमाथि हिंस्रक दुर्व्यवहार गरेको छ। सिंहरूपी यस्ता आक्रमणले गर्दा कसै-कसैले यहोवाको सेवा गर्नै छाडेका छन्‌। मानिसहरूको सोचाइ दूषित बनाउन र झुक्क्याएर आफ्नो इच्छा गर्न लगाउन दियाबलले गोमनले जस्तै नदेखिने ठाउँबाट छली तरिकाले पनि आक्रमण गर्छ। हाम्रो विश्‍वास कमजोर पार्न वा हामीलाई सम्झौता गर्न लगाउन यस्तो प्रकारको आक्रमण गरिन्छ। तर परमेश्‍वरको पवित्र शक्‍तिमार्फत हामी यी दुवै प्रकारका सतावट सहन सक्छौं।

४, ५. सतावटको लागि तयार हुने सर्वोत्तम तरिका के हो र किन? एउटा उदाहरण दिनुहोस्‌।

भविष्यमा आउन सक्ने विभिन्‍न सतावट कल्पना गर्नु सतावटको लागि तयार हुने सर्वोत्तम तरिका होइन। भविष्यमा कस्ता सतावट भोग्नुपर्नेछ हामीलाई थाह छैन। त्यसैले जुन सतावट भोग्नै नपर्ने होला, त्यसबारे चिन्ता लिंदैमा केही फाइदा हुँदैन। तर हामीले गर्न सक्ने कुरा पनि छ। सत्यनिष्ठा कायम गरेकाहरूबारे धर्मशास्त्रमा उल्लेख गरिएको उदाहरणका साथै येशूको शिक्षा तथा उदाहरण मनन गर्दा सतावट सहन थुप्रै सफल भएका छन्‌। यसले तिनीहरूलाई यहोवाप्रतिको प्रेम अझ प्रगाढ बनाउन मदत गरेको छ। फलस्वरूप यस्तो प्रेमले तिनीहरूलाई जस्तोसुकै परीक्षाको प्रतिरोध गर्न मदत दिएको छ।

मलावीका हाम्रा दुई बहिनीहरूको उदाहरण विचार गर्नुहोस्‌। राजनैतिक पार्टीको कार्ड किन्‍न लगाउन एउटा हिंस्रक जमातले तिनीहरूलाई कुट्यो, नाङ्‌गै पाऱ्‍यो र बलात्कार गर्ने धम्की दियो। त्यस जमातले बेथेल परिवारका सदस्यहरूले समेत पार्टीको कार्ड किनेका छन्‌ भनी झूट बोल्यो। ती बहिनीहरूले कस्तो प्रतिक्रिया जनाए? तिनीहरूले भने: “हामी यहोवा परमेश्‍वरको मात्र सेवा गर्छौं। त्यसैले शाखा कार्यालयका भाइहरूले कार्ड किनेका भए तापनि यसले हामीलाई कुनै फरक पार्दैन। तपाईंहरूले हामीलाई मारे तापनि हामी सम्झौता गर्दैनौं!” यस्तो साहसी अडान लिएपछि ती बहिनीहरूलाई मुक्‍त गरियो।

६, ७. यहोवा आफ्ना सेवकहरूलाई सतावटको सामना गर्ने बल कसरी दिनुहुन्छ?

थिस्सलोनिकीका ख्रीष्टियनहरूले सत्यको सन्देश “थुप्रै सङ्‌कष्ट सहँदै” तर “पवित्र शक्‍तिद्वारा पाइने आनन्दका साथ” स्वीकारे भनी प्रेषित पावलले बताए। (१ थिस्स. १:६) निश्‍चय नै, सतावटको सामना गरेका र त्यसमाथि विजयी भएका विगत र वर्तमानका थुप्रै ख्रीष्टियनले परीक्षा चरमोत्कर्षमा पुग्दा मनोशान्ति पाएको कुरा बताएका छन्‌। यो गुण परमेश्‍वरको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। (गला. ५:२२) फलस्वरूप यस्तो शान्तिले तिनीहरूको हृदय र विचारलाई रक्षा गर्न मदत गऱ्‍यो। हो, आफ्ना सेवकहरूलाई परीक्षाहरूसित डट्‌ने र परीक्षाहरू आउँदा बुद्धिमानी कदम चाल्ने बल दिन यहोवा आफ्नो सक्रिय शक्‍ति प्रयोग गर्नुहुन्छ।  a

भीषण सतावट सामना गर्नुपर्दा समेत परमेश्‍वरका सेवकहरू आफ्नो सत्यनिष्ठा कायमै राख्न कटिबद्ध भएको देखेर प्रत्यक्षदर्शीहरू तीनछक परेका छन्‌। त्यस्तो अवस्थामा तिनीहरू असामान्य शक्‍तिद्वारा भरिएको जस्तो देखिए, हुन पनि त्यस्तै हो। प्रेषित पत्रुस हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “ख्रीष्टको नामको खातिर तिमीहरूको बदनाम भइरहेको छ भने तिमीहरू आनन्दित हौ, किनकि परमेश्‍वरको पवित्र शक्‍ति र त्यसको महिमा तिमीहरूमाथि छ।” (१ पत्रु. ४:१४) परमेश्‍वरका सही स्तरहरूलाई पक्रिराखेकोले सतावट भोग्नु भनेको हामीले परमेश्‍वरको अनुमोदन पाएका छौं भन्‍ने सङ्‌केत हो। (मत्ती ५:१०-१२; यूह. १५:२०) यहोवाको आशिष्‌ पाएको यस्तो प्रमाणले हामीलाई कत्ति आनन्दित तुल्याउँछ!

साथीहरूबाट आउने दबाबको प्रतिरोध गर्न

८. (क) साथीहरूबाट आएको दबाबको प्रतिरोध गर्न यहोशू र कालेबलाई केले मदत गऱ्‍यो? (ख) यहोशू र कालेबको उदाहरणबाट हामी के सिक्न सक्छौं?

चालै नपाउने गरी आउने तर ख्रीष्टियनहरूले सहनै पर्ने अर्को परीक्षा साथीहरूबाट आउने नकारात्मक दबाब हो। तर सैतानको संसारको शक्‍तिभन्दा यहोवाको शक्‍ति अत्यन्तै बलियो भएकोले हाम्रो गिल्ला गर्ने, हामीबारे झूटा कुराहरू फैलाउने वा तिनीहरूकै चालढालमा हिंड्‌न हामीलाई जबरजस्ती गर्ने मानिसहरूको हामी प्रतिरोध गर्न सक्छौं। उदाहरणको लागि, कनानमा पठाइएका जासुसमध्ये दस जनाको धारणासित सहमत नहुन यहोशू र कालेबलाई केले मदत गऱ्‍यो? पवित्र शक्‍तिले तिनीहरूमा बेग्लै “आत्मा” अर्थात्‌ मानसिक झुकाव पैदा गरिदियो। गन्ती १३:३०; १४:६-१०, २४ पढ्‌नुहोस्‌।

९. ख्रीष्टियनहरू भीडको पछि नलागेर बेग्लै हुन इच्छुक हुनुपर्छ, किन?

यसैगरि पवित्र शक्‍तिले येशूका प्रेषितहरूलाई पनि साँचो धर्मको शिक्षकको रूपमा थुप्रैले आदर गरिरहेका मानिसहरूको होइन, बरु परमेश्‍वरको आज्ञा मान्‍न बल दियो। (प्रेषि. ४:२१, ३१; ५:२९, ३२) मुठभेड वा झगडाबाट जोगिन प्रायः मानिस भीडको पछि लाग्न चाहन्छन्‌। तर साँचो ख्रीष्टियनहरूले अक्सर आफूलाई सही भनेर थाह भएको कुराको लागि अडान लिनुपर्ने हुन्छ। तैपनि परमेश्‍वरको सक्रिय शक्‍तिले दिने बलले गर्दा तिनीहरू बेग्लै देखिनदेखि डराउँदैनन्‌। (२ तिमो. १:७) अब साथीहरूको दबाब आउँदा उनीहरूको लहलहैमा लाग्नै नहुने एउटा क्षेत्र विचार गरौं।

१०. केही ख्रीष्टियन कस्तो दुबिधामा पर्न सक्छन्‌?

१० आफ्नो साथीले धर्मशास्त्रविपरीतको कुनै काममा भाग लिएको थाह पाउँदा केही जवान मानिस दुबिधामा पर्न सक्छन्‌। गल्ती गर्ने साथीको निम्ति एल्डरहरूसित मदत माग्दा साथीको पोल खोलेसरह हुन्छ भन्‍ने डरले गर्दा तिनीहरूलाई ‘तैं चुप, मै चुप’ बस्नु नै ठीक लाग्न सक्छ। त्यसैले गलत प्रकारको वफादारीको कारण तिनीहरू गल्तीलाई लुकाउँछन्‌। गल्ती गर्ने व्यक्‍तिले समेत आफ्नो गल्तीबारे कसैलाई नभन्‍न दबाब दिन सक्छन्‌। निश्‍चय पनि यस्तो खालको समस्या जवान व्यक्‍तिहरूले मात्र भोग्नुपर्ने होइन। केही वयस्कसमेत आफ्नो साथी वा परिवारको सदस्यले गरेको गल्तीबारे मण्डलीका एल्डरहरूसित कुराकानी गर्न हिचकिचाउँछन्‌। तर यस्तो दबाबप्रति साँचो ख्रीष्टियनहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

११, १२. मण्डलीको कुनै सदस्यले उसले गरेको गल्तीबारे अरूलाई नभन्‍नू भन्यो भने तपाईंले देखाउनुपर्ने सर्वोत्तम प्रतिक्रिया के हो र किन?

११ यो अवस्था कल्पना गर्नुहोस्‌। अनिल नाम गरेका एक जवान भाइले मण्डलीको सुरज भन्‍ने आफ्नो साथीले अश्‍लील सामाग्री हेर्ने गरेको कुरा थाह पाए। अनिलले सुरजलाई उसले गरेको कामबारे आफू चिन्तित भएको कुरा बताउँछ। तर सुरजले अनिलको कुरालाई वास्तै गर्दैन। अनिलले यसबारे मण्डलीका एल्डरहरूसित कुराकानी गर्ने सुझाव दिंदा सुरज यसो भन्छ: ‘हामी दुई जना साँच्चै साथी हौं भने तिमीले यो कुरा एल्डरहरूलाई भन्‍नेछैनौ।’ के अनिल साथी गुमाउनुपर्ला भनेर डराउनुपर्छ? त्यस्तो काम गरेकै छैन भनेर सुरजले इन्कार गऱ्‍यो भने एल्डरहरूले कसको कुरा पत्याउलान्‌ भन्‍ने अनिललाई लाग्न सक्छ। तर यसबारे अनिल चुप लागेर बस्दा पनि अवस्था सुध्रिनेवाला छैन। यसले त यहोवासित सुरजको सम्बन्धलाई नै खतरामा पार्न सक्छ। त्यसकारण अनिलले “मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ” भन्‍ने सल्लाह सम्झनु नै बेस हो। (हितो. २९:२५) अनिलले अरू के गर्न सक्छ? ऊ फेरि सुरजकहाँ गएर उसले गरेको गल्तीबारे मायालु तरिकामा स्पष्टसित कुराकानी गर्न सक्छ। यसो गर्न साहस चाहिन्छ। सायद यसबेला सुरज आफ्नो समस्याबारे कुराकानी गर्न चाहला। यसबारे एल्डरहरूसित कुराकानी गर्न अनिलले फेरि पनि सुरजलाई प्रोत्साहन दिनुपर्छ र निश्‍चित समयभित्र त्यसो नगरेमा आफैले एल्डरहरूलाई बताइदिने कुरा भन्‍नुपर्छ।—लेवी ५:१.

१२ केहीगरि तपाईंलाई यस्तो अवस्था आइपऱ्‍यो भने साथीले सुरुमा त तपाईंको प्रयासको कदर नगर्ला। तर उसैको हितको लागि तपाईंले सबै कुरा गर्नुभएको हो भनेर उसले पछि महसुस गर्न सक्छ। गल्ती गर्ने व्यक्‍तिले मदत पायो र त्यसलाई स्वीकाऱ्‍यो भने तपाईंको साहस र वफादारीको लागि ऊ तपाईंप्रति सधैं कृतज्ञ हुन सक्छ। अर्कोतर्फ, एल्डरहरूलाई भनिदिएकोमा ऊ तपाईंसँग रिसायो भने के ऊ साँच्चै तपाईंले खोजेको जस्तो साथी हो र? हामीले सधैं गर्नुपर्ने सही कुरा भनेको हाम्रो सबैभन्दा महान्‌ साथी यहोवालाई खुसी पार्नु हो। यहोवालाई पहिलो स्थानमा राख्दा उहाँलाई प्रेम गर्नेहरूले हामीले देखाएको वफादारीको कारण हाम्रो कदर गर्नेछन्‌ र हाम्रो साँचो साथी बन्‍नेछन्‌। ख्रीष्टियन मण्डलीमा दियाबललाई कहिल्यै ठाउँ दिनु हुँदैन। यदि त्यस्तो हुन दियौं भने हामीले साँच्चै यहोवाको पवित्र शक्‍तिलाई दुःखी बनाइरहेका हुन्छौं। तर ख्रीष्टियन मण्डलीलाई शुद्ध राखिराख्न प्रयास गर्दा भने हामी यहोवाको पवित्र शक्‍तिअनुरूप चलिरहेका हुन्छौं।—एफि. ४:२७, ३०.

हर किसिमका कठिनाइ सहन

१३. यहोवाका जनले कस्ता प्रकारका कठिनाइ सामना गर्दैछन्‌ र यस्ता कुराहरू किन व्यापक छन्‌?

१३ कठिनाइ विभिन्‍न प्रकारले आउन सक्छ—आर्थिक उलटपुलट, जागिर गुम्नु, प्राकृतिक प्रकोप, आफूले माया गरेको व्यक्‍तिको मृत्यु, स्वास्थ्य समस्या आदि। हामी “कठिन समय”-मा बाँचिरहेकोले ढिलो वा चाँडो हामी सबैले कुनै न कुनै प्रकारको परीक्षा भोग्नुपर्ने आशा गर्न सक्छौं। (२ तिमो. ३:१) परीक्षा आइपर्दा नआत्तिनु महत्त्वपूर्ण छ। हर प्रकारका कठिनाइ सहन पवित्र शक्‍तिले हामीलाई बल दिन सक्छ।

१४. कठिनाइहरू सहन अय्यूबलाई केले बल दियो?

१४ अय्यूबले एकपछि अर्को कठिनाइको सामना गर्नुपऱ्‍यो। तिनले आफ्नो जीविका चलाउने स्रोत-साधन, छोराछोरी, साथीभाइ र सुस्वास्थ्य गुमाए अनि तिनकी पत्नीले यहोवामाथिको भरोसा गुमाइन्‌। (अय्यू. १:१३-१९; २:७-९) तैपनि एलीहूद्वारा अय्यूबले साँचो सान्त्वना पाए। एलीहूको सन्देश र यहोवा स्वयम्‌ले अय्यूबलाई दिनुभएको सन्देशको निचोड यस्तो थियो: “चूपचाप खडा भएर परमेश्‍वरका उदेकका कामहरूलाई विचार गर्नुहोस्‌।” (अय्यू. ३७:१४) परीक्षाहरू सहन अय्यूबलाई केले मदत गऱ्‍यो? अनि हामीलाई पनि केले मदत गर्न सक्छ? यहोवाको पवित्र शक्‍ति र बल प्रकट भएका विभिन्‍न कुरालाई सम्झेर अनि तीमाथि मनन गरेर। (अय्यू. ३८:१-४१; ४२:१, २) परमेश्‍वरले हामीलाई व्यक्‍तिगत रूपमा चासो देखाउनुभएको समय हामी सम्झन्छौं होला। उहाँ अहिले पनि हामीप्रति चासो राख्नुहुन्छ।

१५. परीक्षाहरू सहन प्रेषित पावललाई केले बल दियो?

१५ प्रेषित पावलले आफ्नो विश्‍वासको खातिर जीवन नै खतरामा पार्ने विभिन्‍न कठिनाइ सहे। (२ कोरि. ११:२३-२८) यस्तो कठिन परिस्थितिमा तिनी कसरी सन्तुलित र भावनात्मक तवरमा स्थिर भइरहन सके? प्रार्थना गरेर अनि यहोवामा भर परेर। पावलले अनेकन्‌ परीक्षा भोगे र अन्तमा तिनी सहिद हुनुपऱ्‍यो। यी परीक्षाको दौडान तिनले यस्तो लेखे: “प्रभु मेरो नजिकै खडा हुनुभयो र उहाँले ममा शक्‍ति भरिदिनुभयो, ताकि मद्वारा प्रचारको काम राम्ररी पूरा होस्‌ अनि सबै जातिले यो सुनून्‌। उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो।” (२ तिमो. ४:१७) त्यसकारण आफ्नै अनुभवद्वारा पावलले सँगी ख्रीष्टियनहरूलाई “कुनै कुराको विषयमा चिन्तित” हुनु आवश्‍यक छैन भनी आश्‍वस्त पार्न सके। फिलिप्पी ४:६, ७, १३ पढ्‌नुहोस्‌।

१६, १७. कठिनाइहरूको सामना गर्न यहोवाले आफ्ना जनहरूलाई बल दिइरहनुभएको छ भनी बुझाउने एउटा उदाहरण दिनुहोस्‌।

१६ यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ भनी अनुभव गर्ने एक जना व्यक्‍ति रोक्साना नाम गरेकी अग्रगामी बहिनी हुन्‌। अधिवेशनमा उपस्थित हुन आफ्नो हाकिमसित केही दिनको लागि बिदा माग्दा तिनी त्यहाँ गएमा कामबाटै निकालिदिने कुरा हाकिमले रिसाउँदै बताए। जागिर गुमाउन नपरोस्‌ भनी व्यग्र प्रार्थना गर्दै रोक्साना अधिवेशनमा गइछाडिन्‌। त्यसपछि बल्ल तिनले ढुक्क महसुस गरिन्‌। तर नभन्दै, अधिवेशन सिद्धिएलगत्तै सोमबारको दिन हाकिमले तिनलाई जागिरबाट निकालिदिए। रोक्साना असाध्यै चिन्तित भइन्‌। कमाइ थोरै मात्र भए तापनि परिवार पाल्न तिनलाई त्यो जागिर अत्यावश्‍यक थियो। तिनले फेरि प्रार्थना गरिन्‌। अनि परमेश्‍वरले अधिवेशनमार्फत उहाँसितको सम्बन्धलाई बलियो बनाइराख्न त मदत गर्नुभयो भने भौतिक आवश्‍यकताको पनि निश्‍चय नै प्रबन्ध मिलाउन सक्नुहुन्छ भन्‍ने तथ्यलाई विचार गरिन्‌। घर फर्कंदै गर्दा तिनले “तुरुन्तै चाहियो!” भनेर लेखिएको एउटा विज्ञापन देखिन्‌। कारखानामा सिलाइ मेसिन चलाउन सक्ने अनुभवी कामदारहरू चाहिएको थियो र तिनले पनि निवेदन दिइन्‌। म्यानेजरले ती बहिनीसित अनुभव छैन भनी थाह पाए तापनि तिनले कमाइरहेको भन्दा झन्डै दोब्बर पैसा दिएर तिनलाई जागिर दिए। रोक्सानाले आफ्नो प्रार्थनाको जवाफ पाएको महसुस गरिन्‌। सबैभन्दा ठूलो आशिष्‌ त तिनले आफ्ना थुप्रै सहकर्मीलाई सुसमाचार बताउन सकिन्‌। फलस्वरूप, म्यानेजरसहित पाँच जनाले सत्य स्वीकारे र बप्तिस्मा गरे।

१७ कहिलेकाहीं हामीलाई प्रार्थनाको जवाफ पाइएन जस्तो लाग्न सक्छ। प्रार्थनाको जवाफ तुरुन्तै नपाएको वा हामीले आशा गरेको तरिकामा नपाएका हुन सक्छौं। तर यस्तो हुनुमा पक्कै पनि असल कारण छ। यहोवालाई यो थाह छ तर हामीलाई चाहिं पछि मात्र थाह हुन सक्छ। हामी एउटा कुरामा भने ढुक्क हुन सक्छौं—आफ्ना विश्‍वासी जनलाई परमेश्‍वर त्याग्नुहुन्‍न।—हिब्रू ६:१०.

परीक्षा तथा प्रलोभनहरूमाथि विजयी हुन

१८, १९. (क) परीक्षा तथा प्रलोभनहरू आइपर्ने आशा हामी किन गर्न सक्छौं? (ख) तपाईं परीक्षाहरू सामना गर्न कसरी सफल हुन सक्नुहुन्छ?

१८ प्रलोभन, निराशा, सतावट र साथीहरूबाट आउने दबाबको सामना गर्नुपर्दा यहोवाका जन छक्क पर्दैनन्‌। संसारले खासगरि हामीप्रति शत्रुवत्‌ व्यवहार गर्छ। (यूह. १५:१७-१९) तर परमेश्‍वरको सेवा गर्दा हामीले सामना गर्न सक्ने हर प्रकारका चुनौतीमाथि विजयी हुन हामीलाई पवित्र शक्‍तिले मदत गर्छ। यहोवाले हामीलाई सहनै नसक्ने प्रलोभनहरूमा पर्न दिनुहुनेछैन। (१ कोरि. १०:१३) उहाँले हामीलाई कुनै हालतमा छोड्‌नु वा त्याग्नुहुनेछैन। (हिब्रू १३:५) परमेश्‍वरको प्रेरित वचनप्रति आज्ञाकारी हुँदा हाम्रो सुरक्षा हुन्छ र यसले हामीलाई बलियो बनाउँछ। साथै, मदतको असाध्यै खाँचो परेको बेला हामीलाई मदत दिन परमेश्‍वरको शक्‍तिले सँगी ख्रीष्टियनहरूलाई घचघच्याउन सक्छ।

१९ प्रार्थना र धर्मशास्त्रको अध्ययनद्वारा हामी सबैले पवित्र शक्‍ति खोजिरहौं। ‘परमेश्‍वरको महिमित तागतबाट ठूलो बल पाएर हामी सबै कुरा सहिरहन सकौं अनि धीरजी र आनन्दित भइरहन सकौं।’—कल. १:११.

[फुटनोट]

a उदाहरणको लागि प्रहरीधरहरा, मे १, २००१, पृष्ठ १६ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• सतावट सहन तपाईं कसरी तयार हुन सक्नुहुन्छ?

• कसैले तपाईंलाई गल्तीबारे अरूलाई नभन्‍नू भनेमा तपाईंले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

• हर प्रकारका कठिनाइको सामना गर्न तपाईं कुन कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

यहोशू र कालेबबाट हामी के सिक्न सक्छौं?

[पृष्ठ २९-मा भएको चित्र]

गलत काम गर्ने साथीलाई तपाईं कसरी मदत दिन सक्नुहुन्छ?