अय्युब ४२:१-१७

  • अय्युब यहोवालाई जवाफ दिन्छन्‌ (१-६)

  • तीन जना साथीहरूको भर्त्सना गरियो (७-९)

  • यहोवाले अय्युबको फलिफाप गराइदिनुभयो (१०-१७)

    • अय्युबका छोराछोरीहरू (१३-१५)

४२  त्यसपछि अय्युबले यहोवालाई यस्तो जवाफ दिए:  २  “अब मैले थाह पाएँ, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ।आफूले ठानेको कुनै पनि कुरा पूरा गर्नु तपाईँको लागि असम्भव छैन।+  ३  ‘मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने त्यो अबुझ को हो’ भनेर तपाईँले सोध्नुभयो।+ त्यतिखेर सोचविचार नगरी बोल्ने मै हुँ।आफूले नबुझेका अचम्मका कुराहरूबारे मैले मुख खोलेँ।+  ४  तपाईँले यस्तो आग्रह गर्नुभयो, ‘मैले बोल्दा ध्यान दिएर सुन। अनि मेरो प्रश्‍नको जवाफ देऊ।’+  ५  मैले त तपाईँबारे सुनेको मात्र थिएँतर अब भने आफ्नै आँखाले तपाईँलाई देखेँ।  ६  त्यसैले म आफूले बोलेको कुरा फिर्ता लिन्छु+अनि धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्छु।”+ ७  यहोवाले अय्युबलाई यी कुराहरू भन्‍नुभएपछि एलिपज तेमानीलाई यहोवाले यसो भन्‍नुभयो: “मलाई तिमी र तिम्रा दुई जना साथीसित असाध्यै रिस उठेको छ।+ किनकि तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा बोलेनौ।+ ८  अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक अय्युबकहाँ जाऊ र आ-आफ्नो पापको प्रायश्‍चित गर्न अग्निभेटी चढाऊ। मेरो सेवक अय्युबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछन्‌।+ तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा नबोलेकोले तिमीहरू दण्ड पाउन योग्य छौ। तर म अय्युबको बिन्ती सुन्‍नेछु र तिमीहरूलाई तिमीहरूको मूर्खताको सजाय दिनेछैनँ।” ९  त्यसैले एलिपज तेमानी, बिल्दद सुही र जोपर नामाती गए र यहोवाले भन्‍नुभएअनुसारै गरे। अनि यहोवा परमेश्‍वरले अय्युबको प्रार्थना सुन्‍नुभयो। १०  अय्युबले आफ्ना साथीहरूको निम्ति प्रार्थना गरेपछि+ यहोवाले अय्युबको दुःखकष्ट हटाइदिनुभयो+ र पहिलेजस्तै तिनको फलिफाप गराइदिनुभयो। यहोवाले तिनका सबै सम्पत्ति पहिलेको भन्दा दोबर बढाइदिनुभयो।+ ११  तिनका सबै दाजुभाइ, दिदीबहिनी र पुराना साथीहरू तिनीकहाँ आए+ र तिनीसँगै तिनको घरमा भोज गरे। यहोवाले अय्युबमाथि जे-जत्ति विपत्ति आइपर्ने अनुमति दिनुभएको थियो, त्यसको निम्ति तिनीहरूले सहानुभूति व्यक्‍त गरे र तिनलाई सान्त्वना दिए। तिनीहरू हरेकले अय्युबलाई एक टुक्रा चाँदी र सुनको कुण्डल दिए। १२  यहोवाले अय्युबलाई पहिलेभन्दा धेरै आशिष्‌ दिनुभयो।+ अय्युबका १४ हजार भेडा, ६ हजार उँट, २ हजार गाईवस्तु* र १ हजार गधैनी भए।+ १३  साथै तिनका अरू सात छोरा र तीन छोरी पनि भए।+ १४  तिनले जेठी छोरीको नाम यमिमाह, माइलीको नाम केजियाह र कान्छीको नाम केरेन-हप्पुक राखे। १५  सारा देशमा अय्युबका छोरीहरूजति राम्री अरू कोही थिएनन्‌। अय्युबले आफ्ना छोरीहरूलाई पनि तिनीहरूका दाजुभाइलाई जस्तै अंश दिए। १६  त्यसपछि अय्युब अरू १४० वर्ष बाँचे र तिनले आफ्ना छोरानाति गरी चौथो पुस्तासम्म देखे। १७  यसरी लामो र सुखी जीवन बिताएर अय्युब मरे।

फुटनोटहरू

शा., “१ हजार जोडी गाईवस्तु।”