सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?

के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?

युवा जनहरू सोध्छन्‌ . . .

के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?

“म मनका सबै कुरा यहोवालाई प्रार्थनामा पोख्ने गर्छु किनकि उहाँ मेरो मित्र हुनुहुन्छ र मलाई विश्‍वास छ, जस्तोसुकै समस्या आइपरे तापनि उहाँले मलाई मदत गर्नुहुनेछ।”—एनड्रिया।

परमेश्‍वरले उनको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा एनड्रिया नाउँ गरेकी केटी विश्‍वस्त छिन्‌। तर सबै जवानहरूमा यस्तो विश्‍वास हुँदैन। परमेश्‍वर निकै टाढा हुनुहुन्छ, परमेश्‍वरले त्यति ध्यान दिनुहुन्‍न होला, त्यसैले प्रार्थना मात्र अर्थपूर्ण बनाएर के फाइदा भन्‍ने कसैकसैको सोचाइ हुनसक्छ।

प्रार्थनाको मूल उद्देश्‍य के हो? स्पष्टतः यसको उद्देश्‍य परमेश्‍वरसँग साँचो मित्रता गाँस्नु हो। भजनरचयिताले यसरी प्रार्थना गरे: “तपाईंको नाउँ जान्‍नेहरू जत्ति चाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌।” (भजन ९:१०) तपाईं नि? परमेश्‍वरले तपाईंको प्रार्थना सुन्‍नुहुन्छ भनेर ढुक्क हुन सकिने गरी के तपाईंले परमेश्‍वरलाई चिन्‍नुभएको छ? यो लेख पढ्‌नुअघि कृपया “तपाईंले परमेश्‍वरलाई कत्तिको राम्ररी चिन्‍नुभएको छ?” शीर्षकको पेटीमा दिइएका प्रश्‍नहरूको जवाफ दिने कोसिस गर्नुहोस्‌। तपाईं कतिवटा प्रश्‍नको जवाफ दिन सक्नुहुन्छ?

तपाईं परमेश्‍वरलाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ? पृष्ठ १३ मा जवाफहरू छन्‌

१. परमेश्‍वरको नाउँ के हो र यसको अर्थ के हो?

२. परमेश्‍वरका चार प्रमुख गुणहरूबारे बाइबलले के भन्छ?

३. मानिसजातिका लागि परमेश्‍वरले देखाउनुभएको महान्‌ प्रेम के हो?

४. परमेश्‍वरसँगको मित्रताबाट हामी कसरी आनन्द उठाउन सक्छौं?

५. प्रार्थना गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

बाँकी लेख पढ्‌नुअघि नै के तपाईं अहिले नै केही प्रश्‍नको जवाफ दिन सक्नुहुन्छ? सक्नुहुन्छ भने, अधिकांश मानिसहरूलाई भन्दा तपाईंलाई परमेश्‍वरबारे धेरै कुरा थाह रहेछ। यद्यपि, तपाईंको जवाफले उहाँलाई अझ नजिकबाट चिन्‍नको लागि उहाँबारे अझ धेरै ज्ञान लिनुपर्ने आवश्‍यकता देखाइरहेको पनि हुनसक्छ। (यूहन्‍ना १७:३) यही लक्ष्यलाई मनमा राखी “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरबारे बाइबलले सिकाउने केही कुरालाई ध्यान दिनुहोस्‌।—भजन ६५:२.

परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ

सर्वप्रथम, बाइबलले हामीलाई परमेश्‍वर केवल व्यक्‍तित्वहीन शक्‍ति हुनुहुन्‍न भन्‍ने कुरा बुझाउँछ। उहाँको व्यक्‍तिगत नाउँ हो, यहोवा। (भजन ८३:१८) हिब्रू भाषामा यसको अर्थ हुन्छ, “उहाँले गराउनुहुन्छ।” आफ्नो उद्देश्‍य पूरा गर्न आवश्‍यकताअनुसार उहाँ जे पनि गर्न सक्नुहुन्छ। केवल शक्‍तिको सँगालोले यसो गर्न सक्दैन! तसर्थ, प्रार्थना गर्दा तपाईं कुनै व्यक्‍तित्वहीन शक्‍ति वा हावासँग कुरा गरिरहनुभएको होइन भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ। तपाईं यस्तो व्यक्‍तिसँग कुरा गर्दै हुनुहुन्छ जसले तपाईंको प्रार्थना सुन्‍न अनि त्यसको जवाफ दिन सक्नुहुन्छ।—एफिसी ३:२०.

तसर्थ, किशोरी डायना यसो भन्छिन्‌, “म जहाँसुकै भए तापनि यहोवाले मेरो प्रार्थना सुन्‍नुहुन्छ भनेर मलाई थाह छ।” यस्तो भरोसा पाउन परमेश्‍वर तपाईंको निम्ति वास्तविक हुनुपर्छ। बाइबल यसो भन्छ, “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने . . . अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू. ११:६.

शक्‍ति र बुद्धिको स्रोत

यहोवा हामीलाई साँच्चै मदत गर्न सक्नुहुन्छ किनकि उहाँ सामर्थ्यमा बलियो हुनुहुन्छ। उहाँको शक्‍ति असीमित छ र यसको पुष्टि उहाँले सृष्टि गर्नुभएको विशाल अनि जटिल भौतिक ब्रह्‍माण्डले दिन्छ। बाइबलले भनेअनुसार, ताराहरू गन्‍नै नसक्ने गरी अरबौं अरब भए तापनि यहोवालाई प्रत्येक ताराको नाउँ थाह छ! अझ त्यो भन्दा बढी, ती ताराहरूमा निहित सारा शक्‍तिको स्रोत उहाँ नै हुनुहुन्छ। (यशैया ४०:२५, २६) के यो अद्‌भुत कुरा होइन र? अनि यी सबै तथ्यहरू साँच्चै अद्‌भुत छन्‌ तर बाइबल अझै यसो भन्छ, “यी ता उहाँको शक्‍तिको एक छेउ मात्र हुन्‌।”—अय्यूब २६:१४.

यहोवाको असीमित बुद्धिलाई पनि विचार गर्नुहोस्‌। बाइबलले बताएअनुसार उहाँका विचारहरू “अति गम्भीर” छन्‌। (भजन ९२:५) उहाँले मानवजातिलाई सृष्टि गर्नुभएको हुँदा उहाँलाई हामीबारे हामीलाई भन्दा धेरै थाह छ। (भजन १००:३) उहाँ “अनादिदेखि अनन्तसम्म” हुनुहुने हुँदा उहाँसित असीमित अनुभव छ। (भजन ९०:१, २) उहाँले बुझ्न नसक्ने कुरा केही छैन।—यशैया ४०:१३, १४.

यहोवाले कसरी यी सबै शक्‍ति तथा बुद्धि प्रयोग गर्नुहुन्छ? दोस्रो इतिहास १६:९ यसो भन्छ, “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” परमेश्‍वरले समाधान गर्न नसक्ने वा सामना गर्न मदत दिन नसक्ने त्यस्तो कुनै समस्या नै छैन। अर्की किशोरी, केला यसरी सम्झन्छिन्‌: “हालै मेरो परिवार र मैले कठिनाइको सामना गर्नु पर्दा मैले यहोवालाई प्रार्थना गरें अनि यी सबै परिस्थिति, समस्या अनि अनुभूतिहरूको सामना गर्न र त्यसबाट उम्कन मैले उहाँबाट मदत पाएको महसुस गरें, नत्र हामीले त्यसको सामना कहाँ गर्न सक्थ्यौं र!” परमेश्‍वरसँग कुरा गर्नु हुँदा तपाईं बुद्धिको स्रोतसित कुरा गर्नुहुन्छ। तपाईंले गर्न सक्ने त्योभन्दा उत्तम कार्य अरू केही हुन सक्दैन!

न्याय अनि प्रेमको परमेश्‍वर

तर परमेश्‍वर तपाईंलाई मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरा तपाईं कसरी थाह पाउन सक्नुहुन्छ? किनभने यहोवाले न त आफ्नो असीम शक्‍ति वा गहन बुद्धि न अटल न्यायद्वारा नै आफूलाई चिनाउनुभएको छ। बरु, यहोवा मुख्यतया प्रेमको परमेश्‍वर भनेर चिनिनुहुन्छ। पहिलो यूहन्‍ना ४:८ यसो भन्छ, “परमेश्‍वर प्रेम हुनुहुन्छ।” अनि यही महान्‌ प्रेम नै उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने हाम्रो भरोसाको आधार हो। उहाँको प्रेमको सबैभन्दा महान्‌ अभिव्यक्‍ति नै हामीले अनन्त जीवनको आनन्द उठाउन सकोस्‌ भनेर छुडौतीको बलिदानको रूपमा आफ्नो पुत्रलाई अर्पण गर्नु थियो।—यूहन्‍ना ३:१६; १ यूहन्‍ना ४:९, १०.

परमेश्‍वर प्रेम हुनुभएकोले, उहाँले तपाईंलाई कहिल्यै त्याग्नु हुन्‍न वा तपाईंसित कठोर व्यवहार गर्नु हुन्‍न भनी ढुक्क हुनुहोस्‌। व्यवस्था ३२:४ यसो भन्छ, “उहाँका सबै काम न्यायसँगत छन्‌।” परमेश्‍वर तपाईंलाई माया गर्नुहुन्छ। त्यसकारण, उहाँ तपाईंको कुरा ध्यान दिएर सुन्‍नुहुन्छ भनेर तपाईं ढुक्क हुनसक्नुहुन्छ। यसले हामीलाई आफ्ना नितान्त व्यक्‍तिगत विचार तथा अनुभूतिहरू उहाँसामु पोख्न ढुक्क बनाउँछ।—फिलिप्पी ४:६, ७.

परमेश्‍वरसित मित्रता

साँच्चै भन्‍ने हो भने, स्वयम्‌ यहोवा हामीलाई उहाँसँग कुरा गर्न बोलाउनुहुन्छ। उहाँ हामीसित नचिनेको व्यक्‍तिले जस्तो व्यवहार गर्न चाहनुहुन्‍न। त्यसको ठीक विपरीत, मानव इतिहासभरि नै यहोवाले मानिसहरूलाई आफ्नो मित्र बन्‍न आमन्त्रित गर्नुभएको छ। परमेश्‍वरसँगको मित्रताको आनन्द उठाउने र उहाँले रुचाउनुभएका मानिसहरूमा पुरुष र स्त्री, जवान अनि वृद्ध सबै थिए। यसमा अब्राहाम, राजा दाऊद, येशूकी आमा मरियम आदि समावेश थिए।—यशैया ४१:८; लूका १:२६-३८; प्रेरित १३:२२.

तपाईं पनि यहोवाको मित्र हुन सक्नुहुन्छ। निस्सन्देह, यस्तो मित्रताको अर्थ परमेश्‍वर, आफूलाई मनलागेको बेला वा समस्या पर्दा मात्र बोलाउने एउटा अद्‌भुत शक्‍ति भएको काल्पनिक व्यक्‍ति हुनुहुन्‍न। हाम्रो प्रार्थना आफ्नै आवश्‍यकताहरूमा मात्र केन्द्रित हुनु हुँदैन। यदि हामी परमेश्‍वरको मित्रता चाहन्छौं भने, हामीले आफ्नै इच्छामा मात्र होइन तर परमेश्‍वरको इच्छामा पनि चासो देखाउनुपर्छ र उहाँको इच्छाअनुसारै गर्नुपर्छ। (मत्ती ७:२१) त्यसैले, येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनु हुँदा तिनीहरूलाई आफ्नो प्रार्थना परमेश्‍वरले महत्त्वपूर्ण ठान्‍नुहुने कुराहरूमा केन्द्रित गर्न सिकाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तर तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:९, १०) हाम्रो प्रार्थना परमेश्‍वरको प्रशंसा अनि धन्यवादले पनि भरिएको हुनुपर्छ!—भजन ५६:१२; १५०:६.

तथापि, हाम्रा आवश्‍यकताहरू वा फिक्रीहरू प्रार्थनामा पोख्नु बेकार छ वा मामुली कुरा हो भन्‍ने सोचाइ हामीले कहिल्यै राख्नु हुँदैन। स्टिभ यसो भन्छन्‌, “म उहाँसँग खुलस्त कुराकानी गर्ने प्रयास गर्छु तर कहिलेकाहीं उहाँलाई सानातिना कुराहरूमा पनि कति दुःख दिइरहनु जस्तो लाग्छ।” तपाईंको मनमा यस्तो विचार आउँदा येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको यस कुरालाई सम्झनुहोस्‌: “के दुइ पैसामा पाँचवटा भँगेरा बिक्‍तैनन्‌? औ तीमध्ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। . . . नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ़ता किम्मती छौ।” (लूका १२:६, ७) के यी शब्दहरू हाम्रा लागि आश्‍वासनदायी छैनन्‌ र?

त्यसोभए कुरा स्पष्ट छ, यहोवाबारे तपाईं जति धेरै सिक्नुहुन्छ त्यति नै उहाँलाई प्रार्थना गर्न उत्प्रेरित हुनुहुनेछ। अनि यहोवाले तपाईंलाई पक्कै मदत गर्न सक्नुहुन्छ र मदत गर्नुहुनेछ भन्‍ने कुरामा तपाईंको भरोसा त्यति नै बलियो हुनेछ। त्यसैले, परमेश्‍वरलाई प्रार्थना गर्दा तपाईंको मनोवृत्ति कस्तो हुनुपर्छ? तपाईंमा आदरभाव, नम्रता र निःस्वार्थजस्ता गुणहरू हुनु आवश्‍यक छ। यदि तपाईंले घमण्डी वा अनादरपूर्ण ढंगमा पृथ्वीको कुनै उच्चपदस्थ अधिकारीसित केही कुरा माग्नुभयो भने, के उनले तपाईंको कुरा सुन्लान्‌? त्यसकारण, तपाईंको प्रार्थनाको जवाफ दिनुअघि यहोवाले तपाईंबाट आफू र आफ्ना स्तरहरूप्रति आदर देखाएको आशा गर्नु कुनै अचम्मलाग्दो कुरा होइन।—हितोपदेश १५:२९.

हजारौं ईश्‍वरभीरु जवानहरूले परमेश्‍वरसामु आफ्नो हृदय पोख्न सिकेका छन्‌। (भजन ६२:८) ब्रिट यसो भन्छन्‌, “यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुहुँदा उहाँ अझै पनि मेरो मित्र हुनुहुँदो रहेछ भन्‍ने सम्झेर प्रोत्साहित हुन्छु।” तपाईं नि? तपाईं कसरी परमेश्‍वरसँग त्यस्तै प्रकारको मित्रताको आनन्द उठाउन सक्नुहुन्छ? दुई मसीही जवानले निम्न टिप्पणी गरे:

रेचेल: “यहोवासँग घनिष्ठ हुन उहाँको वचनको गहिरो अध्ययन गर्नुपर्ने आवश्‍यकता म महसुस गर्छु र म त्यस्तो अध्ययनप्रति चाह बढाउने कोसिस गर्दैछु।”—१ पत्रुस २:२.

जेनी: “तपाईं यहोवाको सेवा जति बढी गर्नुहुन्छ, त्यति नै उहाँसँग घनिष्ठ भएको महसुस गर्नुहुन्छ।”—याकूब ४:८.

प्रार्थना गर्दा कत्तिको मदत पाउँछौं के तपाईंले कहिल्यै सोच्नुभएको छ? एउटी युवती यसो भन्छिन्‌, “यदि परमेश्‍वर मसँग बोल्नु भएमा वा मलाई सन्देश पठाउनु भएमा म उहाँसित घनिष्ठ महसुस गर्न सक्ने थिएँ।” प्रार्थना गर्दा यहोवाले त्यसको जवाफ हामीले सुन्‍ने गरी नदिनु हुने भएको कारण प्रार्थनाले हामीलाई वास्तवमा कसरी मदत गर्छ? यसबारे अगामी अंकमा छलफल गरिनेछ। (g01 6/22)

[पृष्ठ १३-मा भएको पेटी]

पृष्ठ ११ को प्रश्‍नहरूका जवाफ

१. यहोवा। यसको अर्थ हो, “उहाँले हुन दिनुहुन्छ।”

२. प्रेम, शक्‍ति, न्याय र बुद्धि।

३. उहाँले आफ्नो एक मात्र पुत्र येशू, हाम्रोनिम्ति मर्न पठाउनुभयो।

४. आफ्नै आवश्‍यकतालाई मात्र ध्यान नदिई परमेश्‍वरको इच्छामा पनि चासो देखाएर अनि सोहीअनुरूप गरेर।

५. हामी नम्र, आदर देखाउने र निःस्वार्थी हुनुपर्छ।

[पृष्ठ १२-मा भएको चित्र]

बाइबल अध्ययन गर्नुका साथै सृष्टिलाई नियाल्दा परमेश्‍वरलाई अझ राम्ररी चिन्‍ने मदत पाउनुहुनेछ