सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सांसारिक सोचाइलाई तिरस्कार गर्नुहोस्‌

सांसारिक सोचाइलाई तिरस्कार गर्नुहोस्‌

“होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा आफ्नो शिकार नबनाओस्‌।”—कल. २:८.

गीत: ३८, ३१

१. प्रेषित पावलले कलस्सीका ख्रीष्टियनहरूलाई कस्तो सल्लाह दिए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

रोममा पहिलो चोटि कैदमा परेको समयको अन्ततिर अर्थात्‌ इस्वी संवत्‌ ६०-६१ तिर प्रेषित पावलले कलस्सीका ख्रीष्टियनहरूलाई एउटा पत्र लेखे। तिनले ती ख्रीष्टियनहरूलाई “पवित्र शक्‍तिद्वारा प्राप्त हुने समझ” हासिल गर्नुको महत्त्वबारे बताए। (कल. १:९) तिनले यसो पनि भने: “म यो कुरा यसकारण तिमीहरूलाई भन्दैछु, कि विभिन्‍न तर्कवितर्कद्वारा मनाएर कसैले तिमीहरूलाई नबहकाओस्‌। होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा आफ्नो शिकार नबनाओस्‌, किनकि यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्‌, ख्रीष्टको शिक्षामा होइन।” (कल. २:४, ८) त्यसपछि, पावलले त्यतिबेलाका केही लोकप्रिय धारणा गलत भए तापनि त्यसले मानिसहरूलाई किन आकर्षित गर्छ भनेर बताए। जस्तै, सांसारिक सोचाइले मानिसलाई अरूभन्दा ठूलो र बुद्धिमान्‌ महसुस गराउन सक्छ। पावलले त्यस पत्र लेख्नुको उद्देश्‍य ती भाइहरूलाई सांसारिक सोचाइ र गलत प्रचलनहरू तिरस्कार गर्न मदत गर्नु थियो।—कल. २:१६, १७, २३.

२. यस लेखमा सांसारिक सोचाइका केही उदाहरणबारे किन छलफल गर्नेछौं?

सांसारिक सोचाइ राख्ने मानिसहरू यहोवाका सिद्धान्तहरूलाई बेवास्ता गर्छन्‌ वा तुच्छ ठान्छन्‌। यस्तो सोचाइले असर गऱ्‍यो भने हाम्रो विश्‍वास बिस्तारै कमजोर हुन सक्छ। अहिले सांसारिक सोचाइ जताततै व्याप्त छ। टेलिभिजन, इन्टरनेट, काम गर्ने ठाउँ वा स्कुलमा यस्तै सोचाइलाई बढावा दिइन्छ। यस्तो सोचाइले हामीमा नराम्रो असर पार्न नदिन के गर्न सक्छौं भनेर यस लेखमा केलाउनेछौं। सांसारिक सोचाइका पाँच वटा उदाहरण विचार गर्नेछौं अनि ती सोचाइलाई कसरी तिरस्कार गर्न सक्छौं भनेर छलफल गर्नेछौं।

के भगवान्‌मा विश्‍वास गर्नुपर्छ?

३. थुप्रै मानिस कस्तो सोचाइ मन पराउँछन्‌? किन?

“असल मानिस बन्‍न भगवान्‌मा विश्‍वास गर्नै पर्छ र?” यस्तो सोचाइ थुप्रै देशमा व्याप्त छ। धेरैजसो मानिस धर्मप्रति कुनै रुचि नभएको कुरा बताउँछन्‌। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भनेर राम्ररी केलाएर नहेरेका हुन सक्छन्‌ बरु आफूलाई जे गर्न मन लाग्छ, त्यही गर्न चाहेका हुन सक्छन्‌। (भजन १०:४ पढ्‌नुहोस्‌) अरू कतिपयचाहिं आफूलाई निकै टाठोबाठो देखाउन यसो भन्‍ने गर्छन्‌, “भगवान्‌मा विश्‍वास नगरे पनि म असल सिद्धान्तअनुसार जिउन सक्छु।”

४. सृष्टिकर्ता छैन भन्‍ने व्यक्‍तिसित हामी कस्तो तर्क गर्न सक्छौं?

सृष्टिकर्ता छैन भन्‍नु के तर्कसङ्‌गत कुरा हो? सृष्टिकर्ता छ कि छैन भन्‍ने प्रश्‍नको जवाफ पाउन विज्ञानमा खोतलेर हेर्दा तीन थुप्रो जानकारीको भुमरीमा मानिस हराउन सक्छ। तर वास्तवमा भन्‍ने हो भने यो प्रश्‍नको जवाफ एकदम सरल छ। कुनै एउटा घर त कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ भने जीवित थोकहरू बनाउने कोही नहोला त! पृथ्वीमा पाइने सबैभन्दा सरल जीवित कोष पनि कुनै एउटा घरभन्दा एकदम जटिल हुन्छ। किनभने घरले गर्न नसक्ने कुरा ती जीवित कोषले गर्न सक्छन्‌। त्यो हो, आफूजस्तै कोष उत्पादन गर्ने। यी कोषहरूले आफूजस्तै कोष उत्पादन गर्न चाहिने सम्पूर्ण जानकारी सञ्चय गर्न र त्यसलाई नयाँ कोषमा सार्न सक्छन्‌। यस्ता जीवित कोषहरू कसले बनायो त? बाइबल यस्तो जवाफ दिन्छ: “हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ।”—हिब्रू ३:४.

५. असल के हो भनेर थाह पाउन परमेश्‍वरमा विश्‍वास गर्नु पर्दैन भन्‍ने सोचाइ राख्नु के उचित हो?

कतिपयले यस्तो तर्क गर्छन्‌, ‘असल के हो भनेर थाह पाउन परमेश्‍वरमा विश्‍वास गर्नै पर्छ र?’ यस्ता मानिसहरूलाई हामी के भन्‍न सक्छौं? परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूसमेत कुनै-कुनै असल सिद्धान्तअनुसार जीवन बिताउँछन्‌ भनी बाइबल बताउँछ। (रोमी २:१४, १५) उदाहरणको लागि, तिनीहरू आमाबुबालाई आदर र माया गर्छन्‌ होला। तर हाम्रो लागि असल र गलतको स्तर तोक्नुहुने व्यक्‍ति हाम्रो मायालु सृष्टिकर्ता हुनुहुन्छ भनेर नस्विकार्ने मानिसहरूले गलत निर्णयहरू पनि गर्न सक्छन्‌। (यशै. ३३:२२) अहिले पृथ्वीको दयनीय अवस्था देख्दा मानिसहरू परमेश्‍वरको मदतविना समस्याको दलदलबाट निस्कन सक्दैनन्‌ भनेर थुप्रै समझदार मानिस मानिलिन्छन्‌। (यर्मिया १०:२३ पढ्‌नुहोस्‌) असल के हो भनेर थाह पाउन परमेश्‍वरमा विश्‍वास गर्नु पर्दैन र उहाँको स्तरअनुसार चल्नु पर्दैन भन्‍ने सोचाइ हामीले कहिल्यै राख्नु हुँदैन।—भज. १४६:३.

धर्म मान्‍नै पर्छ भन्‍ने छ र?

६. थुप्रै मानिस धर्मप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

“मानिस खुसी हुन कुनै धर्म मान्‍नै पर्छ भन्‍ने छैन।” यस्तो सांसारिक सोचाइ धेरैलाई मन पर्छ किनभने तिनीहरू धर्मलाई वाहियात र बेकारको कुरा ठान्छन्‌। कतिपय धर्मले भने नरकको शिक्षा सिकाएर, चन्दा सङ्‌कलन गरेर वा राजनीतिमा हात हालेर मानिसहरूलाई परमेश्‍वरदेखि टाढा लैजान्छन्‌। त्यसैले धर्म नमाने पनि मानिस खुसी हुन सक्छ भन्‍ने सोचाइ राख्नेहरूको सङ्‌ख्या बढिरहेको छ। त्यस्ता मानिसहरूलाई लाग्ला, “मलाई आध्यात्मिक कुरा मन पर्छ तर कुनै एउटा धर्मको सदस्य भने हुन चाहँदिनँ।”

७. साँचो धर्मले हामीलाई कसरी आनन्दित बनाउँछ?

धर्म नमाने पनि हामी खुसी हुन सक्छौं भन्‍ने धारणा के सही हो? हुन त हो, झूटो धर्म मानेन भने मानिस केही हदसम्म खुसी होला। तर “आनन्दित परमेश्‍वर” यहोवाको मित्र भएन भने मानिस साँच्चै खुसी हुन सक्दैन। (१ तिमो. १:११) परमेश्‍वरले सबै कुरा मानिसहरूको हितको लागि गर्नुहुन्छ। उहाँका सेवकहरू पनि अरूलाई मदत गर्ने मौका खोजिरहन्छन्‌, त्यसैले तिनीहरू आनन्दित छन्‌। (प्रेषि. २०:३५) उदाहरणको लागि, साँचो उपासनाले परिवारलाई कसरी आनन्दित बनाउँछ, विचार गर्नुहोस्‌। साँचो उपासनाले हामीलाई पति/पत्नीको आदर र कदर गर्न, विवाह वाचालाई पवित्र ठान्‍न, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्न, साँचो प्रेमलाई व्यवहारमा उतार्न र छोराछोरीलाई अरूको आदर गर्न सिकाउन मदत गर्छ। यसरी साँचो उपासनाले संसारभरिका यहोवाका जनहरूलाई आनन्दित र एकताबद्ध बनाउँछ।यशैया ६५:१३, १४ पढ्‌नुहोस्‌।

८. मानिसलाई केले आनन्दित बनाउँछ भन्‍ने प्रश्‍नको जवाफ पाउन मत्ती ५:३ ले कसरी मदत गर्छ?

परमेश्‍वरको सेवा नगरे पनि आनन्दित हुन सकिन्छ भन्‍ने सांसारिक सोचाइ कत्तिको तार्किक छ? यो प्रश्‍न विचार गर्नुहोस्‌, मानिसलाई केले आनन्दित बनाउँछ? कसै-कसैलाई आफ्नो पेसा, खेलकुद वा सोखले सन्तुष्टि दिन्छ। अरू भने आफ्नो परिवार वा साथीभाइको हेरविचार गर्न पाउँदा सन्तुष्ट हुन्छन्‌। यस्ता कुराहरूले हामीलाई आनन्दित त बनाउँछ तर हाम्रो जीवनको खास उद्देश्‍य यति मात्र होइन। हामी जनावरहरूभन्दा फरक छौं। हामी आफ्नो सृष्टिकर्तालाई चिन्‍न र वफादार भई उहाँको उपासना गर्न सक्छौं। यसो गरेमा मात्र हामी साँच्चै आनन्दित हुन सक्छौं। (मत्ती ५:३ पढ्‌नुहोस्‌) उदाहरणको लागि, यहोवाको उपासना गर्न आफ्ना दाजुभाइ दिदीबहिनीसित एक साथ भेला हुन पाउँदा उहाँका साँचो उपासकहरू रमाउँछन्‌ र प्रोत्साहन पाउँछन्‌। (भज. १३३:१) उनीहरू एकताबद्ध भ्रातृत्वको भाग हुन पाएकोमा, स्वच्छ जीवन बिताउन सकेकोमा र भविष्यको उज्ज्वल आशा पाएकोमा पनि रमाउँछन्‌।

के हामीलाई नैतिक स्तर चाहिन्छ?

९. (क) संसारमा प्रायजसो मानिस यौनसम्बन्धबारे कस्तो धारणा राख्छन्‌? (ख) परमेश्‍वरको वचनले पति-पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्न किन निषेध गर्छ?

“पति-पत्नीबाहेक अरूसित यौनसम्बन्ध राखे पनि केही फरक पर्दैन।” मानिसहरूले हामीलाई यसो भन्‍न सक्छन्‌: “जिन्दगीमा रमाइलो गर्नुपर्छ। पति-पत्नीबाहेक अरूसित यौनसम्बन्ध राखे पनि केही फरक पर्दैन।” साँचो ख्रीष्टियनहरूले पनि यस्तै सोचाइ राख्नु गलत हो। किन? किनभने परमेश्‍वरको वचनले अवैध यौनसम्बन्धलाई निषेध गर्छ। * (१ थिस्स. ४:३-८ पढ्‌नुहोस्‌) यहोवाले नै हामीलाई सृष्टि गर्नुभएकोले उहाँसित हाम्रो लागि नियम बनाउने अधिकार छ। उहाँ विवाहको सुरुवातकर्ता हुनुहुन्छ र उहाँले विवाह बन्धनमा बाँधिएका पति-पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्न अनुमति दिनुभएको छैन। हामीलाई माया गर्नुभएकोले नै परमेश्‍वरले नियमहरू दिनुभएको हो। ती नियमअनुसार चल्दा हाम्रै फाइदा हुन्छ। त्यसअनुसार चल्ने परिवारका सदस्यहरूले एकअर्कालाई माया र आदर गर्छन्‌ अनि सुरक्षित महसुस गर्छन्‌। जानाजानी परमेश्‍वरको नियम उल्लङ्‌घन गर्नेहरूलाई उहाँले पक्कै सजाय दिनुहुनेछ।—हिब्रू १३:४.

१०. साँचो ख्रीष्टियनहरू कसरी अवैध यौनसम्बन्धदेखि टाढै बस्न सक्छन्‌?

१० परमेश्‍वरको वचनले हामीलाई अवैध यौनसम्बन्धदेखि कसरी टाढै बस्ने भनेर सिकाउँछ। एउटा महत्त्वपूर्ण तरिका भनेको के हेर्ने, के नहेर्ने भन्‍ने कुरामा होसियार हुनु हो। येशूले यसो भन्‍नुभयो: “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। किनकि तिम्रो सिङ्‌गै शरीर गेहेन्‍नामा फ्याँकिनुभन्दा तिम्रो एउटा अङ्‌ग गुमाउनु नै तिमीलाई फाइदाजनक हुन्छ।” (मत्ती ५:२८, २९) त्यसैले साँचो ख्रीष्टियनले अश्‍लील कुराहरू हेर्नु हुँदैन अनि अश्‍लील शब्द भएका गीतहरू सुन्‍नु हुँदैन। प्रेषित पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई यस्तो लेखे: ‘पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्तो कुइच्छा उत्पन्‍न हुन्छ: अवैध यौनसम्बन्ध।’ (कल. ३:५) साथै, हामीले आफ्नो सोचाइ र बोलीलाई पनि आफ्नो वशमा राख्नुपर्छ।—एफि. ५:३-५.

संसारमा नाम-दाम कमाउने पेसाको पछि लाग्नु ठिक हो?

११. संसारमा नाम-दाम कमाउने पेसाको पछि लाग्नु किन ठिकै हो जस्तो लाग्न सक्छ?

११ “नाम-दाम कमाउने पेसाको पछि लाग्दा खुसी हुन सकिन्छ।” मानिसहरूले हामीलाई संसारमा नाम-दाम कमाउने पेसा अँगाल्न दबाब दिन सक्छन्‌। त्यस्तो पेसाले मान-सम्मान, ओहदा र धन-सम्पत्ति दिन्छ भन्‍ने धेरैको सोचाइ छ। यस्ता कुरा हासिल गर्नुलाई नै धेरैले आफ्नो जीवनको मुख्य लक्ष्य बनाएका छन्‌। त्यसैले साँचो ख्रीष्टियनहरू पनि यस्तो सोचाइको प्रभावमा पर्न सक्छन्‌।

१२. के संसारमा नाम-दाम कमाउने पेसा अँगाल्दा मानिस साँच्चै आनन्दित हुन सक्छ?

१२ संसारमा मान-सम्मान र प्रतिष्ठा दिने पेसाले मानिसलाई चिरकालीन आनन्द दिन्छ भन्‍ने कुरा के सही हो? होइन। यो कुरा विचार गर्नुहोस्‌: सैतानले अरूमाथि नियन्त्रण जमाउने चाह गऱ्‍यो र अरूको वाहवाही खोज्ने लालसा गऱ्‍यो। एक अर्थमा, त्यसले आफूले खोजेको कुरा पायो तर त्यो खुसी होइन, रिसले चुर भएको छ। (मत्ती ४:८, ९; प्रका. १२:१२) मानिसहरूले अनन्त जीवन पाऊन्‌ भनेर उनीहरूलाई परमेश्‍वर र उहाँले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्यबारे बताउँदा हामी साँच्चै आनन्दित हुन सक्छौं। यस्तो आनन्द संसारमा नाम-दाम कमाउने कुनै पनि पेसाले दिन सक्दैन। त्यति मात्र होइन, अहिलेको संसारमा जताततै प्रतिस्पर्धाको मनोभाव छ। त्यसैले मानिसहरू अरूलाई जसरी भए पनि उछिन्‍न खोज्छन्‌ र एकअर्काप्रति डाही हुन्छन्‌। यस्तो दौडधूप गर्नु भनेको “बतासलाई खेदेको जस्तो मात्र” हो।—उप. ४:४.

१३. (क) संसारमा नाम-दाम कमाउने पेसाबारे हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) कुन कुराले गर्दा पावल साँच्चै खुसी हुन सके?

१३ हुन त हो, जीविका चलाउन हामीले काम गर्नुपर्छ। अनि आफूलाई मन पर्ने काम रोज्नु गलत होइन। तर जागिर नै हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हुनु हुँदैन। येशूले यसो भन्‍नुभयो: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन; किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।” (मत्ती ६:२४) यहोवाको सेवा गर्नु र अरूलाई बाइबलको कुरा सिकाउनुलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनायौं भने हामीले अपार आनन्द पाउनेछौं। प्रेषित पावलले पनि त्यस्तै अनुभव गरे। तिनी जवान छँदा यहूदी धर्मको शिक्षक बनेर नाम-दाम कमाउन लागिपरेका थिए। तर पछि, अरूलाई येशूको चेला बन्‍न मदत गर्दा अनि उनीहरूले परमेश्‍वरको सन्देश सुनेपछि जीवन परिवर्तन गरेको देख्दा भने तिनी साँच्चै खुसी हुन सके। (१ थिस्सलोनिकी २:१३, १९, २० पढ्‌नुहोस्‌) यहोवाको सेवा गर्दा र अरूलाई उहाँबारे बताउँदा पाइने आनन्द संसारको अरू कुनै पनि पेसाले दिन सक्दैन।

अरूलाई बाइबलको कुरा सिकाउँदा अपार आनन्द पाउनेछौं (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

के हामी मानिसजातिको समस्या समाधान गर्न सक्छौं?

१४. मानिसले आफ्नो समस्या आफै समाधान गर्न सक्छ भन्‍ने सोचाइ धेरैलाई मन पर्नुको कारण के हुन सक्छ?

१४ “मानिसले आफ्नो समस्या आफै समाधान गर्न सक्छ।” यस्तो सांसारिक सोचाइ धेरै मानिसलाई मन पर्छ। किन? यदि मानिसले आफ्नो समस्या आफै समाधान गर्न सक्छ भने उसलाई परमेश्‍वरको डोऱ्‍याइ चाहिंदैन र उसले आफूलाई जे मन लाग्छ, त्यही गर्न सक्छ। केही अध्ययनले देखाएअनुसार संसारमा युद्ध, अपराध, रोगबिमार र गरिबी कम हुँदै गइरहेको छ। त्यसैले मानिसले आफ्नो समस्या आफै समाधान गर्न सक्छ भन्‍ने सोचाइ धेरैलाई चित्त बुझ्न सक्छ। एउटा रिपोर्ट यसो भन्छ: “मानवजातिको अवस्था राम्रो भइरहेको छ किनभने मानिसहरूले यो संसारलाई अझ राम्रो बनाउने सङ्‌कल्प गरेका छन्‌।” के यसको मतलब संसारमा भइरहेका समस्याहरू समाधान गर्ने तरिका मानिसहरूले बुझिसके भन्‍ने हो? यो प्रश्‍नको जवाफ पाउन आउनुहोस्‌, मानिसहरूलाई पिरोलिरहेका केही समस्याबारे चर्चा गरौं।

१५. मानिसहरूले भोगिरहेका समस्याहरूले विकराल रूप लिइरहेको छ भनेर कस्ता तथ्याङ्‌कले देखाउँछन्‌?

१५ युद्ध: दुइटा विश्‍वयुद्धमा लगभग छ करोड मानिसले ज्यान गुमाए। दोस्रो विश्‍वयुद्धपछि पनि मानिसहरूले युद्ध गर्न छोडेका छैनन्‌। सन्‌ २०१५ सम्ममा युद्ध वा सतावटले गर्दा घरबारविहीन हुने मानिसहरूको सङ्‌ख्या ६ करोड ५० लाख जति पुग्यो। सन्‌ २०१५ मा मात्र झन्डै १ करोड २४ लाख मानिस आफ्नो ठाउँबाट विस्थापित भए। अपराध: कुनै-कुनै ठाउँमा केही अपराध कम भए तापनि साइबर अपराध, घरेलु हिंसा र आतङ्‌कवाद भने एकदमै बढिरहेको छ। साथै, संसारमा जताततै भ्रष्टाचार व्याप्त छ भनेर थुप्रैले मानिलिएका छन्‌। हो, मानिसहरूले अपराध हटाउन सकेका छैनन्‌। रोगबिमार: मानिसहरूले केही रोग रोकथाम गरेका छन्‌। तर सन्‌ २०१३ मा प्रकाशित रिपोर्टअनुसार ६० वर्षभन्दा कम उमेरका ९० लाख जति मानिसहरू वर्षेनी हृदय रोग, मस्तिष्कघात, क्यान्सर, श्‍वासप्रश्‍वाससम्बन्धी रोग र मधुमेहले गर्दा मर्छन्‌। गरिबी: विश्‍व बैंकको रिपोर्टअनुसार अफ्रिकामा मात्रै चरम गरिबीको चपेटामा पर्नेहरूको सङ्‌ख्या सन्‌ १९९० मा २८ करोडबाट बढेर सन्‌ २०१२ मा ३३ करोड पुगेको छ।

१६. (क) मानिसका समस्याहरू किन परमेश्‍वरको राज्यले मात्र समाधान गर्न सक्छ? (ख) यशैया र एक भजनहारले बताएअनुसार मानिसहरूले कस्ता आशिष्‌ पाउनेछन्‌?

१६ अहिलेको आर्थिक र राजनैतिक प्रणाली स्वार्थी मानिसहरूको हातमा छ। त्यस्ता मानिसहरूले युद्ध, अपराध, रोगबिमार र गरिबी हटाउन सक्दैनन्‌। परमेश्‍वरको राज्यले मात्र ती कुरा हटाउन सक्छ। यहोवाले मानिसहरूको लागि के गर्नुहुनेछ, विचार गर्नुहोस्‌। युद्ध: परमेश्‍वरको राज्यले युद्धका जड अर्थात्‌ स्वार्थ, भ्रष्टाचार, राष्ट्रवाद र झूटो धर्मजस्ता कुरालाई हटाउनेछ। त्यति मात्र होइन सैतानलाई समेत नामेट पार्नेछ। (भज. ४६:८, ९) अपराध: परमेश्‍वरको राज्यले अहिले पनि लाखौं मानिसहरूलाई आपसमा प्रेम र भरोसा गर्न सिकाइरहेको छ, जुन अरू कुनै सरकारले गर्न सक्दैन। (यशै. ११:९) रोगबिमार: यहोवाले सबै किसिमका रोगबिमार हटाउनुहुनेछ र सबै जना पूर्णतया स्वस्थ हुनेछन्‌। (यशै. ३५:५, ६) गरिबी: यहोवाले गरिबी हटाउनुहुनेछ। उहाँले सबैलाई आध्यात्मिक र भौतिक रूपमा संवृद्ध बनाउनुहुनेछ। यस्तो जीवन कुनै पनि धनसम्पत्तिभन्दा कता हो कता उत्कृष्ट हुनेछ।—भज. ७२:१२, १३.

‘कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नुहोस्‌’

१७. तपाईं कसरी सांसारिक सोचाइलाई तिरस्कार गर्न सक्नुहुन्छ?

१७ कुनै सांसारिक सोचाइले तपाईंको विश्‍वासमाथि शङ्‌का उब्जाउन खोज्यो भने त्यसबारे परमेश्‍वरको वचन के भन्छ, अनुसन्धान गर्नुहोस्‌। अनि कुनै अनुभवी भाइ वा बहिनीसित कुरा गर्नुहोस्‌। त्यस्तो सोचाइ तपाईंलाई किन मन परेको हुन सक्छ, त्यस्तो सोचाइ किन गलत हो अनि तपाईं त्यसलाई कसरी तिरस्कार गर्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌। पावलले कलस्सीका ख्रीष्टियनहरूलाई दिएको सल्लाह लागू गऱ्‍यौं भने हामी आफूलाई सांसारिक सोचाइबाट जोगाउन सक्नेछौं। तिनले यस्तो सल्लाह दिए: “बाहिरकाहरूसित बुद्धिमानीपूर्वक व्यवहार गर . . . यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।”—कल. ४:५, ६.

^ अनु. 9 कुनै-कुनै बाइबल अनुवादमा यूहन्‍ना ७:५३–८:११ को अंश राखिएका छन्‌। तर त्यो अंश मूल भाषामा लेखिएको बाइबलको भाग थिएन भनेर धेरैलाई थाह छैन। त्यस अंशको आधारमा कसै-कसैले यसो भन्‍ने गरेका छन्‌: कसैले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राखेकोमा दोषी ठहराउन सक्ने अधिकार पापरहित व्यक्‍तिसित मात्र छ। तर परमेश्‍वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा यसो भनिएको थियो: “कोही पुरुष अर्काकी स्वास्नीसँग सम्भोग गरिरहेको फेला पऱ्‍यो भने ती दुवैलाई मार्नुपर्छ।”—व्यव. २२:२२.